जर्मन चुनावमा उत्साही उग्रदक्षिणपन्थी विडेल : सत्तामा अवरोध अन्त्य हुने आशा
मस्कले समर्थन गरेका ट्रम्पले अमेरिकामा चुनाव जिते । यही परिदृश्य जर्मनीमा पनि दोहोरिनसक्ने कतिपयको आकलन छ । सत्तामा आउने छनक भएरै होला विडेलले आफ्नो कार्यालयमा 'मेक जर्मन ग्रेट अगेन'को क्याप राखेकी छन् ।

क्रिसमसको केहीदिन अघि इलोन मस्कको ट्वीट थियो, ‘अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले मात्रै देशलाई बचाउन सक्छ । एएफडीले यो ट्वीटलाई विशेष उपहारका रूपमा लियो । सुरुवातमा पार्टीकी नेतृ एलिस विडेलले उक्त ट्वीट फर्जीझैँ मानेकी थिइन् । आफ्नो सचिवालयलाई ट्वीट साँचो हो वा होइन जाँच गर्न लगाइन्, जब सचिवालयले ट्वीट मस्ककै रहेको प्रमाणित गर्यो विडेल निकै उत्साहित भइन् । आफ्नो उत्साह व्यक्त गर्दै उनी भन्छिन्, ‘म झण्डै कुर्सीबाट खसेको थिएँ ।’
शक्तिशाली व्यक्तिबाट पहिलोपटक समर्थन प्राप्त गरेपछि एएफडी उत्साही भएको हो । सरकारी खर्च कटौती, सीमा बन्द र युरोपेली युनियनबाट बाहिरिने एजेण्डासहित सन् २०१३ मा गठन भएको एफडीलाई यसअघि यस्तो समर्थन थिएन । संसद्मा कमजोर र सङ्घीय सरकारमा भूमिकाविहीन थियो एएफडी । जर्मनीको चुनावमा उसको चर्चा निकै बढी छ । उसका समर्थक जर्मनीलाई बचाउने दलका रूपमा लिन्छन् । धेरैले भने एएफडीले जर्मनीलाई बचाउनेभन्दा पनि थप शर्मनाक स्थितिमा पुर्याउने आशङ्का गर्छन् ।
ट्रम्प प्रशासनलाई एएफडीका यस्ता कुनै अभिव्यक्तिले फरक पारेको छैन । फेब्रुअरीको मध्येमा उपराष्ट्रपति जेडी भान्सले म्युनिख सुरक्षा सम्मेलनमा पुगेका बेला विडेलसँग भेट गरेका थिए । सुरक्षा सम्मेलन भइरहेको भवनमा एएफडीलाई निमन्त्रणा थिएन । दुई जनाले वेस्टिन ग्रान्डमा बैठक गरे ।
युरोपेली संस्थापनका लागि भान्सको सन्देश ‘वेक अप कल’ बन्यो । दक्षिणपन्थी धारलाई राजनीतिको मूल प्रवाहबाट बाहिरै राख्ने युरोपेली नीतिको पक्षमा अमेरिकाले साथ नदिने सन्देश भान्सको थियो । म्युनिखको सुरक्षा सम्मेलनको बैठकमा पनि उनले युरोपेली नीतिको विरोध गरे । ‘राजनीतिक प्रक्रियाबाट मानिसहरूलाई बाहिर राखेर केही कुराको पनि रक्षा हुँदैन’, भान्सले भने, ‘यो केवल लोकतन्त्र मास्ने कदम मात्र हुनेछ ।’
युरोपका मुख्य राजनीतिक दलका निम्ति भान्सको भाषण चकित मात्रै नभएर चिन्तित तुल्याउनेखालको थियो । कसैले यसलाई जर्मनीको चुनावमा अमेरिकी हस्तक्षेपको जघन्य कार्य भने । चुनावमा एएफडी दोस्रो स्थानमा आउने आकलन भइरहेको छ । जर्मन जनताको साथको परिणाम आउन त बाँकी नै छ । परिणाम जस्तोसुकै आएपनि एउटा कुरा पक्का छ, यो दल ट्रम्प प्रशासनको समर्थनसहित संसद् छिर्नेछ ।
ट्रम्प प्रशासनले आफूप्रति गरेको समर्थनलाई विडेलले अविश्वसनीय मात्रै भनिनन्, गौरवपूर्ण पनि बताइन् । ‘यो समर्थन अविश्वसनीय र गौरवपूर्ण छ,’ उत्साहप्रद देखिने उनको स्वर चर्को थियो । ट्रम्प प्रशासनले एएफडीलाई समर्थन गर्नुपछिको कारण सोध्दा उनले सानो स्वरमा भनिन्, ‘उनको सहयोगको कारण नितान्त व्यक्तिगत हुनसक्छ । ट्रम्पका हजुरबुवा फ्रेडरिक १८०० को दशकमा जर्मनीबाटै अमेरिका गएका थिए । आफ्नो हजुरबुवाको महादेश र उद्गम थलोमा भएका गतिविधिमा चासो राखेका हुन्,’ उनले भनिन् ।
एPफडीप्रति ट्रम्पको सहानुभूति र समर्थनमा दुवैको समान आक्रोश कारक छ । ट्रम्प र उनको नीतिमा समर्थन गर्नेहरूलेझैँ एएफडीले पनि राष्ट्रको महानताको पुनरागमन वाचा गरेको छ । उदारवादीहरूको शासन खोस्ने उसको उद्देश्य छ ।
ट्रम्पले जर्मनको संस्थापनलाई होच्याउने अर्को कारण पनि छ । दशकदेखि उसले उत्तर एटलान्टिक सैन्य सङ्गठनमा निकै कम योगदान गरेको भन्दै ट्रम्प बिच्किएका छन् । जर्मनीले मुस्लिम आप्रवासीलाई अधिक भित्र्याएकोमा पनि ट्रम्प आक्रोशित छन् । जर्मनीका संस्थापकसँग ट्रम्प रिसाउनुको अर्को कारण हो एएफडीप्रति उनीहरूको व्यवहार । उग्र दक्षिणपन्थी धारलाई निषेध गरेर स्वतन्त्रता र लोकतन्त्रबारेको आफ्नै नीतिलाई युरोपेली संस्थापनले चुनौती दिइरहेको ट्रम्पको मत छ ।
भान्सले पनि दक्षिणपन्थी राजनीतिप्रतिको अवरोधलाई भत्काउनुपर्ने सन्देश दिएको विडेलले बताइन् । ‘हामीले अब यो अवरोधलाई भत्काउनुपर्नेछ,’ विडेलले भनिन्, ‘अभिव्यक्ति स्वतन्त्रताको बाटो खोल्नुपर्नेछ ।’
अरूको लागि के होला, तर भान्ससँगको भेटपछि विडेलका लागि बाटो खुलिसकेको छ । पहिलोपटक एएफडीको चान्सलर उम्मेदवारलाई सार्वजनिक प्रसारणले स्थान दिएका छन् । टिभी बहसमा विडेल सहभागी भइन् । मञ्चको लहरमा तीन पुरुष प्रतिद्वन्दी थिए । प्रतिद्वन्दीले एएफडीको विचार र उनको चर्को विरोध गरेका थिए । आफूमाथिको व्यवहारलाई अनुचित भन्दै उनी रक्षात्मक देखिन्थिन् ।
आप्रवासीप्रति एएफडीको विचार अङ्गीकार गर्दै आएका कन्जरभेटिभका फ्रिडेच मर्जले सरकारमा एएफडीलाई कुनै स्थान नदिने बताए । एएफडीविरुद्धको अवरोध जारी रहने उनको मत थियो । उनको अभिव्यक्तिप्रति विडेल आक्रोशित भइन् । ‘हाम्रै कार्यक्रम सारेर हाम्रै विरोध । वामपन्थी घटकसँग सहकार्य नगरी उनले सरकार पनि बनाउन सक्दैनन्,’ उनले भनिन् । उनको यो आक्रोशमा कटाक्ष पनि मिसिएको छ ।
आप्रवासीप्रति असहिष्णु विडेल
एएफडीमा उनको भूमिका निकै लामो छ । अर्थशास्त्रमा विद्यावारिधि गरेकी उनले लगानी बैङ्क गोल्डम्यान स्याक्समा पनि काम गरेकी छिन् । आप्रवासन, राष्ट्रिय पहिचान र लैङ्गिक सवालमा पश्चगमन नीति बोकेको एएफडीका लागि विडेल निकै आधुनिक छन् । एएफडीको आधिकारिक दस्तावेजमा परिवार भन्नाले बाबु आमा र सन्तान बुझ्नुपर्ने भनेको छ । तर, वlडेल स्वयं पार्टीको यो परिभाषाभित्र अटाउँदिनन् । उनको पार्टनर महिला छिन् । श्रीलङ्कन चलचित्र निर्मात्री सराह बोसर्ड विडेलकी पार्टनर हुन् । पहिलेका पतिबाट उनका दुई छोरा छन् र ति स्विट्जरल्याण्डमा अध्ययनरत छन् ।
यस विषयमा विडेल कुरा गर्नै चाहन्नन् । बरु जर्मनीको बाल्यकालको स्मरण गर्छिन् । टिनएजको समयमा आफू स्विमिङ जानै डराउने उनको अनुभव छ । आप्रवासी युवाले दुर्व्यवहार गर्नेभएकाले जान डराएको उनले टाइमसँग भनेकी छन् । ‘सानो गाउँमा पनि मुस्लिम आप्रवासीले ठूलै समस्या निम्त्याएका थिए । हाम्रा लागि ती घटना निकै दुखदायी थियो । मुस्लिमहरूको उच्च अनुपातले शान्तिपूर्ण वातावरणलाई असर पुर्याएको मेरो निष्कर्ष छ,’ उनी भन्छिन् ।
उनको यो निष्कर्ष पार्टीको दस्तावेजमा पनि उल्लेख छ । आप्रवासनबारे एएफडीको नीतिले भन्छ, ‘आप्रवासीहरूको सामूहिक निष्कासनका लागि बृहत् र आक्रामक नीति अवलम्बन हुनेछ ।’
नरसंहारको इतिहास र एएफडीप्रतिको भाष्यले सत्ताको नेतृत्व लिने चाहनामा अवरोध गरिरहेको छ । लाखौँ जर्मनहरूलेझैँ युद्धमा आफन्तले गरेको योगदानको महत्त्व विडेललाई पनि महसुस छ । नाजीसँग उनको परिवारको सम्बन्ध निकै घनिष्ठ छ । विडेलकी हजुरबुवा ह्यान्स जर्मनीले कब्जा गरेको पोल्याण्डमा खटिएका थिए । एडोल्फ हिटलरको ठाडो आदेशमा उनी त्यहाँ खटिएका थिए । नाजीहरूका दुश्मनलाई यातना शिविर पठाउने उनको मुख्य काम थियो । लाखौँ मानिसलाई त्यहाँ पुर्याइयो । अधिकांश यहूदी थिए । कतिपय कम्युनिस्ट र राजनीतिक बन्दी पनि मारिए ।
युद्धको अन्त्यतिर नाजीहरूलाई बर्लिनतिर पठाइयो । विडेलका बुवा जेराड ६ वर्षको हुँदा उनी त्यहाँबाट भाग्नुपर्यो । युद्धपछि अधिकांश भूभाग पोल्याण्डको नियन्त्रणमा आएपछि अहिलेसम्म जेराड आफ्नो बाल्यकालको घरमा गएका छैनन् । ८६ वर्षका उनी त्यहाँको घटनाले पिरोलिरहने बताउँछन् । ‘त्यहाँको त्रासदीले कहिलेकाहीँ उनलाई अझै पनि सताउँछ । सपनामा पनि बेलाबखत चिच्याउँदा मैले उनलाई धेरैपटक ब्युँझाएको छु,’ विडेल भन्छिन् ।
सन् १९४८ मा विडेलका बुवाले शरणार्थी जीवन बाँचेका थिए । हजुरबुवालाई तर्साइरहने इतिहासको त्रासदीबारे विडेलका छोरा पलले पनि चासो राख्छ्न् । ‘म मेरो छोरालाई युद्धको निकै अघिदेखिको इतिहास सुनाउँछु उसले बुझोस् विगतमा केके भएका थिए भन्ने बारे,’ उनी भन्छिन् ।
जर्मनीकी पत्रकार मिलेनी अमनले एएफडीका धेरै नेताहरू युद्धकालमा विस्थापित भएको देखिएको आफ्नो पुस्तकमा लेखेकी छिन् । पार्टीका धेरै नेताले मिलेनीसँग युद्धकालमा विस्थापनको कथा व्यथा सार्वजनिक गरेका छन् । आफूहरूका पीडा निषेधित रहेको नेताहरूको गुनासो छ ।
‘नेताहरूले पुस्तौँदेखि आफूहरू पीडित रहेको र लामोसमयदेखि यो पीडा भन्न नपाएको बताए । एएफडीको राजनीतिसँग जोड्दै उनले भनिन्, ‘दोस्रो विश्वयुद्धमा पराजयपछि जर्मनीलाई गरिएको व्यवहारले निकै पीडामा रहेका नेताहरू इतिहासको त्यो त्रासदीबाट मुक्त हुन चाहन्छन् । एएफडीमा बदलाभाव देखिन्छ ।’
उग्र दक्षिणपन्थी धारका दल सत्ताको विशेष निगरानीमा छन् । सबैभन्दा बढी निगरानी एएफडीमाथि छ । यसलाई जनताको समर्थन भने बढेको छ । सन् २०१७ मा विडेलले पहिलोपटक संसद्मा प्रवेश पाइन् । समकक्षी सांसदहरूले आफूसँग हिँड्नसमेत अस्वीकार गरेको उनी सुनाउँछिन् । नीति नियमबारेका छलफलमा आफूलाई सधैँ एक्ल्याएको उनको अनुभव छ । ‘यो नै अवरोध थियो । सांसदहरू मसँग बोल्दैनथे । उनीहरूले मेरो नभएर मेरा मतदाताको अपमान गरिरहेका थिए,’ उनले भनिन् ।
६ महिनाअघि उनले उग्र दक्षिणपन्थीप्रतिको व्यवहारबारे मस्कसँग गुनासो राख्ने मौका पाइन् । त्यसबखत वामपन्थी अधिकारकर्मीहरू मस्कको अटोमोबाइल साम्राज्य बर्लिनमा विस्तार हुन लागेको भन्दै विरोधमा उत्रिएका थिए । वामपन्थीले टेस्लाको प्लान्टमा अवरोध सिर्जना गर्न खोज्दा विडेलले मस्कलाई सहयोग गर्ने बताइन् । त्यसबेला मस्कले उनीसँग सीधा कुरा गरेनन् । तर, सन् २०२४ को उत्तरार्धतिर जर्मनीको राजनीतिमा मस्कको चासो बढ्न थाल्यो ।
मस्कले समर्थन गरेका ट्रम्पले अमेरिकामा चुनाव जिते । यही परिदृश्य जर्मनीमा पनि दोहोरिनसक्ने कतिपयको आकलन छ । जर्मनको कानुनले चुनावमा विदेशीको सहयोगमा प्रचारप्रसारलाई गैरकानुनी भन्छ । विडेलकाअनुसार मस्कले उनको दललाई पैसा दिएका छैनन् । तर, उनले एक्समार्फत चुनावलाई प्रभावित बनाउने गरी एएफडीलाई सहयोग गरेको भन्दै आलोचना भइरहेको छ ।
त्यतिमात्रै होइन मस्कले जर्मनीको अखबारमा एएफडी आशाको अन्तिम झिल्को भन्दै लामो आलेख छपाए । जनवरीको उत्तरार्धमा मस्कले विडेलसँग एक्समा लामो अन्तर्वार्ता गरे । ‘यदि तपाईंहरू वर्तमान अवस्थासँग असन्तुष्ट हो भने परिवर्तनका लागि मतदान गर्नुस्,’मस्कले भने, ‘मेरो तपाईंहरूलाई सुझाव छ एएफडीलाई मतदान गर्नुस् ।’
मस्कले यसको दुई सातापछि एएफडीको बैठकमा भिडिओ सम्बोधन गरे । उनको सम्बोधन दोस्रो विश्वयुद्धपछि जर्मनीको अवस्थाबारे केन्द्रित थियो । ‘जर्मन संस्कृति र मूल्यप्रति गौरवबोध गर्नु राम्रो हो । बहुसांस्कृतिक बन्ने बहानामा आफ्ना मौलिक मान्यता र संस्कृति लोप हुनुहुँदैन,’ उनले भने ।
हिनताबोधबाट माथि उठ्न उनले सुझाए । ‘त्यो परिस्थितिबाट अब अघि बढ्नैपर्छ । अभिभावकले गरेको अपराधमा सन्तानले हीनताबोध राख्नुहुँदैन,’ मस्कले भने ।
मस्कको यो टिप्पणीप्रति जर्मनका नेताहरूमा फरकफरक बुझाइ थियो । कसैले यसलाई चुनावमा हस्तक्षेप भने । कसैले निजी विचार भने । ट्रम्पले त्यसबेलासम्म मस्कलाई ह्वाइटहाउसमा कुनैपनि औपचारिक भूमिका दिएका थिएनन् । त्यसैले उनको अभिव्यक्ति ट्रम्प प्रशासनको विचार नरहेको रूपमा पनि धेरैले बुझेका थिए ।
तर, उपराष्ट्रपति भान्सले जब यस्तै कुरा म्युनिखमा बोले मस्कले प्रशासनकै प्रतिनिधित्व गरेका रहेछन् भन्ने निष्कर्षमा ति नेताहरू पुगे । भान्सले युरोपको सुरक्षा र लोकतन्त्रबारे राखेको विचारले जर्मनीसँगै युरोपेली नेताहरू झस्किए । ‘तिमीहरू आफ्नै मतदातासँग डराउँछौ भने अमेरिकाले तिमीहरूका लागि केही पनि गर्न सक्दैन । गठबन्धनमा फासिवादीहरूलाई सहभागी नगराएसम्म तिमीहरूको सुरक्षाका लागि हामी पनि केही गर्न सक्दैनौँ ।‘
युरोपेली युनियनकी उच्च कूटनीतिज्ञ कजा कलसले निर्वाचन प्रभावित बनाउने किसिमले अमेरिकाले अभिव्यक्ति दिएको बताइन् । ‘युरोपको निर्वाचनमा आफूपक्षलाई निर्वाचित गराउन रुसले सहयोग गर्दै आएको थियो । एएफडीलाई पनि उसले सहयोग गरेको छ । अब एएफडीले जितेमा रुसले भन्नेछ, यसमा हाम्रो हात छैन अमेरिकाको भूमिका छ,’ उनले भनिन् ।
एएफडी अमेरिकनसँग त्यति नजिक थिएन । यो दल चीनसँग निकट थियो । म्युनिख सुरक्षा सम्मेलनका प्रमुख कार्यकारी अधिकृत बेनेडिक फ्र्याङ्ले भनेका छन्, ‘यो दल अमेरिकी स्वार्थसँग कहीँ पनि मिल्ने खालको छैन । चीनसँग निकट दललाई सहयोग गर्दै अमेरिकाले गो चाइना गो भनेको हो ।’
चिनियाँ भाषामा विडेल पोख्त छिन् । आफ्नो करिअरको सुरुवातमा उनले बेइजिङमा बसेर त्यहाँको सरकारी बैङ्कमा काम गरेकी थिइन् । सन् २०१०को दशकको सुरुवातमा एङ्गेला मर्केलका गतिविधिपछि उनका कदमविरूद्ध आफूमा राजनीतिक जागरण बढेको विडेल बताउँछिन् । नेटो र युरोपेली युनियनको खरो रक्षक मर्केलले सन् २००९ मा नेटोको अफगानिस्तान मिसनमा सहयोग गर्नु उचित विकल्प नभएको बताएकी थिइन् । उनले अफगानिस्तान र सिरियाबाट शरणार्थी भित्र्याउने काम पनि गरिन् ।
उनका नीतिविरुद्ध लाग्ने दल सन् २०१३ मा उदायो र विडेल त्यसैवर्ष राजनीतिमा प्रवेश गरिन् । आफ्ना एजेण्डालाई फराकिलो बनाउन उनी धेरै भिडिन् । एएफडीका नेता बर्न हक घृणात्मक अभिव्यक्तिविरुद्धको कानुनको फन्दामा परिरहन्थे । सन् २०१७ मा पार्टीबाट उनलाई बर्खास्तीको अभियानको नेतृत्व गरिन् ।
यो निर्वाचनमा एएफडीले आफ्नो सिट बढाउने नीति लिएको छ । उसले सङ्ख्या बढाएपनि सरकारमा सहभागिताको सम्भावना निकै कम रहेको युरोपेली संसद्मा जर्मनका सदस्य सर्जेइ लेगोदिनस्की बताउँछन् ।
‘एएफडी गठबन्धन सरकारमा सहभागी हुँदैन भन्ने आकलन छ । तर, सिट सङ्ख्या बढाउँदा सरकारमा उनीहरूलाई रोक्न कठिन हुन्छ । यो परिस्थितिमा लोकतन्त्रमाथि नै प्रश्न उठ्छ,’ उनी भन्छन् ।
विडेल आफ्नो दलमाथिको अवरोध अब नरहने आशामा छिन् । उनले बहसमा सहभागी हुँदै लाखौँ मतदाताको समर्थन प्राप्त गरिसकेकी छिन् । ह्वाइटहाउस पनि उनको साथमा छँदैछ । सत्तामा आउने छनक भएरै होला उनले आफ्नो कार्यालयमा ‘मेक जर्मन ग्रेट अगेन’को क्याप राखेकी छन् । ‘जर्मनीमा धेरै वर्षदेखि गल्ती भए । ती गल्ती र त्रुटीलाई अब म सच्याउँछु,’ उनले टाइमसँगको संवाद टुङ्ग्याइन् ।
(जर्मनीमा आइतबार आम चुनाव भइरहेको छ । यसैसन्दर्भमा त्यहाँको पछिल्लो राजनीति बुझ्न सहयोगी हुने ठानेर यो सामग्री हामीले टाइम म्यागेजिनबाट भावानुवाद गरेका हौँ )
What's Your Reaction?






