नेपालको वैकल्पिक राजनीति : केही अनुभूति, केही समीक्षा

कतिपय मान्छेको नियति यस्तो हुन्छ कि ती जवान हुन नपाउँदै वृद्ध हुन्छन् । उमेरमै रोगाउँछन् र मर्दछन् । नेपालको ‘वैकल्पिक राजनीति’ पनि ठीक त्यस्तै नियतिको शिकार हुने सम्भावना बढेको छ ।

Dec 17, 2024 - 13:07
 0
नेपालको वैकल्पिक राजनीति : केही अनुभूति, केही समीक्षा

जब हामी कुनै शब्द वा अवधारणाको कुरा गर्दछौं– त्यो कुन सन्दर्भमा किन, के उद्देश्य र प्रयोजनले भनिएको थियो – प्रष्टता चाहिन्छ । शब्द वा अवधारणा आफैँमा पूर्ण हुँदैनन् । व्याख्या, टिप्पणी वा भाष्य चाहिन्छ । अवधारणाका मानक आदर्श वा मापदण्ड स्थापना गर्नुपर्दछ ।

मानक आदर्श बिना अवधारणा जीवन्त र विश्वासनीय रहन सक्दैन । ती सस्तो लोकप्रियता र निहीत स्वार्थका लागि दुरुपयोग हुन थाल्दछन् । नेपालमा यसबीच केही शब्दले यसरी नै अर्थ–महत्ता गुमाएका छन् । स्वार्थ समूहद्वारा गिजोलिएर अनाकर्षक र फितला बनाइएको छ ।

जस्तो कि समाजवाद –एक दशक अघिसम्म ‘समाजवाद’ शब्द निक्कै ओजिलो लाग्दथ्यो । समाजवादी भनिने शक्ति, पार्टी र नेताहरु प्रभावी भए केही न केही ‘नयाँ–राम्रो’ हुने अपेक्षा गरिन्थ्यो । तर, आज कसैले त्यस्तो आस गर्दैनन् । समाजवाद शब्दले अब कुनै भावनात्मक तथा वैचारिक अपिल नै गर्दैन, बरु उल्टै वितृष्णा सृजना गर्दछ । धेरै मानिसलाई समाजवाद शब्द सुन्दै रिस उठ्न थालेको छ । समाजवाद जप्ने नेता र पार्टीलाई नागरिकले पाखण्डी भन्न थालेका छन् ।

त्यस्तै, अर्को शब्द हो – समृद्धि । ‘अबको निकास आर्थिक विकास, समृद्धि सम्भव छ हाम्रै पालामा’ जस्तो नाराले केही समय मान्छेलाई राम्रै आकर्षित गर्थ्यो र आशावादी बनाउँथ्यो । अब गर्दैन । ‘समृद्ध नेपाल, सुखी नेपाली’ जस्ता नारा सुन्नु पर्दा अहिले मान्छेको कन्पारो तात्छ । लाग्छ– पाखण्डी नेतृत्व वृत्तले नागरिकको मनोवैज्ञानिक शोषण गर्न अर्थ न बर्थसँग ‘समृद्धि’ शब्दको अनाहक दुरुपयोग गरिरहेको छ ।

पञ्चायतकालको उत्तरार्धतिर यसरी नै ‘शान्तिक्षेत्र’ र ‘एसियाली मापदण्ड’जस्ता राम्रा अवधारणाले यसरी नै अर्थ र विश्वासनीयता गुमाएका थिए । यी अवधारणा आफैँमा गलत थिए भन्ने चाहीँ हैन । निहीत राजनीतिक स्वार्थमा शासकवर्ग र राजनीतिक नेतृत्वद्वारा यी शब्द र नारालाई यसरी दुरुपयोग गरियो कि यीनले विश्वासनीयता नै गुमाए । विश्वासनीयता गुमाएका अवधारणाको सान्दर्भिकता पुनर्स्थापित गर्नु धेरै गाह्रो काम हो ।

नेपालको ‘वैकल्पिक राजनीति’ पनि ठीक यस्तै मारमा परेको, निहीत राजनीतिक स्वार्थमा अनावश्यक र सर्वाधिक गिजोलिएको, विस्तारै सस्तो फितलो र अविश्वसनीय हुँदै गएको शब्दावली र अवधारणा हो ।

प्रारम्भमा यो शब्दले निक्कै गम्भीर अर्थ दिन्थ्यो । नागरिकमा जिज्ञासा र उत्साह सृजना गर्दथ्यो । नयाँ सम्भावनाको क्षितिज सङ्केत गर्दथ्यो । नयाँ आशा जगाउँथ्यो । तर, अब त्यस्तो रहेन । ‘नयाँ र वैकल्पिक भनिने पनि उस्तै हुन्’ भन्न थालिएको छ । देखिएको पनि त्यस्तै छ । कतिपय मान्छेको नियति यस्तो हुन्छ कि ती जवान हुन नपाउँदै वृद्ध हुन्छन् । उमेरमै रोगाउँछन् र मर्दछन् । नेपालको ‘वैकल्पिक राजनीति’ पनि ठीक त्यस्तै नियतिको शिकार हुने सम्भावना बढेको छ ।

नेपाली राजनीतिमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीलाई शास्त्रीय, परम्परागत, पुराना र मूलधार मानेर अतिरिक्त ‘नयाँ दल’ बनाउने प्रयत्न २०४६ सालको परिवर्तनदेखि नै हुँदै आएको छ । त्यतिखेरै गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टी, एमएस थापा–गोरेबहादुर खपाङ्गी नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी, डा. देवेन्द्रराज पाण्डे नेतृत्वको लोक दल, डा. कुवेर शर्मा नेतृत्वको हरियाली पार्टी आदि बनेका थिए ।

नयाँ पार्टी बनाउने प्रयत्नलाई मात्र ‘वैकल्पिक राजनीति’ भन्न मिल्दैन । सानै आकारमा किन नहोस्, कांग्रेस–कम्युनिष्टहरुले भन्दा फरक यी दलले केही न केही नयाँ विचार, सवाल र ‘फ्लेवर– दिएका थिए । तर, तिनले ‘वैकल्पिक राजनीति’को दाबी गर्दैनथे । नेपाल सद्भावना पार्टीले मधेस पहिचान र मधेसी जनाधिकारको कुरा उठाउँथ्यो । वैचारिक रुपमा हेर्दा त्यसैको पछिल्लो संस्करणजस्तो मधेसी जनाधिकार फोरम बन्यो, जसले मधेस आन्दोलनको नेतृत्व गर्‍यो । सङ्घीयता, समावेशिता, समानुपातिकता, भाषिक–सांस्कृतिक अधिकार र सीमान्तकृत समुदायको सहभागिता, प्रतिनिधित्व र आरक्षणको सवाललाई एक हदसम्म सम्बोधन गरायो ।

राष्ट्रिय जनमुक्ति पार्टीले गर्न चाहेको आदिवासी–जनजातिकेन्द्रित राजनीतिका प्रभाव अहिले पनि छँदैछन् । देवेन्द्रराज पाण्डेहरुले लोक दल बनाएर परम्परागत साम्यवाद र शास्त्रीय पुँजीवादभन्दा फरक विश्वको ‘सामाजिक जनवादी’ वा ‘सामाजिक लोकतन्त्र’ को वैचारिक धारलाई गति दिन खोजेको सहजै बुझ्न सकिन्छ ।

डा. कुवेर शर्माहरुले विश्वको ‘ग्रिन पार्टी आन्दोलन’ को भावनालाई पक्रिन खोजेका थिए, जो सन् १९८० को दशकपछि विश्वमा एक नयाँ राजनीतिक वैचारिकी र स्पेश बन्दै गएको थियो । आज पनि विश्वका धेरै देशमा बलिया ग्रिन पार्टी छन्, विशेषतः जर्मनी र अन्य युरोपेली देशमा ।

यहाँनेर ध्यान दिन योग्य कुरा के छ भने यस्ता दलले ‘वैकल्पिक राजनीति’ को दाबी गर्दैनथे, ‘राजनीतिक विकल्प’ दिने प्रयास मात्र गर्दथे । ‘वैकल्पिक राजनीति’ र ‘राजनीतिक विकल्प’ झट्ट सुन्दा उस्तै उस्तै लागे पनि यी फरक अवधारणा हुन् ।

‘राजनीतिक विकल्प’ को अर्थ केही वैचारिक जोड कोणको भिन्नता, केही समसामयिक सवाल वा सामुदायिक तथा नेतृत्व भावनाको भिन्नतामा आधारित भएर नयाँ दल बनाउनु र कांग्रेस–कम्युनिष्टजस्ता शास्त्रीय दललाई प्रतिस्थापन गर्दै तिनको स्थान ओगट्न खोज्नु हो भन्ने बुझिन्छ । यस्ता दलले कांग्रेस–कम्युनिष्टसँग निश्चित वैचारिकी र मुद्दामा विमति राख्थे । तर, बाँकी सवाल र अभ्यासमा उस्तैउस्तै हुन्थे । यिनको सङ्गठनात्मक जीवन, मूल्य प्रणाली, आर्थिक नीति र नेतृत्वशैलीमा पुराना दलभन्दा खासै भिन्नता हुँदैनथ्यो ।

तर, ‘वैकल्पिक राजनीति’ को अर्थ भने यति मात्र हैन वा थिएन । यसको अझ बृहत् अर्थ र आयाम थियो । अहिलेसम्म भइरहेका राजनीतिक अभ्यासभन्दा एक फरक मूल्य प्रणाली, सङ्गठनात्मक अभ्यास, नेतृत्व शैली, राजनीति, आर्थिक, प्रशासनिक सुधारका नयाँ प्रस्तावसमेत गर्न सक्ने फरक राजनीतिक संस्कृति र सौन्दर्यशास्त्र भएको नयाँ राजनीतिक आयामलाई स्थापित गर्नु थियो ।

राष्ट्र निर्माण (नेसन बिल्डिङ) र राज्य सञ्चालन कलाको समग्र अवधारणामै एक नयाँ योगदान गर्नु थियो । राज्यको चरित्र र राजनीतिको संस्कृति नै फेर्नु थियो । राजनीतिमा एक नयाँ भाष्य र व्याकरण निर्माण गर्नु थियो, जो अहिलेसम्म नेपालको राजनीतिमा छैन ।

यो बिन्दुमा हरेक प्रश्नको सामना र निरुपण गरेर अघि बढ्नुपर्ने हुन्छ । त्यसो भए नेपालका अहिलेसम्मका नयाँ दल बनाउने अभ्यासमध्ये कुन-कुनलाई ‘वैकल्पिक राजनीति’ र कुन-कुनलाई ‘राजनीतिक विकल्प’ को प्रयास मान्ने ? यो आफैँमा जटिल प्रश्न हो । किनकि नेपालमा राजनीतिकर्मीले यी अवधारणाबीचको भिन्नतालाई त्यति गहिरोगरी महत्त्व दिएकै छैनन् ।

नेपालमा ‘वैकल्पिक राजनीति’ शब्दाबली र अवधारणाको प्रयोग विसं २०६४ सालको पहिलो संविधानसभाको असफलताको पृष्ठभूमिमा हुन थालेको हो । अझ किटेर भन्दा ०६७ सालको प्रारम्भतिरबाट हुन थालेको हो । यसको विमर्श र अभ्यास करिब डेढ दशक लामो भइसकेको छ ।

डेढ दशकमै कुनै राजनीतिक अवधारणा र आन्दोलन परिपक्क राजनीतिक दल बनिसक्छ, देशको मुल नेतृत्व गर्ने हैसियतमा पुगी सक्दछ, देशको उचित नेतृत्व गरिसक्दछ, राष्ट्रनिर्माण र राज्य सञ्चालनमा यथोचित योगदान गरिसक्दछ भनेर अपेक्षा गर्नु हतारो हुन्छ । तर, सूचनाप्रविधिको युगमा यो कुनै छोटो अवधि भने हैन । यति नै अवधिमा अहिलेकोभन्दा धेरै परिणाम दिन सकिने सम्भावना थियो ।

तसर्थ यो डेढ दशकमा ‘वैकल्पिक राजनीति’ ले आफ्नो कार्यभार पूरा गर्न नसकेको यथार्थ यो स्पेशका सबै चिन्तक, अभियन्ता र राजनीतिकर्मीले स्वीकार र आत्मसात् गर्नु उचित हुन्छ । अहङ्कार र आत्मतुष्टिका लागि सत्यलाई अस्वीकार गर्दैमा केही हुनेवाला छैन । सत्य स्वीकार गर्नुभन्दा ठूलो महानता, क्रान्तिकारिता संसारमा अरु केही हुँदैन ।

सत्य स्वीकार गर्नु नै सबैभन्दा ठूलो ‘सत्यवादीता’ हो । व्यक्ति वा समूहको इच्छा र अहङ्कारभन्दा बाहिर सत्यको आफ्नै ‘कोर्स’ हुन्छ । राजनीति भावना पनि हो तर, सत्यले भावनालाई धेरै महत्व दिँदैन । नेपालको वैकल्पिक राजनीतिको बारेमा यो पनि एक निष्कर्ष बन्न सक्दछ कि सत्यले आफ्नै ‘नेचुरल कोर्स’ पक्रियो तर, यो धारका चिन्तक, अभियन्ता र राजनीतिकर्मी भने आफ्नै स्वार्थ, दम्भ, अहङ्कार र आत्मसन्तुष्टिको बाटो हिँड्न खोजे ।

फलतः सत्य र तिनका बीच एक भीषण सामना भयो, सत्यले तिनलाई पछार्‍यो । सत्यसँग ति हारे, अब धुलो टक्टक्याउँदै उठ्नुबाहेक तिसँग अरु कुनै विकल्प छैन तर, ति त्यसो गर्न लाजागाला अन्कनाई रहेका छन् ।

०६० को दशकमा ‘वैकल्पिक राजनीति’ र ‘नयाँ दल’ को उदय हुन सक्दछ भन्ने सोच कमजोर थियो । नयाँ दलहरूको उदय, विकास र विस्तार असम्भवजस्तो मानिन्थ्यो । आज त्यस्तो सोच भने भत्किएको छ । देशमा त्यतिखेरसम्म मूलतः ४ वटा राजनीतिक धार थिए । यद्यपि ती अझै छन् ।

एक–नेपाली कांग्रेसले प्रतिनिधित्व गर्ने उदार लोकतान्त्रिक वा नवउदारवादी वा शास्त्रीय प्रजातान्त्रिक समाजवादी वा संसदीय लोकतन्त्रवादी धार ।
दुई– एमाले–माओवादी केन्द्रलगायतका विभिन्न कम्युनिष्ट घटकले नेतृत्व गर्ने विभिन्न आकार, मात्रा, रुप, रङ्ग, ढङ्ग र अनुपातको साम्यवादी धार ।
तीन– राजतन्त्र र एक धार्मिक राज्यमा विश्वास गर्ने चलनचल्तीको भाषामा राजावादी भनिने परम्परावादी, रुढीवादी वा सम्वर्द्धनवादी धार ।
चार– मधेसी,जनजातिलगायत सीमान्तकृत समुदाय र क्षेत्रको सहभागिता, प्रतिनिधित्व र सशक्तिकरणमा विश्वास गर्ने पहिचानवादी धार ।

यी विचार र धारका दल दशकौंदेखि थिए र अझै दशकौंसम्म रहने छन् । यिनको प्रभावको मात्रा वा अनुपात मात्र घटबढ हुनेछ । कुनै चुनावमा बढ्लान्, कुनै चुनावमा घट्लान् तर, यी कुनै पनि धार छोटो अवधिमै समाप्त हुनेवाला छैन ।

यही कारण हो कि नेपालमा ‘वैकल्पिक राजनीति’को उद्देश्य ‘राजनीतिक विकल्प’ निर्माण मात्र हुन सक्दैन । किनकि भएका वैचारिक स्पेश ओगटिएको छ । उस्तै विचार र चरित्रको अर्को एक थान पार्टी बनाएर यी कुनै पनि धारका पार्टीलाई विस्थापन गर्न सकिँदैन । गर्न आवश्यक पनि हुँदैन । यी भन्दा अझ कमसल गुणस्तरको पार्टी बनाएर ‘वैकल्पिक राजनीति’ को ध्वांस पिट्नु भनेको आफैँमा बचकना काम हो । जो आफ्नो स्पेशका दशकौंदेखिका सम्वाहक र सुत्रधार हुन्, तिनलाई प्रतिस्थापन गर्ने सोच अप्राकृतिक हो ।

तसर्थ, नेपालको ‘वैकल्पिक राजनीति’ गुणतत्वकै आधारमा फरक हुन सक्नुपर्दछ । यसले माथिका यी ४ भन्दा फरक आफ्नो भिन्नै स्पेश सृजना र विस्तार गर्नुपर्दछ । आफ्नै भिन्नै दीर्घकालीन ‘कन्स्ट्सीच्युवेन्सी’ वा जनमत निर्माण गर्नुपर्ने हुन्छ । बितेको डेढ दशकमा एक हदसम्म यो काम कम्तिमा प्रचारात्मक तहमा भएको छ । जनमतको एउटा हिस्सा नयाँ र वैकल्पिक दललाई सहयोग, समर्थन गर्न र भोट दिन राजी हुँदै गएको छ ।

हिजो वैकल्पिक राजनीतिका लागि मान्छेको शीला खोज्नुपर्ने अवस्था थियो भने आज कम्तीमा एउटा पङ्क्ति, एउटा सानो आकारकै भए पनि जनमत निर्माण भएको छ । यदि आफ्ना गल्ती सबैले सच्याउने हो भने यो शक्ति प्रयोग गरेर अघि बढ्न सकिने आधार छ । बितेको डेढ दशकमा नेपालको वैकल्पिक राजनीतिमा भएको सबैभन्दा सकारात्मक काम यही हो । र, यो पनि निक्कै महत्त्वपूर्ण उपलब्धि नै हो ।

माथि भनिएका ४ वटै धारसँग शत्रुता वा निषेधको राजनीति गर्नु ‘वैकल्पिक राजनीति’ हैन । वैकल्पिक राजनीतिको अर्थ तिनका अपूर्णताको पुर्ताल गर्नु, तिनका योगदानको सम्मान र खराबीको आलोचना गर्नु हो । ‘क्रिटिकल मास’ निर्माण गर्नु र त्यसका आधारमा लोकतान्त्रिक छनोटका विकल्प विस्तार गर्नु हो ।

तिसँग एकातिर शत्रुता र निषेध, अर्को सहकार्य, साझेदारी, एकता र गठबन्धन दुबै नगर्नु हो । बरु ‘राजनीति भनेको तिमीले गरेजस्तो मात्र हुँदैन, यस्तो पनि हुन सक्दछ’ भनेर एउटा भिन्नै प्रारुप, उदाहरण बनेर, बनाएर तिनलाई समेत देखाउनु हो । तिनले समेत भविष्यमा पछ्याउन बाध्य हुनुपर्ने गरी केही आदर्श मानक स्थापना र अवलम्बन गर्नु हो ।

शत्रुता र निषेध किन गर्नुहुँदैन भने लोकतन्त्रमा यस्तो दूर्भावना नै गलत हो । वैकल्पिक राजनीतिको अर्थ लोकतन्त्रको अझ बढी विस्तार र सघनीकरण गर्नु हो भने उनीहरुको लोकतान्त्रिक अधिकारको सम्मान गर्न जान्नुपर्दछ । अझ सहिष्णु र उदार राजनीति गर्नुपर्दछ ।

सहकार्य, सत्ता साझेदारी, एकता र गठबन्धन किन गर्नुहुँदैन भने त्यसो गर्दा वैकल्पिक राजनीतिको भिन्नै पहिचान, स्पेश, मौलिकता र विश्वासनीयता सृजना हुँदैन । यसबीच वैकल्पिक राजनीति गर्छु भन्नेले मिलाउन नसकेको एउटा सन्तुलन यो बिन्दुमा पनि हो । कि ती पुरानाको असहिष्णु र भद्दा विरोध, आलोचना, गालीगलौजतिर लागे । विवेकपूर्ण र तार्किक राजनीतिको नयाँ संस्कार दिन सकेनन् । अर्कोतिर स्वार्थप्रेरित अधैर्यता र हतारो गर्दै अनेक प्रकारका अप्राकृतिक चुनावी गठबन्धन र सत्तासाझेदारी गर्न थाले । आज वैकल्पिक राजनीति फितलो र बदनाम हुनुको एउटा महत्वपूर्ण कारण यो हो ।

त्यसो भए वैकल्पिक राजनीतिको वैचारिक आधारशीला, आदर्श मानक वा मापदण्ड के हो त ? यो प्रश्न निसन्देह महत्वपूर्ण छ । यसले एक्काइसौं शताब्दीको उत्तरआधुनिकतावादी युगलाई नेतृत्व गर्ने विचार, सोच, संस्कार, सवाल र अभ्यास विकास गर्न सक्नुपर्दछ । कतिपय वैश्विक पनि होलान् तर, नेपालका सन्दर्भमा वैकल्पिक राजनीतिका निम्न मुख्य पाँचवटा कार्यभार हुन्छ ।

एक– शास्त्रीय पुँजीवाद, साम्यवाद, सम्वर्द्धनवाद, क्षेत्रीयतावादजस्ता नेपालमा प्रभावशाली रहेका विचार र अभ्यासका अपूर्णता वा सीमालाई यसले बुझ्न, पूर्ताल र सम्बोधन गर्न सक्नुपर्दछ । सबै विचारधाराका प्रगतिशील र सकारात्मक पक्षलाई नयाँ सामञ्जस्यतापूर्ण एकत्रिकरण (हार्मोनियस एसेम्बिलिङ) गर्न सक्नुपर्दछ । त्यस्तो विचारमा उदारवाद, समाजवाद, महिलावाद, जैविकतावाद र राष्ट्रवादका उन्नत पक्षको सम्मिश्रण हुन सक्दछ ।

तर, त्यसलाई भिन्नाभिन्नै र टुक्राटुक्री अवलम्बन गर्ने हैन, एक मौलिक र सृजनशील वैचारिकीमा उन्न र एउटै माला बनाउन सक्नुपर्दछ ताकी सबैले आफ्ना असल भावनाको झल्को पाउन । तर, त्यो विभक्त, विभाजित, असङ्गतिपूर्ण र बहुरुपीया चरित्रको पनि नहोस् । स्वतन्त्रता, समानता, बन्धुत्व र न्यायपूर्ण विश्वदृष्टिकोणलाई उत्तरआधुनिक यथार्थसँग सामञ्जस्यता गर्न सक्ने लोकतान्त्रिक, प्रगतिशील, समावेशी र अग्रगामी चरित्रको भविष्यमुखी राजनीति नै मूलतः वैकल्पिक राजनीतिको वैचारिक आधार हुन सक्दछ ।

दुई– वैकल्पिक राजनीतिले लोकतन्त्रलाई अहिलेकोभन्दा एक कदम अघि बढेर एक नयाँ परिभाषा, भाष्य, व्याकरण, अर्थ, चरित्र, स्वरुप र अभ्यास दिनुपर्दछ । मूलतः त्यो सहभागितामुलक, प्रत्यक्ष, समानुपातिक–समावेशी, सङ्घात्मक, पारदर्शी र सुसंस्कृत लोकतन्त्र हो । तर, यस्तो लोकतन्त्र शब्द सिद्धान्त र दस्तावेजमा जपेर हुँदैन, जति लागू हुन सक्दछ, पार्टी जीवनबाटै लागू गर्दै जाने र राज्य प्रणालीमा प्रवेश गराउने रणनीति हुनपर्दछ । लेख लेखेर, भाषण अन्तवार्ता गरेर अब कसैले पत्याउँदैन । पार्टी जीवन र अभ्यासमै लागू गरेर फरक उदाहरण प्रस्तुत गर्दै जान सक्नुपर्दछ ।

तीन– सुशासनको मुद्दामा कहिल्यै कुनै प्रकारको सम्झौता गर्नुहुँदैन । सबै प्रकारका ठगी, अनैतिकता, तस्करतन्त्र, अपारदर्शीता र भ्रष्टाचारबाट मुक्त हुन सक्नुपर्दछ । व्यक्ति र संस्थालाई फरक गर्ने, व्यक्तिका निजी नैतिक सङ्कटलाई पार्टीका संस्थागत विषय नबनाउने प्रचलन हुनुपर्दछ । यसका लागि संरचनागत र संस्कारगत दुबै पक्षमा उल्लेखनीय सुधार गर्न राजी हुनुपर्दछ ।

सुशासनका लागि आवश्यक राजनीतिक, प्रशासनिक र संवैधानिक सुधारका सवाल पहिचान गरी बलियो पैरवी गर्नुपर्दछ । त्यस्ता मुद्दामा आधारित भएर जनसङ्घर्ष र नागरिक आन्दोलन विकास गर्न सक्नुपर्दछ ।

चार– नागरिकको स्वाभिमान र समृद्धि राजनीति र अर्थतन्त्रको मुख्य लक्ष्य हुनुपर्दछ । शास्त्रीय अर्थको खुला बजार अर्थतन्त्र, राज्य–समाजवाद, शास्त्रीय समाजवाद, राज्य–पुँजीवाद, मिश्रित अर्थतन्त्रजस्ता अर्थतन्त्रका शास्त्रीय सोच र ढाँचाबाट मुक्त र गतिशील सन्तुलनमा आधारित ‘सामाजिक बजार अर्थतन्त्र’ को अभ्यासमा जानुपर्दछ । आर्थिक वृद्धि, दीगो–समावेशी विकास, समन्यायिक वितरण, मानवीय खुशी, नैतिक तथा पारदर्शी आर्थिक पद्धति र समतामुलक समृद्धिको दृढ पैरवी गर्नुपर्दछ ।

नागरिक केन्द्रीयता र नागरिकीकरणमा आधारित अर्थतन्त्रको एक बिल्कुल फरक मोडेल र अभ्यासको दृष्टान्त प्रस्तुत गर्न सक्नुपर्दछ । अहिलेसम्म के कारण देशको आर्थिक विकास र समृद्धि हुन नसकेको हो, अब कसरी हुन सक्दछ भन्ने ठोस र मूर्त अवधारणा प्रस्तुत गर्न र आवश्यकताअनुरुप परिमार्जित गर्दै जान लचकता राख्नु पर्दछ ।

पाँच– वैकल्पिक राजनीतिले सीमान्तकृत जातीय, भाषिक, साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक समुदायलाई विग्रह, अगलाव, क्षेत्रीयतावाद र प्रतिशोधतिर हैन, समावेशिता, सङ्घवाद, सामाजिक न्याय, पहिचान र अधिकारको सम्बोधनमार्फत् राष्ट्रिय चरित्रमा एकीकृत गर्नुपर्दछ र राष्ट्र निर्माणको एक नयाँ अध्यायको योगदानमा स्वामित्व दिनुपर्दछ । । यी मुद्दा ‘पहिचानको राजनीति’ गर्ने दबाब समूहजस्ता क्षेत्रीय समूहका लागि छोडिदिएर वैकल्पिक राजनीतिले राष्ट्र निर्माणको कार्यभार पूरा गर्न सक्दैन ।

वैकल्पिक राजनीति वर्चश्व (हेज्जेमोनी) र प्रतिवर्चश्व विरुद्ध विवर्चश्व ( डि–हेज्जेमोनी ) को आन्दोलन हो । कांग्रेस–एमाले र राजावादीले वर्चश्वको र कतिपय साना दल र क्षेत्रीय दबाब समूहले प्रतिवर्चश्वको राजनीति गरिरहेका छन् । यी दुबैको भन्दा फरक वैकल्पिक राजनीतिले वि-वर्चश्वको मार्ग अवलम्बन गर्न सक्नुपर्दछ ।

विगत डेढ दशकमा वैकल्पिक राजनीतिको प्रयास र अभ्यासमा भएका कमजोरी के-के हुन् त ? यसको चर्चा र समीक्षा आवश्यक पर्दछ । मूलतः डा. बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति, रवीन्द्र मिश्र नेतृत्वको विवेकशील–साझा र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको अभ्यासलाई दृष्टान्त मानेर समीक्षाको आधार बनाउन सकिएला ।

तर, यी पनि प्रष्ट र पर्याप्त आधार भने हैनन् । विवेकशील–साझामा विवेकशील धार र त्यसका नेता उज्ज्वल थापाको सोच र चरित्र केही फरक थियो ।

डा. भट्टराईको नयाँ शक्तिले प्रारम्भमा वैकल्पिक राजनीतिको दाबी गरेको भए पनि त्यसले अन्य दलसँग गरेको एकता र गठबन्धनको अवधि सायद वैकल्पिक राजनीतिको विवेचनाका लागि आधारयोग्य अवधि र अभ्यास हैन ।

नयाँ शक्ति र विवेकशील–साझाले जति बलियो गरी ‘वैकल्पिक राजनीति’ को भाष्य प्रयोग गरेका थिए, रास्वपाले त्यो स्तरमा दाबी गरेको पनि छैन । रास्वपाको ध्यान ‘वैकल्पिक राजनीति’भन्दा बढी ‘राजनीतिक विकल्प’ तिर छ भनेर सहजै बुझ्न सकिन्छ । तथापि यी तीन वटै अभ्यासका मुख्य ५ वटा ठूला र साझा कमजोरी देखिन्छ ।

१.अवैचारिकता

यी सबैले विचारको अन्त्य र सत्योत्तर यथार्थको भ्रम दिन खोजेका छन् । यो कुरा आरोपजस्तो मात्र लाग्न सक्दछ किनकि सबैले केही न केही वैचारिकताको आग्रह, नयाँ विचारको कुरा त गरेका थिए । तर, ती एकदमै छिपछिपे, अमूर्त, भावनात्मक, जस लिने भावनाबाट प्रेरित र अपर्याप्त थिए । तिनले कुनै प्रष्ट आदर्श मानक र मापदण्डको सीमारेखा खिच्न सकेनन् । साथै, मौलिक पहिचान र सृजनशील क्षमताको परिचय पनि स्थापित गरेनन् । तसर्थ नागरिक र मतदाताले तिनको ‘भिन्नपन’ को भेउ नै पाउन सकेनन् ।

२.अवसरवाद

वैकल्पिक राजनीतिले रातारात यसमा लागेका मान्छेको राजनीतिक ‘करिअर’ सुनिश्चित गर्न सम्भव थिएन । कुनै पनि आन्दोलनले रातारात त्यस्तो प्रतिफल दिँदैन । त्यसका लागि निश्चित प्रकारको धैर्यता चाहिन्थ्यो । अधैर्यता, छिटो पद प्राप्तिको भित्री लालसा, बाहिर बढो आदर्श र त्यागीजस्तो आत्मप्रदर्शन गर्नुपर्ने ढोँग र सत्ता राजनीतिमा भागिदारको आकाङ्क्षाले वैकल्पिक राजनीतिलाई न्याय गर्न सक्दैन ।

नयाँ शक्तिले बारम्बार गरेका एकता र गठबन्धन, रास्वपाको दुई-दुई पटकको अराजनीतिक सत्तासाझेदारी र विवेकशील–साझामा बारम्बारको फुट, झगडा र पदीय किचलो अन्ततः मूल नेताकै पलायन अवसरवादका बलिया उदाहरण हुन् ।

वैकल्पिक राजनीति तत्कालै ‘सत्ता राजनीति’को अंश हुन सक्दैन, कोही समय वा दशक यो ‘मिसन राजनीति’ नै हुन्छ । तर, अवसरवादले यो यथार्थ बुझ्न चाहेन । मूल नेतृत्व वा केही व्यक्तिका निजी राजनीतिक करिअरका लागि अधैर्यताको भद्दा प्रदर्शन भयो । फलतः केही यस्ता अपरिपक्क र आत्मघाती निर्णय गरिए, जसले वैकल्पिक राजनीतिलाई नै बदनाम गर्‍यो ।

३.लोकरिझ्याइँ र नायकत्ववाद

नयाँ शक्तिमा डा. बाबुराम भट्टराईको माओवादी ‘आइडोलग’, सफल अर्थमन्त्री र पूर्वप्रधानमन्त्री हुनुको नायकत्व थियो । विवेकशील–साझामा रवीन्द्र मिश्रको परोपकारवाद, बीबीसी पत्रकार, लेखक र सामाजिक सञ्जालमा धेरै फलोअर हुने सेलिब्रिटी हुनुको नायकत्व थियो । रास्वपामा त रवि लामिछाने घोषित रुपमै नायकत्व स्वीकार गरिएका नेता थिए । ‘बुद्ध इज बर्न इन नेपाल’को गिनिज बुक रेकर्ड, उद्धार पत्रकारिता र ‘नाकका डाँडी भाँच्ने’ पपुलिष्ट बयानबाजीका कारण उनी नायक मात्र हैन, ‘भौमान्’ मानिएका थिए । नयाँ शक्ति र विवेकशील– साझाभन्दा अझ अघि बढेर त्यसले ‘रवि दाई–हाईहाई’ र ‘हाम्रो रवि हाम्रो देश, प्राणभन्दा प्यारो छ’ जस्ता नारा सृजना गर्‍यो ।

नायकत्वसँगै कतिपय लोकरिझ्याइँ पनि जोडिएर आए । फलतः ती गम्भीर राजनीतिक विश्वासनीयता भन्दा होहल्ला, प्रोपागण्डा र ‘डिजिटल जादुगरी’ तिर प्रवृत भए । वैकल्पिक राजनीतिको मूलमन्त्रमध्ये एक ‘अझ बढी लोकतन्त्र’ हो । यसलाई न्याय गर्न अझ बढी संस्थागत चरित्र र सामूहिक नेतृत्व प्रणाली भएको पार्टी चाहिन्छ, व्यक्तिवादी वा नायकत्ववादी हैन ।

४.असङ्गत विगतको ‘ब्यागेज’

तीन वटै नेतासँग वैकल्पिक राजनीतिको मूल्यमान्यता, आदर्श मानक र आवश्यकतासँग मेल नखाने वा असङ्गत लाग्ने विगत जीवनको ‘ब्यागेज’ थियो । डा. भट्टराई माओवादी आन्दोलनबाट आएका थिए, त्यो शास्त्रीय साम्यवादी आन्दोलन थियो जबकि वैकल्पिक राजनीति उन्नत लोकतान्त्रिक आन्दोलन हो ।

साथै, भट्टराईसँग माओवादी पार्टीबाट आएका अधिकांशले ‘नयाँ शक्ति’लाई प्रचण्डसँग असन्तुष्ट पूर्वमाओवादीको गुट ठान्दथे, उनीहरु सोही अनुरुप पार्टीमा स्वामित्वको दाबी गर्दथे । अधिकांशलाई ‘वैकल्पिक राजनीति’को जरोकिलो नै थाहा थिएन वा भए पनि मतलब थिएन । अन्ततः तिमध्ये अधिकांश माओवादीमै फर्किए ।

रवीन्द्र मिश्रसँग पनि ‘मनुज चौधरी’ र ‘छद्म राजावादी’ हुनुको ‘ब्यागेज’ थियो । विवेकशील–साझाकै नेतृत्व गरिरहँदा पनि उनका विचारमा ‘महेन्द्रवाद’को झल्को आइरहन्थ्यो । उनले ‘हैन’ भनेर जति नै ढाँट्न, टार्न वा प्रतिरक्षा गर्न खोजे पनि अन्ततः त्यही पुष्टि भयो । अन्ततः उनले राप्रपा प्रवेश गरेर आफूमाथिको आरोप आफैँ सिद्ध गरे ।

रवि लामिछानेको पनि दोहोरो नागरिकता, दोहोरो पासपोर्ट, गोर्खा मिडिया नेटवर्क प्रालि, उद्धार तथा परोपकारवादी पत्रकारिता र सहकारी ठगीको ठूलो ‘ब्यागेज’ रहेछ । रास्वपामा गोर्खा मिडिया प्रालिसँग जोडिएका र शेरबहादुर–गगन थापासँग असन्तुष्ट पूर्वकांग्रेसीको ठूलो सङ्ख्या छ । रास्वपा प्रकरणचाहीँ कसरी पटाक्षेप होला, पर्खिएरै हेर्नुपर्दछ ।

नयाँ शक्तिका अधिकांश माओवादीमै फर्किएजस्तो, डा. भट्टराईले माओवादीसँग चुनाव चिन्हको साझेदारी गरेजस्तो, रवीन्द्र मिश्र राप्रपा प्रवेश गरेजस्तो हुनसक्दछ । रास्वपाको एउटा पङ्क्ति आउने चुनावसम्म फेरि कांग्रेसमै फर्किन सक्दछ ।

वैकल्पिक राजनीति र नयाँ दलमा अहिलेसम्म विगतको कुनै न कुनै नकारात्मक प्रकारको ‘ब्यागेज’ नभएको नेतृत्व देखा परेको छैन । यो आफैँमा अनौठो र विडम्बनापूर्ण छ । मान्छे ‘दूधले धोएको’ त कोही नहोला तर, नैतिक सङ्कटको पनि निश्चित सीमा हुन्छ ।

५. अहं र आन्तरिक द्वन्द्व व्यवस्थापन क्षमताको अभाव

वैकल्पिक राजनीतिको अर्को एक महत्त्वपूर्ण मान्यता के हो भने यस्तो राजनीति गर्न ‘गन्तव्य’मा भन्दा ‘यात्रा अनुभव’ र ‘परिणाम’भन्दा ‘प्रक्रियाको शुद्धता र पारदर्शिता’मा ‘इन्जोय’ गर्ने मनोविज्ञान आवश्यक पर्दछ । ‘तातै खाउँ, जली मरौं’ वा ‘तुरुन्तै चकाचौध होस्’ भन्ने सोच र मनोविज्ञान दीगो राजनीतिकर्म हुँदैन ।

क्षमताभन्दा ठूलो महत्वाकाङ्क्षा सर्वथा कुनै न कुनै दुर्घटनामा पुगेर विर्सजन हुन्छ । राजनीतिमा व्यक्तिगत लोकप्रियता पनि दुईधारे तलवारजस्तै हो । व्यक्तिगत लोकप्रियताको संस्थागत, योजनाबद्ध र रणनीतिक उपयोग भयो भने त्यो सदुपयोग हो । हैन भने त्यसले अहंको टकराव र अन्त्यहीन आन्तरिक द्वन्द्व सृजना गर्दछ ।

व्यक्तिले आफ्नो अहं निरन्तर आफैँ महसुस र मनोसाधना विधिद्धारा व्यवस्थापन गर्नुपर्दछ । नेतृत्वमा आन्तरिक द्वन्द्व व्यवस्थापन कला पनि चाहिन्छ । नयाँ शक्ति र विवेकशील–साझाको अभ्यास र अनुभवमा यी चिज असाध्यै कमजोर थिए । डा. मुकुल ढकाल प्रकरणबाट रास्वपामा पनि यो कमजोरी उसैगरी प्रकट हुन थालेको भान हुन्छ ।

समाजमा राजनीति र लोकतन्त्रमा दलको भूमिका कहिल्यै अन्त्य हुँदैन । तसर्थ यसलाई एक ‘बहुपुस्ते कर्मयोजना’ (मल्टी जेनेरेसनल मिसन) का रुपमा ग्रहण गर्न सकियो भने ‘अहं र द्वन्द्व’ दुबै शिथिल हुन्छन् र यसले सृजना गर्ने समस्या पनि आफैँ कम हुन्छ । वैकल्पिक राजनीति न सय मिटरको द्रुत दौड हो न म्याराथन – यो रिले दौड हो । रिले दौडलाई द्रुत दौड वा म्याराथन दौड ठान्ने भ्रमले पनि धेरै ‘मै हुँ’ भन्ने हस्ती चिप्लिन्छन् ।

निष्कर्ष

यद्यपि शास्त्रीय र परम्परागत दलले वैकल्पिक राजनीतिको औचित्यहीनता सिद्ध गर्न वा नागरिकको नयाँ राजनीतिप्रतिको धित मार्न सक्दैनन् । पुराना दल सच्चिएलान् र देश समृद्ध होला भन्ने आशा अब धेरैमा बाँकी छैन । तसर्थ यतिका कमजोरीका बावजुद राजनीतिक पुनर्गठन र वैकल्पिक राजनीतिको पुनर्संगठन अपरिहार्य छ ।

बाटो जहाँबाट बिराइएको हो, त्यही फर्किएर मात्र यात्रा सच्याउन सकिन्छ । तसर्थ वैकल्पिक राजनीतिका डेढ दशकको गम्भीर समीक्षासहित यसलाई अब फेरि नयाँ सिराबाट उठाउने पहलकदमी आवश्यक छ । नयाँ सिरा र बृहत् आयामबाट एक नयाँ प्रयत्न र पहलकदमी अघि बढाउनु यस स्पेशका चिन्तक, अभियन्ता, राजनीतिकर्मी सबैको साझा दायित्व हो ।

देशमा यस्ता केही वैचारिक, मनोवैज्ञानिक र संरचनागत सवाल छन्, जसले वैकल्पिक राजनीतिको औचित्यलाई अझ बढी टड्कारो आवश्यकता बनाउँछन् । तर, विगत डेढ दशकका जस्तै गल्ती दोहोर्‍याएर यो आवश्यकता पूरा हुनेवाला छैन । तसर्थ, एक बिल्कुल ताजा र ‘बटम अप एप्रोच’ आधारित नयाँ अभियान सङ्गठित गर्नुबाहेक अरु उपाय छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register