झापाको स्वरोजगार भवानी सहकारीमा कर्मचारीद्वारा अपचलन प्रकरण, के हो वास्तविकता ?

झापा, २९ पुस । झापाको बिर्तामोडमा मुख्य कार्यालयमा रहेको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले संस्थाका कर्मचारी अशेष थापा मगरले ९१ लाख २१ हजार ७०७ रुपैयाँ अपचलन गरेको भन्दै सरकारीले उक्त रकम असुलउपर गरिरहेको छ । संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदनको पेज नं. २८ र २९ मा ‘हाम्रो लेखापरीक्षणको क्रममा संस्थाको [...] The post झापाको स्वरोजगार भवानी सहकारीमा कर्मचारीद्वारा अपचलन प्रकरण, के हो वास्तविकता ? appeared first on Jhapa Online.

Jan 15, 2025 - 07:18
 0
झापाको स्वरोजगार भवानी सहकारीमा कर्मचारीद्वारा अपचलन प्रकरण, के हो वास्तविकता ?

झापा, २९ पुस । झापाको बिर्तामोडमा मुख्य कार्यालयमा रहेको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले संस्थाका कर्मचारी अशेष थापा मगरले ९१ लाख २१ हजार ७०७ रुपैयाँ अपचलन गरेको भन्दै सरकारीले उक्त रकम असुलउपर गरिरहेको छ ।

संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदनको पेज नं. २८ र २९ मा ‘हाम्रो लेखापरीक्षणको क्रममा संस्थाको शनिश्चरे सेवा केन्द्रबाट कर्मचारी श्री अशेष थापा मगरले संस्थाको नाममा रहेको एक्सल डे बैंक शाखा कार्यालय शनिश्चरेको खाताबाट, संस्थाको सेवाकेन्द्र शनिश्चरेको लेजर, ऋण लगानी रकम र विभिन्न व्यक्तिको शेयर तथा बचत खाताबाट रु ९,१२१,७०७।०० को रकम अपचलन गरेकोमध्ये रु ३१४,५३२१०० बचत तथा शेयरको रकमबाट असुली, रु ३,७००,०००।०० बराबरको जग्गा श्री जागिरमान राई र श्री धनश्याम नेपालको नाममा बिक्री गरी असुली, रु १,५९९,८०० कमला थापा मगर (अशेष थापा मगरको आमा) र रु.१,६२९,४०२।०० नरेश थापा मगर (अशेष थापा मगरको बुबा) को नाममा ऋण कायम गरी असुली गरी कुल रु ७,२४३,८०९।०० असुली गरिएको र बाँकी फरक ४६३,८०९।०० मध्ये रु ३७८,७९६।०० कमला थापा मगरको नामको ऋण र रु ८५,०१३।०० अशेष थापा मगरको नामको ऋण चुक्ता गरिएको । यसरी रु ६७,८०,०००।०० रकम माथि उल्लेखित अनुसार असुली गरी थप रु २,३४१,७७७ सम्बन्धी पूर्व कर्मचारी अशेष थापा मगरबाट असुल उपर गरिनु पर्ने’ उल्लेख छ ।

स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले कर्मचारी अशेष थापा मगरले ९१ लख २१ हजार ७०७ रुपैयाँ अपचनलमाथि छानविन गरी समितिले प्रतिवेदन समेत बुझाएको छ । कोशी प्रदेश रजिष्टार कार्यालयले सहकारीको हिसाब किताब छानविन गर्न मिति २०८१/०३/२६ गतेको चलानी नं. १०२३। ०८०/०८१ र मिति २०८१/५/३१ को चलानी नं. १५९ को पत्र अनुसार गठित पाँच सदस्यीय हिसाब छानबिन समितिले प्रतिवेदन बुझाएको हो ।

प्रेमकुमार कोइरालाको संयोजकत्वमा तुलाराम न्यौपाने, सिए श्रीप्रसाद निरौला, सञ्जय ढकाल र गजेन्द्र पौडेल सदस्य रहेको छानविन समितिले बुझाएको प्रतिवेदनमा– ‘मिति २०८० जेष्ठ १७ को सञ्चालन समितिको बैठकले निर्णय गरेको बेरुजु ६७६७१०० देखिएको साथै संस्थाले हिसाब छानविन गरी मिति २०६१ जेष्ठ तयार गरेको प्रतिवेदनमा समेत सोही रकम उल्लेख गरिएको भए पनि बेरुजु बलिको तमशुकमा ६७,८०,०००÷– को तमशुक तयार गरेको’ उल्लेख छ ।

त्यस्तै, प्रतिवेदनमा ‘एक्सल विकास बैंक लिमिटेडको स्टेटमेण्ट अध्ययन गर्दा मिति २०७९ चैत्र ३० गते रु ७००,०००।– बैंकबाट रकम झिक्दा मात्र अषेश थापा मगरको नाम छ अन्य बेरुतु भनिएको रमक बैंकबाट झिक्दा वा जम्मा गर्दा सुधा राईको नामबाट गरिएको हुनाले अशेष थापाले गरिएको बेरुजु भन्ने बैंक स्टेटमेन्टबाट देखिँदैन । मिति २०७९ चैत्र १५ गते शनिश्चरे सेवा केन्द्रबाट सरुवा भै सुरुङ्गा सेवा केन्द्रको प्रमुखको जिम्मेवारी दिँदा समेत २०७९ साल १२ महिना ३० गते शनिश्चरे शाखाको एक्सल बैंकवाट पैसा अशेष थापा मागरले पैसा निकालिएको देखिन्छ । सुरुङ्गा सेवा केन्द्र प्रमुखले कसरी शनिश्चरे सोव केन्द्रको बैंकबाट पैसा झिक्ने पहुँचं पायो ।

प्रतिवेदनमा उल्लेख छ– ‘अपेश थापा मगरकोले अन्य सदस्यको अपचलन गरेको १,८७४,६७७ सदस्यको नाममा पनि तमसुक संस्थाको नाममा पनि तमसुक बनाई दोहोरो असुली गर्ने योजना गरेको देखियो ।’

सहकारी संस्थाको अपचलनको आरोप लागेका अशेष थापा मगरकी आमा कमला थापा मगरले सहकारीले दबाबमा पारेर आफ्नो छोरालाई छुटो तमसुकमा दस्तखत गर्न लगाएको आरोप लगाउनुभयो । “डर र दबाबमा पारेर मेरो छोरालाई तमसुक गराइएको छ”, झापाको बिर्तामोडमा सोमबार पत्रकार भेटघाटमार्फत् उहाँले भन्नुभयो, “उसले नगरेको अपचलनको आरोप लगाएर हामीलाई सडकमा ल्याउने षड्यन्त्र भइरहेको छ ।”

“ठूलो रकम अपचलन भएको आरोपसहित तमसुक गराए पनि परिवारका कुनै पनि सदस्यलाई जानकारी किन दिइन”, उहाँले भन्नुभयो, “सहकारीको पैसा कसैले खान मिल्दैन, यदि अपचलन गरेकै हो भने असुल गर्नुपर्छ ।” सहकारीले बिनाप्रमाण कर्मचारीले ‘पैसा निकालेर फल्नालाई दिन्थे’ भनेकै कुरालाई आधार बनाएर ‘अपचलन’ गरेको आरोप लगाउन मिल्ने उहाँको भनाइ छ । आरोपित अशेष थापा मगरकी आमा कमला थापा मगरले न्यायका लागि सम्बन्धित निकायमा अपिल समेत गर्नुभएको छ ।

छानबिन समितिको प्रतिवेदनको आधारमा नमिलेको हिसाबको आधारमा पूर्वकर्मचारी अशेषबाट नपुगेको रकम असुल्नुपर्ने कमला थापा मगर बताउनुहुन्छ । आरोपकै आधार, कसैले यसलाई दिएँ भनेकै आधारमा कोही अपराधि हुँदैन, प्रमाणका आधारमा कारबाही हुनुपर्ने उहाँको माग छ ।

ऋण रकम असुलीका लागि सहकारीले जग्गा लिनुपर्नेमा व्यक्तिको नाममा जग्गा लिएर हिसाब मिलाइएको कमला थापा मगर बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘यस्तै कारणले संस्थाका कर्मचारीले आत्महत्या समेत गरिसकेका छन् ।’

यता, प्रदेश रजिष्टार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशले स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थालाई साधारणसभा स्थगत गर्न पत्राचार गरे पनि सोमबार साधारणसभा गरेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशलाई बोधार्थ दिइएको उक्त पत्रमा अर्को निर्देशन भएसम्म साधारणसभा स्थगित गर्न भनिए पनि स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले सोमबार साधारणसभा गरेको हो ।

संस्थामा कार्यरत एक जना पूर्वकर्मचारी (नाम उल्लेख नगरिदिनु भनिएको) हालै संस्थाको सहकारी पसलमा सामान किन्न जाँदा सञ्चालक समितिका पदाधिकारीले ‘सहकारी ठग’ भन्दै जोरजुलुम गरेर जबरजस्ती १६ लाख रुपैयाँभन्दा बढी अपचनल गरेको आरोप लगाउँदै राति ९ तमसुक गराएर हल्दिबारीमा एक आफन्तलाई जिम्मा लगाएको घटना समेत बाहिरिएको छ ।

ती कर्मचारीले जागिर छोड्ने क्रममा हिसाब मिलान गर्दा करिब ८० हजार रुपैयाँ अपुग देखिएको र उक्त रकम बराबरको तमसुक बनाएर उनी जागिर छाडेर गए । पटक–पटक हिसाब हेरिदिन आग्रह गर्दा सुनुवाइ नभएको र अकस्मात ठूलो रकम हिनामिना गरेको आरोप लगाएर तमसुक गराइयो । तमसुक गराएकै भोलिपल्ट जागिर छाड्ने क्रममा ८० हजार रुपैयाँ बराबरको पुरानो तमसुक भेटिएपछि १६ लाखे तमसुक च्यातियो । ती कर्मचारीको नाममा संस्थामा रहेको शेयर रकमबाट उक्त रकम कटाएर बाँकी रहेको रकम लिएर ती पूर्वकर्मचारी हरहिसाबबाट मुक्त भएका छन् । उनीजस्तै, अन्य धेरै कर्मचारीको पीडित भएको जनाइएको छ ।

घटनाका सम्बन्धमा सहकारीका अध्यक्ष केशव बस्नेत कर्मचारी अशेष थापा मगरले आफूले गरेको बदमासी स्वीकार गरेको बताउनुभयो । ‘अपचलन भएको रकमको पूर्तिका लागि ३७ लाख बराबरको जग्गा र बाँकी रकम अशेषका आमाबुबाको नाममा ऋण बनायौं’, उहाँले भन्नुभयो, ‘उहाँहरुले नियमति किस्ता समेत हाल्दै हुनुहुन्थ्यो, अहिले अनावश्यक बखेडा झिकिरहनुभएको छ ।’ कुनै कुरामा चित्त बुझेको छैन भने छलफल गरेर निकास निकाल्न र पुनः छानबिन गर्न सकिने उहाँको भनाइ छ ।

अपचनल गरेको भनिएका कर्मचारीका परिवार र सहकारीका अध्यक्ष दुवैले एकअर्कालाई दोष देखाइरहेका छन् । तथापि, सत्य एउटा मात्र हुने हो । वास्तविकता के हो ? सम्बन्धित निकायले खोजी गर्नुपर्छ ।

The post झापाको स्वरोजगार भवानी सहकारीमा कर्मचारीद्वारा अपचलन प्रकरण, के हो वास्तविकता ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register