भारतमा नेपाली छात्राको मृत्यु : उजुरीको भएन सुनुवाइ, न्याय माग्दा ज्यादती

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालले करिब चार हप्ताअघि नै आफूले भोगिरहेको दुर्व्यवहारबारे कलेज प्रशासनलाई लिखित जानकारी गराएकी थिइन् । उनले सोही कलेजकै विद्यार्थी अद्विक श्रीवास्तवले आफूलाई दुर्व्यवहार गर्ने गरेको भन्दै मद्दत मागेकी थिइन् । तर, कलेज प्रशासनले उनको निवेदनलाई गम्भीरतापूर्वक लिएन । बी.टेक तेस्रो वर्षमा […]

Feb 17, 2025 - 12:09
 0
भारतमा नेपाली छात्राको मृत्यु : उजुरीको भएन सुनुवाइ, न्याय माग्दा ज्यादती

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालले करिब चार हप्ताअघि नै आफूले भोगिरहेको दुर्व्यवहारबारे कलेज प्रशासनलाई लिखित जानकारी गराएकी थिइन् ।

उनले सोही कलेजकै विद्यार्थी अद्विक श्रीवास्तवले आफूलाई दुर्व्यवहार गर्ने गरेको भन्दै मद्दत मागेकी थिइन् । तर, कलेज प्रशासनले उनको निवेदनलाई गम्भीरतापूर्वक लिएन । बी.टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृतिलाई केआईआईटी कलेजमै मेकानिकल पढिरहेका श्रीवास्तवले निरन्तर दुर्व्यवहार गर्दथे ।

त्यसबारेमा जानकारी गराउँदा पनि कलेज प्रशासनले चासो लिएन । १६ फेब्रुअरी (४ फागनु) को दिउँसो होस्टलमा प्रकृति मृत अवस्थामा फेला परिन् । परिवार र नेपाली विद्यार्थीलाई जानकारी नदिइ होस्टलका वार्डेन र सुरक्षा गार्डले प्रकृतिको शव चलाए । शङ्कास्पद मृत्यु भएको अवस्थामा प्रहरीको उपस्थिति र प्रहरीले प्रमाण सङ्कलन नगरिकन शव चलाउन पाइँदैन ।

नेपाली विद्यार्थीहरुले प्रहरीमा दिएको निवेदनअनुसार उनीहरूले घटना घटेको दिन दिउँसो साढे ४ बजेतिर प्रकृतिको मृत्यु भएको थाह पाएका थिए ।

नेपाली विद्यार्थीको मृत्यु भएको र होस्टल/कलेज प्रशासनले प्रहरीको उपस्थिति बेगर नै शव चलाएपछि केआईईटीमा अध्ययनरत नेपाली विद्यार्थी आक्रोशित बने । उनीहरूले कजेल प्रशासन र होस्टल प्रशासनले लापरबाही गरेको आरोप लगाए ।

प्रकृतिले आफूमाथि भइरहेको दुर्व्यवहारबारे जानकारी गराउँदा पनि प्रशासनले गम्भीरतापूर्वक नलिएको भन्दै विरोध गरे ।

नेपाली विद्यार्थीहरूले प्रकृतिको फोनको प्रहरीले फरेन्सिक जाँच गर्नुपर्ने माग राखे । साथै, प्रकृति बस्ने होस्टलको सीसीटीभी फुटेज जाँच गर्नुपर्ने, प्रकृतिसँगै होस्टलमा बस्ने साथिहरूको बयान लिनुपर्ने, प्रकृतिले दिएको निवेदनमा कारबाही नगरेकोमा कलेज प्रशासनमाथि कारबाही गर्नुपर्ने, आरोपित युवकको विवरण सार्वजनिक गर्नुपर्ने, नेपाली विद्यार्थीहरूका लागि कलेजमा छुट्टै प्रतिनिधि राख्नुपर्ने र महिला विद्यार्थीको सुरक्षार्थ महिला सेल बनाउनुपर्ने माग राखे ।

होस्टलका वार्डेन र सुरक्षा गार्डले प्रहरीको अनुपस्थितिमा नै प्रकृतिको शव चलाएको हुँदा उनीहरुलाई कारबाही गर्नुपर्ने लगायतका माग पनि राखेका थिए ।

यी माग राखेपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरूमाथि सुरक्षा गार्ड लगाएर हातपात गर्न सुरु गर्‍यो । सुरक्षा माग गरिरहेका नेपाली विद्यार्थीलाई नै कलेज प्रशासनले प्रहरी लगाएर पक्राउ गर्ने धम्की दिएको भिडिओ नेपाली विद्यार्थीहरूले सार्वजनिक गरेका छन् ।

भिडिओमा देखिएअनुसार कलेज प्रशासनले नेपाली विद्यार्थीलाई धम्काउँदै भन्छ – “तिमिहरु यहाँबाट गएनौँ भने प्रहरी लगाएर तिमीलाई समात्ने छौँ । तिमीहरूले हामीलाई दुःख दिएका छौ । तिमीहरू को होऊ हामीलाई सोध्ने ? ४० हजार बच्चाहरु यहाँ छन्, मेरो इन्सिच्युटमा ।”

नेपाली विद्यार्थीलाई शान्त बनाउँदै उनीहरूका माग सुन्नुको सट्टा कलेज प्रशासनले विद्यार्थीहरूलाई बसमा कोचेर रातारात रेलवे स्टेशन पुर्‍यायो । करिब १४ सयभन्दा बढी नेपाली विद्यार्थीलाई कलेज प्रशासनले कलेज र होस्टलबाट जर्बजस्ती उठाएर भुवनेश्व र कटक रेलवे स्टेशनमा छाड्यो ।

यतिखेर नेपाली विद्यार्थीहरू रेलवे स्टेशनमा अलपत्र छन् । रेलवे स्टेशनमा रहेका एकजना नेपाली विद्यार्थी भन्छन् – “हामीसँग यतिखेर न त पैसा छ, न टिकट । हामी कहाँ जाने ?”

सोमबार केआईआईटी कलेजले विज्ञप्ति नै निकालेर नेपाली विद्यार्थीलाई होस्टल र कलेज तत्काल छाड्न निर्देशन दिइसकेको छ ।

रेलवे स्टेशनमा रहेका नेपाली विद्यार्थीहरूलाई भेट्न पुगेका अखिल भारतीय विद्यार्थी परिषद्का ओडिसा सचिव बुद्धदेव वागले नेपाली विद्यार्थीलाई कलेज फर्काउन कलेज प्रशासनसँग संवाद सुरु गरिएको बताए ।

“हामी मृतक विद्यार्थीप्रति गहिरो समवेदना प्रकट गर्दछौँ । नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालेर स्टेसनमा राखेर विश्वविद्यालयले गरेको अमानवीय क्रियाकलापको अखिल भारतीय विद्यार्थी परिषद् घोर भर्त्सना गर्दछ र यस्तो गर्नेलाई तत्काल कारबाही गर्न माग गर्दछ,” उनले नेपालभ्युजसँग भने ।

तर, कलेजले विद्यार्थीहरूलाई अझै फिर्ता बोलाएको छैन । ओडिसा प्रहरीले प्रकृतिमाथि दुर्व्यवहार गर्ने युवकलाई पक्राउ गरिसकेको छ । यसबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाली विद्यार्थीको मृत्यु र विद्यार्थी निकालिएको विषयमा कूटनीतिक च्यानलबाट बुझिरहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register