बेलायती राजकुमार दम्पतीको नेपाल भ्रमण : बेलायत–नेपाल मित्रताको सराहना (तस्वीरहरू)

काठमाडौं । बेलायतका राजकुमार एड्वर्ड र उनकी पत्नी राजकुमारी सोफी (एडिनब्राका ड्यूक र डचेस) आजदेखि ६ दिने नेपाल भ्रमणमा आइपुगेका छन् । पहिलोपटक भइरहेको बेलायती राजकुमार दम्पतीको नेपाल भ्रमणलाई द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको  छ । काठमाडौंस्थित बेलातीय राजदूतावासले यो भ्रमणले बेलायत–नेपाल सम्बन्धको इतिहास र भविष्यका साथै युवाहरूको नयाँ पुस्तालाई प्रतिबिम्वित गर्ने […]

Feb 4, 2025 - 14:09
 0
बेलायती राजकुमार दम्पतीको नेपाल भ्रमण : बेलायत–नेपाल मित्रताको सराहना (तस्वीरहरू)

काठमाडौं । बेलायतका राजकुमार एड्वर्ड र उनकी पत्नी राजकुमारी सोफी (एडिनब्राका ड्यूक र डचेस) आजदेखि ६ दिने नेपाल भ्रमणमा आइपुगेका छन् । पहिलोपटक भइरहेको बेलायती राजकुमार दम्पतीको नेपाल भ्रमणलाई द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको  छ ।

काठमाडौंस्थित बेलातीय राजदूतावासले यो भ्रमणले बेलायत–नेपाल सम्बन्धको इतिहास र भविष्यका साथै युवाहरूको नयाँ पुस्तालाई प्रतिबिम्वित गर्ने अपेक्षा राखेको जनाएको छ । ‘भ्रमणका क्रममा उनीहरूले गौरवशाली गोर्खा सम्बन्धमार्फत सेवाभावसहितको हाम्रो साझा इतिहासलाई सराहना गर्नेछन्,’ दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भ्रमणका क्रममा नेपालको सुन्दरता र संस्कृतिको प्रत्यक्ष अनुभव गर्ने र ड्यूक अफ एडिनब्रा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने युवाहरूलाई भेट्ने कार्यक्रम रहेको छ । उनीहरूले बेलायतबाट प्राप्त सहायताले नेपालको मातृस्वास्थ्य सेवा सुधारमा भइरहेका कामको निरीक्षण गर्नुका साथै, महिला नेतृ तथा अभियन्ताहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

भ्रमणअवधिभर राजकुमार दम्पती नेपालको सबैभन्दा पुरानो द्विपक्षीय सम्बन्धका रुपमा काम गरेका बेलायत–नेपाल साझेदारीलाई प्रतिनिधित्व गर्ने विभिन्न व्यक्तिहरूलाई समेत भेट्नेछन् । बेलायत–नेपाल मैत्री सन्धिको अघिल्लो वर्ष मनाइएको शतबार्षिकोत्सव पछि उनीहरूले अर्को १०० वर्षको मित्रता कसरी विकसित हुँदैछ भनेर समेत छलफल गर्ने दूतावासको भनाइ छ ।

भ्रमणका क्रममा ड्युक अफ एडिनब्रा इन्टरनेसनल अवार्डले युवाहरूलाई नयाँ सीप र अनुभवहरू विकास गर्न कसरी मद्दत गरिरहेको छ भनेर समेत निरीक्षण गर्नेछन् । साथै, बेलायती सेनामा भर्ती हुने युवाहरूको पोखरामा हुने वार्षिक प्रमाणीकरण परेडमा सहभागी हुनेदेखि भूपू गोर्खा सेना र उनीहरूका घरपरिवारलाई गोर्खा वेल्फेयर ट्रस्टले पुर्‍याउँदै आएको सहयोगका बारेमा समेत उनीहरूको चासो रहने दूतावासले जनाएको छ ।

भ्रमणको पहिलो दिन उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गरेका छन् । भेटका क्रममा उनीहरूले बेलायत–नेपाल सम्बन्धको आधारशिलाका रूपमा रहेको गोर्खाली सेनाको भूमिकालाई बेलायतमा ठूलो सम्मान रहेको जानकारी दिएका थिए ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटघाटको क्रममा ब्रिगेड अफ गोर्खाज्‌का कर्नेल कमान्डेन्ट मेजर जनरल स्ट्रिकल्याण्ड डीएसओ एमबीईले राष्ट्रपति पौडेलसमक्ष ब्रिगेड अफ गोर्खाजको वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । प्रतिवेदनमा नेपाल सरकारसँगको पारदर्शिताका सम्बन्धमा बेलायतको प्रतिबद्धता, २०० वर्षभन्दा बढी समयको साझेदारी माथिको महत्व र बेलायती सेनामा सेवा प्रदान गर्नेहरूलाई सहयोग गर्ने बेलायती प्रतिबद्धता उल्लेख गरिएको छ ।

यो बेलायती शाही परिवारका सदस्यहरूबाट भएको चौधौं नेपाल भ्रमण हो । यसअघि महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपले सन् १९६१ र १९८६ मा, वेल्सका अधिराजकुमारका रूपमा राजा चार्ल्सले सन् १९७५, १९८०, १९९२ र १९९८ मा नेपालको भ्रमण गरेका थिए । सबैभन्दा पछिल्लो भ्रमण सन् २०१६ मा अधिराजकुमार ह्यारीबाट भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register