क्रमशः एमालेकरण हुँदै गएको कांग्रेस

राजेश ढुंगानानेपाली कांग्रेसका नेता शेखर कोइरालाले समेत बारम्बार मुलुकमा भ्रष्टाचार, अनियमितता र बेथिति बढेको कुरा बताइरहनु भएको छ । सत्ताधारी दलकै वरिष्ठ नेता कोइरालाले सरकारलाई लगातार रूपमा सचेत मात्र गराइरहेका छैनन्– खबरदारी नै गरिरहेका छन् । त्यसो त कोइरालाले ‘कांग्रेस सत्तामा छ, सरकारमा छैन’ पनि भनेकै हो । यसरी हेर्दा कांग्रेस कार्यकर्ताको ठूलो पंक्ति एमालेसँगको [...] The post क्रमशः एमालेकरण हुँदै गएको कांग्रेस appeared first on Jhapa Online.

May 13, 2025 - 03:51
 0
क्रमशः एमालेकरण हुँदै गएको कांग्रेस

राजेश ढुंगाना
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले समेत बारम्बार मुलुकमा भ्रष्टाचार, अनियमितता र बेथिति बढेको कुरा बताइरहनु भएको छ । सत्ताधारी दलकै वरिष्ठ नेता कोइरालाले सरकारलाई लगातार रूपमा सचेत मात्र गराइरहेका छैनन्– खबरदारी नै गरिरहेका छन् । त्यसो त कोइरालाले ‘कांग्रेस सत्तामा छ, सरकारमा छैन’ पनि भनेकै हो । यसरी हेर्दा कांग्रेस कार्यकर्ताको ठूलो पंक्ति एमालेसँगको सहकार्यप्रति प्रारम्भदेखि नै सन्तुष्ट छैन भन्ने देखिन्छ । जसलाई नेता कोइरालाले आफ्नो वाणी दिएका हुन् ।

हुन पनि कांग्रेस पहिलो पार्टी भएर पनि एमालेको नेतृत्वमा राख्ने आत्मघाती निर्णय देउवाबाट भएपछि स्वाभिमानी कांग्रेस कार्यकर्ताले असहज महसूस र असन्तुष्ट हुनु स्वाभाविक नै हो । सरकारमा गएपछि सरकार त एमालेकरण भयो नै – सिंगो कांग्रेस पार्टी नै एमालेकरण हुने खतरा तर्फ उन्मुख छ ।

यही भएर होला, पछिल्लो पटक भर्खरै नेता कोइरालाले फेरि पनि सार्वजनिक रूपमै ‘कांग्रेसले एमालेसँग संयन्त्र बनाएर गरिएको सहयात्रा तोड्नु पर्दछ’ समेत भनेका छन् । अर्थात्, कांग्रेसभित्र एमालेसँगको सहयात्रा एक वर्ष पनि नपुग्दै निल्नु न ओकल्नु भएको छ । सरकारको चरम एमालेकरण भएर आउँदो बजेटमा पनि एमालेकै गन्ध आउने मात्र होइन, बजेट एमालेमय हुने पक्का छ ।

सबै नियुक्तिहरूमा एमालेको वर्चश्व छ । एमालेको भागमा नपर्ने देखिएपछि नेपाल राष्ट्र बैंकको गभर्नर पद बेवारिस छ । एमाले बरू त्यसलाई खाली राख्न तयार देखियो, तर सितिमिति कांग्रेसको भागमा नपरोस् भन्ने खेलमा छ । त्यसो त राष्ट्र बैंकको गभर्नर मात्र होइन, कुनै पनि पदमा पार्टीको भागबण्डा गरेर राजनीतिकरण गर्नु मुलुकका लागि अत्यन्त ठूलो दुर्भाग्य हो । त्यसमाथि पनि गभर्नर पदलाई अरबौंको लिलामीमा राखिएको सार्वजनिक रूपमै बहस हुनु अत्यन्त खेदजनक विषय पनि हो ।

कांग्रेस सरकारमा एमालेबाट हेपिएर, चेपिएर मात्र बस्नु परेको छैन; त्यो हेपाइ र चेपाइबाट कांग्रेस कार्यकर्ता निराश र आक्रोशित छन् । अरू पदको के कुरा गर्नु ? स्वयम् मन्त्री हटाउने र राख्ने कुरामा एमालेको एकल निर्णय देखियो । जलस्रोत राज्यमन्त्री तामाङको बर्खास्तगी यसैको प्रमाण हो । संयुक्त सरकारमा अर्को दलले पठाएको प्रतिनिधिलाई प्रधानमन्त्रीको एकल निर्णयले बेइज्जतिपूर्वक हटाउन मिल्छ ? हटाउनै पर्ने भए पनि सम्बन्धित दलले फिर्ता बोलाउनु पर्ने होइन ?

नौ महिनासम्म एमाले नेतृत्वको सरकारले मुलुकका कुनै एउटा‌ समस्या हल गर्न सकेन मात्र होइन, बरू समस्याका चाङ दिनप्रतिदिन थपिंदै गएको छ । जनतामा चरम निराशा र आक्रोश चुलिंदै गएको छ । यसकारण आउँदो समयमा वर्तमान सरकारमा सामेल भएकै कारण अलि–अलि भएको जश एमालेले लिने र सम्पूर्ण अपजश जति कांग्रेसको भागमा पर्ने निश्चित छ ।

अर्थात्, एमालेसँगको वर्तमान सत्ता–सहयात्रामा एमाले कुनै पनि दिन कांग्रेसलाई दोषको जिम्मा दिएर सेफ ल्याण्डिङ तर्फ अग्रसर हुने छ । त्यसो त सत्ता छाड्नु पर्दा बरू संसद् नै विघटन गर्नेसम्मको असंवैधानिक र अनैतिक काम गर्ने ओलीले देउवालाई सहजै सत्ता सुम्पने कुरामा झिनो आशा समेत गर्न सकिंदैन । त्यति बेला, अहिले डेढ वर्षपछि सत्तारोहण गर्ने कांग्रेसको, विशेषतः देउवाको सपना पूर्ण रूपमा तुहिने छ ।

यी सबै तथ्यका बीच कांग्रेसले समयमै ओलीबाट सचेत भएर क्रमशः एमालेकरण हुँदै गएको आफ्नो पार्टीलाई मुक्त गराउन सकेन भने देउवाको सत्ता प्राप्तिको खेलमा कांग्रेसले आफ्नो स्वपहिचान र अस्तित्व गुमाउने छ । र, फेरि पनि एमालेकै टेको र बैशाखीमा उसले बाँकी भविष्य गुजार्नु पर्ने छ । त्यो पनि अहिलेको जस्तो पहिलो दलको रूपमा होइन; दोस्रो, तेस्रो वा कतिऔं स्थानको दलको रूपमा ।

The post क्रमशः एमालेकरण हुँदै गएको कांग्रेस appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register