ओलीले बारम्बार ब्युताइरहने बाँकावीर को हुन् ?

‘इतिहास जित्नेले लेख्छ ।’ वा, ‘इतिहास जित्नेको लेखिन्छ ।’ क्लिसेजस्तो सुनिन्छ, यो वाक्य । विशेषगरी इतिहासको लेखनिमा छुटेका र छुट्याइएका पात्रमाथि मन्थन् चल्दा नबिराई प्रयोग हुने यो भनाइको उपादेयताबारे इतिहासका व्याख्यताहरूबीच बहस जारी छ । इतिहासकार रोमिला थापरदेखि प्रोफेसर गायत्री चक्रवर्ती स्पिभाक हुँदै अभि सुवेदी र तारालाल श्रेष्ठलगायत यो विमर्शमा निरन्त छन् । प्रधानमन्त्री तथा […]

Jan 29, 2025 - 15:54
 0
ओलीले बारम्बार ब्युताइरहने बाँकावीर को हुन् ?

‘इतिहास जित्नेले लेख्छ ।’ वा, ‘इतिहास जित्नेको लेखिन्छ ।’

क्लिसेजस्तो सुनिन्छ, यो वाक्य । विशेषगरी इतिहासको लेखनिमा छुटेका र छुट्याइएका पात्रमाथि मन्थन् चल्दा नबिराई प्रयोग हुने यो भनाइको उपादेयताबारे इतिहासका व्याख्यताहरूबीच बहस जारी छ । इतिहासकार रोमिला थापरदेखि प्रोफेसर गायत्री चक्रवर्ती स्पिभाक हुँदै अभि सुवेदी र तारालाल श्रेष्ठलगायत यो विमर्शमा निरन्त छन् ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कहिलेकाहीँ योभन्दा पनि फरक ढंगले इतिहासलाई प्रस्तुत गरेर चर्चामा आइरहन्छन् । ओलीको बोली प्राय:जसो चर्चामा नै रहन्छ, र बेलाबखत विवादमा पनि परिरहन्छ । उनको त्यस्तै बोलीमध्येको एउटा हो, ‘नेपालको पहिलो शहीद को?’ भन्ने सन्दर्भमा दिएको अभिव्यक्ति ।

ओली केही वर्षयता नेपालको प्रथम शहीदका विषयमा फरक दाबी गरिरहेका छन् । सुदूरपश्चिमको पहाडी क्षेत्रमा प्रचलित किंवदन्तीमा बाँचिरहेका बाँकावीर नेपालका प्रथम शहीद भएको ओलीको दाबी छ ।

ओलीले पहिलोपटक २०७८ सालको चैत्रमा पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुद्वारा आयोजित कार्यक्रममा नेपालको प्रथम शहीद गोरखाका लखन थापा नभएर अछामका बाँकावीर (बलदेव शाही) भएको दाबी गरेका थिए । त्यसले नेपालको प्रथम शहीद को भन्नेमा एक प्रकारको बहस नै सृजना गरेको थियो । त्यसयता पटकपटक बोल्दै आएका उनले यो दाबीलाई आज शहीद दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा पनि दोहोर्‍याएका छन् ।

सिंहदरबारमा बुधबार आयोजित कार्यक्रममा उनले राणा शासनको विरोध गर्दा बाँकावीरलाई टाउकाको मूल्य तोकेर षड्यन्त्रपूर्ण ढंगले मारिएको प्रशंग कोट्याउँदै त्यसपछि मात्रै गोरखाका लखन थापा र चार शहीदको हत्या गरिएको बताए ।

यस्तो छ, प्रधानमन्त्री ओलीले राखेको धारणा:

जहानियाँ राणा शासन विसं १९०३ मा सुरु भएको थियो । २००६ मा अछामका बाँकावीरले राणा शासनविरुद्ध आवाज उठाएका थिए । यसपछि राणाहरूले बाँकावीरको हत्या गरेर आफ्नो क्रुरताको सुरुवात गरेका थिए । उहाँको टाउको ल्याउनेलाई इनाम दिने भनेर इस्तियार जारी गरिएको थियो । केही तत्वले बाँकावीरलाई छलपूर्ण र धोकापूर्ण ढंगले गिरफ्तार गरेर राणालाई बुझाएका थिए । त्यसपछि उहाँको क्रुर तरिकाले हत्या गरिएको थियो । त्यहाँबाट सुरु भएको बलिदानको सिलसिला १९३३ मा लखन थापाको हत्या भयो । त्यसपछि अनेक प्रकारका शान्तिपूर्ण विरोध भए । लेखकदेखि कविसम्म राणाविरोधी आन्दोलनमा सहभागी भए । सन् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको हत्या गरियो ।

२०७८ सालमा अनेरास्ववियुको कार्यक्रममा त ओलीले प्रथम शहीदको विषयमा कन्फ्यूजन रहेको भन्दै बाँकीवीर नै पहिलो शहीद भएको दाबी गरेका थिए । ओलीको दाबी थियो, ‘बैतडी, बझाङ कतातिर हो, बाँकावीरले पहिलोपल्ट राणाशासनविरुद्ध लड्नुपर्छ भनेर सेना नै संगठित गरेका थिए । उनलाई राणा शासनले गिरफ्तारपछि हत्या गरेको थियो । र, उनी पहिलो शहीद हुन्,’ ओलीले भनेका थिए, ‘पहिलो शहीदको सम्बन्धमा कन्फ्यूजन पनि छ । चर्चा नभएर पनि हो । बाँकावीर नेपालको राजनीतिक जागरणको र स्वतन्त्र अधिकार प्राप्तिको पहिलो शहीद हुन् ।’

जबकी, नेपालमा अहिलेसम्म आधिकारिक रूपमा घोषित प्रथम शहीद गोरखाका लखन थापा हुन् । थापालाई सरकारले २ असोज ०७२ मा प्रथम शहीद घोषणा गरेको थियो । त्यसअगाडि नै ११ फागुन ०५६ मा सरकारले थापालाई शहीद घोषणा गरिसकेको थियो ।

ओलीको अभिव्यक्तिमाथि केही इतिहासकारहरूको चर्को आपत्ति छ । धेरैले विभिन्न पत्रपत्रिकामा लेख लेखेरै विमत्ति जनाएका छन् । पक्ष र विपक्षमा बहस जारी छ । तर ओली निरन्तर यही भनाइ दोहोर्‍याउँदै आइरहेका छन् । सम्भवत: उनको ताजा अभिव्यक्तिपछि यसमाथि थप धारणाहरू सार्वजनिक हुनसक्छन् ।

को हुन् बाँकावीर ?

अहिलेको अछाम जिल्ला गोर्खाली राज्यले विजय गर्नुअघि स्वतन्त्र राज्य थियो । अमरसिंह थापा नेतृत्वको फौजले विसं १८४६ र १८४७ को बीचमा डोटी राज्यमाथि आक्रमण गरेपछि डोटीसहित हालको सुदूरपश्चिमका सबै राजा–रजौटा गोर्खा राज्यको अधीनस्थ हुन पुगे ।

विसं १९०३ मा जंगबहादुर राणा (कुँवर) ले कोतपर्वबाट शासनसत्ता आफ्नो हातमा लिने बेलासम्म तत्कालीन नेपाल (काठमाडौं) बाहिर प्रशस्तै राजा–रजौटा थिए । जसले राजासँग मिलेर राणाविरुद्ध जनता उठाएर विद्रोह गर्न सक्थे । यही खतरा महसुस गरेर जंगबहादुरले देशभर सैनिक खटाएका थिए । जंगबहादुर आफ्ना बुबासँगै विसं १८९० देखि १८९२ सम्म सेनाको सुवेदारका रूपमा डडेल्धुरा र १८९२ देखि १८९४ सम्म हुम्लामा कार्यरत थिए। सोही क्रममा उनले सुदूरपश्चिमका राजा–रजौटालाई राम्रोसँग बुझेका थिए ।

इतिहासकारहरूका अनुसार राज्य विस्तारको क्रममा विजय हासिल गरेपछि गोर्खाली सैनिकले गरेको अत्याचारको विरोधमा डोटीका राजा दीप शाही र कुमाउका हर्षदेव जोशीको संयुक्त सेनाले अंग्रेजसँग मिलेर गोर्खालीविरुद्ध लडेका थिए । नेपाल–अंग्रेज युद्ध (सन् १८१४–१६) सम्म पश्चिम क्षेत्रमा भएका युद्धमा शाही र जोशीले अंग्रेजलाई सघाएका थिए । त्यसैले आफ्नो शासनकालमा जंगबहादुरले सुदूरपश्चिमलाई संवेदनशील क्षेत्रका रूपमा लिएका थिए ।

राजकुमार बहादुर शाहको समयमा पनि गढवालको ‘पनियाँखेत’ मा एउटा युद्ध भयो । सोही युद्धमा गोर्खाली सेनाले हार बेहोरेपछि अछामका राजाले गोर्खाली सैनिकका दुई कम्पनी सैनिक मारेका थिए । यस घटनापछि अछामदेखि पश्चिमका क्षेत्रमा नेपाल सरकारको सम्बन्धबिच्छेदजस्तै हुन पुग्यो ।

विसं १८४७ मा अछामका तत्कालीन राजा देवचन्द्र शाहलाई हराएर गोर्खाली फौजले जित हात पार्‍यो । तर, पछि डोटी, कुमाउ, गढवाल र जुम्लाका राजासँग मिलेर देवचन्द्रले १८४९ मा गोर्खाली फौजमाथि हमला गरेर केही दिन जित हात पारे पनि लामो समय टिक्न सकेन ।

त्यसैले सुदूरपश्चिमका राजा–रजौटाले आफूविरुद्ध कुनै प्रकारको विप्लव नगरून् भनेर उनीहरूमाथि निगरानी राख्‍न जंगबहादुरले अछामको चाल्सा, जुपु, नवाठाना कोटघरका ठानाबाहेक बान्‍नीगढीमा विशेष पल्टन राख्‍ने व्यवस्था गरे ।

जंगबहादुरका सैनिक बान्‍नीगढी पुगेसँगै उनीहरूको अत्याचार सुरू भयो । इतिहास अध्येताहरूले किताब तथा लेखहरूमा जंगबहादुरका सैनिकले गरेको अत्याचारका अनगन्ती विवरण दिएका छन् ।

मोतीलाल बोहोरा, आत्माराम ओझा र सुरतबहादुर शाह तीनै जनाले उल्लेख गरेका विवरणमा अधिकांश कुरा समान छन् । जंगबहादुरका सैनिकले आफ्ना लागि खाद्यान्‍न जोहो गर्न अछामका गाउँमा लुटपाट सुरू गरेको, अन्‍नपात दिन नमान्‍ने गाउँलेलाई कुट्न थालेको,  हट्टाकट्टा मान्छेलाई घोडा बनाउन थालेको र महिला, युवतीको बलात्कार गर्न थालेको विवरण समेत उनीहरूले पुस्तकमा उल्लेख गरेका छन् ।

जगंबहादुरले तत्कालीन नेपाल (काठमाडौं) का राजालाई कमजोर बनाएर शासन हत्याएको तथ्य अछामी राजालाई जानकारी थियो । त्यसैले जंगबहादुरका सैनिकको अत्याचारको मुकाबिला गर्ने आँट कसैले गरेका थिएनन् । अत्याचार बढ्दै गएपछि मैत्री सम्बन्ध स्थापना गर्ने उद्देश्यसहित तत्कालीन अछामी राजा रणभीमले आफ्ना भाइ बलदेव शाहीलाई जंगबहादुरका सैनिक बसेको स्थान बान्‍नीगढी पठाए ।

बलदेवले जंगबहादुरका सैनिकसँग लुटपाट बन्द गर्न आग्रह गर्दै उनीहरूलाई आवश्यक खाद्यान्‍नको जिम्मा आफू लिने बताए । तर जंगबहादुरका सैनिकले बलदेवको खिल्ली उडाए, ‘यस्ता पाजीले श्री ३ का सैनिक पाल्ने !’

सैनिकको बोली र व्यवहारबाट अपमानित महसुस गरेका बलदेवले जंगबहादुरका सैनिकसँग बदला लिने अठोट गरे ।

सुरुमा त बलदेवले सैनिकको अत्याचार रोक्न जंगबहादुरलाई पत्र पठाए । उक्त पत्रको जवाफबारे इतिहासकारहरूले कतै उल्लेख गरेको भेटिँदैन । उता बलदेवको आग्रहका बावजुद पनि जंगबहादुरका सैनिकको अत्याचार रोकिएन ।

गोर्खाली सैनिकको ज्यादती कम हुने छाँट नदेखेका बलदेव लड्न तयार भए । त्यसपछि उनले गुरिल्ला युद्ध चलाउने मनस्थितिमा पुगे । जंगबहादुरका सैनिकविरुद्ध लड्नका निम्ति बलदेवले गुप्त रूपमा सैन्य संगठन बनाउन थाले ।

आफूविरुद्ध सैन्य संगठन नै बनाएर विप्लव गर्न लागेको खबर आफ्ना सैनिकमार्फत जंगबहादुरले प्राप्त गरे । जंगबहादुरविरुद्ध विद्रोह गर्नु राजद्रोह गर्नु मानिन्थ्यो । राजद्रोहको अपराध गरेको भन्दै बाँकावीरलाई अपराधीको सूचीमा राखियो । त्यसपछि जंगबहादुरले विसं १९०५ वैशाखमा बलदेव शाही ‘जहाँ फेला पर्छन्, त्यहीँ काट्नू’ भन्‍ने आदेश दिए । उनीसँगै बझाङका अम्बरसिंह भण्डारी र ईश्वर सिंहलाई समेत काट्ने आदेश जंगबहादुरले दिएका थिए ।

बलदेवलाई काट्ने आदेश आएपछि अछामको बान्‍नीगढीमा बसेका जंगबहादुरका सैनिक सादा पोसाकमा बलदेवको सुराकी गर्न गाउँ डुल्न थाले । सुराकी गर्न हिँडेका सैनिकलाई उल्टै बलदेव र उनका सहयोगीले पक्राउ गर्न थाले । जंगबहादुरका सैनिकमाथि नै धावा बोल्ने योजना बनाएपछि बदलेवको समूहमा अछाम, बझाङ, दैलेख, डोटी र कैलालीसम्मका युवा सामेल हुन थाले । इतिहासकार सुरतबहादुर शाहका अनुसार उक्त विद्रोह दबाउन जंगबहादुरले जुम्ला र दैलेखबाट समेत सैनिक पठाएका थिए ।

जंगबहादुरका सैनिकले बलदेवलाई कमजोर बनाउन गाँस बास दिनेलाई झुण्ड्याएर मारिने उर्दी जारी गरे । आफूलाई गाँस बास दिने व्यक्तिलाई राणा सैनिकले मार्ने भएपछि बलदेव भूमिगत भए । दिनभर जंगल र ओढारमा लुकेर राती–राती गाउँ डुल्न थाले ।

जंगलमा लुकेको समयमा ‘बाँको’ जस्तो विषालु वनस्पति खाएर पनि जीवितै रहन सकेकोमा बलदेव शाहीलाई बाँको खाने वीर अर्थात् ‘बाँकावीर’ भन्‍न थालिएको किंवदन्ती सुदूरपश्चिमा सुनिन्छ । अछामका गाउँमा अहिले पनि हिम्मतदार, अरू कसैले सहजै गर्न नसक्ने काम सहजै गर्नेलाई बाँकावीर भन्‍ने चलन छ ।

सहजै पक्राउ गर्न नसकेपछि जंगबहादुरले बाँकावीरलाई मार्ने जिम्मा अछामकै स्वाँरलाई दिए । आफ्नो पल्टनमा रहेका अछामका भवानीसिंह स्वाँर र कालुसिंह स्वाँरलाई राणाविरोधी भएको र पल्टनबाट बर्खास्त गरेको नक्कली कथासहित बलदेव (बाँकावीर) लाई मार्न अछाम पठाए । राज्य विस्तारमा सघाएका कारण स्वाँरबन्धुलाई गोर्खालीले आफ्नो सैनिकमा भर्ती गराएका थिए ।

राणाले निकाला गरेको कारण देखाउँदै आफू पनि राणाविरुद्धको विद्रोहमा सामेल हुने भन्दै भवानीसिंह र कालुसिंह स्वाँर अछाम पुगेर बाँकावीरको टोलीमा सामेल भए । अछामबाट राणा सैनिक हटाइने भन्दै उनीहरूले बाँकावीरलाई विश्वासमा लिए । शक्तिशाली राणाका सैनिक स्वाँरबन्धु नै आफ्नो समर्थक बनेपछि बाँकावीर पनि हौसिए । र, राणाविरुद्धको संघर्ष तीव्र बनाउने तयारीमा लागे । अनि हौसिएका बाँकावीरले बान्‍नीगढीको सैनिक क्याम्प आक्रमण गर्ने योजना बनाए ।

विसं १९०६ को बर्खा याममा बाँकावीरले बान्‍नीगढीमाथि आक्रमण गर्ने योजना बनाए । आक्रमणका लागि रेकी गर्न भन्दै बाँकावीरसँगै स्वाँरबन्धु पनि गए । रेकीबाट फर्किंदै गर्दा बाँकावीर काफलखेत (तत्कालीन जनालीकोट गाविस वडा नं ५, हाल– बान्‍नीगढी गाउँपालिका) धारामा नुहाउन थाले । नुहाउँदै गरेका बाँकावीरमाथि भवानी र कालुसिंह स्वाँरले खुकुरी प्रहार गरे । टाउको छिनाए ।

यो इतिहासकाका लेखकहरू राणाविरुद्ध यो पहिलो विद्रोह भएको र यही विद्रोहबाट नै नेपालमा छापामार शैलीको युद्धको सुरुआत भएको मान्छन् ।

 

(यो सामग्री भएका विवरणहरू इतिहासकार बाबुराम आचार्यको पुस्तक अब यस्तो कहिल्यै नहोस्, आत्माराम ओझाको पुस्तक नेपाली इतिहास मन्थनः केही ऐतिहासिक खोजहरूको संकलन, पुरुषोत्तमशमशेर जबराको पुस्तक ‘श्री ३ हरूको तथ्य वृतान्त (भाग–एक)’, मोतीलाल बोहोराको पुस्तक नेपालका प्रथम अमर शहीद ‘बाँकावीर’ बदलेव, विश्वनाथ भट्टराईको पुस्तक प्राचीन डोटी राज्यको राजनैतिक तथा सांस्कृतिक इतिहास’  सुरतबहादुर शाहको पुस्तक सुदूरपश्चिममा उदाएका अमर नक्षत्र बाट साभार गरिएका हुन् ।)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register