दशरथ चन्दका लागि रोइदिने राममाया

‘मेरा साथीहरूलाई मारेपछि रुने उनीहरूका आफन्त थुप्रै छन् । तर, मेरा लागि रुने कोही पनि छैनन् । त्यसैले म मरेपछि तिमी रोइदेउ है राममाया,’ चन्दले भावुक हुँदै अनुरोध गरेका थिए ।

Jan 29, 2025 - 08:39
 0
दशरथ चन्दका लागि रोइदिने राममाया

६ माघ १९९७ :

काठमाडौंको चिसो हावामा राणा शासन विरोधी गन्ध आउन थालेको धेरै भइसकेको थियो । आफूविरुद्ध गतिविधि गरेको भन्दै राणाहरूले ५ सय हाराहारी मान्छेलाई पक्राउ गरेर सिंहदरबारको कैदखानामा राखेका थिए । यसरी पक्राउ परेकामध्ये पनि मुख्य चासो र चर्चाको केन्द्रमा थिए शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ ।

६ माघ १९९७ मा शास्त्री, माथेमा, चन्द र श्रेष्ठलाई सर्वस्वसहित मृत्युदण्डको सजाय सुनाइयो । पक्राउ परेकामध्ये कतिपयलाई आजीवन कारावासको सजाय सुनाइयो ।

मृत्युदण्डको सजाय पाएकालाई अन्तिमपटक परिवारसँग भेट्ने मौका दिइएको थियो । शास्त्री, माथेमा र श्रेष्ठका आफन्त र परिवारजन काठमाडौंमै थिए । तर, चन्दका भने काठमाडौंमा कोही थिएनन् ।

सुरतबहादुर शाहको ‘सुदूरपश्चिममा उदाएका अमर नक्षत्र’ पुस्तकमा लेखिएअनुसार काठमाडौं छिरेपछि चन्द मावली खलकको नाता पहिल्याउँदै तत्कालीन कमान्डर इन चिफ रुद्र शमशेरको चार बुर्जा दरबारमा बस्न थाले । यही दरबारमा बस्ने क्रममा उनको धर्मभक्त माथेमासँग दोस्ती भयो ।

त्यही दरबारमै रहँदा दशरथ चन्द र रुद्र शमशेरकी छोरी जुलिया राणाबीच प्रेम बस्यो । अनि चन्दले जुलियालाई दरबारभित्रैबाट पत्र पठाउन थाले । पुरुषोत्तम शमशेर जबराले श्री तीनको तथ्य वृतान्तमा उल्लेख गरेअनुसार, चन्दले सानो महारानी (रुद्र शमशेरकी नातिनी, पुरुषोत्तम शमशेरकी बहिनी) मार्फत दुईवटा प्रेम पत्र जुलियालाई पठाएका थिए ।

दशरथ र जुलियाको प्रेम झाँगिदै थियो । तर, ठिक यही समय ५ चैत १९९० मा जुद्ध शमशेरले रुद्र शमशेरको परिवारलाई पाल्पा धपाइदिए । त्यसपछि चन्द र जुलियाको बिछोड भयो । बुबा रुद्र शमशेरसँगै जुलिया पनि पाल्पा गइन् । 

जुलिया पाल्पा गएपनि दशरथलाई पत्र भने पठाइरहन्थिन् । यही पत्राचारको क्रममा जुलियाले दशरथलाई डम्बरकुमारी सल उपहार दिइन् । आजभोलि खास्टो भनिने त्यो त्यसबखत भने डम्बरकुमारी सलका नामले चिनिन्थ्यो । जङ्गबहादुर राणाकी छोरी डम्बरकुमारीले भारतको बनारसबाट नेपाल ल्याएको हुँदा त्यसलाई उनकै नाम दिइएको थियो ।

१९९६ मा जुलियाको क्षयरोगका कारण मृत्यु भयो । प्रेमिकाको मृत्यु भएपछि दशरथ चन्दले १३ दिनसम्म जुठो बारेको इतिहासकारहरूले लेखेका छन् ।

‘खास्टो उपहार पाएको केही दिनपछि नै जुलियाको मृत्यु भएको खबर दशरथ चन्दले थाहा पाए,’ गौतमले आफ्नो किताबमा लेखेका छन्, ‘जुलियाको मृत्यु खबर थाहा पाएपछि उनले १३ दिनसम्मै जुठो बारेका थिए ।’

२ कार्तिकमा पकनाजोलको कोठाबाट पक्राउ पर्ने बेला पनि दशरथ चन्दले जुलियाले दिएको उपहार डम्बरकुमारी सल ओढेका थिए । इतिहासकार डा. राजेश गौतम ‘अमर शहीद दशरथ चन्द र नेपालको प्रजातान्त्रिक आन्दोलन’ पुस्तकमा पक्राउ पर्दा चन्दले ओढेको सलबारे लेख्छन्, ‘कृष्णबहादुर थापा (पक्राउ गर्न गएका मान्छे) घर घेरेर बसिरहे । केही समयपछि दशरथ चन्द डम्बरकुमारी खास्टो ओढेर आए ।’

चन्दले ओढेको त्यो सल उनको प्रेमको निशानी थियो । १५ माघ १९९७ मा गोली ठोकेर मारिने समयमा पनि उनले त्यही सलको सप्को हालेका थिए । सिंहदरबारको जेलमा बस्दा पनि उनले त्यो सल छाडेनन् ।

इतिहासका विवरणमा साहस र हिम्मतका प्रतिमूर्ति मानिन्छन् चन्द । इतिहासकार डा. राजेश गौतमले आफ्नो किताब नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रजापरिषद्को भूमिकामा चन्दको हिम्मतको वर्णन गर्दै लेखेका छन्, ‘त्यसपछि दशरथ चन्दलाई अंश सर्वस्वहरणसहित फाँसीको सजाय सुनाइयो । प्रत्युत्तरमा छाती फुलाइ ‘फाँसी क्या चीज है ?’ भनी ठूलोठूलो स्वरले हाँस्दै अगाडि बढेर सजाय सुनेर पछाडि फर्किए ।’

दशरथ चन्द आफूमात्र होइन आफ्नो साथमा रहेका साथीभाइलाई पनि सान्त्वना दिन्थे । ११ माघमा गङ्गालालले अन्तिम पटक आफ्नो परिवारलाई भेटे । त्यसपछि दशरथ चन्दले गङ्गालाललाई आफ्नो छातिमा टाँसेर अङ्गालो हाल्दै ‘स्याबास मेरो भाइ कहिल्यै रुन्न’ भनेका थिए ।

मृत्युदण्डको सजाय पाएका शास्त्री, माथेमा र श्रेष्ठका परिवारका सदस्य पालैपालो भेट्न आए । तर, दशरथ चन्दलाई भने कोही भेट्न आएनन् । किनभने काठमाडौंमा उनको कोही थिएन । जीवनको अन्तिम घडिमा परिवारका सदस्यसँग कुरा गर्न नपाएपछि चन्द निराश बनेका थिए ।

सँगै थुनामा रहेका साथीभाइलाई हिम्मत दिने चन्दले मारिनु अगाडि जेलको सरसफाइ गर्ने राममाया च्यामिनीलाई आफ्नो मृत्युमा रोइदिन आग्रह गरेका थिए।

‘मेरा साथीहरूलाई मारेपछि रुने उनीहरूका आफन्त थुप्रै छन् । तर, मेरा लागि रुने कोही पनि छैनन् । त्यसैले म मरेपछि तिमी रोइदेउ है राममाया,’ चन्दले भावुक हुँदै राममायालाई अनुरोध गरेका थिए ।

राणा विरोधी अभियानमा लागेको आरोपमा पक्राउ परेकाहरूका लागि राममाया सहयोगी थिइन । राणा सैनिकका आँखा छलेर उनले जेलमा परेकालाई सहयोग गर्थिन् ।

दशरथ चन्दसँगै जेलमा परेका युगकवि सिद्धिचरण श्रेष्ठले पनि आफ्नो ‘जेल संस्मरण’मा राममायाबारे लेखेका छन् । जेलबाट छुटेको केही वर्षपछि ८ कार्तिक २०४६ मा सिद्धिचरणले राममायालाई भेटेका थिए ।

त्यो भेटमा राममायाले सुनाएकी थिइन, “गङ्गालालले नेल सिक्री बजाईरहेको पनि हिजो अस्ति जस्तो लाग्छ । उनले ‘दिदी तपाईं आउँदा यो जेल होइन घर हो कि जस्तो लाग्छ’ भनेको कुरा पनि सम्झिन्छु ।”

त्यसपछि सिद्धिचरणले राममायालाई दशरथ चन्दका बारेमा सोधे । ‘जेल संस्मरण’ किताबमा सिद्धिचरण लेख्छन्, ‘दशरथले तपाईंलाई मारिएमा मेरो निम्ति रोइदिने कोही छैन, राममाया तिमी एकछिन भएपनि रोइदेउ है भनेको कुरा साँच्चै हो ?’

जवाफमा राममायाका आँखा भरिए । भरिएका आँखा पुछ्दै उनले सिद्धिचरणलाई सुनाइन्, “यो कुरा सम्झिँदा म आफ्नो मन थाम्नै सक्दिनँ । उनले (दशरथ) भनेका थिए, ‘यहाँ मेरा साथीहरूको घर ता छ, तर मेरो घर पुग्नलाई महिना लाग्छ । मेरो लागि रुने कोही छैन । राममाया तिमी दाइ दशरथ चन्द भनेर एकछिन भएपनि रोइदिनु है ।’

दशरथ चन्दले यसो भनेपछि आफू पनि धरधरी रोएको राममायाले सिद्धिचरणलाई सुनाएकी छन् । उनी भन्छिन्, ‘यो कुरा सुनेपछि आँसु थाम्नै सकिन । म रोएको देखेर दशरथ चन्दले भनेका थिए, राममाया नरोउ….ले देख्यो भने तिमीलाई पनि मलाई जस्तै मार्न लगाउने छ ।’

१५ माघको राति दशरथ चन्द र गङ्गालाललाई सिंहदरबार कैदबाट लरीमा राखेर शोभा भगवती पुर्‍याइयो । शोभा भगवतीमा उनीहरूले आफ्नो भाकल पुरा भएको भन्दै ढोगेको कुरा लेखेका छन् नरशमशेर जबराले । चारजना शहीदलाई फाँसीमा चढाउने कामको नेतृत्व नरशमशेरले नै गरेका थिए । ‘जनरल नरशमशेर जबराको जीवनी उहाँकै जुवानी’ किताबमा लेखिएअनुसार शोभा भगवती पुगेपछि चन्द र श्रेष्ठले मन्दिरमा ढोगे ।

‘भगवती माता आज हामी दुवै जना प्रसन्न छौँ । हजुरकहीँ पहिले आएर राणा शासन ढाल्ने भाकल गरेका थियौँ, हजुरकहीँ अहिले आएर प्राण त्याग्न पायौँ’ भन्दै चन्द र श्रेष्ठले मन्दिर परिक्रमा गरे । त्यसपछि चन्द र श्रेष्ठलाई पालैपालो गोली ठोकियो ।

हाँसीहाँसी मृत्युवरण गरिरहँदा चन्दको छातिमा जुलियाले पठाएको प्रेमको निशानी ‘डम्बरकुमारी सल’को सप्को थियो । र, उनको विद्रोह र बलिदानीका लागि राममाया मात्र होइन सारा देशले शोकको आँशु खसायो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register