चीनमा कोरोनाजस्तै एचएमपीभी फैलिँदै : कति घातक छ यो भाइरस ?

यो भाइरस सङ्क्रमित व्यक्तिको सम्पर्कबाट सर्छ । यो सङ्क्रमित व्यक्तिसँग हात मिलाउँदा वा भाइरसबाट सङ्क्रमित कुनै वस्तु छुँदा पनि सर्छ । यसको लक्षण सङ्क्रमण भएको ३ देखि ५ दिनमा देखिन थाल्छ ।

Jan 6, 2025 - 06:53
 0
चीनमा कोरोनाजस्तै एचएमपीभी फैलिँदै : कति घातक छ यो भाइरस ?

काठमाडौं । कोरोना महामारीको पाँच वर्षपछि चीनमा फेरि श्वासप्रश्वाससम्बन्धी रोग देखा परेको छ । यो नयाँ भाइरसको नाम Human Metapneumovirus (एचएमपीभी) हो ।

सामाजिक सञ्जालमा समाचार भाइरल भइरहेको छ, एचएमपीभीले चीनमा यति धेरै कहर मच्चाइरहेको छ कि बिरामीका लागि बेडको अभाव छ ।

चीनका स्वास्थ्य अधिकारीहरूले यो भाइरससँग लड्न केही प्रोटोकल लागू गरेका छन् । यद्यपि यस सम्बन्धमा आधिकारिक रूपमा सङ्कटकाल घोषणा भने गरिएको छैन ।

उत्तरी चीनमा ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) नामको यो भाइरसको सङ्क्रमण बढी देखिएको छ ।

यो खबरपछि एचएमपीभीबाट सारा संसार डराएको छ, किनभने कोभिड-१९ को समयमा सुरुमा यस्तै केसहरू रिपोर्ट गरिएको थियो र बिस्तारै यो रोगले महामारीको रूप लिएको थियो ।

भारतमा पनि मानव मेटापन्यूमोभाइरस (एचएमपीभी) को पहिलो केस फेला परेको छ । बैङ्गलुरुमा ८ महिनाकी बालिकामा पोजेटिभ देखिएको छ ।

यो भाइरसले सबैभन्दाबढी २ वर्ष मुनिका बालबालिका र ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई असर गर्छ ।

एचएमपीभी भाइरस के हो ?

साइन्स डाइरेक्टका अनुसार यो भाइरस २०० देखि ४०० वर्षभन्दा पहिले चराबाट उत्पत्ति भएको हो । तर, त्यसयता यो भाइरसले बारम्बार आफूलाई परिवर्तन गरिरहेको छ र अहिले यो भाइरसले चराहरूलाई सङ्क्रमित गर्न सक्दैन ।

अमेरिकी सरकारको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार सन् २००१ मा मानिसमा यो पत्ता लागेको थियो अर्थात यही वर्षमा यो भाइरसले मानिसमा सङ्क्रमण गर्न सक्छ भन्ने पत्ता लागेको थियो ।

एचएमपीभी एक Ribonucleic acid (RNA) भाइरस हो, जसले सामान्यतया चिसो जस्तो लक्षण निम्त्याउँछ । यसले खोकी लाग्ने हुन सक्छ । नाकबाट पानी बग्ने वा घाँटी दुख्नेछ । चिसो मौसममा यसको जोखिम बढी हुन्छ ।

एचएमपीभी भाइरस खोक्दा र हाछ्युँ गर्दा सर्छ । यो भाइरस सङ्क्रमित व्यक्तिको सम्पर्कबाट सर्छ । यो सङ्क्रमित व्यक्तिसँग हात मिलाउँदा वा भाइरसबाट सङ्क्रमित कुनै वस्तु छुँदा पनि सर्छ । यसको लक्षण सङ्क्रमण भएको ३ देखि ५ दिनमा देखिन थाल्छ ।

यसको सबैभन्दा सामान्य लक्षण खोकी र ज्वरो हो । सुरुमा यसको लक्षण सामान्य भाइरलसँग मिल्दोजुल्दो देखिन्छ तर, भाइरसको प्रभाव गम्भीर भएमा निमोनिया र ब्रोन्काइटिसको जोखिम हुन सक्छ ।

एचएमपीभी कोरोना भाइरस जस्तै हो ?

श्री बालाजी एक्सन मेडिकल इन्स्टिच्युट, दिल्लीका विशेषज्ञ डा. अङ्कित बंसलकाअनुसार एचएमपीभी भाइरस (Paramyxoviridae Family) र कोरोना भाइरस (Coronaviridae Family) दुवै फरक हुन् । यति हुँदाहुँदै पनि उनीहरुमा धेरै कुरा समान छन् ।

दुवै भाइरसले मुख्यतया श्वासप्रश्वास प्रणालीलाई असर गर्छन् । दुवै भाइरस सास लिने र दूषित सतहको सम्पर्कबाट फैलिन्छन् ।

दुवै भाइरसका लक्षणहरू समान छन् । जसमा ज्वरो, खोकी, घाँटी दुख्ने, घरघराहट हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या पर्दछन् ।

बालबालिका, वृद्धवृद्धा र कमजोर प्रतिरोधी क्षमता भएका व्यक्तिहरू दुवै भाइरसबाट सबैभन्दा बढी जोखिममा छन् । हात सफा राख्ने, मास्क लगाउने र सामाजिक दूरी दुवै भाइरसबाट बच्ने महत्त्वपूर्ण उपाय हुन् ।

के यो कोरोना जस्तै विश्वभर फैलिन सक्छ?

यस सन्दर्भमा एचएमपीभी को बारेमा भन्न धेरै हतार हुनसक्छ । यो साँचो हो कि इन्टरनेट र सोशल मिडियामा चीनमा नयाँ महामारी आइपुगेको धेरै चर्चा भइरहेको छ । कतिपयले चीनले वास्तविक अवस्था लुकाइरहेको दाबी पनि गरिरहेका छन् ।

मानौँ एचएमपीभी भाइरस चीनमा फैलिरहेको छ । यसले बालबालिका र बृद्धबृद्धालाई समेत समस्या परेको छ ।

यति हुँदाहुँदै पनि अवस्था यति खराब भएको छैन कि यस सम्बन्धमा चीन सरकार वा विश्व स्वास्थ्य सङ्गठनले कुनै अलर्ट जारी गरेको छ । तसर्थ, आत्तिनुको सट्टा हामीले आधिकारिक बयानको प्रतीक्षा गर्नुपर्छ ।

यो नयाँ भाइरस होइन । गत वर्ष पनि चीनमा यसको फैलावटको खबर आएको थियो ।

सन् २०२३ मा नेदरल्याण्ड, बेलायत, फिनल्याण्ड, अष्ट्रेलिया, क्यानडा र अमेरिका जस्ता देशमा पनि यो भाइरस भेटिएको थियो । कोरोनाजस्तै विस्फोटक ढङ्गले फैलिने यो भाइरसको कुनै पनि प्रकार अहिलेसम्म देखिएको छैन ।

यो रोगको लागि कुनै उपचार वा खोप छ ?

एचएमपीभी भाइरसको लागि अहिलेसम्म कुनै एन्टिभाइरल औषधि बनेको छैन । जे होस्, यसले धेरै मानिसमा सामान्य प्रभाव पार्छ । केहीमा मात्रै गम्भीर अवस्था आउँछ ।

त्यसैले यसका लक्षण घरमै बसेर मात्र नियन्त्रण गर्न सकिन्छ । गम्भीर लक्षण विकास गर्ने मानिसहरूलाई अक्सिजन थेरापी, IV ड्रिप, र कोर्टिकोस्टेरोइडहरू (स्टेरोइडहरूको रूप) दिइन्छ ।

यो भाइरससँग लड्न अहिलेसम्म कुनै खोप विकास भएको छैन । वास्तवमा एचएमपीभी भाइरसको कारण त्यसको लागि खोप बनाउन आवश्यक पर्ने अवस्था अझै सिर्जना भएको छैन ।

एचएमपीभी भाइरसबाट आत्तिनु आवश्यक छैन । चिनियाँ स्वास्थ्य मन्त्रालयले फ्लूको मौसमलाई ध्यानमा राख्दै अवस्था असामान्य नभएको बताएको छ । एचएमपीभी यो मौसममा फैलिने सामान्य भाइरस हो । सरकारले अवस्थालाई नजिकबाट नियालिरहेको बताएको छ ।

चीन भ्रमणबारे सोध्दा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले जाडो मौसममा श्वासप्रश्वासको सङ्क्रमणका बढी घटना भेटिने बताए ।

गत वर्षको तुलनामा यस वर्ष श्वासप्रश्वाससम्बन्धी रोग कम गम्भीर र न्यून मात्रामा फैलिरहेका छन् । चीन भ्रमण गर्न सुरक्षित छ ।

भारतका स्वास्थ्य सेवा महानिर्देशक डा. अतुल गोयलले कुनै गम्भीर अवस्था आउन सक्ने सम्भावना नरहेको बताएका छन् ।

मेटापनेउमोभाइरस एक सामान्य श्वासप्रश्वास भाइरस हो । जसका कारण रुघाखोकी, फ्लू जस्ता लक्षण देखिन सक्ने उनको भनाइ छ ।

तर, वृद्धवृद्धा र एकवर्ष मुनिका बालबालिकामा यसको लक्षण अलिकति गम्भीर हुन सक्छ । यद्यपि, यो गम्भीर रोग होइन ।

डा. गोयलका अनुसार एमएमपीभी भाइरसबाट सङ्क्रमित व्यक्ति वा कसैलाई रुघाखोकी लागेको छ भने त्यसबाट टाढा रहनुहोस् ।

खोक्दा वा हाछ्युँ गर्दा मुखमा रुमाल वा कपडा राख्नुहोस् । खोक्दा र हाछ्युँ गर्दा छुट्टै रुमाल वा तौलिया प्रयोग गर्नुहोस्, केही घण्टापछि साबुन पानीले धुनुहोस् ।

यदि तपाईंलाई चिसो छ भने, मास्क लगाउनुहोस् । घरमै बस्नुहोस् र आराम गर्नुहोस् ।

अमेरिकी सरकारको सीडीसीकाअनुसार साबुन र पानीले कम्तिमा २० सेकेन्डसम्म हात धुनुहोस् । आफ्ना भाँडाहरू, (कप, प्लेट वा चम्चा) एकअर्कासँग साझा नगर्नुहोस् ।

-विभिन्न एजेन्सीको सहयोगमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register