गगन थापाको प्रधानमन्त्री हुने रहर : के हो ओली–देउवा–दाहालभन्दा ‘राम्रो गर्ने’ आधार ?

हिन्दीमा एउटा रोचक शब्दावली छ, ‘गरम मिजाज, नरम मिजाज, बेसरम मिजाज’ । यदि प्रष्ट सोच, भिजन र योजना छैन भने ‘गरम’ युवा जोस कतिखेर ‘नरम’ हुन्छ र कतिखेर ‘बेसरम’ बन्न पुग्छ स्वयं पात्रलाई पत्तो हुँदैन ।

Jan 27, 2025 - 07:32
 0
गगन थापाको प्रधानमन्त्री हुने रहर : के हो ओली–देउवा–दाहालभन्दा ‘राम्रो गर्ने’ आधार ?

काठमाडौं । देशकै ठूलो र पुरानो दल नेपाली काङ्ग्रेसका ‘युवा तथा जाँगरिला’ महामन्त्री गगनकुमार थापाको एक अभिव्यक्तिले धेरैको ध्यान खिचेको छ ।

उनले भनेका छन्, ‘म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खरै हुनु भएको प्रधानमन्त्रीभन्दा राम्रो ढङ्गले प्रधानमन्त्री चलाउन सक्छौँ भन्नेमा अहिले नै विश्वस्त छु । आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ । यति कुरा दाबाका साथ भन्न सक्छु ।’

महामन्त्री थापाले यसो भनेर देशका तीन ठूला दलका शीर्ष नेता, अहिलेका प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली, हुनेवाला प्रधानमन्त्री काङ्ग्रेस सभापति शेरबहादुर देउवा र अस्ति भर्खरैका प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकसाथ चुनौती दिएका छन् । उनको यो चुनौती एक अर्थमा निक्कै रोचक र आँटिलो छ ।

थापाको यो भनाइले प्रधानमन्त्री हुने उनको ‘हतारो वा रहर’ मात्र व्यक्त गर्दैन, उक्त पदमा यी तीन नेताको ‘म्युजिकल चेयर’ दशकौंदेखि निरीह रमिते भएर हेरिरहन बाध्य आम नागरिकको मनोविज्ञानमा जमेको सामूहिक कुण्ठाको तुष्टिकरण समेत गर्दछ । यसो भनौँ थापाको भनाइले तीन नेताको शासनशैलीसँग विरक्त भएका मान्छेलाई एक प्रकारको ‘मज्जा’ दिन्छ ।

यस्तो ‘मज्जा’ अकारण वा उनकै भनाइले मात्र उत्पन्न हुने हैन । यसको लामो पृष्ठभूमि छ ।

देशमा राजनीतिक नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस एक छिमल राम्रै चल्यो । तर, त्यसले कुनै सार्थक परिणाम दिएन । आफैँ शिथिल भएर गयो । अर्को एकचरण ‘जेरोन्टोक्रेसी’ अर्थात ‘बृद्धतन्त्र’का खराबीमाथि सार्वजनिक विमर्श भयो । यसले पनि ‘बृद्धतन्त्रको म्युजिकल चेयर’ माथि कुनै निर्णायक हमला गर्न सकेन । आफैँ तुहियो ।

‘ठूला पुराना दल’ ‘सच्चिने कि सिद्धिने’ प्रश्नले केही समय सार्वजनिक बहसमा राम्रै स्थान पायो । तर, दलहरू न सच्चिए, न सिद्धिए । बरु स्थितिले निरन्तरता मात्र पाइरह्यो ।

यहीबीच केही ‘नयाँ वैकल्पिक’ भनिने दल उदित भए । केही दिन मान्छे रौसिए, हौसिए, खुशी भए । पुराना दलप्रति एकप्रकारको प्रतिशोध लिन पाएजस्तो ‘मज्जा’ आयो । तर, यो पानीको फोका सोचेभन्दा छोटो समयमै फुट्यो । तिनले कुनै नयाँपन र वैकल्पिकताको छाँट देखाएनन् । 

‘नो नट अगेन’ भनेर आएको रास्वपा दुईदुई पटक निर्वाचनको जनादेश विपरित पुराना दलकै सत्तासाझेदार बन्न पुग्यो । जनमत र नागरिक उन्मुक्ति पार्टीले नयाँ चरित्र प्रदर्शन गरेनन् । राजनीति फेरि एक प्रकारको नयाँ ठहरावमा गयो, दलदल र गतिरोधमा फस्यो ।

न नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भयो न बृद्धतन्त्रको अन्त्य । न पुराना दल सच्चिए न सिद्धिए । न नयाँ र वैकल्पिक दलहरूले कुनै नयाँपन र वैकल्पिकता दिए । ‘चुच्चे ढुङ्गो, उही टुङ्गो’ भनेजस्तो स्थिति घुमिफिरी उस्तै भयो ।

बरु अहिले तीन ठूला दल र शीर्ष नेताहरूको वर्चश्व झन कसिलो हुने सम्भावना बढेको छ । एमाले विधान संशोधन गरी तेस्रो कार्यकालका लागि केपी शर्मा ओलीलाई अध्यक्ष हुने बाटो खोल्ने मुडमा छ । अधिकांश एमाले नेता कार्यकर्ता ओलीलाई ‘आजीवन अध्यक्ष’का रुपमा चर्चा र स्वीकार गर्न बाध्य भइसकेका छन् । थप भीम रावल र घनश्याम भुसाल हुने आँट कसैमा बाँकी छैन ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवा गगन थापाको भाषामा ‘हुनेवाला प्रधानमन्त्री’ हुन् । उनी ओली र प्रचण्डभन्दा बढी ‘बृद्धतन्त्र’ का प्रतीक हुन् । तर, उनको पदप्रतिको आकाङ्क्षा उत्तिकै युवा छ । उनी ओलीले प्रधानमन्त्री पद हस्तान्तरण गर्ने दिनको व्यग्र प्रतीक्षामा छन् ।

राजनीतिक स्थिति सामान्य ‘कोर्स’ मा हिँडे देउवा करिब ८० वर्षको उमेरमा छैटौँपटक देशको प्रधानमन्त्री हुनेछन् । उनको भावी कार्यकालबाट न कसैले कुनै आशा गरेको छ, न गर्नुपर्ने ठाउँ नै बाँकी छ ।

नेकपा माओवादी केन्द्रमा पनि नेतृत्व परिवर्तनको सहज मार्गचित्र उपलब्ध छैन । प्रमुख प्रतिपक्षी दलका नेता अध्यक्ष प्रचण्ड अहिले ओली सरकार जुनकुनै बेला ढल्नसक्ने विश्वासमा छन् भने अर्कोतिर जनतामा आगामी चुनावबाट बहुमतको माग गरिरहेका छन् । चौथोपटक प्रधानमन्त्री हुने आशा उनले मारेको सङ्केत छैन ।

प्रचण्डले छाड्दैमा माओवादी केन्द्रबाट नयाँ, राम्रो र गतिलो नेतृत्वको उदय हुने र देशकै नेतृत्व लिन सक्ने सम्भावना छैन । नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुन वा यस्तै अरु कोही अध्यक्ष ‘प्रचण्ड’ भन्दा गतिलो नेतृत्व बन्नसक्ने आधार त्यसै पनि कमजोर छ ।

देशको नेतृत्व प्रणाली यी र यस्ता सबै कोण र आयामबाट गतिरोधमा फसेको छ । न सन्तुष्ट हुन सकिने न व्यवधान तोड्न सकिने । दुवै गर्न नसकिने विचित्रको स्थिति छ ।

यस्तो बेला निसन्देह गगन थापा देशका लागि सम्भावित भावी नेतृत्वका एक विकल्प हुन् । अहिले अरु दलमा यो पुस्ताको अर्को कुनै नेता सम्भावनाको यति नजिक देखिएको छैन । नयाँ पुस्ताका नेता सबै दलमा छन् । तर, देशको नेतृत्वका लागि नयाँ सम्भावना हैन, पुरानो नेतृत्वको प्रतिरक्षाकै भूमिकामा सीमित छन् । ती नेतृत्वमा आए पनि ‘विरासत’का रुपमा आउने हुन् ‘विद्रोह’ का रुपमा हैन ।

सायद त्यसैले हुन सक्छ – एमाले महासचिव शङ्कर पोखरेललाई कसैले देशको भावी नेतृत्वको रुपमा चर्चा गरेको सुनिँदैन, जति काङ्ग्रेस महामन्त्री गगन थापाको हुन्छ । यो ‘क्रेज’ गगनसँग छ । यद्यपि उनको विरोध, आलोचना र ध्रुवीकरण पनि बढ्दै गएको छ ।

विशेषतः नयाँ दल रास्वपा पङ्क्ति र रवि लामिछानेका समर्थक महामन्त्री थापाप्रति निक्कै आलोचक, आक्रामक र उत्तेजित देखिन्छन् । यो पङ्क्तिलाई छोड्ने हो भने थापाप्रति सबैको सद्भाव नै पाइन्छ चाहे ती अरु दलका समर्थक नै किन नहुन्रास्वपा र थापाको जनाधार एउटै छ । दुवै काठमाडौं उपत्यकाकेन्द्रित राजनीतिमा छन् । तर, यो सङ्घर्षमा थापाको ‘स्ट्रेन्थ’ लामिछानेको भन्दा स्वाभाविक रुपमा बलियो छ ।

थापासँग इतिहास र विरासत छ, जो लामिछाने र उनका समर्थकसँग छैन । थापासँग देशव्यापी जनाधार भएको पार्टी छ, जो रास्वपासँग अहिलेसम्म छैन । 

लामिछाने र उनको दल अहिले आफैँ निक्कै ठूलो नैतिक सङ्कटमा फसेको छ । नयाँ र वैकल्पिक दलको हैसियतमा आगामी निर्वाचनमा मतदाताले रास्वपालाई विश्वास गर्छन् कि गर्दैनन् अस्पष्ट छ । सहकारी ठगी प्रकरण कानुनतः कसरी अन्त्य हुन्छ र लामिछानेको राजनीतिक भविष्य के हुन्छ ? अस्पष्ट छ ।

यी सबै परिवेश विश्लेषण गर्दा काङ्ग्रेस महामन्त्री गगन थापा उनको पुस्तामा देशको भावी नेतृत्वका लागि अहिलेसम्म एकल व्यक्तित्व हुन् । यो पुस्ताबाट थापासँग प्रतिस्पर्धा गर्ने उनको दलभित्र वा बाहिर अर्को कुनै टट्कारो व्यक्तित्व देखिएको छैन ।

यसर्थ थापाले ठीकै आकलन गरेका र चुनौती दिएका हुन् कि उनको मूल प्रतिस्पर्धा तीन शीर्ष नेता ‘अहिलेका प्रधानमन्त्री’, ‘हुनेवाला प्रधानमन्त्री’ र ‘अस्ति भर्खरैका प्रधानमन्त्री’ सँगै हो ।

‘ओली–देउवा–दाहाल त्रिकोण’ बाट बाहिर निस्केर देशको नेतृत्व थापाको हातमा आए एकसाथ अहिलेसम्म हुन नसकेका धेरै कुरा हुनेछन् । नेतृत्व हस्तान्तरण र पुस्तान्तरण भएको मानिने छ । बृद्धतन्त्रको अन्त्य भएको मानिने छ । असान्दर्भिक भइसके भनिएका ठूला–पुराना दलले नै नेतृत्वमा नयाँ विकल्प दिन सक्ने रहेछन् भन्ने पुष्टि हुनेछ । नयाँ नेतृत्व निर्माणका लागि नयाँ र वैकल्पिक दल आवश्यक छैनन् भन्ने तर्कलाई बलियो बनाउने छ ।

देशको मूल नेताका रुपमा थापाको उदय हुनसके यस्ता थुप्रै नयाँ अर्थ लाग्ने छन् जसले अहिलेसम्म अर्थ पाएका थिएनन् ।

तर, पहिलो व्यवधान त थापाका लागि स्वयं उनको पार्टीको सोच र संरचना हो । त्यतिखेरसम्म उनी देशको मूल नेतृत्वमा आउन, प्रधानमन्त्री हुन सक्ने छैनन् जबसम्म आफ्नै पार्टीभित्रको प्रतिस्पर्धामा विजयी हुने छैनन् । पार्टीको सभापति वा संसदीय दलको नेता नहुन्जेलसम्म उनको प्रधानमन्त्री भएर राम्रो काम गर्ने रहर कसैले पूरा गरिदिनेवाला छैन ।

एमालेको भन्दा नेपाली काङ्ग्रेसभित्रको स्थिति के फरक छ भने यहाँ संस्थापन पक्षसँग अन्तसङ्र्घष सञ्चालन गरेकै कारण कोही भीम रावल वा घनश्याम भुसाल भइहाल्नु पर्दैन । यो सुविधा वा फाइदा थापाले अहिले शेरबहादुर देउवाको पालामा मात्र हैन, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाकै पालादेखि उपयोग गर्दै आएका हुन् ।

अर्को भिन्नता एमालेमा ओलीझैँ ‘दुई कार्यकाल सभापति’को प्रावधान विधान संशोधनबाट हटाएर सायद देउवा तेहरिने छैनन् । काङ्ग्रेसको संरचना, परम्परा, नैतिक सङ्कट, उमेर र स्वास्थ्य सबै कारणले एमालेमा ओलीको जस्तो ‘तेहरिने’ सहजता काङ्ग्रेसमा देउवाका लागि छैन ।

तर, कोइराला वा देउवामध्ये कुनै एउटा खेमाको समर्थन बिना थापाले पार्टीको आगामी महाधिवेशनमा सभापति जित्ने सम्भावना कम छ । नेपाली काङ्ग्रेसभित्रको त्रिकोणात्मक शक्ति सङ्घर्षमा थापा अझै एउटा शक्ति केन्द्र भइसकेका छैनन् ।

शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिने घोषणा फिर्ता लिएका छैनन् न त सभापति देउवाको भावी रणनीति नै प्रष्ट छ । पार्टी सभापतिको हैसियत बिनै संसदीय दलको नेतामा उम्मेदवारी दिँदाको हविगत थापाले एकपटक बेहोरिसकेका छन् । त्यही उपक्रम दोहोर्‍याएर हुनेवाला केही छैन । काङ्ग्रेसको शक्ति संरचना र परम्परामा पार्टी सभापतिले संसदीय दलको नेताको चुनाव सायदै हार्ला

देशको मूल नेताको प्रतिस्पर्धी बन्न महामन्त्री थापाका लागि अन्तिम एक र सबैभन्दा ठूलो व्यवधान बाँकी नै छ । त्यो हो – पार्टी सभापति र संसदीय दलको नेता हुनुपर्ने चुनौती ।

मानौँ कि यो अवरोध उनले छिचोले – त्यसपछिका दिनमा ‘देशका लागि राम्रो गर्ने’ विश्वसनीय आधार के ? थापामा युवा जोस र जाँगर होला, पहिलोपटक पदमा पुगेको कारण केही गरौँ भन्ने भावना पनि होला, त्यतिले मात्र ‘देशका लागि राम्रो गर्ने’ बलियो आधार दिँदैन ।

यतिको हुटहुटी त हिजो गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड – बाबुरामसँग पनि थियो । यी कुनै सङ्घर्ष र पृष्ठभूमि बिना दौडेर सिंहदरबार छिरेका थिएनन् । तर, देशको हालत र हविगत किन अपेक्षित रुपमा सुधार्न सकेनन्, बरु उल्टै राज्यको पुरानो संस्कृति र प्रचलनसँग सहवरण गर्न बाध्य भए र आज ‘अक्षम’ र ‘असफल’ को चर्को आरोप खोपिरहेका छन्, यो प्रश्नले थापालाई पनि अवश्य लखेट्छ ।

हिन्दीमा एउटा रोचक शब्दावली छ, ‘गरम मिजाज, नरम मिजाज, बेसरम मिजाज’ । यदि प्रष्ट सोच, भिजन र योजना छैन भने ‘गरम’ युवा जोस कतिखेर ‘नरम’ हुन्छ र कतिखेर ‘बेसरम’ बन्न पुग्छ स्वयं पात्रलाई पत्तो हुँदैन ।

नेपाल राज्यका चारित्रिक समस्या त्यति सजिला छैनन् कि कसैले जादुगरी पारामा समाधान गरोस् । मानौँ कि महामन्त्री थापा देशको प्रधानमन्त्री हुन सफल भए, उनले के गर्लान् जो ओली, देउवा र दाहालको भन्दा फरक होला ?

राष्ट्र निर्माणमा उनले केकस्तो योगदान गर्ने छन् ? राज्यको चरित्र विनिर्माणमा के गर्ने छन् ? प्रशासनिक संरचनामा के भिन्नता ल्याउने छन् ? राजनीतिक संस्कृतिमा के बदलाब आउने छ ? बजेट संरचनामा कस्तो परिवर्तन हुने छ ? ‘सामाजिक विभेद’ को सवाललाई कसरी ‘सामाजिक न्याय’ दिने छन् ? भ्रष्टतन्त्र र कुशासनको अन्त्य कसरी सम्भव छ ? राज्यको कार्यसम्पादन क्षमता कसरी अभिवृद्धि हुने छ ? 

सबैभन्दा ठूला प्रश्न – आर्थिक दुरावस्था, वित्तीय असन्तुलन तथा शोषण, बढ्दो निरपेक्ष तथा बहुआयामिक गरिबी र बेरोजगारी अन्त्य, उद्यमशीलता वृद्धि र तीव्र आर्थिक विकास कसरी सम्भव छ ? भूराजनीतिक जटिलताबीच कसरी सन्तुलन कायम र आर्थिक अवसरको सृजना गर्ने छन् ?

गगन थापा वा अरु कोही प्रधानमन्त्रीको पदमा पुग्दैमा यी प्रश्न उत्तरित हुँदैनन् । र, यी प्रश्नलाई अनुत्तरित छोडेर कोही प्रधानमन्त्रीको पदमा पुग्नुको कुनै ठूलो अर्थ हुँदैन ।

आज देशलाई एक निक्कै ठूलो चरित्रगत, संरचनागत र संस्थागत सुधारको आवश्यकता छ । र, यो दिनप्रतिदिन अनिवार्य, अपरिहार्य अनुभूत हुँदै छ । यसको प्रष्ट खाका बिना पदमा पुगेर ‘टाइम पास’ बाहेक कसैले केही गर्न सक्ने अवस्था छैन ।

‘गरम मिजाज’ धेरैको होला । ‘प्रधानमन्त्री हुने रहर’ पनि धेरैको होला । अस्तिसम्मका सबैभन्दा ‘गरम’ लामिछाने यति छिट्टै ‘बेसरम’ भइसके । नेत्रविक्रम चन्द, ‘विप्लव’, डा.सिके राउत पनि कम ‘गरम’ लाग्दैनन् । तर, यिनीहरूको ‘नरम र बेसरम’ तिरको यात्रा सजिलै अनुमान गर्न सकिन्छ ।

जाँगर र हुटहुटी होला, तर, गगनको सोच, कल्पनाशीलता, भिजन र प्रष्टता ‘अहिलेका प्रधानमन्त्री’, ‘हुनेवाला प्रधानमन्त्री’ र ‘अस्ति भर्खरैका प्रधानमन्त्री’को भन्दा ‘राम्रो गर्न’ अझै पुग्दो छैन । भएपनि उनी ‘विरासत’कै प्रधानमन्त्री हुने हुन्, ‘विद्रोह वा परिवर्तनका प्रतीक’ हैन । कम्तिमा उनका पछिल्ला व्यवहारले त्यस्तै सङ्केत गरिरहेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register