नयाँ पुस्ता, वितृष्णा र नयाँ दलका कुरा

अहिले भन्न सकिने कुरा यत्ति हो - वर्षे पानीको फोका जस्तो कैयन नयाँ दल उदाउने र अस्ताउने क्रम चलिरहने छ । तिनले स्थिर विकल्प दिने कुरा भने परम्परागत दलहरूको पतनको गतिमा निर्भर हुनेछ ।

Dec 20, 2024 - 11:08
 0
नयाँ पुस्ता, वितृष्णा र नयाँ दलका कुरा

 गत संसदीय निर्वाचनका बेला गाउँमा मतदानका लागि जाने क्रममा दाजुभाइहरूका घरघरमा सन्चो बिसन्चो सोध्दै बोलाउँदै हिँडेको थिएँ । भोलिपल्ट मतदान थियो । म सकेसम्म गाउँमा दाजुभाइ, काकाकाकी र भाउजूहरूबीच राजनीतिका कुरा झिकिहाल्दिन । कहिले कहिले जानेले घरघरका पारिवारिक अवस्था बारे, स्वास्थ्य, खेतीबाली, दुःख सुखका कुरा गर्दा पो आफन्त दाजुभाइजस्तो भइयो, राजनीतिक कुरा किन गर्नु भन्ने लाग्छ (बरु उनीहरु मलाई गैर राजनीतिक हुन सकेसम्म दिन्नन्) । त्यसमाथि उनीहरूले त्यस अगाडि नै कसलाई मत दिने भन्ने निर्णय गरिसकेका हुन्छन् । अनि धेरैजसो त ३५-४० वर्ष पहिलेदेखि एउटै दलमा मत दिने, त्यसमै टाँसिएर बस्ने, सन्तान पनि बाबु आमा या दाजु दिदी पुस्ताका विचारसँगै हुर्कने गरेका हुन्छन् ।

यसैक्रममा घिम्रेस्वाँरा उमनाथ दाइकहाँ पुगियो । उनले चुनावको सन्दर्भ निकाले । सन्तोष (छोरो) आउँदै छ । उ त स्वतन्त्र पार्टीको कार्यकर्ता भएको छ । हामीलाई पनि उतै भोट दिनुपर्छ भन्छ । म त बोल्न भाको छैन ।

अलि माथि नन्दप्रसाद गुरुङकहाँ पुग्दा भनिहाले तपाईंको टोलमा त नयाँ पार्टीको कुरा प्रचार भएको छ । विचार गर्नुहोला है । उसको सङ्केत पनि सन्तोषतिर थियो ।

भोलिपल्ट मतदान केन्द्रमा भतिज सन्तोष रास्वपाको एजेण्ट बसेको भेटियो । उसँग मेरो खासै धेरै बस उठ थिएन । उ विदेशतिर बढी बस्थ्यो । म गाउँमै पो कति जान्थेँ र ? उ नयाँ पुस्ताको थियो ।

गाउँमा मैले राजनीति गर्न आरम्भ गरेपछिको पैँतालीस वर्षमा आएको एउटा महत्त्वपूर्ण परिवर्तनको सङ्केत थियो यो । एक प्रकारले अरुले हेर्दा हाम्रो विचारधारात्मक वर्चस्व माथिको चुनौती थियो । त्यस अगाडिसम्म गाउँमा एमाले, काङ्ग्रेस र माओवादीबीच मात्र मत विभाजन थियो, अब चौथो पक्ष पनि प्रकट भएको थियो ।

मैले भोलिपल्ट भेट भएपछि सन्तोषलाई बधाइ दिएँ र भनेँ, ‘तिमीहरू हाम्रा कुराको एकोहोरो अनुयायी हुन छाडेकोमा मलाई खुशी लाग्यो । मैले पनि गाउँमा परम्परागत वैचारिक वर्चस्वका विरुद्ध एक्लै औंलो ठड्याउँदै नयाँ शक्ति प्रवेश गराएको थिएँ । अब भतिजहरूले आफ्नो अलग बाटो रोज्न थाले । मलाई खुशी नै लाग्यो, हाम्रो विचारले नयाँ पुस्तालाई प्रभावित गर्न छाडेछ भन्ने चिन्ता त लाग्छ तर, यसमा म मात्र के गर्न सक्छु र ? जहाँ जान्छौं राम्रो गर है ।’

कसरी उसले एक्कासि अर्को बाटो समात्न पुग्यो ? अब एमालेको नेतृत्व र स्थानीय जनताका बीचमा सम्बन्धको सेतु कमजोर हुँदै गएको हो ? म त लामो समयदेखि सक्रिय राजनीतिमा छैन । जसले चुनाव लडे, उनीहरूकै मतबाट पटकपटक जिते, तिनले गर्छु भनेको काम नगरेका हुन् कि ? यो क्षेत्रबाट संसद्मा तीनपटक एमालेले, दुईपटक माओवादीले र तीनपटक नेपाली काङ्ग्रेसले निर्वाचन जिते ।

यस अगाडि लामो समय काङ्ग्रेसको सक्रिय समर्थक रहेको उसको दाजु पर्ने राम कतारमा काम गर्दै गरेको बेला बाबुराम भट्टराईको नयाँ शक्तितिर लागेको थियो र किन हो मसँग सम्पर्क गरिरहन्थ्यो । आजकल सम्पर्क गर्दैन, सायद सक्रिय राजनीति छाड्यो होला ।

सन्तोषले आफूलाई पुराना दल र नेतृत्वप्रति विश्वास नरहेको र नयाँ पार्टीले केही गर्छ भन्ने आशा रहेको भन्दै केही तर्क गरेको थियो । एसएलसी दिन जाँदा लभ परेर बिहे गर्न भ्याएको सन्तोष लामो समय विदेश बसेर पोखरातिर घडेरी र घर जोड्दै सन्तान हुर्काउँदै थियो । आफ्नो खुट्टामा उभिएको थियो । तर, आयस्ताको निश्चित स्रोत थिएन । फेरि विदेश जाने तरखरमा थियो ।

उसलाई त मैले हतोत्साही नहोस् भनेर शुभकामना दिएँ । तर, मनमा कुरा खेल्न थाल्यो । अघिल्लो निर्वाचनसम्म उनीहरु एमालेका भोटर थिए । २०४३ मा जनपक्षीय उम्मेदवार सोमनाथ प्यासीलाई मत दिएदेखि यो परिवार सधैँ एमालेको समर्थक थियो । तीन पुस्ता, छोराहरू बाबुकै प्रभावका कारणले एमाले थिए । राजनीतिक व्यक्तित्व नबनाइसके पनि तिनका आफ्नो साथी सर्कलमा एमालेका बन्थे । सञ्जालमा लेख्थे । चुनावमा पहिले त दुई तीनपटक मत दिन पुग्थे । चलेकै थियो ।

कसरी उसले एक्कासि अर्को बाटो समात्न पुग्यो ? अब एमालेको नेतृत्व र स्थानीय जनताका बीचमा सम्बन्धको सेतु कमजोर हुँदै गएको हो ? म त लामो समयदेखि सक्रिय राजनीतिमा छैन । जसले चुनाव लडे, उनीहरूकै मतबाट पटकपटक जिते, तिनले गर्छु भनेको काम नगरेका हुन् कि ? यो क्षेत्रबाट संसद्मा तीनपटक एमालेले, दुईपटक माओवादीले र तीनपटक नेपाली काङ्ग्रेसले निर्वाचन जिते । स्थानीय तहमा दुईपटक काङ्ग्रेस र दुईपटक नै एमालेले जितेका थिए । अर्थात तीनवटै दलको परीक्षण भइसकेको थियो । जनअपेक्षा अनुरूपको डेलीभरि दिन नसकेकैले पो नयाँ पुस्तामा हाम्रो समयको राजनीतिक विचार र दलप्रति वितृष्ण जागेको हो कि ?

प्रश्न धेरै छन् । देशमा बसेर काम गरि खान पाउने अवसर यो ४० वर्षमा किन दिन नसकिएको हो ? जनतासँग मत माग्न जाँदा आकाशका तारा झारेर हातमा राखिदिउँला झैँ गर्ने र अर्को निर्वाचन आउने बेलासम्म ती वाचा कसम सबै बिर्सने भएर हो कि ?

पहिले राजनीति गर्न थाल्दा हामीमा समाज रूपान्तरण गर्न सकिन्छ भन्ने विश्वास चर्को थियो । कमसेकम हामीले नेतृत्व गर्ने अवस्था आयो भने गाउँको अत्यासलाग्दो गरिबी हटाउन सकिन्छ । शिक्षाको गुणस्तर सुधार गरेर उत्पादनशील जनशक्ति निर्माण गर्न सकिन्छ, सबैलाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच स्थापित गर्न सकिन्छ । दलित र गैर दलितबीचको भेद कम गर्न सकिन्छ । महिलालाई स्वतन्त्र र समान नागरिक बनाउन सकिन्छ । गाउँसम्म आधारभूत भौतिक विकासको लहरो लान सकिन्छ । मान्छेलाई गरिखाने अवसर सिर्जना गर्न सकिन्छ । यति भएपछि आम नागरिकलाई मध्यमस्तरको जीवन जिउन पुग्ने बनाउन सकिन्छ भन्ने लाग्थ्यो । राजनीतिक रुपमा कमसेकम मैले पार्टीका तर्फबाट बोल्दा यी कुरा साधारण किसानले बुझ्ने गरी बोल्न प्रयास गर्थेँ । सुन्नेहरूमा शङ्कासहितको आकर्षण उत्पन्न गराउँथ्यो । मलाई विश्वास गर्नेले मैले प्रतिनिधित्व गर्ने पार्टी र उसको विचारलाई विश्वास गरेको हुन्थ्यो । त्यसैका आधारमा साधारण किसान र महिला, दलित र युवा हाम्रो दल र विचारतर्फ आकर्षित भएका थिए ।

पञ्चायत गएपछि आएको नयाँ व्यवस्थामा न शिक्षा नीति, न स्वास्थ्य र कृषि नीति, न शासन प्रशासन कतै पनि आधारभूत परिवर्तन र रूपान्तरण भएन । सांसदहरू पञ्चायती रापंस जस्ता हुन थाले । दल हैन व्यक्ति प्रभावी बन्ने प्रक्रिया आरम्भ भयो । भएका उद्योग क्रमशः बन्द भए । भनसुनका आधारमा जागिर पाउने, पहुँच हुनेले काम पाउने र साधारण मानिस सिमान्तिकरणमा पर्ने क्रम पनि जारी रह्यो ।

२०५१ सालमा एमालेले निर्वाचनका माध्यमबाट पहिलो जननिर्वाचित कम्युनिष्ट सरकार बनायो । अल्पमतको सरकार भएपनि यसप्रति एकप्रकारको आकर्षण थियो । शहरको बुर्जुवा वर्ग र गाउँको सामन्तवर्ग अलि अत्तालिएको थियो । पहिलो बजेटमार्फत दुईवटा कुरा अघि सारिए । ‘आफ्नो गाउँ आफै बनाउँ’ अन्तर्गत गाउँविकास समितिसम्म स्रोतको उपलब्धता सुनिश्चित गरियो । ज्येष्ठ नागरिकलाई १०० रुपैयाँ भत्ताका माध्यमबाट जनतासँग सिधै सरकार जोडियो । यो नेपालको इतिहासमा गाउँ र सर्वसाधारण जनतालाई राज्यले सिधा सम्बोधन गरेको पहिलो पटक थियो । यसले जनतामा एकप्रकारको उत्साह र सकारात्मक धारणा विकास भएको थियो ।

तर, त्यसलगत्तै संसदीय राजनीतिलाई बदनाम गराउने खेल भए । सांसद खरिद बिक्रीका निकृष्ट काम भए । संसद्मा अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो राति सांसद र मन्त्री नै हराउने र बैङ्कक पुग्ने घटना भए । बैङ्कक एउटा बदनामीसँग जोडिएको कर्मका लागि पुगेको मानिन्थ्यो । सांसदहरूलाई होटलमा बन्द राख्न थालियो । भेडासँग बाख्राको बिहे गरेजस्तो दलहरूबीच समीकरण हुन थाले । प्राडो-पजेरो काण्ड रचियो । काङ्ग्रेस, एमाले र राप्रपाबीच विचारको भिन्नता र राजनीतिक नैतिकताको कुनै सीमा रहेन । सांसद मात्र होइन राजनीतिक दल र नेतृत्व आम जनतामा बदनाम भए र निराशा र आक्रोशका विषय बन्न पुगे ।

पञ्चायत गएपछि आएको नयाँ व्यवस्थामा न शिक्षा नीति, न स्वास्थ्य र कृषि नीति, न शासन प्रशासन कतै पनि आधारभूत परिवर्तन र रूपान्तरण भएन । सांसदहरू पञ्चायती रापंस जस्ता हुन थाले । दल हैन व्यक्ति प्रभावी बन्ने प्रक्रिया आरम्भ भयो । भएका उद्योग क्रमशः बन्द भए । भनसुनका आधारमा जागिर पाउने, पहुँच हुनेले काम पाउने र साधारण मानिस सिमान्तिकरणमा पर्ने क्रम पनि जारी रह्यो । त्यही समयमा उदारवादको विश्वव्यापी लहरमा उदाएका नयाँ महानगरहरूले यताको भन्दा उच्चस्तरको ज्यालासहित कामको अवसर उपलब्ध गराए । आफ्ना दैनिक आवश्यकता र यहाँ उपलब्ध अवसरले दिने सुविधाको तुलनामा खाडी र मलेसियामा उपलब्ध अवसरले आकर्षित गरेपछि युवायुवती उतै लागे ।

समाजले स्थापित मानक भत्काउँदै लग्यो । खासगरि पहाडको कृषि भताभुङ्ग भयो । गाउँ खाली खण्डहर हुन थाले । तर, वैदेशिक रोजगारीको सहयोगमा मानिसको जीवनस्तर उकासियो । नयाँ सम्भावना र अवसर सिर्जना हुँदै गए । यसको मुख्य फाइदा चैं अल्पसङ्ख्यक टाठाबाठा व्यापारी, व्यावसायी र विचौलियाले लिए । शहरी जमिनको भाउ अकासियो । यसैको जगमा निजी विद्यालय र निजी अस्पताल, केही मल र केही कफी सप चले । उदारीकरणकै अखेटो चढेर उपभोगका असीमित सम्भावना प्रवेश गरे । नयाँ सम्भावना र नयाँ चुनौतीको व्यवस्थापन गर्न नसकेपछि मास फ्रष्टेशनको अवस्था सिर्जना हुँदै गयो ।

माओवादी जनयुद्धले आरम्भमा यो अवस्थाको विकल्प दिने सपना देखाएको थियो । उसले आर्थिक आधारमा आइरहेका परिवर्तन अनुरूपको राजनीतिक परिवर्तनको जग त हाल्यो तर, समग्र संरचनागत परिवर्तन गर्दै परम्परासँग सम्बन्ध विच्छेद गर्न सकेन । उपरि संरचनामा सामन्तवादको ठाउँ ढुक्कैले दलाल पुँजीपति वर्गले लियो । गणतन्त्र पछिको समयमा पनि समाज र राजनीतिको यो आधारभूत चरित्र रुपमा परिवर्तन भएपनि सारमा उस्तै छ । यसले संसदीय दलप्रति वितृष्णा बढाउन सहयोग गरेको छ ।

आम जनतामा विश्वास र भरोसा जगाउन माओवादी मात्र हैन माओवादी र एमाले मिलेर बनेको नेकपाले पनि सकेन । मानिसमा निराशा थप्दै नेकपाको विघटन भयो । पहिले माओवादी र नेकपाले देखाएको सपनाको अवसान नेपाली श्रमजीवी तथा निम्नमध्यमवर्गका लागि एउटा दुःस्वप्न या दुःखान्त बन्न पुग्यो । अहिलेको निराशा र वितृष्णाको एउटा महत्त्वपूर्ण कारण यो पनि हो ।

अहिलेको पुस्ताका आकाङ्क्षासँग नजोडिएका राजनीतिक शब्द र नेतृत्वको जीवनशैलीका कारण आम जनतासँग बढेको यो दुरी नै, मेरो विचारमा मेरो भतिज सन्तोष र उसको पुस्ता एमाले काङ्ग्रेस या माओवादीसहित पुराना दलबाट विरक्तिनुको कारण हो । परम्परागत राजनीतिक दलले प्रयोग गर्ने लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र, जनवाद, नयाँ नेपाल, समृद्ध नेपाल, समाजवाद, अधिकार र स्वतन्त्रता जस्ता शब्दको अर्थ धमिलिदै गएका छन् । राजनीतिक नेतृत्वले नयाँ पुस्तासँग संवाद गर्ने नयाँ शब्द निर्माण गरेका छैनन्, नयाँ न्यारेसन स्थापित गरेका छैनन् । विकल्प कम भएकाले निर्वाचनबाट यिनै दल सत्तारुढ हुनु नै उनीहरूको वैधानिकताको स्रोत बनेको छ ।

यो नै हाम्रो समयको महान दुःखान्त पनि हो ।

के नयाँ दल बन्छन् ?

नयाँ दल र पुरानाका कुरा गर्नु पहिले राजनीतिक दलको विकास सम्बन्धी केही ऐतिहासिकताको चर्चा गर्नु उचित होला । दलहरू नै किन र कसरी जन्मे होलान् ? नेपालका सन्दर्भमा दलहरू बन्नु अगाडि समाजको शक्ति सम्भ्रान्तहरूबीच हुने शक्ति सङ्घर्षको स्वरुप कस्तो थियो । दलहरू बन्दा बन्दै किन विभाजित भए भन्ने विषयबाट प्रवेश गर्नु उचित हुनेछ ।

राजनीतिक दल मानव समाजको धेरै नयाँ खोजी हो । यसको सिधा सम्बन्ध पुँजीवादी आर्थिक प्रणालीसँग छ । सामन्तवाद र त्यस अगाडिको समाजमा राजनीतिक दलको अस्तित्व थिएन । राजाहरू या सामन्तहरूले शासन गर्थे । राज्य बन्ने भत्कने, लडाइँ हुने, हार्ने र गुमाउने भइरहन्थे । उत्पादनको मुख्य साधन जमिन थियो र त्यसमा सामन्तहरूको नियन्त्रण हुन्थ्यो । सर्वसाधारण जनता राजनीतिक निर्णय प्रक्रियाको घेराबाहिर कर र कूत तिर्ने, सामन्तका लागि लडाइँ लडिदिने र श्रम गरेर गुजारा गर्नुपर्ने सीमित भूमिकामा थिए । फ्रान्सेली क्रान्तिले मात्रै सामन्त वर्ग र बुर्जुवा वर्गसँगै जनसाधारणको पनि भूमिका स्थापित गरिदिएको थियो ।

पुँजीवादले उत्पादनका क्षेत्रमा नयाँ प्रतिस्पर्धालाई जन्म दियो । फर्मबीच हुने प्रतिस्पर्धालाई व्यवस्थित गर्ने नियम बनाउनु पर्ने भयो । यस्तो नियम बनाउँदा आफ्नो वर्गको या व्यवसायको हित रक्षा गर्न राजकीय निकायमा पहुँच स्थापित गर्नुपर्ने भयो । अर्थात पुँजीपतिवर्गलाई सत्तामा हिस्सेदारी चाहियो । पूँजीपतिवर्गका विभिन्न तप्का र स्वार्थ समूह निर्माण भए । उनीहरूबीच स्वार्थमा टक्कर पर्दा आफ्नो पक्षको संरक्षण गर्ने भिन्न दल निर्माण गर्नुपर्ने वाध्यता आइलाग्यो ।

उन्नाइसौँ शताब्दीबाट मजदुर वर्गले पनि राज्यसत्तामा हिस्सेदारी दाबी गर्न थाल्यो । उसले पनि आफ्ना हितको प्रतिनिधित्व गर्ने राजनीतिक शक्ति निर्माण गर्ने प्रयत्न गर्दै गयो । यही स्वार्थको सङ्घर्षका क्रममा राजनीतिक दल निर्माण भएका हुन् । यसरी नै पुँजीपति वर्ग र मजदुर वर्ग, मध्यम वर्ग समेतको प्रतिनिधित्व गर्ने राजनीतिक दल अस्तित्वमा आएका हुन् । उदारवादी, अनुदारवादी, समाजवादी, साम्यवादी राजनीतिक दलहरू औद्योगिक क्रान्तिपछिको युगका उत्पादन हुन् । अहिले पनि ति राजनीतिक दल या विचारहरूको औचित्य सकिएको छैन मात्र हैन विश्वको नेतृत्व यिनीहरूले नै गरिरहेका छन् । फासिवाद अनुदारवादीहरूको प्रतिनिधित्व गर्ने अधिनायकवादी विचारधारा हो जसले आर्थिक सङ्कटको उच्चवर्गीय समाधान खोज्ने गरेको छ । त्यसैले राजनीतिक दलको सिधा सम्बन्ध पुँजीवादी उत्पादन सम्बन्धसँग या उत्पादन पद्धतिसँग छ ।

विश्वमा आइरहेका परिवर्तनलाई आत्मसात गर्ने मध्यमवर्गको विकास नै नेपालमा राजनीतिक दलहरूको उदयको आधार बनेको थियो । उही वर्गका उदारवादी र वामपन्थी झुकाव राख्नेले नै प्रजापरिषद्, नेपाली काङ्ग्रेस र नेकपाको स्थापना गरेका हुन् । उहिलेको गोर्खा दल र अहिले राप्रपा नामको संस्थाले सामन्तवादको बचेखुचेको विचारको प्रतिनिधित्व गर्छन् । बाँकी राजनीतिक दल विश्वका अरु देशको प्रवृत्तिकै नेपाली अभिव्यक्ति हुन् ।

नेपालमा पनि राजनीतिक दलको उदय पुँजीवादको प्रवेशसँगै हुन थालेको हो । राजनीतिक दलको अस्तित्व नबनुन्जेल शासकीय खलक या समूहका षड्यन्त्र र फौजी बलकाआधारमा शक्ति खोस्ने, रजाइँ गर्ने र सत्ताबाट बेदखल हुने क्रम चलिरहन्थ्यो । राजेन्द्र लक्ष्मी, बहादुर शाह, भिमसेन थापा, माथवरसिंह थापा, जङ्गबहादुर र शमशेर खलकको उदय यस्तै भिन्न स्वार्थ समूह बीचको सङ्घर्षको उपज थियो ।

विश्वमा आइरहेका परिवर्तनलाई आत्मसात गर्ने मध्यमवर्गको विकास नै नेपालमा राजनीतिक दलहरूको उदयको आधार बनेको थियो । उही वर्गका उदारवादी र वामपन्थी झुकाव राख्नेले नै प्रजापरिषद्, नेपाली काङ्ग्रेस र नेकपाको स्थापना गरेका हुन् । उहिलेको गोर्खा दल र अहिले राप्रपा नामको संस्थाले सामन्तवादको बचेखुचेको विचारको प्रतिनिधित्व गर्छन् । बाँकी राजनीतिक दल विश्वका अरु देशको प्रवृत्तिकै नेपाली अभिव्यक्ति हुन् । तिनले पुँजीवादी समाजका भिन्न भिन्न स्वार्थ समूहको प्रतिनिधित्व गर्दै आएका छन् ।

कसैले नयाँ पार्टी या वैकल्पिक राजनीति गर्छु भनेर अगाडि आयो भने पनि उसले मूलभूत रुपमा वर्तमान पुँजीवादी समाज भित्रैका वर्ग स्वार्थहरू अथवा पुँजीपति वर्गबीचका भिन्न स्वार्थ समुहहरूको प्रतिनिधित्व गर्ने हुन् । त्यसभन्दा भिन्न राजनीतिक विचारधारा या दल निर्माणको सम्भावना कमसेकम अहिलेलाई दृष्टिगोचर हुँदैन ।

नेपालमा दलीय राजनीति आरम्भ भएदेखि नै भिन्न भिन्न समयमा भिन्न भिन्न व्यक्ति तथा समूहले आफूलाई वैकल्पिक या नयाँ विचारको राजनीति गर्न स्थापित भएको बताउने गरेका छन् । तर, आम रुपमा तिनले व्यवहारमा पुँजीवादी र समाजवादी या साम्यवादी पार्टीको भन्दा भिन्न नयाँ विचार दिन सकेका चैँ छैनन् । उनीहरूमध्ये अधिकांशले हामी सुशासन दिन्छौं भन्ने मूल दाबीलाई आफ्नो अस्तित्वको अस्त्र बनाउने प्रयास गरेका छन् । यो एउटा आदर्शवादी कल्पना त हो तर, रियल पोलिटिक्समा यसको अर्थ खासै रहन्न । तिनले सुशासनको प्रयास गर्लान् तर, मूलभूत रुपमा तिनले पनि आजको समाजको गतिशील तप्का ( पूँजीपतिवर्ग र मजदुरवर्गका साथै मध्यमवर्ग ) का स्वार्थहरूको व्यवस्थापन नै गर्ने हुन् ।

त्यही तप्काको हित रक्षा गर्ने प्रतिस्पर्धामा पुराना राजनीतिक दल विकास भए र वर्चस्व स्थापित गर्न सफल भए । अहिले सांस्कृतिक वैचारिक र राज्य सत्ता उनीहरूकै शक्ति र स्वार्थको वरपर घुमिरहेको छ । त्यो वर्चस्व चिर्न र चुनौती दिन नसकेकैले नेपालमा नयाँ दलको प्रयोग सफल भएको छैन । उदाहरण चैँ डा. देवेन्द्रराज पाण्डेको लोकदल, डा. बाबुराम भट्टराईको नयाँ शक्ति, केही उत्साही युवाले गठन गरेको विवेकशील र अहिलेको रास्वपाको पनि व्यक्तिको इण्टिग्रिटी, विश्वास र भाष्य फरक भएपनि अन्ततः तिनीहरूले विद्यमान राजनीतिक दलको भन्दा आधारभूत रुपमा भिन्न वैचारिकी निर्माण गर्न सकेनन् । कस्तो भयो भने त्रिविबाट दीक्षित र त्यहीको संस्कृतिमा हुर्केका प्राध्यापकले खोलेका नयाँ विश्वविद्यालय या कलेज जस्ता भए नयाँ दल पनि त्यस्तै । यताका पात्र उता सरेर नयाँ दिन खोजेको जस्तो देखिने ।

नयाँ दल या विकल्पको राजनीति दाबी गर्नेसँग आदर्शका कुराबाहेक रियल पोलिटिक्सका चुनौती सामना गर्ने लय देखिएन । यसमा अहिलेसम्म अलिकति सफल छन् भने बालेन शाह र सुमना श्रेष्ठका प्रयास छन् तर, ति पनि विकल्प बन्ने तहका होइनन् । पावर इलाइटभन्दा भिन्न मास या साधारण मानिसको पार्टी बन्न सम्भव त छ तर, त्यसका लागि स्वतन्त्र नागरिकको ठुलो समूह चाहिन्छ ।

नेपाली समाज पारिवारिक र व्यक्तिका तहमा क्लान या सम्बन्धहरूको जटिलताबाट अझै मुक्त भइसकेको छैन । औद्योगिक समाजको चरित्र ग्रहण नगरेकाले दलाल पुँजीवादले स्वतन्त्र मानिसको निर्माणमा वाधा पुर्‍याउँछ । यद्यपि यो क्रमले एउटा आकार लिने क्रममा छ तर, त्यो पूर्णतातिर गएको छैन । यसैले पनि राजनीतिक क्षेत्रमा स्वतन्त्र र निर्भिक नागरिक चेतनासहित आफ्ना हित ठम्याउने र निर्णय गर्ने जनमत कमजोर नै छ । शहरी युवा पुस्तामा त्यसको छनक पाइन्छ जसलाई बालेन शाह र रास्वपाले एकहदसम्म आफ्नो पक्षमा उपयोग गरेका थिए ।

अर्को कुरा पुँजीपति या बुर्जुवा वर्ग र शक्ति सम्भ्रान्तसँग साँठगाँठ गरिरहेको भृत्यतन्त्र छ, जसले हाम्रा राजनीतिक दललाई टुप्पीमा समातेर रिङ्ग्याइरहेको छ । संविधान बनेको १० वर्षसम्म कर्मचारी समायोजन ऐन बनाउन नदिएको मूलतः कर्मचारी भित्रका एमाले र काङ्ग्रेस तथा माओवादी दबाब समूहले हो । यो सञ्जाललाई कमजोर नबनाइ सुशासन त के शासन पनि हुँदैन ।

तर, नयाँ दल या विकल्पको राजनीति दाबी गर्नेसँग आदर्शका कुराबाहेक रियल पोलिटिक्सका चुनौती सामना गर्ने लय देखिएन । यसमा अहिलेसम्म अलिकति सफल छन् भने बालेन शाह र सुमना श्रेष्ठका प्रयास छन् तर, ति पनि विकल्प बन्ने तहका होइनन् । पावर इलाइटभन्दा भिन्न मास या साधारण मानिसको पार्टी बन्न सम्भव त छ तर, त्यसका लागि स्वतन्त्र नागरिकको ठूलो समूह चाहिन्छ । त्यसले परिवार, कुल, गोत्र, क्षेत्र या जाति हेरेर, धर्म या सम्बन्ध हेरेर होइन आफ्नो र सन्तानको भविष्यका आधारमा राजनीतिक निर्णय लिन सकोस् ।

मलाई अर्को एउटा सम्भावना चैँ छ जस्तो लाग्छ । दलभित्र नयाँ नेतृत्व र विचारको विकास । लामो समय शिथिल बनेको भारतीय राष्ट्रिय काङ्ग्रेसलाई राहुल गान्धीले जसरी नवजीवन दिएका छन् त्यस्तै । जनताले व्यहोरेको आर्थिक सङ्कटलाई सामना गर्ने कार्यक्रमसहित अपिल गरेर कमजोर जनता विमुक्ति पेरामुनालाई श्रीलङ्काको सत्तामा पुर्‍याउने अनुरा कुमारा जस्तै । या बुर्जुवा वर्गको अनुदार पक्षका हितसँग सम्झौता गरेपछि जागेको टोनी ब्लेयरको लेबर जस्तै ।

यसैले भन्न सकिन्छ नयाँ या वैकल्पिक शक्ति बन्न नयाँ वर्ग, पुस्ता अथवा विचारको आवश्यकता पर्छ । यसले पनि समाजका विपरित वर्गबीचको टक्करमा आफूलाई कता उभ्याउने भन्ने प्रष्ट हुनुपर्छ । म्याक्रोँले फ्रान्समा समाजवादी प्रयोगबाट गतिशीलता गुमाउँदै गएको भनिएको अर्थतन्त्रलाई अनुदारवादीको साथ लिएर भत्काउन खोजेकैले उनको दल शक्तिमा आएको हो ।

नेपालमा परम्परागत भनिएका काङ्ग्रेस, एमाले र माओवादीका विकल्पमा नयाँ दल आवश्यक छ भन्ने हो भने उसले उपरोक्त पक्षमा घोत्लिन र चित्तबुझ्दो जवाफ दिन सक्नुपर्छ । यसरी हेर्दा अहिले भन्न सकिने कुरा यत्ति हो – वर्षे पानीको फोका जस्तो कैयन नयाँ दल उदाउने र अस्ताउने क्रम चलिरहने छ । तिनले स्थिर विकल्प दिने कुरा भने परम्परागत दलहरूको पतनको गतिमा निर्भर हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register