बीआरआई र वैकल्पिक राजनीतिको बहसले गरेका सङ्केत

‘जो आए पनि उस्तै' भन्ने नियति देशले किन भोग्न परिरहेको छ ? के हामी यसका लागि अभिशप्‍त छौँ वा यो हाम्रै मानवीय वा स्वार्थप्रेरित कमजोरी हो ? 

Jan 14, 2025 - 16:35
 0
बीआरआई र वैकल्पिक राजनीतिको बहसले गरेका सङ्केत

प्रिय पाठक !

नेपाल भ्युजलाई हामीले साँच्चै नै ‘भ्युजमुखी’ बनाउन खोजेका छौं । विचार, दृष्टिकोण, बहस र विश्लेषण सम्बन्धी सामग्रीलाई उच्च महत्त्व दिइरहेका छौँ ।

राष्ट्रिय महत्त्वका समसामयिक सवालका अतिरिक्त दीर्घकालीन प्रभाव छोड्ने बहुआयामिक विषय समेत समेटेर सार्वजनिक, प्राज्ञिक तथा बौद्धिक बहसको थलो बनाउने प्रयत्न गरिरहेका छौँ । ‘नेपाल भ्युज’ को प्रयासमा पाठक वर्गको सुझाव र सहभागिता सर्वथा अपेक्षित छ ।

मङ्सिर महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण भएको थियो । भ्रमणको मुख्य विषय चीनसँगको बीआरआई कार्यान्वयन सम्झौता थियो । सन् २०१७ मा भएको बीआरआई सहमतिको ७ वर्ष बितिसक्दा पनि कार्यान्वयन सम्झौता हुन सकेको थिएन । तसर्थ मङ्सिर महिना बीआरआईसँग सम्बन्धित विभिन्न पक्षलाई उजागर गर्नु हामीले आफ्नो कर्तव्य ठान्यौँ ।

सोही अनुरूप सामग्रीको उत्पादन र सम्प्रेषणमा आफ्नो प्रयास लगायौँ । ती सामग्री बीआरआई र राष्ट्रिय हितसँग जोडिएका विषयमा धारणा बनाउन उपयोगी नै रहे होलान् भन्ने हाम्रो अपेक्षा छ ।

पुष महिनाभरि भने हामीले ‘वैकल्पिक राजनीति’ बारेको बहस चलायौँ । हाम्रो देश विविधतायुक्त र बहुलवादी खुला समाज हो । हाम्रो संवैधानिक मर्म, लोकतन्त्रप्रतिको अपेक्षा र हामीले स्थापित गर्न चाहेको मान्यता तथा मूल्यप्रणाली पनि यही हो ।

नेपाल एक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मूलक त हो नै सँगसँगै बहुमनोविज्ञान, बहुविचारधारा र बहुमुखी राजनीतिक सोच भएको समाज पनि हो । हाम्रा राजनीतिक विचार, सिद्धान्त, सवाल, मानक र आदर्श समरूप छैनन् । हामी सबै हिसाबले एक बहुरूप समाजमा छौँ । हाम्रो राष्ट्र निर्माणको बाटो पनि बहुलवादी र बहुसांस्कृतिकतावादी नै छ ।

यो यथार्थलाई नेपाल भ्युजले गहिरो गरी आत्मसात गरेको छ । ठूला, पुराना, मूलधार र शक्तिशाली राजनीतिक दल र प्रवृत्तिलाई मात्र हैन, नयाँ र उदीयमान विचार र दललाई पनि हामीले उत्तिकै ‘स्पेस’ दिने गरेका छौँ । यसो गरेर हामीले कुनै ‘महानता प्रदर्शन’ गरिरहेका छैनौँ । यो आधुनिक लोकतान्त्रिक मुलुकको व्यावसायिक सञ्चरकर्मको धर्म हो भन्ने हाम्रो ठम्याई हो ।

कसैले कसैका विचारलाई प्रयोजन, सङ्कुचन वा नियन्त्रण गर्न सक्ने युग अब रहेन । सञ्चारमाध्यमहरूको बहुआयामिक विकास र पहुँचले, सूचनाप्रविधि तथा डिजिटल क्रान्तिले हरेक नागरिकका लागि विचार सम्प्रेषण र अभिव्यक्तिको कुनै न कुनै पहुँच दिएको छ ।

आज राजनीतिक तथा प्रशासनिक, आर्थिक तथा सांस्कृतिक केन्द्र मात्र भङ्ग भएका छैनन्, सूचना र सञ्चारका केन्द्रसमेत भङ्ग भएर बहुकेन्द्र निर्माण भएका छन् । यो आफैँमा एक विशिष्ट युग हो । र, यो युगका सबै विशेषता, चरित्र, पक्ष, पात्र र प्रवृत्ति नेपाल भ्युजको साझा मञ्चमा मुखरित हुन सकुन् भन्ने हाम्रो प्रष्ट ध्येय हो ।

मङ्सिरको ‘बीआरआई’ र पुषको ‘वैकल्पिक राजनीति’ को बहसमा लेखक र पाठकहरूको सहभागिताले हामीलाई उत्साहित बनाएको छ । यस्ता बहस लोकतन्त्रको विस्तार र सघनीकरणका लागि फलदायी हुने आत्मविश्वास पनि जागेको छ ।

‘वैकल्पिक राजनीति’ को बहसमा झण्डै डेढ दर्जन लेखकले भाग लिए । 

 देशको ‘वैकल्पिक राजनीति’मा योगदान गर्ने नयाँ शक्ति, विवेकशील साझा, रास्वपा लगायतका दल, नागरिक पहिलो जस्ता अभियानका नेता र अभियन्ताहरुले मात्र हैन, पत्रकार, स्वतन्त्र विश्लेषकले समेत यस विषयमा आफ्नो अनुभव र धारणा खुलेर राख्न सक्ने वातावरण बन्यो ।

वैकल्पिक राजनीतिको बहससँग राष्ट्रिय राजनीतिका समग्र पक्षहरूसमेत उजागर भएको हाम्रो ठहर छ । त्यसले हाम्रा कमजोरी र समस्या पहिचान गर्न, तिनको निराकरण र समाधान खोज्न सजिलो बनाउने छ ।

लोकतन्त्रको सघनीकरण र उन्नत लोकतन्त्रको अभ्यास बिना हाम्रो लोकतन्त्रले फलदायी ‘डेलिभरि’ गर्न नसक्ने यथार्थलाई बिस्तारै सबैले स्वीकार गर्दै गएको देखिन्छ । राजनीतिक क्षेत्र र नेतृत्वप्रतिको बढ्दो वितृष्णा र निराशाले लोकतान्त्रिक सोच, राज्य व्यवस्था र प्रणालीमै ठूलो व्यवधान नल्याओस् भन्ने सावधानीका लागि समेत यस्ता बहस उपयोगी हुन्छन् ।

बहसको क्रममा मूलधार ठूला पुराना दल र नेतृत्वका जस्तै नयाँ र वैकल्पिक राजनीतिका पनि थुप्रै कमीकमजोरी र समस्या उजागर भए । पुरानालाई दोष लगाउनु, आलोचना वा चर्को गालीगलौज गर्नु मात्रै समस्याको समाधान हैन रहेछ भनेर सबैले बुझ्न जरुरी देखिएको छ ।

नयाँ र वैकल्पिक भनिएका दल समयमै सम्हालिन र उचित नेतृत्व गर्न असफल हुँदा वा तिनमा पनि पुरानै दल र नेतृत्वमा जस्तै समस्या देखा पर्दा जननिराशा झनै बाक्लो भएको छ । ‘जो आए पनि उस्तै’ भन्ने नियति देशले किन भोग्न परिरहेको छ ? के हामी यसका लागि अभिशप्‍त छौँ वा यो हाम्रै मानवीय वा स्वार्थप्रेरित कमजोरी हो ? 

यो जटिलताको उत्तर खोज्न ‘वैकल्पिक राजनीति’को बहसले मद्दत गरेको हुनु पर्दछ भन्ने ठानेका छौँ । भविष्यमा पनि विभिन्न राष्ट्रिय महत्त्वका विषयमा यस्ता बहस जारी राख्ने छौँ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register