राप्ती नदीबाट पर्सा र बारामा पानी आपूर्ति सम्भाव्यता अध्ययन गरिने
काटमाडौं । नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तरगतको खानेपानी तथा ढल व्यवस्थापन विभागले हेटौँडाको राप्ती नदीबाट पर्सा र बारा जिल्लामा पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्ने भएको छ । यसको लागि विभागले परामर्शदाताहरूबाट आशय पत्र (टेन्डर) आह्वान गरेको छ । खानेपानी मन्त्री प्रदीप यादवको परिकल्पना र पहल अनुसार विभागले पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्न परामर्शदाताहरूलाई एक सूचना […]

काटमाडौं । नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तरगतको खानेपानी तथा ढल व्यवस्थापन विभागले हेटौँडाको राप्ती नदीबाट पर्सा र बारा जिल्लामा पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्ने भएको छ । यसको लागि विभागले परामर्शदाताहरूबाट आशय पत्र (टेन्डर) आह्वान गरेको छ ।
खानेपानी मन्त्री प्रदीप यादवको परिकल्पना र पहल अनुसार विभागले पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्न परामर्शदाताहरूलाई एक सूचना प्रकाशित गरी टेन्डर आह्वान गरिएको विभागले जनाएको छ ।
यसैगरी जलवायु परिवर्तनका कारण नेपालको पानी स्रोतहरूमा गम्भीर असर परेको तथा विशेष गरी तराई क्षेत्रमा भू–जलको सतह घट्दै गएको, मधेस प्रदेशका जिल्लाहरू, विशेष गरी पर्सा र बारामा लामो समयदेखि खानेपानीको समस्याबाट ग्रसित रहेका तथा तराई मधेसका क्षेत्रहरूमा खानेपानीको समस्या उत्पन्न भएकोमा त्यसको समाधान गर्न यो अध्ययन गर्न लागिएको विभागले जनाएको छ ।
राप्ती नदीबाट पर्सा र बारा जिल्लाका लागि पानी स्थानान्तरण अध्ययन स्थानीय जलस्रोत अभावको दीर्घकालीन समाधान गरी जलस्रोतको दिगो उपयोग गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न महत्त्वपूर्ण रहने मन्त्री यादवले बताए ।
उनले भने, “यो अध्ययनले उपयुक्त प्रविधि, लागत, वातावरणीय प्रभाव तथा सम्भाव्यताका अन्य पक्षहरू पहिचान गर्न मद्दत गर्नेछ । जसले भविष्यमा विस्तृत अध्ययन तथा कार्यान्वयनको आधार तयार गर्नेछ ।”
उनले हालको खानेपानी आपूर्ति प्रणाली भरपर्दो नभएको र गर्मी मौसममा थप सङ्कट देखिन थालेका कारण अन्तर–बेसिन जल स्थानान्तरण वा अन्य वैकल्पिक उपायहरू अन्वेषण गर्नु आवश्यक रहेको बताए ।
What's Your Reaction?






