राजसंस्था समर्थित गतिविधिको एमालेले सङ्गठित प्रतिवाद गर्ने

काठमाडौं । नेकपा एमालेले राजसंस्था समर्थित गतिविधिको सङ्गठित प्रतिवाद गर्ने भएको छ । सचिवालय बैठकमार्फत विशेष प्रस्ताव पारित गर्दै एमालेले सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरोधी गतिविधिको सङ्गठित प्रतिवाद गर्ने निर्णय लिएको हो। एमालेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर राजनीतिक शक्तिहरूलाई समेत एकताबद्ध बनाउँदै व्यवस्थालाई थप सुदृढ र बलियो बनाउन केन्द्रित हुने निर्णय पनि लिएको छ । सचिवालय […]

Mar 17, 2025 - 11:41
 0
राजसंस्था समर्थित गतिविधिको एमालेले सङ्गठित प्रतिवाद गर्ने

काठमाडौं । नेकपा एमालेले राजसंस्था समर्थित गतिविधिको सङ्गठित प्रतिवाद गर्ने भएको छ । सचिवालय बैठकमार्फत विशेष प्रस्ताव पारित गर्दै एमालेले सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरोधी गतिविधिको सङ्गठित प्रतिवाद गर्ने निर्णय लिएको हो।

एमालेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर राजनीतिक शक्तिहरूलाई समेत एकताबद्ध बनाउँदै व्यवस्थालाई थप सुदृढ र बलियो बनाउन केन्द्रित हुने निर्णय पनि लिएको छ । सचिवालय बैठकबारे जानकारी दिँदै उपाध्यक्ष गुरुप्रसाद बरालले भने,’सङ्घीय लोकतन्त्र गणतन्त्र प्राप्तिका लागि हामीले जे जस्तो उत्सर्ग गर्‍यौँ त्यसका विरुद्धमा अराज गतिविधि देखिएपछि सङ्गठित प्रतिवादमा लाग्ने प्रस्ताव सचिवालयले पारित गरेको छ ।’

सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्राप्त उपलब्धिबारे जनतालाई सजग गराउँदै यसमा देखापरेका विकृति सुधारका लागि एमालेले आगामी दिनमा निर्वाह गर्ने भूमिकामा पनि जनतालाई विस्तृत रूपमा बुझाउने निर्णय सचिवालय बैठकले गरेको छ । ‘पछिल्लो घटनाक्रमलाई दृष्टीगोचर गर्दै हामीले देशव्यापी रूपमा नागरिकलाई सजग गराउने भएका छौँ । इतिहासको चक्का पछाडि फर्काउने प्रयत्न एमालेलाई स्वीकार्य नहुने भएकाले पार्टी पङ्क्तिबाट सशक्त प्रतिवादमा अघि बढ्ने निर्णय छ,’ उनले भने ।

एमालेले सञ्चालन गरिरहेको जागरण अभियानलाई पनि लोकतान्त्रिक गणतन्त्र रक्षामा केन्द्रित गर्ने भएको छ । विगत तीन महिनादेखि सञ्चालन भइरहेको अभियानमा लोकतान्त्रिक गणतन्त्रका उपलब्धि र त्यसको रक्षाको आवश्यकताबारे पनि केन्द्रित गर्ने बैठकको निर्णय छ । एमाले सचिव लेखराज भट्टले भने,’सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षामा बलियो पङ्क्ति निर्माणका लागि जागरण अभियान केन्द्रित गरिने भएको छ,’ उनले भने ।

यस्तै एमाले सचिव रघुवीर महासेठले पनि जागरण अभियानलाई व्यवस्थाको रक्षामा केन्द्रित गर्ने निर्णय भएको बताए । ‘सङ्गठन बलियो बनाउन सञ्चालन भइरहेको अभियानलाई व्यवस्था बलियो बनाउने विषयमा पनि केन्द्रित गर्ने निर्णय भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहारको प्रयासलाई प्रतिवाद गर्दै गणतन्त्रको पक्षमा जनमतलाई थप बलियो बनाउन पनि अभियान केन्द्रित हुनेछ,’ उनले भने । एमाले सचिव पद्मा अर्यालले व्यवस्थामाथि प्रहारको प्रयासलाई जनस्तरबाटै प्रतिवाद गर्ने हिसाबले एमालेले अभियान केन्द्रित गर्ने बताइन् ।’राजावादीहरूले व्यवस्था विरोधी अभियान सञ्चालन गरेका छन् । त्यसको जनस्तरबाट प्रतिवाद आवश्यक देखिएकाले पार्टी पङ्क्तिलाई परिचालन गर्ने निर्णय भएको छ ।’

लोकतन्त्रमा बोल्न पाइन्छ तर  व्यवस्थाविरुद्ध संगठित अभियान न्यायोचित छैन : ओली

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले राजवादीहरूलाई बोल्न पाउने अधिकार भएपनि व्यवस्थाविरुद्ध अभियान चलाउने छुट नभएको बताएका छन् । बैठकमा उनले राजवादीहरूको अभियानबाट आत्तिनुपर्ने अवस्था नरहेको भन्दै व्यवस्था सुदृढीकरणमा लाग्नुपर्ने समय आएको बताएका छन् । व्यवस्था विरोधी गतिविधि विरुद्ध गणतन्त्रवादी दलहरूले एकताबद्ध ढङ्गले अघि बढ्नुपर्ने बेला आएको उनले बताएका छन्। ‘अहिले नै आत्तिनुपर्ने परिस्थिति केही पनि छैन । तर जनतालाई यो व्यवस्थाको सबल पक्ष जानकारी गराउनुपर्ने अवस्था भने छ । जनता भ्रम छर्ने कोसिस भइरहेकाले समग्र पार्टी पङ्क्ति अब जनतालाई सजग बनाउन केन्द्रित हुनुपर्छ,’ उनको भनाई उद्धृत गर्दै सचिव पद्मा अर्यालले भनिन् ।

वर्तमान व्यवस्थामा भएका कमीकमजोरी सुधारका लागि सरकार केन्द्रित हुने उनले बताएका छन्।’सरकारप्रति नागरिकका अपेक्षा पुरा गर्न र यो व्यवस्थाप्रति जनतामा देखिएका निराशा चिर्नका लागि सरकारले आफ्नो काम केन्द्रित गर्नेछ । सरकारले गरेका राम्रा कामबारे पनि जनतालाई जानकारी गराऔँ । आम नागरिकका अपेक्षाबारे पनि विस्तृत ढङ्गले मत सङ्कलन गरौँ,’ उनले बैठकमा भनेका छन् ।

ओलीले राजवादीहरूलाई बोल्न पाउने अधिकार भए पनि व्यवस्थाविरुद्ध बोल्न नपाइने बताएका छन् ।’लोकतन्त्रमा बोल्न पाउने अधिकार सबैलाई छ । राजावादीहरूलाई पनि त्यो अधिकार छ तर व्यवस्थाविरुद्धमा सङ्गठित अभियान सञ्चालन गर्ने कुरा न्यायोचित हुन सक्दैन,’ ओलीको भनाइ छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register