गुरागाईं रोक्न बालेनका तीन अस्त्र : सबै असफल

काठमाडौं । गएको पुस ५ पछि कार्यालय जान नपाएका काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिहीबार कार्यपालिका सदस्य र कर्मचारीहरूको बलमा महानगर छिरे । अनाधिकृत रूपमा ‘काठमाडौं भ्यू टावर’को नक्सा पास गरेको भन्दै मेयर बालेन शाहले बिदामा बस्न बाध्य बनाएको १०३ दिनपछि गुरागाईंले बिहीबार सकसपूर्ण तरिकाले हाजिर गरेका हुन् । लामो समयसम्म हाजिर गर्न […]

Apr 3, 2025 - 12:47
 0
गुरागाईं रोक्न बालेनका तीन अस्त्र : सबै असफल

काठमाडौं । गएको पुस ५ पछि कार्यालय जान नपाएका काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिहीबार कार्यपालिका सदस्य र कर्मचारीहरूको बलमा महानगर छिरे ।

अनाधिकृत रूपमा ‘काठमाडौं भ्यू टावर’को नक्सा पास गरेको भन्दै मेयर बालेन शाहले बिदामा बस्न बाध्य बनाएको १०३ दिनपछि गुरागाईंले बिहीबार सकसपूर्ण तरिकाले हाजिर गरेका हुन् ।

लामो समयसम्म हाजिर गर्न नपाएका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं बिहीबार एक्कासी हाजिर गर्न आउने सूचना आएको थियो । बिहीबार बिहानै मात्र गुरागाईं कार्यालयमा हाजिर गर्न आउने सूचना फैलिएको थियो ।

गुरागाईं हाजिर गर्न आउने सूचना महानगरका मेयर शाहसम्म पुग्यो । गुरागाईं हाजिर गर्न आउने भनेपछि बालेन सचिवालयले नगर प्रहरीलाई आदेश दिएको थियो – ‘गुरागाईंलाई रोक्नु ।’

कुनै पनि हालतमा हाजिर गर्न नदिन नगर प्रहरीलाई बालेन सचिवालयले निर्देशन दिएको थियो । नगर प्रहरी पनि गुरागाईंलाई रोक्न कस्सिए । कमलादीस्थित महानगरको कार्यालयको मुल ढोकामा बिहानैदेखि बाक्लो सङ्ख्यामा नगर प्रहरी परिचालन भए ।

महानगरमा कार्यरत कर्मचारीहरू गुरागाईंको स्वागतमा बसिरहँदा नगर प्रहरी भने गुरागाईंलाई गेटमै रोक्ने योजनामा थियो । कर्मचारीहरूको समूह एकातिर खादा माला बोकेर गुरागाईंको स्वागत तयारी गर्दै थिए भने अर्कोतिर मेयर बालेनविरुद्ध नाराबाजी ।

महानगरको गेटमै गुरागाईं रोक्न बसेका नगर प्रहरीलाई कर्मचारीहरूले अनुरोध पनि गर्दै थिए, “तपाईंहरू पनि यही नगरको कोषबाट तलब खाने हामी पनि यहीँबाट तलब खाने हौ,” गुरागाईंको स्वागतमा बसेका एक कर्मचारीले नगर प्रहरीलाई भने, “प्रमुख प्रशासकीय अधिकृत आउँदै हुनुहुन्छ, उहाँलाई रोक्ने छेक्ने काम नगर्नु होला ।”

नगर प्रहरी लगाएर भएपनि गुरागाईंलाई हाजिर गराउन नदिन मेयर शाहको सचिवालयले निकै कसरत गरेको थियो । तर, महानगरका कर्मचारी र उपप्रमुख सुनीता डङ्गोलसहित वडाध्यक्षहरू गुरागाईंलाई हाजिर गराउनुपर्ने पक्षमा उभिए ।

गुरागाईंलाई स्वागत गर्न उपमेयर डङ्गोल नै उपस्थित भइन् ।

कर्मचारीहरूले ३ महिनादेखि तलब नपाएको, महानगरको आर्थिक विकासको काम ठप्प भएको भन्दै जनप्रतिनिधिहरू गुरागाईंलाई हाजिर गर्न दिनुपर्ने पक्षमा थिए ।

एकमतमा कर्मचारी र जनप्रतिनिधि : अनि भयो गुरागाईं रोक्ने बालेनको अस्त्र फेल !

तीन महिनाभन्दा लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगर ठप्प जस्तै थियो । महानगरको आर्थिक कारोबार ठप्प भएको थियो । तर, नक्सा पासको विषयमा गडबडी गरेको भन्दै गुरागाईंलाई हाजिर गर्न नदिन अड्डी कसेर बसेका थिए, बालेन।

सङ्घीय सरकारलाई बारम्बार नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन बालेनले हरसम्भव प्रयास गरे । पत्रदेखि सामाजिक सञ्जालमा स्ट्याटस लेखेर बालेनले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन सङ्घ सरकारलाई दबाब दिए ।

तर, प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बालेनको प्रस्ताव अस्वीकार गर्‍यो । महानगरमा प्रमुख प्रशासकीय अधिकृत बहाल रहेको भन्दै नयाँ मान्छे पठाउन सङ्घ सरकारले अस्वीकार गर्दै आएको थियो । र, गुरागाईंलाई हाजिर गराउनुपर्ने अडान राख्दै आएको थियो ।

बालेन भने गुरागाईंलाई हाजिर नगराउने आफ्नो अडानमा कायम थिए । कुनै हालतमा हाजिर गर्नै नदिने रणनीति बालेनको थियो । जसका लागि बिहीबार बालेनले तीन रणनीति अपनाए ।

पहिलो – नगर प्रहरी परिचालन

बालेन र उनको सचिवालयले गुरागाईंलाई हाजिर गर्न नदिन आफ्नो सिधा नियन्त्रणमा रहने नगर प्रहरीलाई परिचालन गरे । गुरागाईं खुसुक्क आएर हाजिर गर्न नसकुन् भनेर बालेनले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरे ।

मुल गेटदेखि कार्यालय परिसरसम्मै नगर प्रहरी खटाए, बालेनले । यतिले मात्र नपुगेर प्रमुख प्रशासकीयको कार्यकक्षको ढोकामा समेत नगर प्रहरी खटाइएको थियो ।

तर, नगर प्रहरी जत्तिकै सङ्ख्यामा महानगरमा कार्यरत कर्मचारीहरू गुरागाईंको स्वागतमा निस्किए । जहाँ सफाइकर्मी कर्मचारीको सङ्ख्या ठूलो मात्रामा थियो ।

स्वागत गर्न बसेका कर्मचारीहरूले गुरागाईंलाई नगर प्रहरीको घेरा तोड्दै कार्यालयभित्र छिराए । नगर प्रहरीले केहीबेर रोक्न खोजे पनि । तर, केही वडाध्यक्षसहित ठूलो सङ्ख्याका कर्मचारीहरूले कार्यालयभित्र लागेपछि नगर प्रहरीले गुरागाईंलाई रोक्न सकेन ।

कार्यालय परिसरमा पुगे पनि गुरागाईंको कार्यकक्षमा पनि मेयर साहले ‘लक’ लगाएका थिए । लक खोल्ने चाबी नभेटेपछि कर्मचारीहरूले ढोका फोड्न सुरु गरे । ढोका फुटाउने प्रयासमा सिसा पनि फुट्यो ।

गुरागाईंलाई कार्यकक्षमा छिराउन खोज्दा–खोज्दै कर्मचारीलाई नगर प्रहरीलाई रोक्न खोजेको थियो । तर, कर्मचारीको जोडबलमा गुरागाईं कार्यकक्षमा पुगी छाडे ।

दोस्रो – गाडीमा ह्वील लक

प्रमुख प्रशासकीय अधिकृत आउने हल्लापछि बालेनले उनलाई रोक्न अनेक विधि प्रयोग गरेका थिए । त्योमध्ये एक प्रमुख प्रशासकीय अधिकृतको गाडीमा ‘ह्वील लक’ लगाउनु पनि थियो । नगर प्रहरीलाई परिचालन गर्दै बालेनको सचिवालयले प्रमुख प्रशासकीय अधिकृतको गाडीमा ह्वील लक लगाइदिएका थिए ।

गेटमा स्वागतमा बस्दै गर्दा कर्मचारीहरूले गुरागाईंलाई लिन गाडी पठाउने तयारी गर्न थाले । यो थाहा पाएपछि नगर प्रहरीले पार्किङमा रहेको प्रमुख प्रशासकीय अधिकृत चढ्ने महानगरको गाडीमा ह्वील लक लगाएको थियो ।

ह्वील लक लगाएको खबर पाएपछि कर्मचारीहरूले नगर प्रहरीलाई चेतावनी दिए । “मैले भर्खरै प्रमुख प्रशासकीय अधिकृतज्युको गाडीमा नगर प्रहरीले ह्वील लक लगाएको सुनेँ । यसको परिणाम राम्रो हुँदैन,” स्वागतमा बसेका ती कर्मचारीले चेतावनी दिए ।

सरकारी गाडीमा ह्विल लक लगाएपनि गुरागाईंलाई कर्मचारीले अर्कै प्रबन्ध गरेर कार्यालयको गेटसम्म पुर्‍याए ।

तेस्रो – हाजिरी किताब गायब

कार्यालयभित्र प्रवेशपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले हाजिर गर्न खोजेका थिए । तर, गुरागाईंले हाजिर गर्दै आएको पुस्तिका भेटिएन् । ‘हाजिर पुस्तिका लुकायो’ भन्दै गुरागाईंको स्वागतमा सहभागी एक कर्मचारीले छेउमा रहेका अर्का कर्मचारीलाई भने ।

हाजिर हुन नदिन प्रमुख प्रशासकीय अधिकृतको हाजिर पुस्तिकासमेत गायब पारिएको आरोप ती कर्मचारीको आरोप थियो । “मेयरले नै लुकाउन लगाएको हो,” छेउका अर्का कर्मचारी साथीलाई उनले भन्दै थिए ।

हाजिर पुस्तिका नभेटे पनि नगर प्रहरीको घेरा तोड्दै कार्यालयमा छिरेका गुरागाईंलाई हाजिर गराउने पक्षमा उपप्रमुख डङ्गोलसहितका अन्य जनप्रतिनिधिहरू थिए ।

गुरागाईंलाई हाजिर गराउने विषयमा उपप्रमुखको नेतृत्वमा उपलब्ध वडाध्यक्ष तथा महाशाखा प्रमुखकोहरुको बैठक बस्यो । बैठकमा उपप्रमुख डङ्गोलले ‘गुरागाईंलाई हाजिर गर्ने व्यवस्था मिलाउनू’ भनिन् ।

अनौपचारिक रूपमा बसेको त्यो बैठकले नयाँ हाजिर किताब खडा गर्न सहमति दियो । र, नयाँ हाजिर किताब खडा गरेर प्रमुख प्रशासकीय अधिकृतलाई १०३ दिनपछि हाजिर गराइयो ।

आक्रोशित सुनीता !

गेटमा स्वागत गर्न वडाध्यक्षहरू पुग्दा उपप्रमुख सुनिता डङ्गोल भने आफ्नै कार्यकक्षमा थिइन् । प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्ष छेउमा ल्याइपुर्याएपछी डङ्गोल कार्यकक्षबाट बाहिर निस्किइन । र, उनैको संयोजकत्वमा वडाध्यक्ष र महाशाखा प्रमुखहरूसहित बैठक बस्यो ।

बैठकमा डङ्गोल बालेनविरुद्ध खनिइन् । आक्रोशित मुडमा रहेकी उपप्रमुख डङ्गोलको भनाइलाई वडाध्यक्षहरूले टेबल ठोकेर समर्थन गरिरहेका थिए ।

मेयर शाहले तमासा निम्त्याएको आरोप डङ्गोलको थियो । “यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन,” उनले भनिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register