विचार निर्माणमै अल्झिएको वैकल्पिक राजनीति

वैकल्पिक राजनीति गर्नेहरू पहिला वैचारिक औपनिवेशिकताबाट मुक्त हुन जरूरी छ । विडम्बना यसबाट उनीहरू सङ्क्रमित भएको देखिन्छ । के वैकल्पिक राजनीतिले पुँजीवादलाई बिदाईका हात हल्लाएर मानवीय खुसीको प्रकृतिमैत्री नयाँ परिकल्पना दिन सक्छ ?

Dec 25, 2024 - 10:17
 0
विचार निर्माणमै अल्झिएको वैकल्पिक राजनीति

पछिल्लो दशक नेपालमा वैकल्पिक राजनीतिको आवश्यकता बारे राम्रै बहस भयो । यसका लागि विभिन्न तरिकाले अभ्यास पनि भए । यद्यपि, तिनले आशातित सफलता प्राप्त गर्न भने सकेनन् । तर, जति अभ्यास भए ति कमजोरै चाहिँ थिएनन् । त्यसको पछिल्लो उदाहरण हो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र यसले प्राप्त गरेको चुनावी सफलता ।

वैकल्पिक दलका रूपमा हेरिएको र एक बलियो शक्तिका रूपमा उदाएको रास्वपाले पनि पुरानै असफलताको इतिहास दोहोर्‍यायो । सुरुवातदेखि नै लोकप्रियतावादको प्रभावमा आएको यो दल र यसको नेतृत्वले आफूलाई सुधार गर्दै स्थापित गर्ने अवसर गुमायो । पुराना दलको जस्तै असक्षमता, नयाँनयाँ विवाद र बदनामीले यसलाई शिथिल बनाएको छ । रास्वपाको असफलताले राजनीतिक सुधारको आशा गरेर ‘अब देशमा केही हुन्छ’ भन्ने गरेका नागरिकबीच थप निराशा ल्याएको छ । यो असफलता वैकल्पिक राजनीति निर्माणका लागि प्रयासरत व्यक्ति वा समूहका लागि फेरि एक पटक नराम्रो गरी दाँतमा ढुङ्गा लागे सरह भएको छ ।

वैकल्पिक राजनीतिको बहस पछिल्लो दशकमा मात्रै अलि बलियो गरी उठे पनि यसको इतिहास भने लामै छ । विभिन्न व्यक्ति तथा समूहले पुराना दलबाट हुँदैन । अब नयाँ तरिकाले राजनीति गर्नु पर्छ भनेर प्रयास थालेको तीन दशकभन्दा बढी भइसक्यो । ति प्रयासहरू फोका जस्तै उठ्ने र फुट्ने क्रम जारी छ । तर, अझै दिगो हुन नसके पनि पछिल्लो समय उठेका वैकल्पिक राजनीतिका फोका अलि टिक्ने र फराकिला हुने प्रवृत्ति देखिएको छ । अहिले यसलाई नै वैकल्पिक राजनीतिको सन्दर्भमा उपलब्धि मान्नु पर्छ ।

यदि रास्वपाको असफलतासँगै वैकल्पिक राजनीतिको पनि अवसान भएको कसैले ठानेको छ भने त्यो यथार्थपरक हुने छैन । किनकि सैद्धान्तिक रूपमाभन्दा विकल्पको अन्त्य कहिल्यै हुँदैन । त्यसमाथि व्यावहारिक रूपमा हेर्दा देशमा वैकल्पिक राजनीतिको आवश्यकता थप बढ्दै गएको देखिन्छ । पुराना दल सुध्रिनेभन्दा थप अलोकतान्त्रिक र भ्रष्ट हुने बाटोमा छन् । उनीहरूको कुशासन तथा दलालीले देशलाई आक्रान्त पार्दै गएको छ । यो अवस्थामा नयाँ राजनीतिको आवश्यकता झनै बढी महसुस हुँदै जाने छ ।

समस्या झनै विकराल हुँदै गयो भने वैकल्पिक राजनीति सफल हुन्छ भन्ने होइन । किनकि बर्बादीको कुनै सिमा हुँदैन । यसरी बिग्रदै जाँदा देश प्रत्यक्ष हिंसामा समेत पुग्न सक्छ । त्यसैले थप दुर्दशाबाट देशलाई बचाउन र अहिलेको अन्योलबाट निकास दिनका लागि वैकल्पिक राजनीतिले आफ्ना कमजोरी सुधार गर्दै नयाँ तरिकाले अगाडि बढ्ने साहस गर्नु पर्छ ।

यद्यपि, वैकल्पिक राजनीति पुराना दललाई झनै देश बिगार्न दिएर चाहिँ सफल हुँदैन । त्यस्तो अवस्थामा विकल्पको नाममा कुनै दल वा नेता उदाएछ भने पनि त्यसले लोकप्रियतावाद र बिस्तारै सर्वसत्तावादका लागि वातावरण बनाउँछ । भन्नुको मतलब समस्या झनै विकराल हुँदै गयो भने वैकल्पिक राजनीति सफल हुन्छ भन्ने होइन । किनकि बर्बादीको कुनै सिमा हुँदैन । यसरी बिग्रदै जाँदा देश प्रत्यक्ष हिंसामा समेत पुग्न सक्छ । त्यसैले थप दुर्दशाबाट देशलाई बचाउन र अहिलेको अन्योलबाट निकास दिनका लागि वैकल्पिक राजनीतिले आफ्ना कमजोरी सुधार गर्दै नयाँ तरिकाले अगाडि बढ्ने साहस गर्नु पर्छ ।

यस सन्दर्भमा अहिलेसम्म आउँदा अनेक असफलताबीच वैकल्पिक राजनीतिले के सिक्यो ? केके कमजोरी गर्यो ? यसले अब कसरी आफूलाई सुधार गर्न सक्छ ? त्यसमा केन्द्रित भएर छलफल गर्न उपयुक्त हुनेछ । यहाँ वैकल्पिक राजनीतिका सबै आयामको विस्तृत व्याख्या सम्भव छैन । तथापि, यसको सबैभन्दा ठुलो कमजोरीका रूपमा देखिएको विचार निर्माणको अलमलका विषयमा संक्षिप्तमा छलफल गर्ने प्रयास गरौँ । 

वैकल्पिक राजनीति सफल नहुनुको प्रमुख कारण हो त्यसका लागि आवश्यक पर्ने वैचारिकी निर्माण गर्न असफल हुनु । संक्षिप्तमा भन्नु पर्दा वैकल्पिक राजनीतिको कुरा गर्नेहरूले पुराना दलले किन काम गर्न सकेनन् भन्ने प्रश्नको वैज्ञानिक कारण नै निदान गर्न सकेनन् । अर्थात्, उनीहरूले अहिलेको प्रमुख समस्या के हो ? केलाई प्राथमिकीकरण गर्ने वा कहाँबाट समाधान सुरु गर्ने ? त्यो प्रष्ट हुन सकेन । वैकल्पिक राजनीतिको कुरा गर्नेले यी प्रश्नको एउटै उत्तर दिने गर्छन्- पुराना दल र तिनका नेता भ्रष्ट भए । हामी त्यस्ता छैनौँ । त्यसकारण हामी विकल्प बन्नु पर्छ । हामी गर्छौं ।

वास्तवमा यस्तो उत्तर न वैज्ञानिक हो न त राजनीतिक नै । यसले पुराना दल र तिनका नेताको नियतमाथि मात्रै प्रश्न गर्दैन बरु राजनीतिलाई आक्षेप लगाउने स्तरमा उतार्छ । थप अलमल र गन्जागोलमा फसाउँछ । यसले वैकल्पिक राजनीतिको कुरा गर्ने मान्छेलाई हल्का बनाउँदै उनीहरूलाई अस्थिरताका कारकका रूपमा चित्रित गर्दछ । भएन भएन भन्ने, आरोपप्रत्यारोप गर्ने तर, कुनै निकास नदिने दुःखी मनुवाका रूपमा प्रस्तुत गर्छ । वास्तवमा आम मानिसले वैकल्पिक राजनीतिको कुरा गर्नेलाई विश्वास नगर्नुको प्रमुख कारण यहीँ अस्पष्‍टता हो । आम जनताबाट उत्साहजनक समर्थन प्राप्त गर्दैगर्दा पनि रास्वपालाई देशको पढेलेखेको र राजनीतिक समझ भएको तप्काले सुरुदेखि नै शङ्का गर्नुको प्रमुख कारण पनि यहीँ थियो । वैकल्पिक राजनीतिको यस समस्यालाई थप बुझ्न एक उदाहरण हेरौँ ।

व्यक्तिगत स्तरमा इमानदार हुनुले अर्थ राख्छ । नेता इमानदार हुनु पर्छ । तर, अहिले देशमा भएको समस्या पुराना दलका नेता इमानदार नभएकाले मात्रै होइन । उनीहरू पनि ज्यानको बाजी लगाएर राजनीतिमा आएका हुन् । आफ्नो ठाउँबाट सक्दो योगदान गरेकै हुन् । खास उत्तर खोजिनु पर्ने प्रश्न त के हो भने उनीहरूको क्षमताले किन परिणाम दिन सकेन ?

केही महिना पहिलाको कुरा हो । म एक जना वैकल्पिक राजनीतिको वकालत गर्ने ठूलै युवा नेतासँग छलफलमा थिएँ । उनले बेरोजगारी देशको प्रमुख समस्या हो भनिरहेका थिए । यदि त्यसो हो भने तपाईंको योजना के छ त भनेर मैले सोधेँ । उनले भने, ‘मिश्रित आर्थिक व्यवस्थामा जानु पर्छ ।’ मैले त्यो त हाम्रो संविधानमा लेखिएको र पुराना दलले भन्दै वा गर्ने प्रयास गर्दै आएको कुरा हो । उनीहरूको भन्दा फरक तरिकाले के गर्नु हुन्छ र त्यो सम्भव हुन्छ ?

यो त मलाई सही निदान लागेन भन्दा उनले अलि झोक्किएको स्वरमा भने, ‘उनीहरूले कार्यान्वयन गरेनन् नि त ! हामी गर्छौं ।’ उनको अर्थ थियो उनीहरू कार्यान्वयनमा इमान्दार नै नभएकाले मिश्रित अर्थव्यवस्था विकसित हुन नसकेको हो । वा, बेरोजगारी बढेको हो ।

ति नेताको उक्त भनाई एक प्रतिनिधि उत्तर हो । वैकल्पिक राजनीति गर्ने प्रायः सबैको उत्तर यस्तैयस्तै हुने गर्छ । त्यो भनेको पुराना दल र तिनका नेता इमानदार छैनन् । हामी त्यस्ता छैनौँ भन्ने नै हो । हो, व्यक्तिगत स्तरमा इमानदार हुनुले अर्थ राख्छ । नेता इमानदार हुनु पर्छ । तर, अहिले देशमा भएको समस्या पुराना दलका नेता इमानदार नभएकाले मात्रै होइन । उनीहरू पनि ज्यानको बाजी लगाएर राजनीतिमा आएका हुन् । आफ्नो ठाउँबाट सक्दो योगदान गरेकै हुन् । खास उत्तर खोजिनु पर्ने प्रश्न त के हो भने उनीहरूको क्षमताले किन परिणाम दिन सकेन ? किन उनीहरू भ्रष्ट भए ? अहिलेको अर्थराजनीतिक व्यवस्थाले उक्त असफलतालाई कहाँ र कसरी मलजल गरेको छ ? यसलाई संरचनागत रूपमा कसरी सुधार गर्न सकिन्छ ? कि यो विश्व व्यवस्थाकै समस्या हो ? विकास र समृद्धिको जुन सपना छ त्यसैलाई बदल्ने नयाँ परिकल्पना पो चाहिएको हो कि ?

यी महत्त्वपूर्ण प्रश्नहरूको उत्तर खोजी गर्न नयाँ दृष्टिकोण आवश्यक पर्छ । कुनै देश, त्यहाँका दल वा लेखकले भनेको कुरालाई यहाँ ल्याएर प्रयोग गरेर निकास आउँदैन । त्यसका लागि विश्व र स्थानीय अर्थराजनीतिक व्यवस्था, समाजको मूल्य प्रणाली तथा वर्तमानमा देखिएका र भविष्यमा आउनसक्ने सम्भावित चुनौतीलाई संश्लेषण गरी बिल्कुलै नयाँ निदान ल्याउन जरूरी पर्दछ । उक्त निदान सबैका लागि स्वीकार्य बनाउन वा यसको वरिपरि बहस केन्द्रित गर्न त्यही अनुसारको लचकता, बुद्धिमता र लोकतान्त्रिक संस्कार चाहिन्छ । यद्यपि, वैकल्पिक राजनीतिको कुरा गर्नेमा यसको अभाव देखियो ।

वैकल्पिक राजनीतिका लागि प्रयास गर्नेहरूमा देखिएको अर्को समस्या हो कुनै पनि मुद्दालाई लगातार र दीर्घकालका लागि उठाउन नसक्नु । उनीहरू जुन मुद्दा अगाडि आउँछ र धेरै मान्छेले मन पराउँछन् जस्तो लाग्छ त्यस्तै मुद्दाको पछि लाग्छन् । केही समयमा माहोल परिवर्तन भएको देख्छन् र त्यो छाडेर अर्को कुरा बोक्न थाल्छन् ।

वैकल्पिक राजनीति गर्नेहरू पहिला वैचारिक औपनिवेशिकताबाट मुक्त हुन जरूरी छ । विडम्बना यसबाट उनीहरू सङ्क्रमित भएको देखिन्छ । अन्य देशको प्रयोगबाट सिक्नु नराम्रो कुरा अवश्य पनि होइन । यद्यपि, त्यसभन्दा पहिला वैकल्पिक राजनीतिले आफ्नो स्वदेशी पद्धतिको विकास गर्नु पर्छ । अर्थात्, आफ्नै सपना वा उद्देश्य राख्नु पर्दछ । त्यसको निर्माणपछि उक्त उद्देश्यलाई ‘अमेरिकन ड्रिम’सँग वा अन्य कुनै देशको मोडलसँग तुलना गरेर हेर्न र सुधार गर्न सकिन्छ । त्यो कुरा स्वाभाविक पनि हुन्छ । तर, पहिलानै पश्चिम (युरोपअमेरिका) तिर हेरेर यहाँको समस्या समाधान गर्ने कुरा गर्दा उतैबाट प्रभावित हुने र गलत दिशातर्फ जाने जोखिम हुन्छ । दुःखद कुरा वैकल्पिक राजनीतिको कुरा गर्नेहरू अमेरिकाको त छाडौं भारतमा भएको कुरालाई पनि आलोचनात्मक तरिकाले नहेरी त्यसको अन्धानुकरणतर्फ लागेको देखिन्छ ।

वैकल्पिक राजनीतिका लागि प्रयास गर्नेहरूमा देखिएको अर्को समस्या हो कुनै पनि मुद्दालाई लगातार र दीर्घकालका लागि उठाउन नसक्नु । उनीहरू जुन मुद्दा अगाडि आउँछ र धेरै मान्छेले मन पराउँछन् जस्तो लाग्छ त्यस्तै मुद्दाको पछि लाग्छन् । केही समयमा माहोल परिवर्तन भएको देख्छन् र त्यो छाडेर अर्को कुरा बोक्न थाल्छन् । यसले जनतामाझ उनीहरूको परिचय नै बन्न पाउँदैन । बरु भएको विश्वसनियता कमजोर हुने अवस्थामा बन्छ र यसकासाथै लोकप्रियतावादको जोखिममा पुर्‍याउँछ । सत्तामा छिट्टै पुग्ने महत्वाकाङ्क्षाका कारण पनि वैकल्पिक राजनीतिको कुरा गर्नेहरूमा अस्थिर हुने समस्या देखिन्छ ।

अहिलेसम्म वैकल्पिक राजनीतिका लागि प्रयासरत जति समूह र व्यक्ति छन्, उनीहरूको बीचमा नै बलियो एकता निर्माण हुन सकिरहेको छैन । यसको लागि विचार र मुद्दामा अस्पष्‍टता त छ नै साथै एकअर्काको खुट्टा तान्ने, एजिष्ट (उमेरवादी) हुने, प्रोफाइलको आग्रह राखेर कुरा गर्ने जस्ता पुराना दलका समस्या यहाँ पनि देखिने गरेका छन् । जसले नयाँ यात्राका लागि आवश्यक पर्ने वातावरण बनाउनेभन्दा झन् बिगार्न थाल्छ । जुन वैकल्पिक राजनीतिका लागि दुःखद कुरा हो ।

वैकल्पिक राजनीति अगाडि बढाउन समाजको एक आदर्श परिकल्पना चाहिन्छ । उक्त परिकल्पना कोरा र आधारहीन नभएर इतिहास र समाजको वास्तविकतालाई तर्क विज्ञानका आधारमा बुनिएको हुनु पर्दछ । उक्त परिकल्पनालाई व्यावहारिक राजनीतिसँग जोड्न वर्तमान समस्याको समाधान गर्ने विधि पनि त्यस्तै व्यावहारिक हुनु पर्दछ । त्यसका लागि दीर्घकालीन र तत्कालीन मुद्दाको निर्धारण गरी अगाडि बढ्नु पर्ने हुन्छ । यदि हामीसँग आदर्श समाजको परिकल्पना नै हुँदैन वा भएको कल्पना पनि कमजोर हुन्छ भने त्यसको आधारमा मुद्दाहरूको निर्धारण गर्न सकिदैन । यदि गरियो भने पनि तिनलाई अगाडि बढाउँन सकिदैन । कमजोर विचारमा आधारित भएर उठाएका मुद्दा उतारचढावसँगै छोड्ने र लिने हुन पुग्छ । वा, अस्थिर हुन पुग्छ । अविश्वसनीय हुन पुग्छ ।

यो हाम्रो अगाडिको क्रूर वास्तविकता हो कि खासगरी वातावरणीय सङ्कट र वर्गीय विभेद प्रमुख समस्याका रूपमा अगाडि छन् । यद्यपि, यी समस्या सिर्जना गर्ने पुरानै विकास र समृद्धिको मोडल बाँड्दै हिँड्ने हो भने समाधान त हुँदैन नै त्यसमाथि वैकल्पिक भनिनेहरू नै पुरानाभन्दा अझै खत्तम हुने जोखिम हुन्छ ।

वर्तमानमा वैकल्पिक राजनीतिले सम्बोधन गर्नु पर्ने सबैभन्दा महत्त्वपूर्ण विषय पर्यावरणीय सङ्कट हो । यसले मानव अस्तित्वलाई गम्भीर जोखिममा पुर्‍याएको छ । महामारी, पानी सङ्कट, खाद्य सङ्कट, विविध प्रकारका विपत्तिसँगै युद्ध तथा वर्गीय विभेदलाई यसले उत्कर्षतर्फ लग्दै छ । पर्यावरणीय सङ्कटसँगै विश्वव्यापी रूपमा देखिएका उदारवादी लोकतन्त्रको सङ्कटलाई स्थानीय स्तरमा रहेको लैंङ्गिक, जातीय र अन्य सामाजिक विभेदसँग कसरी समाधानका लागि सामञ्जस्यता निर्माण गर्ने ? यो कठिन तर वैकल्पिक राजनीतिले निर्क्योल गर्नै पर्ने प्रश्न हो ।

साथै आर्थिक तथा सामाजिक रूपमा पछाडि रहेको नेपालजस्तो देशका लागि कस्ता नीति व्यावहारिक हुन सक्छन् ? अहिले समस्या थुप्रिएर चारैतर्फबाट सङ्कटले घेरिएको अवस्था छ । यस्तो अवस्थामा कुन मुद्दा अरुभन्दा महत्त्वपूर्ण छ ? यी प्रश्नको सही उत्तर प्राप्त नगरेसम्म वैकल्पिक राजनीति कसरी सफल हुन सक्छ ? अवश्य सक्दैन ।

यो हाम्रो अगाडिको क्रूर वास्तविकता हो कि खासगरी वातावरणीय सङ्कट र वर्गीय विभेद प्रमुख समस्याका रूपमा अगाडि छन् । यद्यपि, यी समस्या सिर्जना गर्ने पुरानै विकास र समृद्धिको मोडल बाँड्दै हिँड्ने हो भने समाधान त हुँदैन नै त्यसमाथि वैकल्पिक भनिनेहरू नै पुरानाभन्दा अझै खत्तम हुने जोखिम हुन्छ ।

सजिलो शब्दमा भन्नु पर्दा के वैकल्पिक राजनीति गर्नेले ठूलाठूला ड्याम बनाएर बिजुली व्यापार गर्ने राज्यको नीतिको विरोध गर्न सक्छन् ? के सगरमाथालाई राजस्व उठाउने नाममा दोहन गर्नु हुँदैन भन्न सक्छन् ? के विकासका नाममा टनेल बनाउने र जङ्गल फाँडेर विमानस्थल बनाउने कुराको विरोध गर्न सक्छन् ? हामी ठूलाठूला उद्योग खोलेर जागिर दिन सक्दैनौं तर, तपाईंको जीवनका लागि अत्यावश्यक पर्ने प्रकृतिको संरक्षण गरी सबैले आआफ्नो उद्यम गर्न सक्ने वातावरण बनाउँछौं भन्न सक्छन् ?

अर्थात्, के वैकल्पिक राजनीतिले पुँजीवादलाई बिदाईका हात हल्लाएर मानवीय खुसीको प्रकृतिमैत्री नयाँ परिकल्पना दिन सक्छ ? वैकल्पिक राजनीतिको कुरा गर्नेले सक्नै पर्छ । यदि अहिलेकाले सक्दैनन् भने भविष्यका राजनीतिज्ञले चाहिँ पक्कै सक्ने छन् । अर्थात्, भर्खर नभए पनि भविष्यमा वैकल्पिक राजनीति नै एकमात्रै बाटो हुने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register