केयूको उपकुलपति नियुक्ति कार्यविधि र प्रक्रिया एकातिर, दबाब अर्कातिर
काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिको प्रक्रिया जारी रहेकै समयमा तीनजना विद्धत व्यक्तिहरूका नाममा एक विज्ञप्ति सार्वजनिक भएको छ । तर नियुक्ति प्रक्रियालाई छिटो टुंग्याउन आह्वान गरिएको उक्त विज्ञप्तिमा कार्यविधि र जारी प्रक्रियालाई भने अनदेखा गरिएको छ । विश्वविद्यालयको उपकुलति नियुक्तिका लागि गठित खोज तथा सिफारिस समितिले कार्यविधिअनुसार दुईदुई पटक दरखास्त माग गरेर २० जनाको दरखास्त […]

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिको प्रक्रिया जारी रहेकै समयमा तीनजना विद्धत व्यक्तिहरूका नाममा एक विज्ञप्ति सार्वजनिक भएको छ । तर नियुक्ति प्रक्रियालाई छिटो टुंग्याउन आह्वान गरिएको उक्त विज्ञप्तिमा कार्यविधि र जारी प्रक्रियालाई भने अनदेखा गरिएको छ ।
विश्वविद्यालयको उपकुलति नियुक्तिका लागि गठित खोज तथा सिफारिस समितिले कार्यविधिअनुसार दुईदुई पटक दरखास्त माग गरेर २० जनाको दरखास्त स्वीकृत गरी १० जनाको संक्षितप्त सूचीसमेत प्रकाशित गरिसकेको छ ।
सिफारिस समितिले पहिलोपटक पुस १८ मा जारी सूचनाबाट १६ जना र दोस्रोपटक म्याद थप गरी माघ १८ मा जारी सूचना बाट थप ४ जनाको दरखास्त स्वीकृत गरेको थियो । त्यसमध्येबाट सिफारिस समितिले १० जना उम्मेदवारको संक्षिप्त सूची जारी गरी प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि मिति र समयसमेत तोकिसकेको छ । समितद्वारा जारी सूचीमा क्रमश: अच्युत वाग्ले, कन्हैया झा, जनार्दन लामिछाने, बालचन्द्र लुँइटेल, विभूति रञ्जन झा, वेदमणि दाहाल, भोला थापा, राजेन्द्र प्रसाद कोजु, श्याम नारायण लाभ र सुबोध शर्माको नाम छ ।

सिफारिस समितिले सूचना जारी गरी यसमध्ये क्रम संख्या १ देखि ५ सम्मका उम्मेदवारहरूलाई फागुन २ गते शुक्रवार बिहान १० बजे र क्रम संख्या ६ देखि १० सम्मका उम्मेदवारहरूलाई सोही दिन दिउँसो २ बजेका प्रस्तुतीकरणका लागि मिति र समय तोकेको छ ।
यस्तै त्यसको भोलिपल्ट ३ गते शनिवार बिहान १० बजे क्रम संख्या १ देखि ५ सम्मका उम्मेदवारहरू र दिउँसो २ बजे क्रम संख्या ६ देखि १० सम्मका उम्मेदवारहरूलाई अन्तर्वार्ताको लागि मिति र समय तोकेको छ ।
तर यस सूचनाबारे बेखबरजस्तै बनेर मंगलबार केदारभक्त माधेमा, कमलकृष्ण जोशी र नवीनप्रकाश जंग शाहले उपकुलपतिको नियुक्तिमा अनावश्यक ढिलासुस्ती भइरहेको भन्दै विज्ञप्ति सार्वजनिक गरेका हुन् । समितिले १० जनाको संक्षिप्ति सूची जारी गरेको विषयलाई नजरअन्दाज गर्दै उनीहरूले तीनजनाको नाम सिफारिस भइसकेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
“खोज तथा सिफारिस समितिको बैठकले दुवै सूचनाबाट प्राप्त एवं स्वीकृत उमेदवारहरूको बीचबाट तीन जनाको नाम सिफारिस गरी पठाइसकेपछि पनि त्यस सिफारिसबाट नियुक्ति नगरी पूनर्विचारका लागि समितिमा फिर्ता पठाएपछि उच्चशिक्षामा संलग्न र चासो राख्ने सबै सशंकित हुनु स्वाभाविकै हो,” उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, “उक्त विश्वविद्यालयलाई राजनैतिक हस्तक्षेपबाट समस्याग्रस्त पार्ने काम तुरुन्त बन्द गरी उपकुलपतिको नियुक्ति अविलम्ब गर्न हामी सबैलाई आह्वान गर्दछौँ ।”

जबकि, कार्यविधिको दफा ५ को उपदफा २ मा निर्धारित समयावधिमा १० जनाभन्दा बढी व्यक्तिको दरखास्त पेश हुन आएमा समितिले संक्षिप्त प्रकाशित गर्ने र सो सूचीमा परेका उम्मेद्वारलाई मात्रै त्यसपछिको मूल्यांकमा समावेश गर्ने स्पष्ट उल्लेख छ ।

यद्यपि, देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका विद्धत व्यक्तिका नाममा जारी भएको उक्त विज्ञप्तिमा तीन जनाको नाम उल्लेख भएपनि हस्ताक्षर भने एकजनाको मात्रै छ ।
What's Your Reaction?






