नयाँ अनुहार कि नयाँ संस्कारको आवश्यकता ?

यो साढे दुई वर्षको राजनीतिक यात्राका दौरान, देश र जनताप्रति हाम्रो कतै पनि गलत आशय छैन । तर, विभिन्न सत्ता समीकरणका दौरान जानीनजानी गलत सङ्गत हुन गयो र हामीले मूल्य तिर्नुपर्यो । छोटो समयमा पटकपटक सत्ता समीकरणमा जानु सही थियो भन्ने कुराको म वकालत गर्दिनँ ।

Jan 2, 2025 - 12:41
 0
नयाँ अनुहार कि नयाँ संस्कारको आवश्यकता ?

हामी जबजब नयाँ पुस्ताको बारेमा चर्चा गर्छौं तब हाम्रो मानसपटलमा केवल नयाँ पुस्ताको अनुहार आउने गर्छ तर, यो अनुहार वा आवरण मात्रै हैन बरु नयाँ पुस्ता भनेको नयाँ संस्कार, नयाँ रणनीति, नयाँ तौर तरिका र नयाँ लक्ष्य पनि हो । त्यस्तै नै हामीले राजनीतिको कुरा गर्दैगर्दा नयाँ राजनीतिक दलका नयाँ अनुहार हाम्रो अगाडि आउने गर्छन् । तर, त्यो पर्याप्त होइन । हाम्रो अगाडि उनीहरूसँग रहेको नयाँ सोच, दक्षता र संस्कार देखिनुपर्छ ।

देशको अवस्था र सबै क्षेत्र हेर्ने हो भने दुईवटा कुरा आवश्यक देखिन्छ, एउटा नयाँ अनुहार र अर्को नयाँ संस्कार सहितको नयाँ अनुहार ।

नेपालमा सार्वजनिक सेवाको सबैभन्दा ठूलो समस्या ढिलासुस्ती, गुणस्तर र त्यसमा हुने गरेको भ्रष्टाचार हो । निजामती सेवामा हरेक वर्ष नयाँ पुस्ताको आगमन निरन्तर भइरहेको छ, तर पनि सार्वजनिक सेवामा सुधार छैन । यदि परिणाममा नयाँ पुस्ताले त्यो परिवर्तन गर्दैन भने के हामीले नयाँ अनुहार मात्र खोजेको हो त ? भन्ने प्रश्न उठ्छ । सङ्घीयता पश्चात् वा राजनीतिक पुनर्संरचनापछि पनि सार्वजनिक सेवामा सुधार हुन नसक्नुको एउटा कारण निजामती सेवामा आएका नयाँ पुस्ताले ल्याउन नसकेको नयाँ संस्कार हो। व्यवहार पुरानै छ भने, नयाँ अनुहार पर्याप्त हुँदैन ।

अस्ति भर्खर नेपाल प्रिमियर लिग भयो । देश नै क्रिकेटमा झुम्मियो । धेरै विदेशी खेलाडी आए र नेपाललाई नजिकबाट चिनेर नेपालको खेल प्रवर्द्धनको लागि अवैतनिक राजदूत बनेर फर्किए । जनकपुर बोल्ट्सले जित्दै गर्दा उसको तर्फबाट खेलेका जिम्मी निशम, जो न्युजिल्यान्डका नागरिक हुन्, उनले भने, ‘म धेरै देशमा गएर खेलेको छु, तर नेपालको फरक व्यवहार, माया र माहोल जस्तो भने अहिलेसम्म कतै पाइन ।’ यो, देशको लागि दीर्घकालीन रुपमा फाइदाजनक अभिव्यक्ति हो ।

हामी धेरैलाई थाहा छ र हामीले सर्वत्र खुलस्त रुपमा श्रेय दिइराखेका छौँ कि यो सम्भव हुनुको प्रमुख कारण क्रिकेट एसोसिएसन अफ नेपालमा मुख्य नेतृत्वमा आएका राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काको मुख्य भूमिका हो । उनी क्यानमा आएका नयाँ पदाधिकारी हुन् जसले नयाँ प्रयोग र प्रयास गरे जुन सफल भयो । यसले नेपालको अर्थतन्त्र, सामाजिकता, मानसिकता, पर्यटन लगायतमा प्रत्यक्ष लाभ पुर्‍यायो । विश्व जगतमा नेपाललाई क्रिकेट खेल्ने र माया गर्ने राष्ट्रको रूपमा परिचय दियो । 

हामी सोच्छौँ होला कि क्रिकेट एसोसिएसनमा आएका नयाँ पुस्ताको नेतृत्वको कारण यो सम्भव भयो । तर, नयाँ अनुहार त फुटबल एसोसिएसनमा पनि आएका छन् नि, खै त फुटबल अगाडि बढेको ? झन् खस्किँदै छ । फरक सहजै छुट्याउन सक्छौं कि क्रिकेटमा आएको नयाँ नेतृत्वको अनुहार मात्र नयाँ होइन संस्कार पनि नयाँ हो, सोच र प्रयास पनि नयाँ हो । तर, फुटबलमा आएको नयाँ अनुहारले पुरानै संस्कार लिएर आए, नयाँ सोच्न सकेनन्, नयाँ गर्न सकेनन् ।

मैले यहाँ प्रष्ट पार्न खोजेको कुरा के हो भने सार्वजनिक वृत्तमा नयाँ पुस्ता भनेको केवल नयाँ अनुहार मात्र होइन नयाँ संस्कार पनि हो ।

व्यावसायिक क्षेत्रमा हेर्ने हो भने नयाँ पुस्ता भनेको पुरानो व्यवसायीहरूको नयाँ सन्तान मात्र होइनन् । उनीहरूले प्रयोगमा लिएर आउने व्यवसायको नवीनतम अभ्यास र नयाँ प्रयास पनि हुन् । इसेवा, खल्ती, फुडमान्डु, हिमालयन जाभा, पठाओ लगायत नवीनतम र सफल व्यवसायको संस्थापक कोही पनि व्यापारिक घरानाका हैनन् । तर, समयानुकूल नयाँ थालनी गरेर ती सफल भए ।

अर्कोतर्फ हाम्रोमा आयातित अर्थतन्त्रको रूपमा विगत तीन दशकदेखि नियमित रूपमा लगभग एकै किसिमको प्रयास गरिरहेको स्थापित व्यापारिक घरानाको नयाँ पुस्ता पनि देख्छौँ ।

हालसालै पोखरामा भइराखेको हट बेलुन महोत्सव एउटा नवीनतम प्रयासको रुपमा हेर्न सक्छौँ। विगत ३ दशकदेखि त्यही छेउछाउको हिमालको ट्रेकिङ र फेवातालको डुङ्गामा धेरै भर परेको पोखराको पर्यटनमा अब केबलकार, जिपलाइन र हट बेलुनको प्रयासहरू देख्न सक्छौँ ।

यहाँ जोड्न खोजेको तर्क, नयाँ पुस्ता भनेको नयाँ र नवीनतम व्यावसायिक प्रयासहरू हुन् । केवल पुरानो व्यावसायिक घरानाको नयाँ अनुहार मात्र होइन भन्न खोजेको ।

नयाँ पुस्ताको पृष्ठभूमिको चर्चा गर्दैगर्दा हामीले निजामती क्षेत्र, राजनीति, खेलकुद र व्यावसायिक क्षेत्रको चर्चा गर्यौं । र, यो स्पष्ट पार्ने प्रयास गर्यौं कि नयाँ पुस्ता भनेको नयाँ अनुहार मात्र होइन नयाँ संस्कार हो ।

तर, नयाँ संस्कारको सबै प्रयासहरूको सम्भावना एक ठाउँमा गएर ठोक्किन्छ, त्यो हो देशको कानून । कानून भनेको सम्भावनाको परिकल्पना हो । र, अनुसन्धान भनेको सम्भावनाको आकलन हो । सम्भावनाको आकलन बिना यदि परिकल्पना गरिन्छ भने त्यसको जोखिम धेरै हुन्छ । अहिलेसम्म नेपालमा कानूनहरू अनुसन्धान साझेदारसँग आवश्यक छलफल नगरिकन नै र यससँग सम्बन्धित सबैका बारे सोचेर नबनाइएको पो हो कि भनेर शङ्का गर्न सक्ने पर्याप्त आधार भेट्छौँ । हाम्रा धेरै कानूनहरू विगतको अनुभवको आधारमा बनाइएको छ तर, बनाउनुपर्ने भविष्यको सम्भावनाको परिकल्पना र आकलनको आधारमा थियो वा छ भनौँ ।

अबको प्रश्न हामीप्रति नै :

१) धेरै जनाले भन्नुहुन्छ तिमीहरू पनि त उस्तै रहेछौ, फर्कीफर्की सत्तातिर जान्छौ ।

२) पुरानोले सुशासनको अभ्यास गरेन भनेर नयाँ प्रति आस गर्यौं तर, सीमित समयमै तिमीहरूमा गम्भीर प्रश्न उठ्यो ।

३) खै त नयाँ केही गरेर देखाएको ?

लगभग साढे दुई वर्षको राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक यात्रामा यावत प्रश्न गम्भीर रूपमा उठ्न थाले । यी प्रश्नहरू हामीप्रतिको धेरै सरोकार हो । अभियोग मात्र होइन, तसर्थ प्रश्नकर्ताप्रति हाम्रो उच्च सम्मान छ ।

प्रश्नकर्ताले हाम्रो राजनीतिक उपस्थिति स्विकार्नुभएको छ, त्यसैले त हामीप्रति सरोकार राख्नुभएको छ र, त प्रश्न उठाउनु भएको छ । त्यसैले उहाँहरूलाई अनुरोध छ, कृपया प्रश्न उठाउने प्रक्रिया जारी राख्नुहोला । प्रश्न नरहे भने त जवाफ आउँदैन र जवाफ नआए भने नयाँ विचार आउँदैन । नयाँ विचार नआए त समाज कसरी अगाडि बढ्छ ? त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टीको एकजना पदाधिकारी र प्रतिनिधि सभा सदस्यको रुपमा ‘प्रश्न वर्जित अभ्यास गर्न चाहँदैनौ र प्रश्नकर्ताप्रति सदा सम्मान छ ।’

राष्ट्रिय राजनीतिमा दुईवटा कुरा महत्त्वपूर्ण हुन्छन् । एउटा कानून बनाउने प्रक्रिया र अर्को त्यो कानूनले तोके बमोजिमको नागरिकको दैनिकीमा सकारात्मक प्रभाव पार्नको लागि गरिने काम ।

विगत लामो समयदेखि वा भनौँ सात दशकदेखि नै नेपालमा बहुमतको राजनीति हावी भयो । हिन्दीमा एउटा कहावत छ ‘जिसकी लाठी उसकी भैंस ।’

नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको गठबन्धन सरकार बन्यो र अरु केही साझेदार पनि सहभागी भए । कानूनमन्त्रीको रुपमा जिम्मेवारी पाउनुभयो धनराज गुरुङले । उहाँले केही नेपाल ऐन संशोधनको एउटा प्रस्ताव लिएर आउनुभयो । जसमा एकैपटक ८४ वटा ऐन संशोधन गर्नु पर्ने भनिएको थियो ।

जति सङ्ख्यामा संशोधन थियो त्यति सङ्ख्यामा अध्ययनको समय उपलब्ध गराइएन । प्रतिपक्षको भूमिकामा रहेका हामीले ती संशोधनहरूमा आशङ्कासहित केही प्रश्न उठायौँ र अध्ययनको लागि केही समय माग्यौँ । मन्त्रीज्यूले पढ्ने बेलामा कहाँ गइस् (?) भने जस्तो तुच्छ व्यङ्ग्यात्मक अभिव्यक्ति दिनुभयो । केही कानूनहरू देशको अहितमा छन् भन्ने कुरा पटकपटक तर्क र उदाहरणसहित बहस गर्दा पनि सुनवाई भएन ।

गठबन्धन सिद्धान्त भन्दा पनि सङ्ख्याको आधारमा अभ्यास गर्न अभ्यस्त भइसकेको अवस्थामा त्यसरी नै अगाडि बढे । किनकि, नेपालमा बौद्धिक राजनीतिभन्दा पनि बहुमतको राजनीति चलिआएको छ । हामीले गरेको अध्ययन सहितको तर्क र त्यसले पार्नसक्ने सम्भावित नकारात्मक प्रभावको धेरै चर्चा भएन ।

प्रतिपक्षले जेसुकै भनुन् त्यसलाई सङ्ख्याको आधारमा दबाउने चलन रहेछ ।

हो हामीप्रति केही प्रश्नहरू उठ्दै गए र यो क्रम यथावत छ । प्रश्नप्रति फेरि पनि सम्मान छ । तर, त्यो प्रश्न हामीप्रतिको आशङ्का हो वा अरुप्रति उठेका प्रश्न दबाउनको लागि बनाइएको रणनीति हो ? अथवा पुराना दलले, ‘हामीबाट गल्ती कमजोरी भएको छ, तर हेर न नयाँ पनि कहाँ चोखो छन् र ? भन्ने भाष्य बनाउनको लागि चालिएको चाल हो ? तर, यो भन्दैमा हामीमाथि प्रश्न नउठोस् भन्न खोजेको होइन ।

यो साढे दुई वर्षको राजनीतिक यात्राका दौरान, देश र जनताप्रति हाम्रो कतै पनि गलत आशय छैन । तर, विभिन्न सत्ता समीकरणका दौरान जानीनजानी गलत सङ्गत हुन गयो र हामीले मूल्य तिर्नुपर्यो । छोटो समयमा पटकपटक सत्ता समीकरणमा जानु सही थियो भन्ने कुराको म वकालत गर्दिनँ । राजनीतिमा धैर्यता आवश्यक हुन्छ जुन हामीले सधैँ स्मरण र व्यवहारमा राख्न चुक्यौँ ।

मानव सभ्यतामा आप्रवासन र सङ्क्रमण दुवै प्रक्रियाको महत्त्व निकै गहिरो छ । आप्रवासनलाई यदि गलत सोचियो भने मानव सभ्यता १ लाख ७० हजार वर्ष अगाडि पूर्वी अफ्रिकामै खुम्चिएको हुन्थ्यो भने संसार यहाँ पुग्थ्यो होला र ? तसर्थ आप्रवासन गलत होइन । त्यस्तै सङ्क्रमण पनि गलत होइन । विभिन्न पेशा व्यवसाय र आफ्नो सीप तथा दक्षताको परिचय बोकेर केही गर्छु भनेर आएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू यतिमै सकिए, तिनीहरुले केही जानेबुझेका छैनन् भन्ने भाष्य नबनोस । र, त्यो सत्य होइन भन्ने कुराप्रति हामी सबै गम्भीर छौँ ।

यो यात्राको एक विशेष र चुनौतीपूर्ण सङ्क्रमण मात्र हो, परिणाम हैन । त्यो प्रमाणित गर्नुपर्ने चुनौती हामीमाझ छ र हामी त्यसको लागि एउटा अनुशासनमा रहेर अगाडि बढिरहेका छौँ, बढ्नेछौँ । रास्वपाको राजनीतिक यात्राको मूल्याङ्कन गर्नेमध्ये केही हाम्रो राजनीतिक प्रयासप्रति आशावादीहरूको चिन्ता देख्छौँ भने केहीकेही हाम्रो असफलता पर्खिरहेको पुराना दलका कार्यकर्ता र शुभचिन्तक देख्छौँ । यो सामान्य र स्वाभाविक कुरा हो ।

निष्पक्ष रूपमा हेर्ने हो भने पुरानो पुस्ता भनेको जहिले पनि नयाँ पुस्ताको लागि सहजकर्ता हुनुपर्ने हो । जसले नयाँ पुस्तालाई अगाडि बढ्नको लागि बाटो बनाइदिने र देखाइदिने हो । यदि पाको पुस्ताले यो कुरा बुझ्दैन भने युवा पुस्ताले कि त जोखिम लिएर ओभरटेक गर्छ कि त बाटो फेर्छ । सधैँ र सबै पुस्ता पालो कुरेर बसिरहन्छन् भन्ने छैन । हामी केही युवा ओभरटेक गर्नको लागि आयौँ, धेरै साथीहरू बाटो फेरेर बिदेशिए ।

राजनीतिमा नयाँ पुस्ताको रुपमा, हामीले अब के गर्ने त ?

यो कुराको हामीलाई जानकारी छ कि यात्रा जटिल छ । सङ्घर्ष र चुनौती यथेष्ट छन् । हामीले थालेको यात्रा सहज छैन ।

पार्टी स्थापनाका बेलामा २०७९ साल असार ७ गते काठमाडौंमा सभापति रवि लामिछानेले भन्नुभएको थियो – अरुको शरीरमा लागेको हिलो सफा गर्ने क्रममा हाम्रो शरीरमा पनि हिलो लाग्नेछ र समाज केही क्षण अन्योलतामा रहनेछ कि नयाँ पनि फोहोरी हुन् कि भनेर ।

हामी अहिले त्यही अवस्थामा छौँ । सम्भवतः आगामी दिनमा छ्याप्नको लागि अझै नियोजित हिलोहरू सम्हालेर राखेका छन्, सही समय कुरिरहेका छन् । यो क्रम अझै केही समय रहनेछ । किनकि, पुरानो राजनीतिक अभ्यास त्यही रहेको छ र त्यो हामीमा पनि प्रयोग हुँदैछ र हुनेछ । तर, हामी निरन्तर रूपमा अगाडि बढिरहन्छौँ

व्यक्तिगत दक्षता, अनुभवका आधारमा प्रस्तुतीकरण र पदबाट अपेक्षा गरिए अनुसारको काम कारबाही गरिरहनेछौँ ।

नेपालको सङ्घीय सदनमा क्यालेन्डरको अभ्यास थिएन । सांसद सुमना श्रेष्ठले त्यसको लागि वकालत गर्नुभयो र आज त्यसको अभ्यास हुन थाल्यो । सांसद हरि ढकाल र असीम शाहले सांसदहरूको हाजिरको रेकर्ड विद्युतीय यन्त्रको माध्यमबाट राखिनुपर्छ भन्ने माग राख्नुभयो र आज सदनले त्यो अभ्यास गर्न थाल्यो ।

सांसदहरूलाई अझै बढी शिक्षित गर्नुपर्छ र आवश्यकताअनुसार सूचनाहरू उपलब्ध गराउनुपर्छ भन्ने माग मैले राखेँ र त्यो अनुसारको अभ्यास सुरु भयो ।

सांसद शिशिर खनाल केवल २३ दिनको लागि शिक्षामन्त्री हुँदैगर्दा विगत लामो समयदेखि सार्वजनिक शिक्षालयमा समयमै शैक्षिक सामग्री नपुग्ने रोगको अन्त्य भयो । सांसद सुमना श्रेष्ठ शिक्षामन्त्री हुँदै गर्दा शैक्षिक क्षेत्रमा दलीयकरण बन्द गर्ने प्रयासको थालनी भयो । विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डाको आधारमा नियुक्ति हुनु हुँदैन भनेर वकालत र अभ्यास भयो ।

पार्टी सभापति रवि लामिछाने गृहमन्त्री हुँदै गर्दा नाकामा हुने व्यापारिक चोरी पैठारी नियन्त्रण भयो तथा सरुवा बढुवाको लागि हुने आर्थिक अनैतिक कारोबारहरू नियन्त्रण भयो ।

विराजभक्त श्रेष्ठ सीमित समयको लागि युवा तथा खेलकुद मन्त्री हुँदैगर्दा वर्षौंदेखि खेलाडीले पाउनुपर्ने पुरस्कार राशि उपलब्ध गराइयो । सांसद तथा पार्टीको कार्यवाहक सभापति डिपी अर्याल श्रममन्त्री हुँदै गर्दा श्रम स्वीकृतिको लागि हप्तौँसम्म कुर्नुपर्ने प्रथाको अन्त्य भयो ।

केही सीमित समयमा गरिएका केही प्रयासहरूको सीमित उदाहरण मात्र हुन् यी । ‘तिमीहरूले के गर्न सक्छौ र ?’ भन्ने प्रश्नको जवाफ हो यो । यदि राष्ट्रिय स्वतन्त्र पार्टीलाई २०८४ मा मौका दिइयो भने केके गर्लान् भन्ने कुराको केही झलक मात्र हो यो । तर, हामीसँग भएको यतिकै सीप, दक्षता, ज्ञान, अध्ययन नै सधैँको लागि पर्याप्त भने हुँदैन ।

यो राजनीतिमा हामीले अझै अनुशासित हुन आवश्यक छ । अझै धैर्यता आवश्यक छ । आवश्यकताअनुसार आफूलाई निखार्ने र तिखार्ने प्रक्रियामा अझै थप बल र निरन्तरता पनि आवश्यक छ । नत्र भने हामी अपेक्षा अनुरूपको फरक हुने छैनौँ । हामीप्रतिको विश्वास र आशा गुमाउनेछौँ ।

हामी केवल नयाँ अनुहार मात्र हैन, हामीसँग नयाँ गर्नको लागि आवश्यक संस्कार र सीप छ । हामी नयाँ अनुहारसँगै नयाँ सीप, दक्षता र संस्कारको विकासमा निरन्तर गम्भीर रहनु छ र रहने छौँ । जय होस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register