कुम्भ मेलाको इतिवृतान्त : के हो महाकुम्भ ?

मेलाका लागि १ लाख ५० हजार टेन्ट, १ लाख ४५ हजार शौचालय, ३ हजार भान्साघर र ९९ पार्किङ स्थल बनाइएको छ । मेलामा प्रतिरात १० लाख मानिसले यस्ता सुविधा प्रयोग गर्न सक्दछन् ।

Jan 15, 2025 - 10:50
 0
कुम्भ मेलाको इतिवृतान्त : के हो महाकुम्भ ?

काठमाडौं भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जनवरी, १३ अर्थात् सोमबारदेखि महाकुम्भ मेला सुरु भएको छ । यो विश्वकै सबैभन्दा ठूलो धार्मिक मेला हो । सन् २०१७ मा युनेस्कोले कुम्भ मेलालाई ‘अभौतिक सांस्कृतिक विश्व सम्पदा’ मा सूचीकृत गरेको थियो ।

सन् २०१३ को कुम्भ मेलामा अहिलेसम्मकै धेरै १२ करोड मानिस सहभागी भएको भनिएको थियो । यसपटक त्यसको ४ गुणाभन्दा धेरै ५० करोडभन्दा बढीले कुम्भ स्नान गर्ने दाबी गरिएको छ ।

यो मेला पौष पूर्णिमादेखि महाशिवरात्रि अर्थात् जनवरी १३ देखि फेब्रुअरी २६ सम्म ४५ दिन चल्ने छ । मेलाको पहिलो दिन सोमबार मात्रै करिब डेड करोड मानिसले कुम्भ स्नान गरेको बताइएको छ । 

कुम्भमेला अवधिमा हिन्दू धर्मावलम्बीका ४ महत्त्वपूर्ण तिथि माघे सङ्क्रान्ति, मौनी औंसी, वसन्त पञ्चमी र महाशिवरात्रि पर्ने छन् । यी ४ दिनको विशेष स्नान समारोहलाई ‘शाही स्नान’ भनिन्थ्यो । यसपटकबाट ‘अमृत स्नान’ नामाकरण गरिएको छ । मङ्गलबार माघे सङ्क्रान्तिको पहिलो ‘अमृत स्नान’ सम्पन्न भइसकेको छ ।

कुम्भको अर्थ

कुम्भको शाब्दिक अर्थ कलश वा घडा हो । वैदिक युगमा घडालाई कुम्भ भनिन्थ्यो । संस्कृति विज्ञकाअनुसार ऋग्वेदमा घडालाई कुम्भ भनिएको छ । घडा घाटमा स्नान गर्न र पानी सङ्ग्रह गर्न प्रयोग गरिन्थ्यो । माटो, तामा र पित्तलका घैला निर्माण गरिन्थे । मन्दिरमा चढाउन वा विशेष दान गर्न सुनका घडा बनाइन्थे ।

हिन्दूहरूको कुनै पनि यज्ञ, पूजा अनुष्ठान कलश स्थापनाबाट सुरु हुनु कुम्भकै प्रतीक हो । कुम्भको नाममा यति ठूलो धार्मिक तीर्थ मेलाको उत्पत्ति र विकास कसरी भयो ? यसबारे भिन्नभिन्न किम्वदन्ती प्रचलित छन् ।

मुख्य दुई किम्वदन्ती

कुम्भ मेलाका मुख्य दुई पौराणिक किम्वदन्ती बैकुण्ठबाट अमृत हरण र समुद्र मन्थनसँग जोडिएका छन् ।

पहिलो कथाअनुसार ऋषि कश्यपका दुई पत्नी थिए । कद्रु र वनिता । कद्रुले पतिसँग १ हजार सन्तानको माग गरिन । उनले हजार अण्डा पाइन र तीबाट हजार प्रकारका विषालु सर्प निस्किए । उनी ‘नागमाता’ को नामले प्रख्यात भइन् ।

वनिताले थोरै र सामर्थ्य सन्तानको अपेक्षा गरिन । उनले दुई अण्डा पाइन । अरुण र गरुड उनका दुई छोरा भए । तर, कद्रुले ईर्ष्यावश वनितालाई छलले दासी बनाइन् । माताको दासमुक्तिका लागि गरुडलाई बैकुण्ठबाट अमृत चोरेर ल्याउन भनियो ।

गरुड बैकुण्ठ गए । भगवान विष्णुको अगाडिबाट अमृतको घडा उठाएर ल्याए । गरुड आफ्नो बाहन बन्ने शर्तमा विष्णु अमृत घडा दिन राजी भए । जब गरुडले घडा बैकुण्ठबाट लिएर आउँदै थिए, ४ ठाउँमा अमृतको केही थोपा पोखियो । ती ४ स्थानमा कुम्भ स्नान र मेलाको प्रारम्भ भयो ।

दोस्रो कथाअनुसार दैत्य र दानवले समुद्र मन्थन गर्दा निस्किएका १४ रत्नमध्ये एक अमृत घडा थियो । अमृत घडा बैद्यराज धन्वन्तरीको हातमा थियो । तर, जब अमृत कसले खाने भन्ने विषयमा सुर र असुरबीच विवाद भयो, दैत्यराज बलीको एक सेना स्वरभानु घडा खोसेर आकाशमा उड्यो ।

देवराज इन्द्रका छोरा जयन्तसँग पनि आकाशमा उड्ने क्षमता थियो । इन्द्रले जयन्तलाई स्वरभानुबाट अमृत घडा खोस्न आदेश दिए । आकाशमै स्वरभानुजयन्तबीच अमृत घडा खोसाखोस हुँदा ४ स्थानमा अमृतको थोपा चुहियो । र, ती ४ स्थानमै कुम्भ स्नान र मेला प्रारम्भ भयो ।

यी दुवै किम्वदन्तीमा कुम्भ स्नान र मेलाको उत्पतिको कथा ‘अमृत घडा’सँग जोडिन्छ ।

अमृत खसेका ४ स्थान 

दुवै किम्वदन्तीअनुसार अमृतका थोपा झरेका ४ स्थान उत्तराखण्ड हरिद्वारको गङ्गातट, मध्यप्रदेश उज्जैनको शिप्रा नदी, महाराष्ट्र नासिकको गोदावरी नदी किनार र उत्तरप्रदेश प्रयागराज गङ्गा, यमुना र सरस्वती तीन नदीको त्रिवेणी सङ्गम हुन् ।

यी ४ ठाउँमै कुम्भ मेला लाग्दछ । यसका अतिरिक्त नेपालको बराह क्षेत्र, चतरामा पनि केही दशक अघिदेखि कुम्भ मेलाको प्रचलन सुरु गरिएको छ । जगत् गुरु बालसन्त मोहनशरण देवाचार्यले चतरालाई प्राचीन हरिद्वार धाम दाबी गरी सोही कथाका आधारमा कुम्भमेला प्रचलन प्रारम्भ गरेका हुन् । तर, भारतमा उपरोक्त ४ स्थानमा मात्र कुम्भ मेला हुन सक्दछ भन्ने धारणा बलियो छ ।

 के हो महाकुम्भ ?

कुम्भ मेला ४ प्रकारका हुन्छन् । १२औं वर्षको मेलालाई ‘पूर्ण कुम्भ’ भनिन्छ । यो मेला प्रयागराजमा मात्र लाग्न सक्दछ । ६-६ वर्षमा लाग्ने मेलालाई ‘अर्धकुम्भ’ भनिन्छ । यो प्रयागराज र हरिद्वारमा लाग्दछ । वार्षिक स्नानलाई भने कुम्भ भनिन्छ । त्यो ४ वटै स्थानमा हुन्छ ।

१२ वटा ‘पूर्ण कुम्भ’ को चक्रलाई ‘महाकुम्भ’ भनिन्छ । अर्थात् महाकुम्भ प्रत्येक १४४ वर्षपछि दुई शताब्दी छोएर आउँछ । यसपटकको मेला ‘महाकुम्भ’ हो । यस अघिको महाकुम्भ मेला सन् १८८२ मा आयोजना भएको थियो ।

१२ वर्षे अवधारणा किन ?

पूर्णकुम्भ १२ वर्षमा र महाकुम्भ १२ पूर्ण कुम्भ वर्षमा हुने अवधारणा समुद्र मन्थनको किम्वदन्तीसँग जोडिएर बनेको हो । कथाअनुसार देवराज इन्द्रको छोरा जयन्तलाई दैत्यराज बलीको सिपाही स्वरभानुबाट अमृत घडा खोसेर स्वर्ग पुग्न १२ दिन लागेको थियो ।

स्वर्ग लोकको १ दिन बराबर पृथ्वीलोकको १ वर्ष हुन्छ भन्ने मान्यतामा १२ वर्षको अवधारणा बनेको हो ।

प्रयागराज मेलाको अवधि सूर्य, चन्द्र र बृहस्पति ग्रहको ज्योतिषीय स्थान गणनामा आधारित हुन्छ । त्यतिखेर प्रयागराज कुम्भ मेला लाग्दछ जब सूर्य र चन्द्र मकर राशि र बृहस्पति ग्रह वृषभ राशीमा हुन्छ ।

प्रयागराजको कथा

गङ्गा, यमुना र सरस्वती तीन नदीको सङ्गम स्थललाई प्रयागराज भनिन्छ । हिन्दू विश्‍वासअनुसार यो त्यो स्थान हो, जहाँ सृष्‍टिकर्ता ब्रह्माले धर्तीको पहिलो यज्ञ गरेका थिए । प्रयागराजको अर्थ तीर्थहरूमध्येको सर्वश्रेष्ठ तीर्थ हो ।

सन् १५७५ मा मुगल सम्राट अकबर यहाँ पुगेका थिए । उनले यो ठाउँको नाम परिवर्तन गरी ‘इलाहावाद’ राखे । सम्राट अकबरले हिन्दूको ‘इश’ र र इस्लामको ‘अल्लाह’ दुवैका देवताको ‘बास’ भएको ठाउँ भन्ने अर्थमा ‘इलाहावाद’ नाम राखेको इतिहासकारको दाबी छ । सन् २०१८ अक्टोबर १६ बाट पुनश्च प्रयागराज भन्न थालियो ।

प्रयागराज तीन नदी गङ्गा, यमुना र सरस्वतीको त्रिवेणी हो । तर, रोचक कुरा के छ भने त्यहाँ गङ्गा र यमुना मात्र मिसिएको देखिन्छ । सरस्वती नदी भने देखिँदैन । तर, हिन्दूहरू सरस्वती नदी भित्रभित्रै बग्दै आएर त्रिवेणीमा मिसिन्छ भन्ने विश्वास गर्दछन् ।

किनकि प्राचीन हिन्दू ग्रन्थमा गङ्गा र यमुनाकै जस्तो सरस्वती नदीको पनि ठूलो चर्चा, प्रशंसा र महिमा गान छ । भगवान कृष्णले काशी र द्वारकाबीचको यात्रा सरस्वती नदी हुँदै नौकाबाट गर्दथे भन्ने वर्णन छ ।

किन गायब भइन सरस्वती ?

सरस्वती नदी लुप्त हुनुको कारणबारे धार्मिक विश्वास र भौगर्भिक परिवर्तन दुवै प्रकारका तर्क छन् । सरस्वती नदी मारवाड र सौराष्ट्रबाट प्रवाहित हुँदै प्रयागराजमा आएर मिसिन्थिन् भन्ने विश्वास छ । जब सौराष्ट्र क्षेत्रमा पाप, अनाचार, दुराचार फैलियो तब उनमा वैराग्य पलायो र प्रयागराजमा आएर गुप्त भइन् भन्ने धार्मिक तर्क छ ।

अर्को तर्कअनुसार राजस्थानको थार मरुभूमि क्षेत्र भौगर्भिक परिवर्तन अघि एक हराभरा, वनजङ्गल र कृषियोग्य जमिन भएको बाक्लो आबादवाला भूभाग थियो । राजस्थानमा ठूलो भौगर्भिक विस्फोटपछि पहाडहरू उडे र भित्रको बलौटो माटो सतहमा आएर मरुभूमि बन्यो । यही प्रक्रियामा सरस्वती नदी भित्र दबिएर भूमिगत जलसतहमा सीमित भइन् ।

कुम्भ मेलाको इतिहास

कुम्भ मेलाको प्रचलन १० हजार वर्षअघि सुरु भएको हुन सक्ने ठानिन्छ । तर, यसलाई अङ्ग्रेज शासनकालमा आएर मात्र औपचारिक रुपमा कुम्भ मेला भन्न थालिएको इतिहासकाको दाबी छ ।

७औं शताब्दीका चिनियाँ यात्री हु वान साङले कुम्भ मेलाको चर्चा गरेका थिए । उनले माघे सङ्क्रान्ति स्नानका लागि राजा हर्षवर्धनले शिविर बनाएर भाग लिएको मेलाका रुपमा यसको वर्णन गरेका छन् ।

कतिपयले कुम्भ मेला प्रारम्भको जस ८औं शताब्दीका महान दार्शनिक तथा धर्म सुधारक आदी शङ्कराचार्यलाई दिन्छन् । त्यो हिन्दू धर्म कमजोर, बौद्ध र जैन धर्म व्यापक फैलिएको शताब्दी थियो । आदि शङ्कराचार्यले अद्वैत वेदान्तको दर्शनसहित हिन्दूत्व जागरण अभियान सुरु गरेका थिए ।

यस प्रयोजनका लागि आदी शङ्कराचार्यले आयोजन गरेको हिन्दू जागरण सभाले कुम्भ मेलाको रूप लिएको तर्क गरिन्छ । आदि शङ्कराचार्यका ४ मठ र कुम्भ मेलाका ४ स्थानको अवधारणा मिलेको देखिन्छ । त्यसैगरी पाञ्चायन पूजा पद्धतिको प्रभाव समेत कुम्भ मेलाको पद्धतिसँग जोडिएको हुन्छ ।

कुमारिल भट्टको आत्मदाह

आठौँ शताब्दीका एक अर्का महापण्डित कुमारिल भट्टसँग शास्त्रार्थ गर्न आदि शङ्कराचार्य प्रयागराज पुगेका थिए । शङ्कराचार्यले कुमारिल भट्टलाई भेट्दा उनी आत्मदाहको तयारीमा थिए । नग्न शरीरमा घ्यू, तेल र भुस दलेर उनले आत्मदाहको तयारी गरिरहेका थिए ।

कुमारिल भट्ट हिन्दू परिवारका थिए । उनी बढ्दो बौद्ध प्रभावबाट चिन्तित भई बौद्ध ज्ञान र शिक्षाका लागि केही समय बौद्धिष्ट बने । बौद्ध धर्मका सबै ज्ञान र शिक्षापछि उनी फेरि हिन्दू धर्ममै फर्किएर बौद्ध दर्शनको खण्डन अभियानमा लागे । यसबापत उनलाई बौद्ध गुरुहरूको अवज्ञा र अपमान गरेको अपराधबोध भयो । प्रायश्चितका लागि उनले आत्मदाह गरे ।

आत्मदाह गर्नुअघि उनले शङ्कराचार्यलाई आफ्नो ज्ञान र धारणा आफ्ना शिष्य मन्डन मिश्राबाट बुझ्न भनेका थिए । पछि शङ्कराचार्य, मन्डन मिश्रा र मिश्रा पत्नी उभयावत्ती देवीबीच घनघोर शास्त्रार्थ भयो । शङ्कराचार्यले मिश्रा दम्पतीलाई पराजित गरेपछि अद्वैत वेदान्त स्थापित र हिन्दूत्वको पुनर्जागरण भयो भन्ने विश्वास छ । 

यस मतमा विश्वास गर्ने हो भने कुम्भ मेला हिन्दूत्व पुनर्जागरणको प्रतीक हो ।

अक्षय वृक्षको कथा

प्रयागराज त्रिवेणी सङ्गमको नजिक एक ठूलो वटवृक्ष थियो । रामायणकालमा मिथिला राजकुमारी सीताले यो वृक्षलाई सृष्टिका सबै प्रलयको साक्षी बन्न बरदान दिएकी थिइन् । यसका हाँगा लामा थिए । नदीका सङ्गमसम्म पुग्थे ।

कुमारिल भट्टको आत्मदाहपछि यो स्थान वैराग्य साधु सन्तहरूको जलसमाधि स्थल बन्न थाल्यो । यही वटवृक्षमा चढेर साधुसन्त वा आत्महत्या गर्ने सर्वसाधारण त्रिवेणीमा हाम फाल्थे । यसरी जलसमाधि लिँदा मोक्ष प्राप्त हुन्छ र स्वर्ग गइन्छ भन्ने विश्वास बढ्दै गएको थियो ।

जलसमाधिको यस्तो लहरबाट चिन्तित सम्राट अकबरले अक्षय वृक्षलाई एक किल्ला बनाएर पर्खालभित्र भवन मुनि गुप्त बनाई दिए । यो किल्ला र वटवृक्ष अहिले पनि छँदैछ ।

नागाबाबाको अग्राधिकार

कुम्भ मेलाको शाही स्नानमा नागाबाबा अखडाको अग्राधिकार हुन्छ । कुम्भ स्नानमा रोलक्रम पाएका १३ अखडामध्ये ७ नागाबाबा, ३ वैष्णवी र ३ उदासिन अखडा हुन्छन् । नागाबाबाको शाही स्नानपछि मात्र वैष्णव र उदासिन अखडाले स्नान गर्न सक्छन् ।

नागाबाबा शैव, शिवभक्त हुन् । वैष्णवी अखडाले विष्णुको आराधना गर्दछन् । उदासिन मत भने वेदान्त दर्शन र ज्ञानमा विश्वास गर्ने अखडा हुन् ।

भारत वर्षमा मुसलमानहरूको आगमन र अतिक्रमण बढ्दै जाँदा कुम्भ प्रचलनको रक्षा नागाबाबाले गरेका थिए । तसर्थ, उनीहरूले हिन्दू महाराजाबाट यस्तो अग्राधिकार पाएका थिए ।

नागाबाबाले धार्मिक सेनाका अतिरिक्त राज्यलाई अप्ठ्यारो पर्दा युद्धमा समेत भाग लिन्थे । सन् १८५८ को कुम्भ मेलामा अङ्ग्रेज फौजसँगको लडाइँमा ७४५ नागाबाबा मारिएका थिए । तथापि उनीहरूले अङ्ग्रेज फौजलाई कुम्भबाट भगाएका थिए ।

महाकुम्भको व्यवस्थापन

यसपटकको महाकुम्भ मेलाको सम्पूर्ण तयारी उत्तर प्रदेश सरकारले गरेको छ । मुख्यमन्त्री योगी आदित्यनाथ आफैँले कन्ट्रोल रोमबाट मेलाको प्रत्यक्ष अनुगमन, नियमन र निर्देशन गर्ने गर्छन् ।

मेलाको तयारी डेढ वर्ष अघिदेखि सुरु गरिएको थियो । यसको व्यवस्थापनमा ६ हजार ३८२ करोड खर्च र २ लाख करोडको आम्दानी हुने अपेक्षा छ । मेलामा ४५ हजार परिवारले रोजगार पाएका छन् ।

मेलास्थल ३२ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । प्रति १०० वर्गमिटरको दूरीमा १ प्रहरी हुने गरी ४० हजारभन्दा बढी प्रहरी र १५ हजारभन्दा बढी स्वयंसेवक परिचालित छन् ।

मेलाका लागि १ लाख ५० हजार टेन्ट, १ लाख ४५ हजार शौचालय, ३ हजार भान्साघर र ९९ पार्किङ स्थल बनाइएको छ । मेलामा प्रतिरात १० लाख मानिसले यस्ता सुविधा प्रयोग गर्न सक्दछन् । नि:शुल्कदेखि प्रतिरात १ लाख २५ हजारसम्म पर्ने बासको व्यवस्थापन मिलाइएको छ ।

भारत सरकारले देशका विभिन्न शहरबाट प्रयागराजका लागि ९८ थप रेल सेवा सञ्चालन गरेको छ । तिनले मेला अवधिमा ३३०० पटक रुट यात्रा गराउने छन् । स्नान क्षेत्रमा ३०० गोताखोर परिचालन गरिएको छ ।

भनिन्छ– कुम्भ मेला अन्तरिक्षबाट देखिन्छ । सन् २०१३ को कुम्भ मेलाको तस्वीर अन्तरिक्षबाट भारतीय अन्तरिक्ष संस्था इसरोले खिचेर सार्वजनिक गरेको थियो । यसपटकको महाकुम्भ सन् २०१३ को कुम्भभन्दा धेरै ठूलो हुनेछ । ४० भन्दा बढी देशबाट मानिस कुम्भ स्नान गर्न प्रयागराज पुग्ने अनुमान छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register