ईयूको कालोसूचीबाट पाकिस्तान हट्दा नेपाल कायमै, नेपाली पक्षको असन्तुष्टि !

कालो सूचीका कारण खासगरी युरोपमा उडाउने लक्ष्यका साथ दुईवटा वाइडवडी अर्थात् ठूला आकारका विमान भित्र्याएको नेपाल वायुसेवा निगमलाई युरोप मात्र नभई अस्ट्रेलियासमेत समेत उडान गर्न असम्भव भइरहेको छ ।

Dec 15, 2024 - 12:31
 0
ईयूको कालोसूचीबाट पाकिस्तान हट्दा नेपाल कायमै, नेपाली पक्षको असन्तुष्टि !

काठमाडौं । युरोपियन युनियन (ईयू) को युरोपेली आयोगले पाकिस्तानलाई कालो सूचिबाट हटाउँदा नेपालको हवाइ क्षेत्रलाई कालो सूचीमा कायमै राखेको छ ।

ईयूले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार २० वटा वायुसेवा कम्पनीलाई आफ्नो उक्त सूचीमा यथावत राखेको हो । ती सबै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएका हुन् । ईयूले नेपाली उड्डयन क्षेत्रलाई सन् २०१३ देखि यो सूचीमा राख्दै आएको छ ।

नेपाल यसअघि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघ (आईकाओ) को ‘खैरो सूची’ मा समेत परेको थियो । तर, उड्डयन क्षेत्रको सुरक्षामा सुधार गरेको भन्दै सन् २०१८ मा यो सूचीबाट हटाएको थियो ।

उक्त सूचीबाट हटेपछि ईयूको कालो सूचीबाट हटाउन समेत पटक पटक प्रयास गरे पनि अहिलेसम्म ईयूले नेपाललाई यही सूचीमा कायम राखेको छ ।

ईयूको कालोसूचीमा पर्दा नेपाली वायुसेवा कम्पनीहरु युरोपेली मुलुकमा उडान भर्न पाइरहेका छैनन् । युरोपेली विमान भने नेपालमा आउन यो सूचीले रोकेको छैन ।

नेपाली पक्षको असन्तुष्टि

यो वर्ष पनि कालो सूचीबाट नहटाउनुमा नेपाली पक्षकै पर्याप्त प्रयास नपुगेको विज्ञहरूले बताएका छन् ।

कालो सूचीका कारण खासगरी युरोपमा उडाउने लक्ष्यका साथ दुईवटा वाइडवडी अर्थात ठूला आकारका विमान भित्र्याएको नेपाल वायुसेवा निगमलाई युरोप मात्र नभई अस्ट्रेलियासमेत समेत उडान गर्न असम्भव भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले भने ईयूको निर्णयप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाली विमान कम्पनीलाई विगत ११ वर्षदेखि कालो सूचीमा राख्दै आएको युरोपेली संघ ईयूले उक्त सूचीबाट यो वर्ष पनि नहटाउनुमा दुई कारणलाई मुख्य मानेको बताइएको छ ।

दुर्घटना र सुरक्षा सुधार मुख्य मुद्दा

ईयूले नेपाललाई कालोसूचीमा राखिराख्नुको मुख्य कारण विमान दुर्घटनाहरू र सुरक्षा सुधारमा कमी भएको उल्लेख गरेको छ ।

यस वर्ष पनि साना र ठूला विमान दुर्घटनाहरू भएका कारण नेपालको उड्डयन क्षेत्र अझै जोखिमयुक्त रहेको ईयूको निष्कर्ष छ ।
तर, प्राधिकरणका अधिकारीहरू यो तर्कप्रति असन्तुष्ट छन् । “हामीले धेरै सुधार गरेका छौं। ईयूले हामीलाई कालोसूचीमै राख्नु अन्यायपूर्ण छ,” एक अधिकारीले भने ।

अन्य देशको अवस्था

ईयूले यसपटक पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई कालोसूचीबाट हटाएको छ भने तान्जिनियाको एयर तान्जानियालाई सूचीमा थपेको छ ।

यस्तै, रसियाका २२ एयरलाइन्स, इरानका दुई, उत्तर कोरियाको एयर कोरियो, अफगानिस्तान, अर्मेनिया, जिम्बाब्वेलगायतका देशहरूका एयरलाइन्स पनि यो सूचीमा रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register