नगरकोट भ्रमण वर्ष २०८२ आयोजना हुँदै, ११ लाख पर्यटक भित्राउने लक्ष्य

भक्तपुर । काठमाडौं र काभ्रेपलान्चोकका विभिन्न चार नगरपालिकाको संयुक्त आयोजनामा ‘नगरकोट भ्रमण वर्ष २०८२’ आयोजना हुने भएको छ  । नयाँ वर्ष २०८२ को शुभारम्भसँगै राष्ट्रपति रामचन्द्र पौडेलबाट वैशाख १ गते नगरकोटको बतासे डाँडामा भ्रमण वर्षको उद्घाटन गरिने जानकारी दिइएको हो  । भक्तपुरको चाँगुनारायण नगरपालिका, काठमाडौंको शंखरापुर नगरपालिका, काभ्रेको मण्डन देउपुर नगरपालिका र बनेपा नगरपालिकाको संयुक्त […]

Apr 11, 2025 - 09:59
 0
नगरकोट भ्रमण वर्ष २०८२ आयोजना हुँदै, ११ लाख पर्यटक भित्राउने लक्ष्य

भक्तपुर । काठमाडौं र काभ्रेपलान्चोकका विभिन्न चार नगरपालिकाको संयुक्त आयोजनामा ‘नगरकोट भ्रमण वर्ष २०८२’ आयोजना हुने भएको छ  ।

नयाँ वर्ष २०८२ को शुभारम्भसँगै राष्ट्रपति रामचन्द्र पौडेलबाट वैशाख १ गते नगरकोटको बतासे डाँडामा भ्रमण वर्षको उद्घाटन गरिने जानकारी दिइएको हो  ।

भक्तपुरको चाँगुनारायण नगरपालिका, काठमाडौंको शंखरापुर नगरपालिका, काभ्रेको मण्डन देउपुर नगरपालिका र बनेपा नगरपालिकाको संयुक्त आयोजनामा हुने भ्रमण वर्षमार्फत नगरकोटमा एक लाख आन्तरिक र १० लाख बाह्य गरी ११ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको छ  ।

नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र इतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा भ्रमण वर्ष आयोजना गर्न लागिएको हो । भ्रमण वर्षभित्रै नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेसमेत लक्ष्य आयोजकको छ ।

कस्तो छ तयारी ?

भ्रमण वर्ष मूल आयोजक समितिका संयोजक तथा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले भ्रमण वर्षको चार वटै नगरपालिकाले एकसाथ तयारी गरेको र प्रचारप्रसार गर्ने काम भइरहेको बताए ।

उनका अनुसार भ्रमण वर्षलाई लक्षित गरेर गाउँमा नमुना होमस्टेसमेत बनाइएको छ । नगरकोट आउने पर्यटकहरूले होमस्टेमा फरक अनुभव लिन पाउने छन् ।

‘भ्रमण वर्षलाई लक्षित गरेर गाउँले खाना, कोदो र फापरका परिकार पर्यटकलाई चखाउने योजना बनाएका छौँ, नगरकोट आउने पर्यटकलाई दोलालघाटसम्म पुर्‍याउने लक्ष्य महोत्सवमार्फत लिएका छौँ,’ मण्डन देउपुर नगरपालिकाका प्रमुख वाइबाले भने ।

भ्रमण वर्षको अवधिभर चार वटा नगरपालिका भित्रका विभिन्न महत्त्वपूर्ण मठमन्दिरलगायत अन्य विविध धार्मिक, पौराणिक, आध्यात्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रहरूको भ्रमण गराइने छ । नगरकोटलाई पर्यावरणीय मनोरम दृश्यावलोकन, हिमाली दृश्यहरू, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकनका लागि काठमाडौं उपत्यकाकै मुख्य पर्यटकीय गन्तव्यका रूपमा लिइने गरिन्छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोट काठमाडौं उपत्यकाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिएको तर पछिल्लो समय ओझेलमा पर्दै गएको बताए । सो गुनासोपछि नगरपालिकाको पहिलो बैठकबाट नै भ्रमण वर्ष मनाउने घोषणा गरेको तथा सबैको सहकार्यसहित भ्रमण वर्ष मनाउन लागिएको जानकारी दिए ।

‘नगरकोट काठमाडौं उपत्यकाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिएको ठाउँ हो, तर पछिल्लो समय सडकसहितका कारणले ओझेलमा पर्दै गएको गुनासो आयो, नगरपालिकाको पहिलो बैठकबाट नै नगरकोट भ्रमण वर्ष मनाउने घोषणा गरिए अनुसार अन्य छिमेकी नगरपालिकासँग समेत सहकार्य गरेर अघि बढेका हौँ,’ खत्रीले भने।

बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले भ्रमण वर्षमा आउने पर्यटकले पहिलेको नगरकोट र अहिलेको नगरकोटको फरक अनुभूति गर्न पाउने बताए। उनले नगरकोटको बसोबास र सडकमा पहिले र अहिले धेरै भिन्नता आएको दाबी गरे । शाक्यले नगरकोट भ्रमणमा आउने पर्यटकहरू बनेपाको चण्डेश्वरी मन्दिरसम्म पदयात्रा गर्दै जान सक्नेसमेत बताए ।

मण्डन देउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले नगरकोटसँग चार नगरपालिकाको सम्बन्ध स्थापित गर्न समग्र नगरपालिकाको डीपीआर बनाउने काम भइरहेको बताए ।

उनले नगरकोटमा मात्र पर्यटक सीमित भइरहेको अवस्थामा चार वटै नगरपालिकाका जनप्रतिनिधिहरूमार्फत विकासको योजना बनाएर एक ठाउँमा आएका पर्यटकलाई अर्को ठाउँमा पुर्‍याउनका लागि भ्रमण वर्षले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले  भ्रमण वर्षमार्फत स्थानीय प्राकृतिक तथा धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने बताए। उनले पर्यटन, कृषि पर्यटन, विभिन्न जातजाति, भेसभुसा, जात्रा, पर्व र सांस्कृतिक पहिचानहरूको भ्रमण वर्षमार्फत उजागर गरिने बताए ।

भ्रमण वर्षको शुभारम्भका दिन बतासे डाँडामा ५० भन्दा बढी स्टलहरू रहनेछन् । यस्तै फुड स्टल तथा कृषि सामग्रीका स्टल, गुरुङ समुदायको संग्राहलय तथा प्रत्येक पालिकाका छुट्टाछुट्टै झाँकी भ्रमण वर्षको कार्यक्रममा प्रस्तुत गरिने छ ।

नगरकोट भ्रमण वर्षलाई नै लक्षित गरेर नगरकोटदेखि काठमाडौंसम्म सिधा बस सेवा सुरु भइसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register