‘पार्टीमा एक महिना बिदा लिएर श्रीलङ्कामा नयाँ कुरा सिक्न आएको छु’

रास्वपामा सभापति पक्राउ परेपछि पार्टीभित्रको अन्तरसङ्घर्षले पनि चर्को रूप लिएको चर्चा चल्दै आएको छ । हाल व्यक्तिगत अध्ययनका लागि श्रीलङ्कामा रहेका नेता मनिष झासँग गरिएको कुराकानी ।

Jan 25, 2025 - 03:25
 0
‘पार्टीमा एक महिना बिदा लिएर श्रीलङ्कामा नयाँ कुरा सिक्न आएको छु’

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता रहेका मनिष झा व्यक्तिगत कामका लागि भन्दै एक महिना बिदामा बसेपछि पार्टीले सहप्रवक्ता रहेकी प्रतिभा रावललाई उक्त जिम्मेवारी दिएको छ ।

सभापति रवि लामिछानेमाथि सहकारी प्रकरणमा अनुसन्धान चलिरहेको र पार्टी अधिवेशन केन्द्रित सङ्गठन निर्माण अभियान सञ्चालन गरेकै समयमा कार्यवाहक प्रवक्ता झा बिदामा बस्नुलाई राजनीतिक वृत्तमा स्वाभाविक रूपमा हेरिएको छैन ।

साथै, सभापति लामिछाने पक्राउ परेपछि पार्टीभित्रको अन्तरसङ्घर्षले पनि चर्को रूप लिएको चर्चा लामो समयदेखि चल्दै आएको छ । हाल व्यक्तिगत अध्ययनका लागि श्रीलङ्कामा रहेका झासँग उनको बिदा, पार्टीभित्रको विवाद, पार्टी अधिवेशन लगायतका विषयमा केन्द्रित रहेर नेपाल भ्युजले गरेको कुराकानी :

रास्वपाको कार्यवाहक प्रवक्ताको जिम्मेवारीबाट केही समयका लागि भनेर बिदा बस्नु भएको छ । पार्टी एक प्रकारको सङ्कटमा रहेका बेला बिदा बस्नुपर्ने कारण के आइलाग्यो ?

मैले सक्रिय राजनीति सुरु गरेको लगभग साढे दुई वर्ष भयो । सङ्घीय संसद्को रूपमा काम गर्न थालेको दुई वर्ष भयो । तर, यो दौरान नियमित अध्ययन बाहेक विशेष अध्ययन गर्न कहिले पनि भ्याएको छैन ।

 तसर्थ, त्यो अध्ययन गर्नुपर्छ, नयाँ कुरा सिक्नुपर्छ र नियमित अध्ययन अभ्यासभन्दा फरक दायरा र वातावरणमा पुगेर केही नयाँ कुरा सिक्नुपर्छ भनेर मैले बिदा लिएको हुँ । 

श्रीलङ्का भर्खरै एउटा जटिल अर्थतन्त्रबाट उकासिएर सामान्य अवस्थातर्फ फर्किरहेको छ । राजनीतिक रूपमा पनि श्रीलङ्काले एउटा अचम्मको अप्रत्याशित फड्को मारेको छ । त्यसैले गर्दा अध्ययनको क्रममा श्रीलङ्का पुगेर केही नयाँ कुरा सिक्ने प्रयास गर्दैछु ।

सन् २०१४ ताका अमेरिकाको ओक्लोहामा युनिभर्सिटीमा, छात्रवृत्तिमा केही समयको लागि पढ्न जाने मौका पाएको थिएँ । बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान भारत र नेपाल लगायतका देशबाट त्यो विश्वविद्यालय पढ्न जाने विद्यार्थीको भेटघाट कार्यक्रम पनि कोलम्बोमा रहेकोले म केही समयको लागि यतै छु ।

पार्टीको अधिवेशन नजिकिँदै छ । सभापतिमाथिको अनुसन्धान अझै सकिएको छैन । तल्लो तहका अधिवेशन तोकिएको समयमा सम्पन्न हुन सकिरहेका छैनन् । अघिल्लो महिना बसेको केन्द्रीय समिति बैठकले २ माघबाट सङ्गठन निर्माण अभियान चलाउने निर्णय गरेको छ । यस्तो बेला जिम्मेवार पदाधिकारी व्यक्तिगत कारणले मात्रै बिदा बसेको भन्दा कसरी पत्याउने ?

दलमा यस्तो जटिल परिस्थिति र चुनौती रहेको बेला किन बिदा लिनुभयो भनेर भन्दै गर्दा मलाई के लाग्छ भने राजनीति सुरु गर्दैगर्दा वा राजनीतिक दल सुरुवात गर्दैगर्दा पुरानोले यस्तो चुनौती, झमेला, अभियोग ल्याउनेछन् र लाद्नेछन् भन्ने कुरामा हामी मानसिक रूपमा तयार थियौँ । तसर्थ, यसलाई सामान्य रूपमा लिएर यसको सामना गरेर अगाडि बढिरहेका छौँ ।

पार्टी सभापतिमाथि अनुसन्धान सुरु भएपछि जिम्मेवारीको विषयलाई लिएर रास्वपाभित्र विवाद भइरहेको जस्तो देखिन्छ । त्यसैको असर तपाईंले कार्यवाहक प्रवक्ताको जिम्मेवारीबाट बिदा बसेर दबाब सिर्जना गर्न खोज्नु भएको त होइन ?

राजनीतिज्ञले पढ्ने नयाँ कुरा सिक्नको लागि बिदा बस्ने चलन छैन । यो देशमा निजामती कर्मचारी, पत्रकार, डाक्टर, इन्जिनियर सबैले पढ्नुपर्ने, नयाँ कुरा सिक्नुपर्ने तर, राजनीतिज्ञले चाहिँ एकचोटी पढेको जानेको सिकेको कुराले राजनीतिमा हाम फालेपछि त्यसैले नै सबै बाँकी समय सम्हाल्नुपर्ने भन्ने हुँदैन ।

 म राजनीतिज्ञले पनि शैक्षिक अध्ययन, नयाँ कुरा सिक्ने बिदा लिनुपर्छ भन्ने कुरा सोच्छु । त्यो अभ्यास गर्न चाहन्छु । यसको पछाडि अरु कुनै कारण होला भनेर कसैले आशङ्का गर्छ भने गरिरहुन्, पत्याउँदैनन् भने नपत्याउन् । र अर्को कुरा, एउटा राजनीतिज्ञले बिदा लिने उपयुक्त समय कुन हुन्छ त त्यसो भए ?

सभापति रवि लामिछाने सक्रिय नभएको अवस्थामा पार्टीभित्र एकले अर्कोलाई सहजै स्वीकार गर्न नसक्ने रहेछन् भन्ने पछिल्लो समय तपाईंहरूबीच देखिएको विवादले पुष्टि गर्‍यो है ?

सभापतिज्यूको अनुसन्धान र कानुनी प्रक्रिया एउटा नियमित रूपमा अगाडि बढिराखेको छ । पार्टीले सभापतिज्यू प्रति सदाशयता सहयोग समर्थन साथ सबै चिज राखेको छ । साथसाथै, कानुनलाई पनि सघाएको छ । एकजना पार्टी पदाधिकारीको रुपमा मैले पनि आफ्नो भूमिका निभाइरहेको छु ।

रास्वपाभित्र जिम्मेवारीको विषयलाई लिएर समान सहमति हुन सकेन भन्ने कुरा सभापतिको पक्राउपछि सार्वजनिक रूपमै देखियो । त्यसैमा सभापति पक्राउको विषयलाई लिएर सडकमा जाने कि नजाने भन्नेमा पनि फरक धारणा देखिए । रास्वपाका नेताहरू यतिबेला पार्टीको भविष्यभन्दा बढी आत्मकेन्द्रित हुँदै गएका छन् भन्न मिल्छ ?

कुनै पनि दलमा कुनै पनि विषयमा पर्याप्त छलफल हुन्छ । पक्ष विपक्ष भएर तर्कवितर्क हुन्छ भने त्यो त आन्तरिक लोकतन्त्रको एउटा संवाद सहितको अभ्यास हो । कुनै एउटा निर्णय कतैबाट जारी हुन्छ । कसैको कोटको खल्तीबाट निस्केको निर्णय सबैले मान्नुपर्छ भन्ने त हुँदैन । 

कुनै एजेन्डामा पक्षविपक्ष, तर्कवितर्क, समर्थनविरोध राजनीतिक दलको एउटा राम्रो लोकतान्त्रिक अभ्यास हो । त्यसलाई गुटबन्दीको संज्ञा दिनु भनेको राजनीतिक अज्ञानता हो ।

उपनिर्वाचनको परिणाम, सभापति लामिछाने पक्राउ परेपछि थालेको सडक सङ्घर्ष, विभिन्न तहका अधिवेशन आदि नियाल्दा राजनीति र रास्वपाप्रतिको आकर्षण तपाईंहरूले सोचेजस्तो सधैँ रहँदैन भन्ने निष्कर्षमा पुग्नु भएको हो ?

कार्तिक २ गते रवि लामिछानेज्यू पक्राउ परेपछि सडकमा जुन किसिमको उपस्थिति भयो, जुन किसिमको विरोध भयो त्यो एउटा राजनीतिक चरित्र हो । हामी राष्ट्रिय स्वतन्त्र पार्टी संस्थापक सभापति रवि लामिछानेको नेतृत्वमा १२ लाख मत पाएर यो देशको चौथो राजनीतिक शक्ति भएका हौँ ।

उहाँप्रति भएको राजनीतिक प्रतिशोध जुन कुरा अब यथेष्ट प्रमाणहरूको कारण र उपस्थितिले गर्दा हामीले प्रमाणित गरिरहनुपर्ने आवश्यक नै छैन । त्यो प्रतिशोधको कारण हामी सडकमा उपस्थित भएर विरोध गर्नुपर्ने कुरा एउटा राजनीतिक दलको लागि स्वाभाविक प्रक्रिया हो । 

अस्ति नै भएको दुई दिने केन्द्रीय समिति बैठकको पहिलो बुँदामा नै हामीले सभापति र उहाँसँग सम्बन्धित कानुनी प्रक्रियाबारे कुरा गरेको छौँ । जुन विज्ञप्तिमा पनि उल्लेख छ ।

सभापति पक्राउ पर्नेबित्तिकै सडकमा उत्रिन हतार गरेको रास्वपाले पछिल्लो केन्द्रीय समिति बैठकमा यसबारे कुनै छलफल नै गरेन । राज्य संरचना र न्यायालयमाथि पहिले नभएको विश्वास अहिले आएर एकाएक कसरी उत्पन्न भयो ?

अरु केही कुराहरू पनि भएको छ तर, उहाँ अहिले एउटा कानुनी प्रक्रियामा रहनुभएकोले गर्दा राष्ट्रिय राजनीतिक दल, जुन यो देशमा आस गरिएको एउटा नयाँ अभ्यास गर्न आएको दल हो । त्यसले के लेख्ने, के नलेख्ने, विज्ञप्तिमा के उल्लेख गर्ने, के उल्लेख नगर्ने भन्ने कुरा त छुट्याउन सक्नुपर्छ ।

तोकिएकै समयमा पार्टीको अधिवेशन सम्पन्न गर्नुहुन्छ ? तल्लो तहका अधिवेशन नै सम्पन्न गर्न नसकेको अवस्थामा कसरी विश्वस्त पार्नुहुन्छ ?

जिल्ला भेलाहरू लगभग पाँचवटा बाहेक ७० भन्दा धेरै भइसक्यो । वडा अधिवेशन हरेक दिन दर्जनौं ठाउँमा भइराखेको छ । हाम्रो सङ्गठन विस्तारको ६० दिने अभियान सुरु भएको छ । केन्द्रीय समितिका सदस्य साथीहरूले आआफ्नो जिम्मेवारी अनुसार जिल्लामा सक्रियता देखाइरहनु भएको छ । हाम्रा सबै राजनीतिक र साङ्गठनिक प्रक्रियाहरू केन्द्रीय महाधिवेशन केन्द्रित छ र उन्मुख छ । सन्तोषजनक रूपमा अगाडि बढिराखेको छ ।

विधान परिवर्तन गर्ने विषय पनि चर्चामा छ । केके विषयमा फेरबदल हुन्छ ?

हामी सङ्गठनको परिकल्पनाको बारेमा, शुभेच्छुक समूहहरूको बारेमा र अन्य केही संरचनागत परिवर्तन बारे संशोधन गर्न चाहन्छौँ । त्यसको निश्चित खाका आउन अझै बाँकी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register