आखिर के चाहन्छन् ट्रम्प ?

ट्रम्पको शुल्क नीतिले अमेरिकालाई हुने फाइदा कसैले प्रष्टसँग बताउन सक्दैन तर, विश्व एक असामान्य आर्थिक, राजनीतिक र सामरिक परिस्थितिबाट गुज्रिन भने बाध्य हुनेछ । अर्थात ट्रम्प त्यस्तो कदम चाल्दैछन्, जसको ‘फाइदा’ सुनिश्चित छैन तर, बेफाइदा भने जोकसैले सजिलै देख्न, बुझ्नसक्ने खालको छ ।

Apr 11, 2025 - 09:53
 0
आखिर के चाहन्छन् ट्रम्प ?

काठमाडौं राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी आयातमा गत हप्ता घोषणा गरेका १३५ देशमाथिका भन्सार महशुल स्थगन गरी चीनमाथि मात्रै १४५ प्रतिशतको शुल्क लगाएका छन् । त्यसअघि १२५ प्रतिशत शुल्क लगाइएको समाचार आएको थियो ।

ह्वाइट हाउसका अनुसार कथित ड्रग्स तस्करीको सजायस्वरूप २० प्रतिशतको जरिवाना शुल्क थपिएको हो । ट्रम्पको दोस्रो कार्यकाल अघि चिनियाँ वस्तुमाथि २५ प्रतिशत शुल्क थियो । निर्वाचन अभियानका क्रममा १० प्रतिशत थपेर ३५ प्रतिशत बनाउने ट्रम्पले घोषणा गरेका थिए । 

विश्वभरिका लागि प्रस्तावित शुल्क सूचीमा चीनमाथि ५४ प्रतिशत शुल्क प्रस्तावित थियो । यसपछि चीनले अमेरिकी सामानमाथि ८४ प्रतिशत प्रतिरोध शुल्क लगाउने निर्णय लियो । अर्थात दुवै देश एकपछि अर्को निर्णय गर्दै अर्थशास्त्रीय दृष्टिले अस्वाभाविक शुल्क वृद्धि गर्न लागे ।

बेइजिङले भनेको थियो कि ‘चीन अमेरिकी शुल्क वृद्धिबाट डराउने पक्षमा छैन । ट्रम्पको शुल्क वृद्धिले केही अप्ठ्यारो अवश्य हुन्छ तर, आकास खस्नेवाला छैन । चीन व्यापार युद्धका लागि समेत तयार छ ।’

सामान्यतः व्यापार युद्धको प्रभाव सामरिक कम र आर्थिक क्षति बढी हुन्छ । त्यसले दुई देशलाई मात्र हैन, विश्व अर्थतन्त्रलाई नै नकारात्मक प्रभाव पार्न सक्छ । कतिपय व्यापार युद्ध विस्तारै वास्तविक युद्धमा परिणत भएका उदाहरण इतिहासमा पाइन्छ ।

चीनको यस्तो स्पष्टिकरणका बाबजुद ट्रम्पले अस्वाभाविक शुल्क वृद्धिलाई नै व्यापार युद्धको उचित प्रतिप्रहार ठाने । तर, उनी यसमा कति दिन अड्न सक्लान्, यसै भन्न सकिँदैन ।

ट्रम्प अकल्पनीय ढङ्गले आफ्ना घोषणा र वाचाबाट अघिपछि भइरहेका छन् । स्वयं आफ्ना सोच, नीति र कदममा टिक्न उनलाई बारम्बार असम्भव भएको छ । उनी हरेक सवालमा आक्रामक अभिव्यक्ति दिन्छन् । तर, अडान लिनुको साटो तुरुन्तै पछि हट्ने र पुनश्च आक्रामक हुने रणनीतिमा देखिन्छन् । ट्रम्पका निर्णयमा वस्तुसम्मत नीतिगत स्थिरताभन्दा बढी ‘धम्की’ मुखरित हुने गर्दछ ।

१४५ प्रतिशत शुल्कको सीधा अर्थ हो कि चीनमा १ डलर पर्ने सामानको मूल्य अमेरिकी बजारमा २.४५ डलर पर्ने छ । यातायात, व्यापारिक कमिसन र नाफासमेत जोड्दा यो ३ डलर पुग्न सक्नेछ । अर्थात अमेरिकी बजारमा चिनियाँ वस्तुको मूल्य ३ गुणा बढी हुनेछ ।

ट्रम्पको शुल्क वृद्धिको प्रभाव अमेरिकी उपभोक्ता बजारमा परिसकेको छ । त्यहाँ उपभोक्ता वस्तुको मूल्य अकासिएको छ । साथै, चिनियाँ सामानको अभाव समेत हुन थालेको छ । अर्थात अस्वाभाविक शुल्क वृद्धिको प्रभाव चीनमाथि मात्र हैन, स्वयं अमेरिकामा समेत परेको छ । अमेरिकामा चिनियाँ सामान सस्तो र गुणस्तरीय वस्तुका रुपमा प्रचलित छन् । न्यून तथा मध्यम आयस्तर भएका अमेरिकी उपभोक्ताले चिनियाँ सामान खरिद र उपभोग गर्दछन् ।

ट्रम्पको चीनमाथिको शुल्क वृद्धिपछि अस्वाभाविक मूल्य वृद्धि र मुद्रास्फिति मात्र हैन, अमेरिकी सेयर बजारमा गिरावट पनि आएको छ । बिहीबार मुख्य अमेरिकी कम्पनीको सेयर मूल्यमा ७ प्रतिशतसम्मको गिरावट देखियो । 

चीनमा पनि सेयर मूल्यको गिरावट मुख्यतः अमेरिकी लगानीका कम्पनीले ब्यहोर्नु परेको छ । समाचार अनुसार चिनियाँ सेयर बजारमा ४ प्रतिशतको गिरावट आएको छ ।

शुल्क नीति र व्यापार युद्धका सन्दर्भमा मात्र हैन, अन्य महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सवालमा पनि ट्रम्पका नीति स्थिर छैनन् । राष्ट्रपति भेलोदोमिर जेलेन्स्कीसँगको अपमानपूर्ण व्यवहार र दबाबपछि पनि युक्रेन युद्ध अहिलेसम्म कुनै निष्कर्षमा पुगेको छैन । हुन सक्दछ– अमेरिकाले युक्रेनी सहयोग फेरि सुरु गर्न सक्नेछ ।

क्यानडालाई अमेरिकाको ५१ औं राज्य बन्न दबाब दिने ट्रम्पले नयाँ प्रधानमन्त्री मार्क कार्नीसँग क्यानडाली सार्वभौमसत्ताको सम्मान गरेर अघि बढ्न स्वीकार गरे । ट्रम्पका अनावश्यक अभिव्यक्तिले क्यानडाले राजनीतिक अस्थिरता र मनोवैज्ञानिक सङ्कटको सामना गर्नु पर्यो, तर त्यसले कुनै नतिजा भने दिएन ।

ट्रम्पको पनामा, गाजा र ग्रीनल्याण्ड नीतिसमेत अघि बढ्न सकेको छैन । ट्रम्प जताततै हात हाल्ने, गिजोल्ने र पछि हट्ने तरिकाले चलिरहेका छन् । उनको वास्तविक चाहना, प्राप्त गर्न चाहेको परिणाम को हो ? यस्तो कार्यशैलीबाट उनी कसरी र कस्तो नयाँ वा फरक नतिजा हात पार्न सक्छन्, कसैले बुझ्न सकेको छैन ।

यहाँसम्मकी ट्रम्प प्रशासनसँग इजरायलसमेत सन्तुष्ट छैन, जसलाई अमेरिकाले सहयोग गरिरहेको छ । ट्रम्प गाजाबाट प्यालेस्टिनी धपाएर ‘मोजमस्ती केन्द्र’ बनाउने सोच राख्दछन् । यसले अरब क्षेत्रको तनाव अन्त्य र सुरक्षाका लागि कुनै मद्दत गर्दैन । ट्रम्पको गाजा नीति इजरायलका लागि पनि हितकर छैन । इजरायलको चाहना हमासको निशस्त्रीकरण र शान्ति हो । गाजाबाट प्यालेस्टिनी जनतालाई हटाउने दृष्टिकोण आफैँमा अमानवीय हो ।

त्यसो भए ट्रम्पले जे गरिरहेका छन्, कसको हितमा, किन गरिरहेका छन् ? कसैको पनि हित नहुने, कुनै परिणाम नआउने र अन्ततः आफैँ बदनाम भएर पछि हट्नुपर्ने कदम किन चालिरहेका छन् ?

ट्रम्पको भनाइ छ, उनी अमेरिकालाई विगतमा जस्तै फेरि एकपटक महान बनाउन चाहन्छन्, अर्थात ‘मेक अमेरिका ग्रेट अगेन’ । फेरि एकपटक अमेरिकालाई महान बनाउँछु भन्नुको अर्थ हिजो कुनै कालखण्डमा अमेरिका महान थियो, अहिले छैन भन्ने हुन्छ । उनको आदर्श अमेरिका कुन कालखण्ड हो ? कुन कालखण्डमा अमेरिका महान थियो, अहिले के कारणले छैन र अब उनी कसरी महान बनाउँदैछन् ? विश्वले अहिलेसम्म राम्ररी बुझ्न सकेको छैन ।

ट्रम्पको अर्को दाबी छ कि उनी ‘अमेरिका प्रथम’ को नीतिमा विश्वास गर्छन । ट्रम्पको ‘अमेरिका प्रथम’को अर्थ विश्वमा अमेरिकी प्रभावको प्रमुखता नभएर अमेरिकी जनताको हित प्रथम भन्न खोजेको बुझिन्छ ।

उपभोक्ता बजारमा अस्वाभाविक मूल्य वृद्धिले अमेरिकी नागरिकको आर्थिक हित हुने छैन । यसबाट अमेरिकामा विदेशी सामानको खपत मात्र घट्दैन, उपभोग कटौती गर्न बाध्य जनता असन्तुष्ट हुँदै जाने सम्भावना पनि उत्तिकै रहन्छ ।

ट्रम्पको भनाइ छ, जो अमेरिकासँग संवाद र सम्झौतामा राजी हुने छन्, ति राष्ट्र माथिको शुल्कलाई १० प्रतिशतमा झार्न सकिनेछ । अर्थात ट्रम्पको शुल्क वृद्धि कुनै विवेकसम्मत र वस्तुसङ्गत निर्णय नभएर एक दबाबमूलक हतियार मात्र हो । ट्रम्प शुल्क वृद्धिमार्फत ‘धम्की कुटनीति’ मात्रै गरिरहेका त छैनन् ?

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार ट्रम्पको शुल्क नीतिका मुख्य तीन उद्देश्य छन् ।

एक– अमेरिकी राष्ट्रिय हित विपरित हुने अन्तर्राष्ट्रिय व्यापार अभ्यासलाई समाप्त पार्नु ।
दुई– अमेरिकी उद्योग र उत्पादनशीलतालाई पुनर्स्थापित गर्नु ।
तीन– सङ्घीय सरकारको राजस्व वृद्धि गर्नु ।

सतही दृष्टिबाट ट्रम्पका यी उद्देश्य अनुचित हैनन् । तर, के विश्व प्रक्रियालाई कमजोर पारेर एक्लो अमेरिकाले ‘धम्की कुटनीति’ मार्फत यी लक्ष्य हासिल गर्न सक्ला ? सक्छ भने कसरी ?

अन्तर्राष्ट्रिय व्यापार सङ्कुचनसँगै सृजना हुने रोजगार अवसरको कटौतीलाई कसरी हेर्ने ? के व्यापार गरिरहेका मानिस रातारात उद्योगमा सर्न सक्लान् ? अल्पकालमा यो गाह्रो कुरा हो ।
आखिर भन्सार शुल्क निर्यातकर्ताले तिर्ने हैन, सम्बन्धित देशको आयातकर्ता व्यापारीले तिरेर उपभोक्तामाथि थोपर्ने हो । अस्वाभाविक शुल्क वृद्धिको कारण आयात नै ठप्प भयो भने सङ्घीय सरकारको राजस्व बढ्नुको साटो स्रोत नै सङ्कुचन हुन सक्दछ ।

अर्थशास्त्रीहरू भन्छन् कि ट्रम्पको शुल्क वृद्धि नीतिले अमेरिकी अर्थतन्त्रको वृद्धिदरलाई ३ प्रतिशतभन्दा मुनि सीमित गर्न सक्दछ ।

विश्व सहयोग र बहुपक्षीय सहकार्यलाई कमजोर पारेर ट्रम्पले भूमण्डलीकरण प्रक्रिया उल्टाउन र विभूमण्डलीकरणलाई बढावा दिन खोजेको भान हुन्छ । तर, त्यसको कुनै पद्धति र प्रक्रिया भने अहिलेसम्म प्रस्तावित छैन ।

मानौँ कि ट्रम्प ‘बहुपक्षीयता’ लाई कमजोर पारेर ‘बहुध्रुवीयता’ स्थापित गर्न चाहन्छन् भने त्यसको योजना र खाका आवश्यक पर्दछ ।

ट्रम्प प्रशासनले अहिलेसम्म रुससँगको सम्बन्धमा रहेका जटिलतालाई शिथिल अवश्य बनाएको छ तर, सामान्यीकरण गर्ने वा कुनै निष्कर्षमा पुर्‍याउने सफलता पाएको छैन । चीन, युरोपेली सङ्घ, भारत सबै देशसँगको सम्बन्धलाई संदिग्ध बनाएर बहुध्रुवीयता कसरी क्रियाशील होला ? बहुध्रुवीयताको अर्थ प्रतिस्पर्धा र तनाव मात्रै हो कि सामञ्जस्यता र सहकार्य पनि ?

ट्रम्प आखिर के चाहन्छन् ? उनी आफ्ना निर्णय, कदम र परिणामबाट स्वयं कति सन्तुष्ट र उत्साहित छन् ?

ट्रम्पको शुल्क नीतिले अमेरिकालाई हुने फाइदा कसैले प्रष्टसँग बताउन सक्दैन तर, विश्व एक असामान्य आर्थिक, राजनीतिक र सामरिक परिस्थितिबाट गुज्रिन भने बाध्य हुनेछ । अर्थात ट्रम्प त्यस्तो कदम चाल्दैछन्, जसको ‘फाइदा’ सुनिश्चित छैन तर, बेफाइदा भने जोकसैले सजिलै देख्न, बुझ्नसक्ने खालको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register