वैकल्पिक राजनीतिको मायाजाल

पुराना भनिएका दलले त स्विट्जरल्यान्ड वा सिङ्गापुर बनाउने सपना बाँडे रे लौ । वैकल्पिक भनिएकाहरूको सपना यो भन्दा भिन्नै चैँ के छ ? जहाँ सुटकेसको व्यापार मारामार फस्टाइरहेको छ, त्यहाँ वैकल्पिक राजनीति कुन बोटमा फल्छ ?

Jan 13, 2025 - 15:26
 0
वैकल्पिक राजनीतिको मायाजाल

पारसमणिले छोइदियो भने फलाम सुनमा परिणत हुन्छ भन्ने मिथकीय विश्वास छ । योगशास्त्रमा यही विश्वासबाट पैदा हुने मिराजलाई विकल्प भनिएको छ । पारसमणि कसैले देखेको छैन, तैपनि यसको रहस्यमय अस्तित्व कायम छ । पारसमणिको भौतिक अस्तित्व छैन, तैपनि यसले अनेकन फलामलाई छुँदै सुन तुल्याइरहेको छ । त्यो छैन, तैपनि त्यो छ भन्ने जादुमय विश्वास चाहिँ छ । नेपालको वैकल्पिक राजनीतिको परिकल्पना र प्रयासमा त्यही पारसमणिको जादुगरीकै खोजी भइरहेझैँ प्रतीत हुन्छ ।

डा. बाबुराम भट्टराईले २०७३ सालमा दशरथ रङ्गशालामा ‘नयाँ शक्ति’ घोषणा गर्दा एउटा रौनक थियो । पत्रपत्रिकाले ज्याकेट विज्ञापन ओढेका थिए । मिडियादेखि सोसल मिडियासम्म छाइरहने एकसेएक ‘सेलिब्रेटी’हरू डा. भट्टराईको पछिल्तिर लामबद्ध देखिन्थे । सिनेमा-सङ्गीतका चर्चित अनुहारदेखि कर्मचारीतन्त्रका रिटायर्ड हाकिमसम्मले वैकल्पिक राजनीति बनाउन कम्मर कसेका थिए । दुई आमनिर्वाचन छिचोलेर बाहिर निस्कँदासम्म स्थितिले कोल्टे फेरिसकेको थियो । आफैँले बनाएको वैकल्पिक राजनीतिको रङ्गमञ्चमा ‘नयाँ शक्ति’ प्रकाश व्यवस्थापक जस्तो हुन पुग्यो भने स्टेजमा पात्रहरू अरु नै प्रकट भए ।

इतिहासमा यस्ता धेरै राजनीतिक पहलहरू छन् जसलाई नयाँ शक्तिको नियतिसँग दाँजेर हेर्न सकिन्छ । प्रजापरिषदकै इतिहास साक्षी छ । राणाशासन विरुद्धको आन्दोलनमा महत्त्वपूर्ण सुरुवाती पहल लिएको प्रजापरिषद् २००७ सालको क्रान्तिपछि खासै फस्टाउन सकेन । तथापि प्रजापरिषद्ले इतिहासको त्यो पलमा गरेको नयाँ समाजको परिकल्पना ऐतिहासिक थियो । उसले स्थापित गरेको विद्रोह, बलिदान र नयाँ चेतनाको कीर्तिमान इतिहासभरि दियालोको भूमिकामा रह्यो । इतिहासले त्यसपछि पनि पटकपटक कोल्टे फेरेको छ । अहिले पनि समाज तथा दलहरूभित्रै पनि परिवर्तनको एउटा नयाँ आकाङ्क्षा पैदा भएको छ ।

तर, के डा. भट्टराईले महसुस गरेझैँ वैकल्पिक राजनीतिको पहलबाट थाकेर-भागेर जागरुक मानिसहरू ‘पुरानै’ दलतिर फर्किरहेका हुन् ? अथवा एकथरी विश्लेषणमा भनिएझैँ वैकल्पिक राजनीतिको नाममा पपुलिज्म हावी भएको हो ? के रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी) र बालेन जस्ता चर्चित पात्रहरू पपुलिस्ट हुन् ? कि एउटा जमातले आश गरेझैँ वैकल्पिक शक्तिका सूत्रधार हुन् ? कुन सङ्कटको कस्तो समाधान खोज्न वैकल्पिक राजनीति चाहिएको हो ? आखिर कुन चराको नाउँ हो वैकल्पिक राजनीति ?

विकल्प : एक अर्थालङ्कार

एउटा अर्थमा उपलब्ध कुरामा चित्त नबुझेपछि विकल्प खोजिन्छ । यस हिसाबले विकल्पको खोज, समस्या समाधान गर्ने उपायको खोज हो । अर्को अर्थमा मृगतृष्णाको पछि भागेझैँ विकल्पको पछाडि भागिरहन सकिन्छ । यो भएन त्यो, त्यो भएन फेरि अर्को गर्दै विकल्प खोज्दाखोज्दै विकल्प स्वयंमा एउटा नजिक पुगेपछि छुमन्तर हुने मृगतृष्णा हुनसक्छ । हामीले खोजिरहेको पारसमणिको जादु हो कि हाम्रा सामूहिक समस्या समाधानको उपाय ?

निर्वाचन स्वयंमा विकल्पबीच छनोटको पद्धति हो । निर्वाचनमा लगाइने छाप केवल छाप होइन जो गन्तीमा आउँछ । त्यो छाप त मत हो, मत अर्थात् एउटा धारणा, एउटा राय अर्थात एक विचार । निर्वाचनमा दिइने प्रत्येक भोटले व्यक्तिको मत अर्थात धारणा व्यक्त गरिरहेको हुन्छ । त्यो धारणामा व्यक्तिगत वा पारिवारिक स्वार्थ अवश्य मिसिएको हुनसक्छ, सँगसँगै त्यो एउटा सामूहिक विचारको छाप पनि हो । त्यसैले निर्वाचन भनेकै विभिन्न विकल्पमध्ये एक छान्ने स्वतन्त्रता हो ।

त्यसैगरी बहुदल भनेको विभिन्न वैकल्पिक दलहरू भएको प्रणाली हो । पार्टी छान्ने, त्यसमा सङ्गठित हुने र सामूहिक विचारमा अनुबन्धित हुने स्वतन्त्रताकै खोजी त थिए तमाम जनआन्दोलनहरू । राणाहरूको जहाँनियाँ शासन, शाहवंशको जहाँनियाँ शासन । जहाँनियाँ अर्थात् एउटा वंशको एकाधिकार, बन्दुकको बलले लादिएको एउटा परिवारको जबर्जस्ती शासन । त्यस्तो शासन जहाँ विकल्प खोज्ने अधिकार जनतासँग हुँदैन, जहाँ विकल्पहीन विकल्प जहाँनियाँ शासनले तय गरिसकेको हुन्छ । जनताको स्वतन्त्रतालाई जहाँनियाँ शासनले कैद गरेकै हुनाले त गणतन्त्रसम्मको यात्रामा अनेकन विद्रोह र बलिदान भएका थिए ।

गणतन्त्र पक्कै पनि राजनीतिक स्वतन्त्रताको उत्तम विकल्प हो । तर, कुनै पनि समाजको उन्नति उसको सिर्जनशीलता र गतिमा निर्भर रहन्छ । एक त राजनीतिक स्वतन्त्रताले मात्र समाजको सिर्जनशीलता र गतिलाई निर्धारण गर्न सक्दैन, अर्को कुरा २०७२ को संविधानले विभेदयुक्त नेपाली समाजको संरचनात्मक दोषबाट नै पूर्ण स्वतन्त्रता दिन सकेन । त्यसैले राजतन्त्रात्मक व्यवस्थाले कुण्ठित गरेका कैयौँ स्वतन्त्रताका निम्ति अझै धेरै सङ्घर्ष बाँकी नै छन् ।

त्यसको अर्थ हो नेपाली मस्तिष्क र हातहरूलाई सिर्जनशील, सक्रिय र गतिशील बनाउन अझै धेरै साङ्ला चुँडाउन बाँकी नै छन् । समाजलाई गतिमान बनाउने सङ्घर्षकै निम्ति दलहरू चाहिन्छ । भिन्नभिन्न विचारका दलले भिन्नभिन्न उपाय सुझाउन सक्छन् । अनि आफ्ना विशिष्ट प्रस्तावसहित प्रतिस्पर्धा गर्छन् भन्ने मान्यता हो ।

जनयुद्ध र २०६२ – ०६३ को जनआन्दोलनपछि तीन दललाई विशिष्ट मानियो – काङ्ग्रेस, एमाले र माओवादी । यो लिस्टमा मधेस आन्दोलनले ‘फोरम’ थपिदियो । अहिले वैकल्पिक राजनीतिको बहसमा यिनैलाई ‘पुराना पार्टी’ भन्ने गरिएको छ । त्यसैगरी वैकल्पिक शक्ति बनाउने भनेकै यिनै दलहरूको विकल्प खोज्ने भनिएको होइन र ? यिनै पार्टी कुनैबेला वैकल्पिक थिए । आखिर यी पार्टीहरूलाई पुराना किन भनियो ? वैकल्पिक शक्तिसँग नयाँ के हुन्छ ? वैकल्पिक अनुहार ? वैकल्पिक उपाय ? वैकल्पिक विचार ? अथवा अरु केही ?

कोसँग छ पारसमणि ?

नेपालमा संविधानसभाको सङ्घर्ष निकै पेचिलो थियो । गणतन्त्रको सारतत्त्व स्थापित गर्न राज्यको पुनर्संरचना गर्ने चुनौती चानचुने पक्कै थिएन । गणतन्त्रका सारथी हुँदाहुँदै पनि काङ्ग्रेस, एमाले र माओवादीबीच स्पष्ट वैचारिक रेखा कोरिएको थियो । राज्य पुनर्संरचनाका सबैजसो एजेण्डा माओवादीले ल्याएको हुनाले पनि भविष्यको शक्ति सन्तुलनको आकलन गरेर काङ्ग्रेस र एमालेले अघोषित मोर्चाबन्दी गरेका थिए । सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व जस्ता मूल एजेण्डासँगै शान्ति प्रक्रियाका विषयमा सघन सङ्घर्षको स्थिति बन्यो । फलस्वरुप संविधानसभा हिलोमा फसेको गाडीझैँ भयो ।

जुन समाज विभेदका अनेकौँ जञ्जालमा जेलिएको छ, त्यहाँ सामाजिक न्यायका कैयौँ मुद्दाले उथलपुथल पनि ल्याउने नै भए । यसैबीच एउटा सफेदपोष जमात काठमाडौंमा पैदा भयो । एजेण्डाहरूको रस्साकस्सी, संविधान निर्माणको ढिलाइ, सामाजिक उथलपुथलको स्थितिलाई दुरुपयोग गर्दै ती सफेदपोषहरूले सादा शान्ति र एक थान संविधानको कुरा ल्याए । अर्कोतिर राज्यपुनर्संरचनाको मुख्य सूत्रधार माओवादी स्वयम् पटकपटक रणनीतिक गल्तीहरू गर्दै गयो । यो सिलसिला माओवादी पार्टीको विभाजनमा पटाक्षेप हुनपुग्यो । अन्ततः आयो एक थान संविधान जसले राज्य पुनर्संरचनालाई अधकल्चो छाडिदियो र सिंहदरबारमा स्विच राखेर सङ्घीयताको कागजी घर बनायो ।

वैकल्पिक राजनीतिको पछिल्लो पहल यही जटिलताको बीचबाट भएको थियो । एउटा थियो, विवेकशील नेपाली अभियान । अर्को थियो, नयाँ शक्ति अभियान । विवेकशील अभियानले सदाचार र सुशासनको कुरा गर्‍यो । अनि नेपाल खुला छ, एक थान संविधान जस्ता अभियान चलायो । नेपाली राज्यसत्ताको चरित्र, यसको पुनर्संरचना, सामाजिक विभेदको जालो खुस्काएर समतामूलक समाज निर्माण गर्ने जस्ता महत्त्वपूर्ण मुद्दाहरूमा विवेकशीलले विवेक प्रयोग गर्न चाहेन । बरु नयाँ समाज निर्माणको सङ्घर्षलाई बन्द र खुलाको सादा तराजुमा जोखेर राज्यसत्ताको पुरानै चरित्र कायम राख्न चाहनेलाई बल थपिदियो । एक थान संविधानको जिकिर गर्दै सङ्घर्षरत जनताका विविध तहतप्कालाई थकान र निराशाको आँशु छम्किने काम गर्‍यो ।

त्यही विवेकशील जब पार्टी बन्यो, उसले कहिल्यै नेपाली राज्य र समाजका समस्या तथा तिनको समाधानबारे मुख खोल्न चाहेन । कुनै वैचारिकी निर्माण गर्न चाहेन । राजनीति जस्तो लडाइँको मैदानमा उसको कुनै पक्ष थिएन । मानौँ रोष, प्रतिक्रिया र सदाचारको निख्लो कुरा नै राजनीति हो । जनता मानौँ उसका निम्ति सबै उस्तै देखिने ग्राहक हुन् । मानौँ पार्टी कुनै व्यावसायिक कम्पनी हो, जहाँ ग्राहक फकाउने योजना बनाइन्छ र सफलताको मापन सेयरबजारको साँढेले गर्छ । रवीन्द्र मिश्रको राजनीतिक महत्वाकाङ्क्षालाई काँध दिएर विवेकशील साझा बनेपछि यो अभियान तितरबितर भयो । तर, प्रश्न अझै अनुत्तरित छ, कस्तो विकल्प थियो विवेकशील ?

संविधान घोषणाको लगत्तै बनेको थियो, नयाँ शक्ति अभियान । यो अभियानले ठोकेरै काङ्ग्रेस, एमाले र माओवादीलाई पुरानो पार्टी भन्यो । संविधानलाई अधुरो बतायो र मूल एजेन्डा तोक्यो– सुशासन, समानुपातिक समावेशिता तथा आर्थिक समृद्धि । संविधानका कमीमा टेकेर वैकल्पिक शक्ति बन्ने महत्वाकाङ्क्षा बोकेको नयाँ शक्ति पार्टी के कारणले कमजोर बन्यो त्यो अलग छलफलको विषय हो । तथापि, डा. भट्टराई र उनको टिमले वैकल्पिक राजनीतिको वैचारिक खाका कोर्न मेहनत नगरेको होइन । सङ्गठन निर्माण र विस्तार गर्न जीउज्यान लगाएर नखटेको पनि होइन । ‘पुँजीवादी र साम्यवादी विचारको विकल्पमा नयाँ विचार’ पस्किने कोसिस नगरेको पनि होइन । तैपनि उनको वैचारिकीको नयाँपन अझैसम्म सम्प्रेषण हुन सकेको छैन ।

तर, उदेकलाग्दो कुरो के भने उनले जसलाई पुरानो दल भने, तिनैलाई ‘नो नट अगेन’ भन्दै बालेन, रवि लामिछाने र सिके राउतहरू स्टेज कब्जा गर्न आइपुगे । प्रकारान्तरले स्वयम् डा. भट्टराई पनि पुरानो सावित भए । आखिर के जादु भयो यो ? यसको परिघटनाको एउटा रोचक सिलसिला छ ।

विवेकशीलले नेपाल बन्दको प्राविधिक विरोध गर्‍यो । त्यही नाभीबाट पैदा भयो–रुटिन अफ नेपाल बन्द, जसलाई बोलीचालीको भाषामा ‘रुटिने’ पनि भन्छन् । सामाजिक सञ्जालमा दबदबा बनाएको त्यही रुटिने थियो बालेनको सारथी । पुरानो दल र नालायक नेताको रुपमा डा. भट्टराईले जहाँ निशाना साँधेका थिए, त्यहीँ निशाना साँधेर उब्जियो ‘नो नट अगेन’ । यो हावा चुनावताका मूलतः नेपाल उपत्यकामा हुण्डरी भयो जसको प्रभाव मधेसमा पनि उस्तैगरी पुगेको थियो ।

जतिखेर नयाँको नाममा केही ‘फिगरहेड’ उत्पन्न हुँदै थिए, त्यतिखेर डा. भट्टराई आफैँले पुरानो भनेका दलसँग सहकार्य गर्न पुगेका थिए । यो रनाहामा परेर उनी पनि पुराना दरिए । त्यसो त पुराना भनिएका दलहरू त्यसरी पराजित भएका थिएनन्, जसरी जितेका दुईचार फिगरहेड भाइरल भएका थिए । अहिले पनि यथार्थ त्यहीँ छ । तैपनि वैकल्पिक राजनीतिको निख्लो सपना देख्नेहरू यस्तै कुनै भाइरल तस्वीर पक्रेर आफू पनि नयाँ फिगरहेड बन्न सकिन्छ भन्नेमा विश्वस्त देखिन्छन् । यस्तो विश्वासको पनि ‘एक्सपायरी’ म्याद हुन्छ, माइलस्टोन हुन्छ । कुनैदिन सडक किनारको कुनै माइलस्टोनले नयाँ बाटो देखाउला । त्यस्तो आशा चाहिँ जीवित राख्नुपर्छ ।

रहँदाबस्दा, एउटा कुरो चाहिँ छर्लङ्ग भैसक्यो । पारसमणि कसैसँग थिएन र छैन । सत्य बडो सिधा हुन्छ– पारसमणि एउटा काल्पनिक जिनिस हो । राजनीति त सामूहिक परियोजना हो, पारसमणिको भ्रमले राजनीति हाँक्दैन । डिजिटल प्रविधिको जमानामा निर्वाचन प्रभावित पार्न पक्कै सकिन्छ । अनुहारलाई ब्रान्ड बनाउन सकिन्छ । जसरी डा. भट्टराईको अनुहारलाई ब्रान्ड बनाउन खोजिएको थियो, जसरी बालेन, रवि, सिके राउतको अनुहारलाई ब्रान्ड बनाइएको छ । सामाजिक सञ्जालको जञ्जालबाट भाइरल अनुहारहरू निस्किइरहन्छन्, हराइरहन्छन् । यस्तो रमिताले न त समाजको उन्नयन गर्नसक्छ, न त राजनीतिमा तात्त्विक अन्तर ल्याउन नै सक्छ ।

विकल्पचेत

विकल्पचेत मानिसको शाश्वत चेत हो । उसले विकल्पहरू खोज्छ, रोज्छ र अपनाउँछ । राजनीतिमा विकल्पको रोजाइ सामान्य जीवनका रोजाइ भन्दा नितान्त फरक कुरा हो । किनभने राजनीति सामूहिकताबाट पैदा हुन्छ । त्यसैले राजनीतिको विकल्पचेत वैचारिक हुन्छ । यो एक प्रकारले कठिन खोज हो ।

न्युटनका सिद्धान्तहरू क्रान्तिकारी थिए । उनले चालका नियम पत्ता लगाएका थिए । गुरुत्वाकर्षणको नियम पत्ता लगाएका थिए । त्यसैमा चित्त बुझाउन पनि सकिन्थ्यो । तर, आइन्सटाइनलाई त्यसले चित्त बुझेन । उनले अझ गहिराइमा गएर खोज गर्न चाहे । उनको खोजले विज्ञानका नियमहरू मात्र होइन, समग्र समाजको चिन्तन प्रक्रियामै उलटफेर ल्याइदिए । राजनीति पनि स्वतन्त्रताहरूको खोज हो । एक प्रकारको स्वतन्त्रताको अभ्यास गरिसकेपछि त्यसको सीमा भत्काएर नयाँनयाँ स्वतन्त्रताका ढोका उघार्ने कामको अभ्यास राजनीतिमार्फत गरिन्छ । नयाँनयाँ विचारको आविश्कार प्रयोग नै राजनीति हो ।

तसर्थ, वैकल्पिक राजनीति त्यतिबेला पैदा हुन्छ, जब नयाँ विचारको सिर्जना र प्रयोग हुन्छ । मान्छे र समाजका सीमाहरू तोड्दै स्वतन्त्रताको नयाँ यात्रामा हिँडाउने काम राजनीतिको हो । जब नयाँ क्षितिज खुल्छ, मान्छे सिर्जनशील हुन्छ । यो कुनै अनिवार्य जिनिस चाहिँ होइन । मान्छेले सामूहिक पहलबाट नयाँ गर्‍यो त गर्‍यो, गरेन त गरेन । यो पनि एउटा छनोट नै हो । परिवर्तनको यो प्रक्रिया एकराते दही जस्तो वा एकदिने चुनाव जस्तो हुँदैन । गम्भीर चिन्तन र सामूहिक कोसिसको लम्बे प्रक्रिया यसले माग गर्छ ।

जुन देशको राजनीति वा सामाजिक चिन्तनमा युरोप, अमेरिका जस्तो बन्ने भूत सवार छ, त्यहाँ सिर्जनशीलता कहिल्यै जन्मिदैन । एक त युरोप, अमेरिका आजको स्थितिमा कसरी आइपुगे भन्ने इतिहासको ज्ञान छैन, अर्को कुरा न्युयोर्कका टावरमुन्तिर कतिधेरै घरबारविहीनहरू आकाश ओढेर सुत्छन् भन्ने यथार्थको जानकारी छैन । उनीहरूको शक्तिको तेवर देखिन्छ तर, त्यो तेवर कसरी पैदा भयो भन्ने थाहा छैन । राजनीतिले युरोप, अमेरिकाकै सपना देखाइरहेको छ र ती देशले मान्छे लैजाने बाटो खुला राखेका छन् भने पक्कै पनि मान्छे ह्वारह्वार उतै जान्छन् ।

पुराना भनिएका दलले त स्विट्जरल्यान्ड वा सिङ्गापुर बनाउने सपना बाँडे रे लौ । वैकल्पिक भनिएकाहरूको सपना यो भन्दा भिन्नै चैँ के छ ? त्यसैले त पारसमणिको भ्रममा पुरै समाज लट्ठ हुन खोजेको छ । राजनीतिको कुरै छाडौँ, त्यही पारसमणिको भ्रममा घरघरमा युवाहरू युरोपअमेरिका जाने झोला खोजिरहेछन् । जहाँ सुटकेसको व्यापार मारामार फस्टाइरहेको छ, त्यहाँ वैकल्पिक राजनीति कुन बोटमा फल्छ ?

चुनावको एक दिन झोक फेर्ने समाज, चुनावको एक परिणाममा राजनीति फेर्ने पहल, दुवै काम लाग्दैनन् । प्रदिप गिरि भन्थे– हिरो खोज्ने समाज अभागा हुन्छ । पारसमणि बोकेर कोही आउला र छुमन्तर गरेर फलामलाई सुन बनाइदेला भनेर पर्खने समाजले प्रकारान्तरमा भात खान पनि पाउँदैन ।

त्यसै हाम्रा खेतबारी बाँझो भएका होइनन्, त्यसै किसान अपमानित भएका होइनन् । समाजले सपना चुन्ने, प्रयोग गर्ने र परिणामका निम्ति मेहनत गर्ने काम त्यति सजिलो छैन । राज्यसत्ताको लय पक्रेर ठेकेदार छान्ने र ठेक्का लगाउने कामकै लागि त कुनै विशिष्ट चिन्तन पनि चाहिँदैन । त्यसैले विकल्पचेत कस्तो भन्ने प्रश्नमा चिन्तन पुगेकै छैन । जहाँ पुगिएकै छैन, त्यो माइलस्टोनमा उभिएर कुन सपनाको निर्माण हुन्छ ?

yugnew@gmail.com

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register