कबड्डी लिगका लागि छानिए ८४ खेलाडी

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल)को पहिलो संस्करणका लागि आइतबार टिम प्रशिक्षक र मार्की खेलाडीको घोषणासँगै खेलाडी छनोट गरिएको छ । उक्त छनोटमा ६ टिमका ८४ खेलाडी चुनिएका छन् । एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने एनकेएलमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र […]

Dec 16, 2024 - 00:39
 0
कबड्डी लिगका लागि छानिए ८४ खेलाडी

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल)को पहिलो संस्करणका लागि आइतबार टिम प्रशिक्षक र मार्की खेलाडीको घोषणासँगै खेलाडी छनोट गरिएको छ । उक्त छनोटमा ६ टिमका ८४ खेलाडी चुनिएका छन् ।

एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने एनकेएलमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स छन् ।

विराटनगरले लोकबहादुर विष्ट, जनकपुरले पार्वती राई, काठमान्डुले सरोजकुमार सिंह, पोखराले विष्णुदत्त भट्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएका छन् । बुटवलको हिमालयन रेइडर्सले दुईजना प्रशिक्षक राखेका छन् । जसमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमार रहेको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमित बेगानीले जानकारी दिए ।

१९औँ एसियाली खेलकुदमा नेपाली महिला टिमले कास्यपदक प्राप्त गर्दाकी प्रशिक्षक पार्वतीले पुरुष टिम सम्हाल्ने सम्भवतः पहिलो नेपाली प्रशिक्षक बन्ने अवसर पाएकी छिन् भने भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन् ।

प्रशिक्षकपछि मार्की खेलाडी घोषणा गरिँदा विराटनगरमा कल्याण भुजेल, धनगढीमा पदमबहादुर विष्ट, हिमालयनमा गणेश पार्की, जनकपुरमा रामु टमाटा, काठमान्डुमा घनश्याम रोका मगर र पोखरामा प्रदीप मिजार परेका छन् । भारतको प्रो कबड्डी लिगमा आबद्ध घनश्याम नेपाली राष्ट्रिय टिमका कप्तान पनि हुन् ।

प्रशिक्षक र मार्कीको छनोटपछि एनकेएलमा खेलाडीको छनोट गरिएको छ । छनोटका लागि ९२ नेपाली र २५ विदेशी गरी कूल एक सय १७ खेलाडी सूचीमा थिए ।

प्रशिक्षकहरूले आ–आफ्नो रणनीतिअनुसार ८४ खेलाडी छनोट गरेका छन् । जसमा ६६ नेपाली र १८ जना विदेशी खेलाडी छन् । प्रत्येक टिममा १४ खेलाडी छन् । हरेक टिमले दुई देखि चार जनासम्म विदेशी खेलाडी लिएका छन् ।

उक्त छनोट कार्यक्रमका प्रमुख अथिति राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले निजी क्षेत्रले खेलकुदको क्षेत्रमा ठूलो योगदान दिइरहेको बताए । उनले एनकेएलको सुरुआतले कबड्डी खेललाई व्यावसायिकताको मार्गमा लैजाने विश्वास व्यक्त गरे ।

आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमित बेगानीले भने, ‘मधेसमा लोकप्रिय खेलको रुपमा रहेको कबड्डीलाई हामीले नयाँ उचाइ दिन एनकेएल ल्याएका छौँ । यसले कबड्डी खेलेरै पनि खेलाडीले केही गर्नसक्छ भन्ने देखाउन चाहान्छौँ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register