दिल्लीमा पराजयपछि आम आदमी पार्टीको भविष्य

अब आम आदमी पार्टीको भविष्य बारे प्रश्न उठ्छ कि दिल्ली हारेपछि केजरीवालले आफ्नो पार्टीलाई कसरी अगाडि बढाउनेछन् ? सुधीर कुमार यो हारपछि अरविन्द केजरीवालले राजनीतिमा आफूलाई सान्दर्भिक बनाउन धेरै सङ्घर्ष गर्नुपर्ने बताउँछन् ।

Feb 9, 2025 - 08:42
 0
दिल्लीमा पराजयपछि आम आदमी पार्टीको भविष्य

सन् २०११ देखि २०१३ सम्म भ्रष्टाचार विरुद्धको आन्दोलनले दिल्लीको सडकमा नयाँ राजनीतिक परिदृश्य सिर्जना गर्‍यो ।

यस आन्दोलनबाट उदय भएको आम आदमी पार्टी (आप)ले राजनीतिमा हलचल मच्चायो । र, यसका नेता अरविन्द केजरीवालले आफ्नो साधारण कद र पहिरनलाई पहिचानको रूपमा प्रस्तुत गरे ।

केजरीवालको नेतृत्वमा आम आदमी पार्टीले सन् २०१५ मा दिल्ली विधानसभा चुनावमा ७० मध्ये ६७ सिट जित्यो, जसले राजनीतिक वृत्तमा हलचल मच्चायो ।

यो सफलता भारतीय जनता पार्टीले ‘मोदी लहर’अन्तर्गत सन् २०१४ को लोकसभा चुनाव जितेको केही महिनापछि मात्र प्राप्त भएको थियो ।

आम आदमी पार्टीले मोहल्ला क्लिनिक, विश्वस्तरीय विद्यालय, निःशुल्क बिजुली र निःशुल्क पानी जस्ता योजनामार्फत बलियो भोट बैङ्क सिर्जना गर्‍यो ।

यसपछि सन् २०२० को विधानसभा चुनावमा पार्टीले फेरि ऐतिहासिक प्रदर्शन गर्‍यो र ६२ सिट जित्यो । त्यसको केही महिनाअगाडि सन् २०१९ को लोकसभा चुनावमा भाजपाले फेरि दिल्लीका सबै सात लोकसभा सिट जित्यो ।

सन् २०२४ को लोकसभा चुनावमा भाजपाले लगातार तेस्रो पटक दिल्लीका सबै सात सिट जित्यो । तर, आम आदमी पार्टीको विधानसभा चुनाव जित्ने सपना भने अधुरो रह्यो ।

यस पटक पार्टीले गत चुनावको तुलनामा ४० सिट गुमाएको छ र २७ वर्षमा पहिलो पटक दिल्ली विधानसभामा भाजपाले पूर्ण बहुमत प्राप्त गरेको छ । जबकि काङ्ग्रेसले लगातार तेस्रो पटक दिल्लीमा आफ्नो खाता खोल्न सकेन ।

अब प्रश्न उठ्छ कि केजरीवालले के गल्ती गरे ? उनको राजनीतिक भविष्य के हुन्छ ? के यसपटक मध्यम वर्ग भाजपाको पक्षमा उभिए ? अनि यो नतिजाले काङ्ग्रेस र ‘इन्डिया’ गठबन्धनको लागि के अर्थ राख्छ ?

केजरीवालका सबैभन्दा ठूला गल्ती

दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले ठूलो हार ब्यहोर्नु मात्र परेन, पार्टीका राष्ट्रिय संयोजक केजरीवालले पनि आफ्नो नयाँ दिल्ली विधानसभा सिटसमेत बचाउन सकेनन् ।

एक समय थियो, जब केजरीवालको पार्टीले आफ्नो जितले सबै राजनीतिक दलहरूलाई चकित पारेको थियो, तर अहिले त्यही पार्टीले यति नराम्रो हारको सामना गर्नुपरेको छ ।

यस्तो अवस्थामा प्रश्न उठ्छ कि पार्टीले के गल्ती गरेको छ जसका कारण यो हार बेहोर्नुपर्‍यो ?

आपको हारको कारणबारे द ट्रिब्युनकी सहसम्पादक अदिति टन्डन भन्छिन्, “केजरीवालको सबैभन्दा ठूलो गल्ती हो कि उनले आम आदमी पार्टीले अगाडि बढाएको राजनीतिक अवधारणालाई त्यागे । कामको राजनीति र अत्यन्त इमानदारीको पार्टी यसको पहिचान थियो, तर भाजपा यो धारणाविरुद्ध वातावरण सिर्जना गर्न सफल भयो ।”

उनी थप्छिन्, “केजरीवालले यस चुनावमा आफ्नो क्षमतालाई बढी आकलन गरे । उनले पहिले नै अडान लिएका थिए कि कसैको आवश्यकता छैन, हामीलाई कुनै गठबन्धन चाहिँदैन, हामी यो चुनाव एक्लै लड्नेछौँ । काङ्ग्रेस यस विचारधाराका साथ तयार छ कि गठबन्धन गर्नुपर्छ, जुन लोकसभा चुनावमा देखियो । केजरीवालको अर्को गल्ती यो थियो कि उनले टकराव र पीडितको राजनीति गरिरहे ।”

उनले अगाडि भनिन्, “२०१३ मा पीडित कार्ड खेलेपछि जनताले उनलाई सन् २०१५ मा ठूलो जित दिलाए, तर त्यसबेलादेखि उनी निरन्तर सन्देश दिइरहेका छन् कि केन्द्र सरकार र उपराज्यपालले उनलाई काम गर्न दिइरहेका छैनन् । यदि बारम्बार भनिरहनुभयो कि सेट प्रणालीसँग काम गर्न सक्षम हुनुहुन्न तब मानिसले सोच्नेछन् कि तपाईं घरमै बस्नुपर्छ किनकि, शीला दीक्षितले पनि त्यही प्रणालीसँग काम गरिन् र एक सफल मुख्यमन्त्री बनिन् ।”

यसबारे इन्डियन एक्सप्रेसकी राष्ट्रिय ओपिनियन सम्पादक वन्दिता मिश्राले भनिन्, “दिल्लीका मानिस जससँग केही छैन, आम आदमी पार्टीबाट उनीहरूले जेसुकै सुविधा पाएका छन् । जस्तै – स्कूल, निःशुल्क बस सेवा वा बिजुलीको बिल छुट, उनीहरूले यी परिवर्तनहरू महसुस गरे र दिल्ली चुनावमा केजरीवाललाई समर्थन गरे ।”

उनले थपिन्, “तर, जब हामी यो श्रेणीभन्दा माथि जान्छौँ, दिल्लीको अवस्थाको बारेमा प्रश्नहरू उठ्न थाल्छन् । दिल्लीको अवस्था राम्रो थिएन र आम आदमी पार्टीसँग यस अवधिमा दिल्लीमा कुनै सुधार भएको देखाउने केही थिएन, चाहे त्यो ट्राफिक जाम होस् वा पानीको समस्या ।”

नतिजा कसरी परिवर्तन भयो ?

सन् २०२० को चुनावमा पार्टीले ७० सदस्यीय दिल्ली विधानसभामा ६२ सिट जित्यो, जबकि ८ सिट भाजपाले जित्यो ।

यसअघि सन् २०१५ को विधानसभा चुनावमा आम आदमी पार्टीले कुल ६७ सिट जितेको थियो र भाजपा केवल तीन सिटमा झरेको थियो ।

अब प्रश्न उठ्छ कि यी पाँच वर्षमा के भयो कि नतिजामा यति धेरै भिन्नता देखियो ?

यसबारे सी-भोटरका संस्थापक तथा निर्देशक यशवंत देशमुखले भने, “शीशमहल विवाद’पछि चुनावमा परिवर्तन देखिन थाल्यो ।”

उनले भने, “बजेटमा मध्यम वर्गलाई दिइएको राहतको प्रभाव देखिन्थ्यो, जसका कारण मानिस मतदान गर्न घरबाट बाहिर निस्किए । परम्परागत रूपमा चुनावहरू पछिल्लो चार-पाँच हप्तामा परिवर्तन हुन्थे, तर यस पटक पछिल्लो चार दिनमा परिणाम परिवर्तन भएको छ ।”

देशमुखले भने, “केजरीवालले बिर्सनुभयो कि पछिल्ला दुई चुनावमा मध्यम वर्गको मतले ऐतिहासिक जित हासिल भएको थियो । त्यही मध्यम वर्ग, जसले लोकसभामा मोदी र विधानसभामा केजरीवाललाई समर्थन गर्थे, तर यस पटक लोकसभामा मोदीतिर लागेपछि फर्कन अस्वीकार गरे । यो केजरीवालको हारको कारण बन्यो ।”

दिल्ली विधानसभा चुनावको मतदान अघि धेरै विज्ञले यसपटक आम आदमी पार्टी र भारतीय जनता पार्टीबीच कडा प्रतिस्पर्धा देखिन सक्ने विश्वास गरेका थिए । तर, चुनावमा भारतीय जनता पार्टीको प्रदर्शनले सबैलाई आश्चर्यचकित बनाएको छ ।

आम आदमी पार्टीका कार्यकर्तासँग कुरा गर्दा धेरैजसोले केन्द्र सरकार र निर्वाचन आयोगले जानाजानी पराजित गरिएको बताउँछन् । यद्यपि, केही कार्यकर्ताले महसुस गरे कि उनीहरूले गल्ती गरेका छन् र जनतासँग राम्रोसँग जोडिन असमर्थ छन् ।

ग्राउन्ड अवस्थाको बारेमा सी-भोटरका संस्थापक र निर्देशक देशमुखले भने, “लामो समयदेखि दिल्लीका दलित समुदायलाई यो डर थियो कि यदि भारतीय जनता पार्टी सत्तामा आयो भने यी योजनाहरू बन्द हुनेछन् । त्यसैले भाजपाले रेवडी विरोधी संस्कृतिबाट बाहिर निस्केर केजरीवालको पिचमा खेल्नुपर्‍यो ।”

यसबारे बीबीसी संवाददाता अभिनव गोयलले भने, “हामी ग्राउन्डमा हुँदा आम आदमी पार्टीप्रति जनताको समर्थन घट्दै गएको देखिन्थ्यो, तर जसरी चुनावी नतिजा आयो र भारतीय जनता पार्टीले ठूलो बहुमतका साथ जित्यो । हामीले यस्तो मूल्याङ्कनको अपेक्षा गरेका थिएनौँ ।”

उनले भने, “यस चुनावमा आम आदमी पार्टीले काङ्ग्रेससँग गठबन्धन गरेन । हामीले धेरै सिटमा देख्यौँ, जहाँ आम आदमी पार्टी हारेको थियो, त्यहाँ काङ्ग्रेसका उम्मेदवारले अलि बढी मत पाए । लगभग दश वटा यस्ता सिट छन्, जहाँ काङ्ग्रेसका कारण आम आदमी पार्टीका उम्मेदवार हारेका देखिए ।”

यस चुनावमा आम आदमी पार्टीका धेरै ठूला नेताले चुनाव हारेका छन् । अरविन्द केजरीवाल आफैँ नयाँ दिल्लीबाट भारतीय जनता पार्टीका प्रवेश वर्मासँग चार हजारभन्दा बढी मतले पराजित भएका छन् । जङ्गपुरा सिटबाट आप उम्मेदवार मनीष सिसोदिया र पटपडगञ्ज सिटबाट आप उम्मेदवार अवध ओझा पनि हारे ।

अब आम आदमी पार्टीको भविष्यको बारेमा प्रश्न उठ्छ कि दिल्ली हारेपछि केजरीवालले आफ्नो पार्टीलाई कसरी अगाडि बढाउनेछन् ?

यसबारे टन्डनले भनिन्, “केजरीवालमाथि पनि दक्षिणपन्थी राजनीति अपनाएको आरोप लागेको छ । सत्ताले विचारधारा सिर्जना गर्दछ । काङ्ग्रेसको पनि उस्तै समस्या छ, जबसम्म यो सत्तामा थियो, सबै नेताहरू एकसाथ थिए, तर पार्टी सत्ताबाट बाहिरिने बित्तिकै धेरै ठूला नेताहरू भाजपामा सामेल भए । भाजपाको राजनीतिले अब आम आदमी पार्टीलाई कमजोर पार्न प्रयास गर्नेछ ।”

टन्डनले भनिन्, “मलाई लाग्छ अरविन्द केजरीवालको लागि अगाडिको बाटो धेरै कठिन हुनेछ ।”

यसबारे वन्दिता मिश्राले भनिन्, “हामी भन्न सक्दैनौँ कि आम आदमी पार्टीका लागि विकल्पहरू सकिएका छन् । अब आम आदमी पार्टीले सोच्नुपर्नेछ कि उनीहरूले गरेका केही कामहरू सही थिए र यही कारणले गर्दा उनीहरूसँग अझै पनि ४० प्रतिशतभन्दा बढी भोट सेयर छ । सबैको नजर दिल्लीमा छ र तपाईंले जे गर्नुहुन्छ त्यसको देशभरि चर्चा हुनेछ । त्यसैले उनीहरूले क्यामेरा बिना नै आफ्ना कमजोरी सच्याउनु पर्छ ।”

चुनाव जितेपछि भाजपाको चुनौती

यस चुनावमा भाजपाले यस्ता धेरै वाचा गरेको छ, जसमा जनताले विश्वास देखाएका छन् । तर, चुनाव जितेपछि कुनै पनि दलका लागि चुनौती आउँछन्, जस्तै- गरिएका वाचा पूरा गर्ने । यस्तो अवस्थामा भाजपासामु धेरै चुनौती खडा हुन्छ ।

यसबारे टन्डन भन्छिन, “भाजपाको लागि पहिलो चुनौती भनेको उनीहरूले आफ्नो मुख्यमन्त्री कसलाई बनाउने भन्ने हुनेछ । दोस्रो ठूलो चुनौती भनेको उनीहरूले नि:शुल्कका धेरै वाचा गरेका छन्, जुन उनीहरूले पूरा गर्नुपर्नेछ । यसबाहेक भाजपाले यमुना सफाइको सन्दर्भमा पनि चुनौतीको सामना गर्नेछ ।”

यसबारे देशमुखले भने, “मानिसहरूले अझै पनि नागरिक शासनलाई महत्त्व दिन्छन् । लाभार्थी योजनाहरूलाई कायम राख्नुपर्छ, किनकि देशको एउटा ठूलो भागलाई यी योजनाको एकदमै आवश्यक छ । १०-१२ वर्ष पहिले कसैले वास्ता नगरेको मध्यम वर्ग अहिले नयाँ जाति बनेको छ र तिनीहरूलाई बेवास्ता गर्नेहरू समस्यामा पर्न सक्छन् ।”

चुनावले पञ्जाब र राष्ट्रिय राजनीतिमा पार्ने प्रभाव

ट्रिब्युनकी सहसम्पादक अदिति टन्डनले भनिन्, “अरविन्द केजरीवालले देखाएको सपना थियो कि शिक्षित, युवाले पार्टी बनाएर दिल्लीको राजनीतिमा प्रभाव पार्न सक्छन्, यो चुनावको नतिजाले त्यो चकनाचुर पारेको छ । एक दशकदेखि यो सपनाबाट प्रेरित जनता अब निराश छन् ।”

पञ्जाबको राजनीतिको बारेमा अदितिले भनिन्, “पञ्जाब एउटा यस्तो राज्य हो, जुन बुझ्न धेरै गाह्रो छ । भाजपाले पञ्जाबमा दिल्लीको जस्तो नतिजा दोहोर्‍याउन सक्दैन, किनकि पञ्जाबका समस्या र जनता धेरै फरक छन् । जबसम्म भाजपाले पञ्जाबको पहिचान र कृषिका मुद्दा सम्बोधन गर्दैन, त्यहाँ भाजपाको लागि प्लेटफर्म सिर्जना गर्न धेरै गाह्रो हुनेछ ।”

टन्डनले काङ्ग्रेसको बारेमा भनिन्, “दिल्लीको लागि काङ्ग्रेसको रणनीति पञ्जाबको लागि पनि उस्तै थियो । आम आदमी पार्टीको हार स्पष्ट रूपमा देख्न सकिन्छ, तर काङ्ग्रेसले आफैँ चुनाव लड्यो र उनीहरू तयार छन् भन्ने सन्देश दियो । अब पञ्जाबमा आम आदमी पार्टीको पतनबाट काङ्ग्रेसलाई फाइदा हुनेछ, भाजपा वा अकाली दललाई होइन ।”

लोकसभा चुनाव सँगै लडेका आम आदमी पार्टी र काङ्ग्रेसले विधानसभा चुनाव छुट्टाछुट्टै लडे । यद्यपि, यस चुनावमा ‘इन्डिया’ गठबन्धनका धेरै दलले आम आदमी पार्टीलाई समर्थन दिएका थिए । अब प्रश्न उठ्छ कि के यो चुनावको नतिजाले ‘इन्डिया’ गठबन्धनलाई पनि असर गर्छ ?

यसबारे वन्दिता मिश्रा भन्छिन्, “इन्डिया गठबन्धनको छवि यस्तो छ कि यसमा फरकफरक स्वार्थ भएका फरकफरक दल छन् । काङ्ग्रेसबाहेक सबै क्षेत्रीय दलले अब प्रश्न उठाइरहेका छन् कि जब काङ्ग्रेसले जमिनमा भोट पाउन सकिरहेको छैन भने यो गठबन्धनको नेतृत्व किन गरिरहेको छ ।”

उनले भनिन्, “हालैका चुनावमा क्षेत्रीय दलहरूले भाजपाको सामना गरिरहेका देखिए, जबकि काङ्ग्रेस उनीहरूको अगाडि मुख्य दल थियो । यसले क्षेत्रीय दलहरूको काङ्ग्रेसप्रति आक्रोश बढाइरहेको छ कि यदि तपाईं ग्राउन्डमा आफ्नो मत प्राप्त गर्न सक्नुहुन्न भने कुन आधारमा गठबन्धनको नेतृत्व गर्दै हुनुहुन्छ । लोकसभा चुनावपछि यो गठबन्धनमा आएको ऊर्जा दिल्ली चुनावको नतिजापछि घट्नेछ ।”

अब के गर्लान् केजरीवाल ?

गुजरात विश्वविद्यालयका सामाजिक विज्ञानका प्राध्यापक गौरांग जानी भन्छन्, “दिल्लीमा आम आदमी पार्टीमाथि ब्रेक लगाउनुको पनि प्रतीकात्मक अर्थ छ । यो अयोध्यामा भाजपा हारेजस्तै हो । केजरीवालले जितेका भए उनले भाजपाले आफूलाई भ्रष्टाचारको मुद्दामा फसाएको भन्न हिम्मत गर्ने थिए, तर अब उनी त्यो भन्न सक्ने अवस्थामा छैनन् ।”

प्रोफेसर जानी थप्छन्, “केजरीवालले अब सोच्नुपर्नेछ – भाजपासँग लड्ने कि काङ्ग्रेससँग ? केजरीवालले देशभर काङ्ग्रेसलाई कमजोर बनाएका छन् । गुजरातको पछिल्लो विधानसभा चुनाव हेर्ने हो भने यसले भाजपालाई मात्र फाइदा पुर्‍यायो । आम आदमी पार्टीको राजनीति वैचारिक रूपमा भ्रमित छ । यो हारपछि सायद उनीहरूले आफ्नो लाइन स्पष्ट पार्न सक्छन् ।”

केही मानिसले अरविन्द केजरीवाललाई नरेन्द्र मोदीको चुनौतीकर्ताका रूपमा हेरेका थिए । केही राजनीतिक विश्लेषकको विश्वास थियो – केजरीवालले शासनको मुद्दामा भाजपाको बहुसंख्यकवादको राजनीतिको राम्रोसँग प्रतिवाद गरिरहेका थिए ।

जेएनयूका राजनीतिशास्त्रका सहप्राध्यापक सुधीर कुमार भन्छन्, “केही मानिस केजरीवाल बहुसङ्ख्यकवादको राजनीतिमा आफ्नो स्थान बनाउन खोजिरहेका थिए भन्ने विश्वास गर्थे । तर मलाई विश्वास छ – केजरीवालले शासनको मुद्दामा भाजपाको बहुसङ्ख्यकवादी राजनीतिको राम्रोसँग प्रतिवाद गरिरहेका थिए ।”

उनी थप्छन् “केजरीवालको हारपछि यो सवाल ठूलो बनेको छ – अब बहुसङ्ख्यकवादको राजनीतिको प्रतिवादका लागि अर्को कुन उपयुक्त तरिका अपनाउन सकिन्छ ? भाजपाले अब हिन्दुत्व र शासन दुवैलाई सँगै बोकेको छ । यस्तो अवस्थामा विपक्षीसँग यो राजनीतिलाई चुनौती दिने धेरै हतियार देखिँदैन ।”

सुधीर कुमार यो हारपछि अरविन्द केजरीवालले राजनीतिमा आफूलाई सान्दर्भिक बनाउन धेरै सङ्घर्ष गर्नुपर्ने बताउँछन् ।

-बीबीसी हिन्दीबाट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register