क्यानडाका नयाँ प्रधानमन्त्री ट्रम्पसँग नझुक्ने, भन्छन्-अमेरिकामा कहिल्यै विलय हुँदैनौँ

कार्नी कहिल्यै राजनीतिज्ञ थिएनन् । उनले आजसम्म प्रतिनिधि सभाको निर्वाचन लडेका वा जितेका छैनन् । कार्नीको उदयलाई क्यानडाली राजनीतिको एक दुर्लभ घटना मानिएको छ ।

Mar 15, 2025 - 13:26
 0
क्यानडाका नयाँ प्रधानमन्त्री ट्रम्पसँग नझुक्ने, भन्छन्-अमेरिकामा कहिल्यै विलय हुँदैनौँ

काठमाडौं क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले आफूहरू कहिल्यै अमेरिकामा विलय नहुने बताएका छन् । कार्नीले भनेका छन्, ‘क्यानडा सबै आधारभूत दृष्टिकोणबाट अमेरिकाभन्दा अलग राष्ट्र हो । हामी अमेरिकाभन्दा बिल्कुलै फरक राष्ट्र हौँ । कहिल्यै विलय हुने छैनौँ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको ५१ औं राज्यको सञ्ज्ञा दिएर विलयका लागि बारम्बार धम्कीपूर्ण अभिव्यक्ति दिइरहेको सन्दर्भमा कार्नीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

ह्वाइट हाउसमा ट्रम्पको पुनरोदय र अमेरिका–क्यानडा सम्बन्ध बिग्रदै गएपछि तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा गरेका थिए । यही रिक्ततामा कार्नीको आकस्मिक उदय भएको हो ।

कार्नी प्रधानमन्त्री भएसँगै सत्तारुढ लिवरल पार्टीले नेतृत्व परिवर्तनको प्रक्रिया पूरा गरेको छ । जनवरी ६ मा जस्टिन ट्रुडोले पार्टी नेता र प्रधानमन्त्री दुवैबाट राजीनामाको घोषणा गरेका थिए । नयाँ पार्टी नेताका लागि भएको चुनावमा पूर्वबैङ्कर तथा केन्द्रीय बैङ्कका गभर्नर ५९ वर्षिय मार्क कार्नीले करिब ८६ प्रतिशत मत प्राप्त गरे ।

पार्टी नेताको चुनावमा उनले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री क्रिस्टिया फ्रिलैण्डलाई पराजित गरे । फ्रिलैण्ड करिब ८ प्रतिशत मतमा सीमित भइन । नेताको चुनावका लागि करिब १ लाख ५२ हजार पार्टी सदस्यले मतदान गरेका थिए । पार्टी नेतृत्वको लागि कार्नीले पाएको मतलाई ‘भीषण विजय’ मानिएको थियो ।

गत डिसेम्बरमा अर्थमन्त्री फ्रिलैण्डले राजीनामा गरेपछि प्रधानमन्त्री ट्रुडो राजनीतिक सङ्कटमा परेका थिए । त्यसमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि थप शुल्क लगाउने निर्णय गर्नुका साथै अमेरिकाको ५१ औं राज्य बन्न सार्वजनिक बयानबाजी गरेपछि ट्रुडो राजीनामा गर्ने मनस्थितिमा पुगे ।

मार्च १४, शुक्रबारदेखि कार्नी क्यानडाको २४ औं प्रधानमन्त्री भएका छन् । ट्रुडो सरकारका सङ्कटका आयाम र कारण नयाँ प्रधानमन्त्री मार्क कार्नीका लागि पनि कायमै छन् ।

ट्रम्पको २५ प्रतिशतको शुल्क प्रस्तावपछि ट्रुडोले त्यति नै बराबरको प्रतिरोध शुल्क लगाउने घोषणा गरेका थिए । यसलाई अमेरिका–क्यानडा व्यापार युद्ध मानिएको छ ।

नयाँ प्रधानमन्त्री कार्नीको सोच ट्रुडोको भन्दा खासै भिन्न देखिँदैन । उनले अमेरिकाले शुल्क नीतिमा पुनरावलोकन नगरेसम्म प्रतिरोध शुल्क कायमै राख्ने बताएका छन् ।

कार्नी आफ्नो कार्यकालमा अमेरिका र राष्ट्रपति ट्रम्पसँग सम्बन्ध सामान्यीकरण गर्ने पक्षमा छन् । तर, उनको एकोहोरो चाहनाले मात्र यो काम सम्भव हुने छैन । क्यानडामा भएको नेतृत्व परिवर्तनले ट्रम्पको सोच र नीतिमा परिवर्तन आउने निश्चित छैन ।

कार्नी अर्थशास्त्रमा अक्सफोर्डबाट विद्यावारिधि हुन् । कार्नीप्रतिको क्यानडाली जनताको मुख्य अपेक्षा उनले व्यापार युद्धको अनुकुलन र बिग्रदो आर्थिक स्थितिको सन्तुलन कायम गर्लान् भन्ने देखिन्छ ।

कार्नी सन् २००८ देखि २०१३ सम्म क्यानाडाको केन्द्रीय बैङ्कका गभर्नर थिए । उनी गभर्नर हुँदा विश्व वित्तीय सङ्कटको मारमा थियो । अमेरिका क्षेत्रमा वित्तीय सङ्कटको प्रभाव गहिरो थियो ।

कार्नीले कतिपय नीतिगत सुधारको सिफारिसमार्फत देशलाई वित्तीय सङ्कटबाट बाहिर निकाल्न भूमिका खेलेका थिए । उनको लोकप्रियताको मुख्य आधार यही थियो, जसले करिब १ दशकपछि देशको नयाँ नेता बनाएको छ ।

कार्नीको जीवनमा अर्को रोचक संयोग छ । उनी क्यानडाको मात्र हैन, सन् २०१३–२०२० बीच बेलायती केन्द्रीय बैङ्क अर्थात बैङ्क अफ इङ्ग्ल्याण्डका पनि गभर्नर भएका थिए । क्यानडा बेलायती राजतन्त्रको सर्वोच्चता स्वीकार गरेको देश हो । तर, कार्नी यस्तो जिम्मेवारी प्राप्त गर्ने पहिलो गैरबेलायती थिए ।

सन् २०२० पछि उनी प्रधानमन्त्री ट्रुडोका आर्थिक सल्लाहकार बनेका थिए । कार्नी कहिल्यै राजनीतिज्ञ थिएनन् । उनले आजसम्म प्रतिनिधि सभाको निर्वाचन लडेका वा जितेका छैनन् । कार्नीको उदयलाई क्यानडाली राजनीतिको एक दुर्लभ घटना मानिएको छ ।

३३८ सिटको क्यानडाली ‘हाउस अफ कमन्स’मा लिवरल पार्टीको १५३ सिट मात्र छ । पार्टीले गठबन्धन सरकारको नेतृत्व गरिरहेको छ । यस प्रकारले पनि कार्नी छिट्टै नयाँ चुनावमा जान बाध्य हुने छन् ।

प्रतिनिधि सभाको सदस्य बिनै प्रधानमन्त्री पदमा कायम रहन कार्नीलाई राजनीतिक अप्ठ्यारो पर्ने छ । सम्भवत छिट्टै उनले संसद् विघटन र नयाँ चुनावको घोषणा गर्न सक्नेछन् । क्यानडाली राजनीतिको मुख्य मुद्दा अब ट्रम्प नीतिसँगको सङ्घर्ष र व्यापार युद्ध हुनेछ ।

कार्नीले पार्टीभित्रकी प्रतिस्पर्धी फ्रिलैण्डलाई समेत नयाँ मन्त्रिमण्डलमा समावेश गरेका छन् । ट्रुडो सरकारमा उपप्रधान, अर्थ तथा विदेशमन्त्री रहिसकेकी फ्रिलण्ड नयाँ सरकारमा यातायात मन्त्री भएकी छन् । राजनीतिक चुनौती, आगामी निर्वाचन र बाह्य नीतिका चुनौतीलाई दृष्टिगत गर्दै कार्नीले पार्टीभित्रको एकतामा जोड दिएका छन् ।

कार्नीले भनेका छन्, ‘सबै प्रकारका चुनौतीको सामना गर्दै हामी क्यानडालाई अझ स्वच्छ, अझ समृद्ध, अझ समावेशी र योद्धा राष्ट्र बनाउने छौँ ।’

हालैका सर्वेक्षणमा सत्तारुढ लिवरल पार्टीको लोकप्रियता निकै घटेको थियो । उनी आउनासाथ पार्टीको लोकप्रियता पनि बढ्दै गएको छ । पार्टीको राजनीतिक भविष्यको रक्षा गर्नु कार्नीको कार्यभारभित्र पर्ने छ ।

विश्वभरिका नेताले क्यानडाका नयाँ प्रधानमन्त्री कार्नीलाई बधाई दिएका छन । तर, अमेरिकाले भने कुनै प्रतिक्रिया दिएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register