एनकेएलले नेपाली कबड्डीलाई व्यावसायिक बनाउनेछ : अमितकुमार बेगानी

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) दशरथ रङ्गशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदैछ । क्रिकेट, फुटबल र भलिबल पछाडि फ्रेन्चाइज टिमको अवधारणमा ल्याइएको एनकेएललाई लिएर यसका आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमितकुमार बेगानी निक्कै उत्साहित छन् । कबड्डी, स्क्वास, ब्याडमिन्टन, टेबलटेनिसलगायत थुप्रै खेल खेलेको अनुभव सुनाउँदै बेगानीले भने ‘सबै खेलको मिश्रण कबड्डीमा पाइन्छ, जुन छोटो–मीठो छ । […]

Jan 15, 2025 - 10:53
 0
एनकेएलले नेपाली कबड्डीलाई व्यावसायिक बनाउनेछ : अमितकुमार बेगानी

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) दशरथ रङ्गशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदैछ ।

क्रिकेट, फुटबल र भलिबल पछाडि फ्रेन्चाइज टिमको अवधारणमा ल्याइएको एनकेएललाई लिएर यसका आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमितकुमार बेगानी निक्कै उत्साहित छन् ।

कबड्डी, स्क्वास, ब्याडमिन्टन, टेबलटेनिसलगायत थुप्रै खेल खेलेको अनुभव सुनाउँदै बेगानीले भने ‘सबै खेलको मिश्रण कबड्डीमा पाइन्छ, जुन छोटो–मीठो छ । हामीले नेपाली कबड्डीको स्तरवृद्धि नगरे आकर्षण बढ्दैन । विश्वस्तरमै पुर्‍याउन सक्नुपर्छ । त्यसैले एनकेएललाई स्तरीय बनाउन कुनैपनि सम्झौता नगरी लगानी गरेका छौँ । यसले नेपाली कबड्डीलाई व्यावसायिक बनाउनेछ ।’

क्रिकेट, फुटबल र भलिबलमा राम्रो भएजस्तै कबड्डीमा पनि एनकेएलले राम्रो पहिचान बनाउने बेगानीको विश्वास छ । कबड्डीको विकाससँगै देशको पहिचान र खेलाडीको भविष्यका लागि पनि एनकेएल आयोजनामा अगाडि बढेको उनी बताउँछन् ।

विराटनगरबाट उदाएको व्यावसायिक समूह ‘बेगानी ग्रुप’को नेतृत्व गरिरहेका उनले एनकेएलको पहिलो संस्करणमा तीन करोड रुपैयाँ बढी लगानी हुने उल्लेख गर्दै लगानी फिर्ताभन्दा पनि खेलको विकासलाई जोड दिइएको बताए ।

देशको तराई र पश्चिमी क्षेत्रमा लोकप्रिय रहेको खेल कबड्डीमा अनुसन्धान गरेपछि एनकेएलको तयारीमा जुटेको उल्लेख गर्दै उनले भने, ‘अनुसन्धान गर्दा नेपालमा २० हजार बढी खेलाडी पाइयो । कबड्डी काठमाडौंमा पनि खेल्छ, दक्षिण एसियामा भूगोल सुहाउँदो पनि छ । भारतमा क्रिकेटपछि सर्वाधिक हेरिने खेल कबड्डी नै हो । त्यसैले हाम्रा खेलाडीलाई त्यो स्तरमा पुर्‍याउने अवसर छ, जसले नेपाली टिमलाई मनैदेखि बलियो पार्नसक्छ ।’

एनकेएल माघ ४ देखि १८ गतेसम्म सञ्चालन हुनेछ, जसमा ६ शहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । सबै टिम बिक्री गरिएको पनि उनले बताए । प्रत्येक टिमको फ्रेन्चाइज शुल्क ३५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, आयोजनामा तीन करोड रुपैयाँभन्दा बढी खर्च हुने एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयमरेन बेगानीले बताए ।

गत वर्ष नै एस्ट्रोनिक्स म्यानेजमेन्टले अखिल नेपाल कबड्डी सङ्घसँग १० वर्षे सम्झौता गर्दै एनकेएल आयोजनाको अधिकार लिएको थियो । भारतका प्रो कबड्डीबाट प्राविधिक जनशक्ति ल्याएर एनकेएलमा नेपालीलाई तयार पारिएको छ । प्रो कबड्डी लिगबाट प्राविधिक निर्देशक, मेन्टर र ६ जना प्रशिक्षकले ट्रेनिङ दिइरहेका छन् ।

नेपाली राष्ट्रिय पुरुष टिमका कप्तान घनश्याम रोका मगरसहित एनकेएलका केही खेलाडी प्रो कबड्डी लिगका अनुभवी छन् । उनले यो सिजनको प्रो कबड्डी लिग हरियणा स्टिलर्सबाट खेल्दै दुई साताअघि उपाधि जितेका थिए । एनकेएलमा स्वदेशी ६६ र विदेशी १८ खेलाडी छन् । थाइल्यान्ड र बङ्गलादेशका ६–६, श्रीलङ्का र केन्याका ३–३ जना छन् । हरेक टिममा स्वदेशी र विदेशी गरी १४ खेलाडी छन् ।

एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स सहभागी छन् ।

राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन्, जहाँ इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टिमको टुङ्गो लाग्नेछ ।

एनकेलमा कुल १९ खेल हुनेछ । उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्स भिड्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register