सिरियामा असदको पतन : कसलाई के-के फाइदा, के-के बेफाइदा ?

काठमाडौं । सिरियामा असद परिवारको ५ दशकभन्दा बढी लामो शासनको अन्त्यले अरब क्षेत्र र मध्यपूर्वको शक्ति सन्तुलनमा नि:सन्देह भिन्नता ल्याउँछ । तर, यो भिन्नता कस्तो हुन्छ ? यसले कुन-कुन देश र सङ्गठनलाई के-के फाइदा वा बेफाइदा गर्दछ ? यसको आकलन गर्न थालिएको छ । सबैभन्दा ठूलो बेफाइदा ‘सिया त्रिगुट’ र यसको मुख्य नेता इरानलाई हुन […]

Dec 10, 2024 - 06:55
 0
सिरियामा असदको पतन : कसलाई के-के फाइदा, के-के बेफाइदा ?

काठमाडौं । सिरियामा असद परिवारको ५ दशकभन्दा बढी लामो शासनको अन्त्यले अरब क्षेत्र र मध्यपूर्वको शक्ति सन्तुलनमा नि:सन्देह भिन्नता ल्याउँछ । तर, यो भिन्नता कस्तो हुन्छ ? यसले कुन-कुन देश र सङ्गठनलाई के-के फाइदा वा बेफाइदा गर्दछ ? यसको आकलन गर्न थालिएको छ ।

सबैभन्दा ठूलो बेफाइदा ‘सिया त्रिगुट’ र यसको मुख्य नेता इरानलाई हुन सक्दछ । इरान, सिरिया र लेबनानको हिज्बुल्लाह समूह ‘सिया त्रिगुट’ का नजिकका साझेदार थिए । यिनले प्यालेस्टाइनको हमास र यमनी हुथी विद्रोहीलाई आफ्ना साझेदार बनाएका थिए ।

आन्तरिक गृहयुद्धले जर्जर भएको कारण बसर–अल–असदको सरकार हमास, हिजबुल्लाह र हुथी विद्रोहीको समर्थनमा खुल्न सकिरहेको थिएन । तर, इरानसँग सिरियाको सम्बन्ध राम्रो थियो । हिज्बुल्लाह, हमास र हुथी विद्रोहीलाई सहयोग गर्न इरानले सिरियाको भूमि र सम्पर्क सुत्र प्रयोग गर्दथ्यो।

गाजा युद्धका कारण हमासका दुई मुख्य नेता इस्माइल हानियाँ र याह्या सिनवरको मृत्यु इरानको लागि ठूलो घाटा थियो । इस्माइल हानियाँलाई त इजरायलले तेहरानको पाहुना बनेको अवस्थामै मारेको थियो । अर्कोतिर हिज्जबुल्लाह नेता हसन नसरुल्लासमेत मारिए । हिज्जबुल्लाहका नयाँ नेता इजरायलसँग युद्धविराम गर्न बाध्य भए ।

नोक्सानीको यो शृङ्खलामा इरानले अर्को एउटा ठूलो क्षति बेहोर्नुपरेको छ । सिरियामा असदको पतनले उसले एक नजिकको साझेदार राज्य र सरकार गुमाएको छ । सिरियामा नयाँ स्थापित हुने सरकार इरानको नजिक हुने सम्भावना कम छ । यो इरानको क्षेत्रीय शक्ति थप कमजोर भएको सङ्केत हो ।

असदको पतनले दोस्रो धक्का रुसलाई दिएको छ । असद परिवार सोभियत सङ्घको समयदेखि नै मस्कोको नजिक थियो । सन् २०११ को जनविद्रोह र त्यसपछिको गृहयुद्धको क्रममा सन् २०१५ मा मस्कोले रुसी सेना सिरिया पठाएको थियो ।

गृहयुद्धमा असद सरकारलाई साथ लिएर रुस सिरियामा बदनाम भएको छ । तसर्थ, सिरियाका नयाँ नेताले चाहेर पनि तत्काल रुसी राष्ट्रपति ब्लादमिर पुटिनसँग सम्बन्ध सहजीकरण गर्न सक्ने छैनन् । कम्तीमा युक्रेन युद्धका रुसले सिरियाबाट पाइरहेको सानोतिनो सहयोग अब रोकिने छ । असद परिवारलाई मस्कोले आश्रय दिएको छ । आश्रय मानवीय दृष्टिकोण दिइएको भनिए पनि यो मूलतः राजनीतिक नै हो । रुसले दशकौंदेखिको एक साझेदार देश गुमाएको छ ।

तेस्रो ठूलो घाटा लेबननको हिज्जबुल्लाह समूहलाई हुनेछ । हिज्बुल्लाहले सिरियामा असद सरकारलाई सहयोग गर्ने गर्दथ्यो भने सिरियाले लेबननमा हिज्जबुल्लाहलाई सहयोग गर्दथ्यो । अब हिज्जबुल्लाहले सिरियाको सहयोग नपाउन सक्दछ । सिरियामार्फत हिज्जबुल्लाहले पाउने इरानी सहयोग पनि अहसज हुने छ ।

बेरुत सरकारले दमास्कसको नयाँ शासनसँग राम्रो सम्बन्ध बनाउन सक्दछ । यसो भएमा हिज्बुल्लाह जो गाजा युद्धमा हमासलाई साथ दिँदा आफैँ कमजोर भएको छ, लेबनानी राजनीतिमा यसको प्रभाव अझ कमजोर हुन सक्दछ ।

हिज्बुल्लाह र इरानको सहयोगी शासकको पतनले हमासलाई पनि परोक्षतः बेफाइदा हुनेछ । हमासका मध्यमस्तरका नेता, कार्यकर्ता सिरियामा लुकेर बस्ने गर्दथे ।

सिरियाभित्र सिया समुदाय र सिया समुदायआधारित सङ्गठन कमजोर हुन सक्नेछन् । तर, विद्रोही नेता अबु मोहम्मद अल जुलानी सुन्नी समुदायको भएको हुँदा इसाईलगायतका सिरियाली अल्पसङ्ख्यकमाथिका सङ्कट बढ्न सक्नेछन् ।

असद शासनकालमा सुन्नी समुदायमाथि ठूलो दमन गरिएको थियो । नयाँ शासनले त्यसको प्रतिशोध लिन्छ वा सबै समुदायसँग समान व्यवहार गर्दछ, त्यो भने प्रतिक्षाकै विषय बन्दछ । नयाँ शासनले आधुनिक लोकतान्त्रिक शासन पद्धति अवलम्बन गर्दछ वा इस्लामिक कानुनहरू लागू गर्दछ, त्यो पनि पर्खेर हेर्ने विषय नै हो ।

जुलानीको राजनीतिक पृष्ठभूमि अलकाइदासँग जोडिएको हुँदा उनले इस्लामिक कानुन लगाउन खोजे अफगानिस्तान र इरानका महिलालाई जस्तै सिरियाली महिलाले पनि बुर्का वा हिजाब संहिता पालना गर्नु पर्ने वा महिला शिक्षा र स्वतन्त्रता सङ्कुचन हुन सक्दछ ।

सम्पूर्ण अरब देश र मध्यपूर्वमा सुन्नी समुदायको राजनीतिक प्रभाव विस्तारमा सिरियाको नयाँ शासनले भूमिका गर्न सक्नेछ । अल काइदा र आरएसआरएस लाभान्वित हुन सक्दछन् ।

दीर्घकालमा इजरायल लाभान्वित नहुन सक्दछ तर, तत्काल आफ्ना शत्रुहरु हिज्जबुल्लाह, हमास र इरान कमजोर हुने हुँदा यो इजरायलका लागि पनि फाइदाको विषय हो ।

अमेरिका र पश्चिमा देशहरुका लागि भने नयाँ सिरियाली शासनसँगको सम्बन्ध अनुमान गर्न हतारो हुन्छ । जुलानी अलकाइदा र आइएसआइएस पृष्ठभूमिका नेता भएको हुँदा उनको अमेरिका र पश्चिमा देशहरुसँगको सम्बन्ध कस्तो हुन्छ, यसै भन्न सकिन्न ।

तर, तत्कालका लागि भने अमेरिकासमेत फाइदामा छ । किनकि, उसका मुख्य आवणिक प्रतिस्पर्धी दुई देश रुस र इरानले यो सिरिया मामिलामा घाटा बेहोरेका छन । इरान र रुसको बेफाइदा नै अहिलेलाई अमेरिकाको फाइदा हो ।

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले सिरियामा असदको पतनप्रति खुसी व्यक्त गर्दै यो लडाइँमा अमेरिका संलग्न हुनु नहुने तर्क गरेका छन् ।

यमन, लिबिया, इजिप्ट, ट्युनिसियाजस्ता देशहरु सम्भवत: धेरै बेफाइदामा हुने छैनन् तर, ती भित्रभित्रै संशयमा र असन्तुष्ट भने होलान् । टर्कीको कुर्दिश विद्रोही क्षेत्रमा अधिकांश सुन्नी समुदायका छन् । सम्भवत: टर्की पनि सिरियाको सत्ता परिवर्तनबाट त्यतिधेरै सन्तुष्ट नहोला । जोर्डनमा पर्ने प्रभावबारे पनि अहिले नै यसै भन्न सकिँदैन ।

यद्यपि, युक्रेन युद्धमा रुसलाई सिरियाली सहयोग निर्णायक र महत्त्वपूर्ण थिएन । तर, आफ्नो शत्रु देशको एक सहयोगीको पतन युक्रेनका लागि पनि फाइदा हो ।

द न्यूओर्क टाइम्सको सहयोगमा ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register