इतिहास : यसरी जन्मिएको थियो पाकिस्तान

काठमाडौं । जब भारत र पाकिस्तानबीच बारम्बार तनाव चुलिन्छ, धेरैको मनमा यो जिज्ञासा पैदा हुन्छ – आखिर यी दुई देशबीचको झगडाको कारण, ‘लफडा’ के हो ? किन कहिल्यै मिल्न सक्दैनन् भारत र पाकिस्तान ? संसारमा क्षेत्रीय सहयोग सङ्गठन र सहकार्य सफल भएका थुप्रै उदाहरण छन् । युरोपियन युनियन छ । छिमेकमै दक्षिणपूर्वी एसियाली देशहरूको सङ्गठन […]

May 13, 2025 - 13:11
 0
इतिहास : यसरी जन्मिएको थियो पाकिस्तान

काठमाडौं । जब भारत र पाकिस्तानबीच बारम्बार तनाव चुलिन्छ, धेरैको मनमा यो जिज्ञासा पैदा हुन्छ – आखिर यी दुई देशबीचको झगडाको कारण, ‘लफडा’ के हो ? किन कहिल्यै मिल्न सक्दैनन् भारत र पाकिस्तान ?

संसारमा क्षेत्रीय सहयोग सङ्गठन र सहकार्य सफल भएका थुप्रै उदाहरण छन् । युरोपियन युनियन छ । छिमेकमै दक्षिणपूर्वी एसियाली देशहरूको सङ्गठन ‘आसियान’ छ । तर, दक्षिण एसियामा ‘सार्क’ कहिल्यै प्रभावशाली बन्न सकेन । यसको निर्णायक कारण पनि भारत–पाकिस्तान तनाव नै बन्ने गरेको छ ।

अफगानिस्तान त सार्कमा सन् २००७ मात्र थपिएको हो । अफगानिस्तानको कारणले सार्क सायद निष्क्रिय हुने थिएन, यदि भारत–पाकिस्तान सम्बन्ध राम्रो हुन्थ्यो भने ।

हो – भारत र पाकिस्तान कहिल्यै मिल्न नसक्ने ‘जुम्ल्याहा सन्तान’ जस्तै हुन् । आधुनिक विश्व राजनीतिको मानचित्रमा यी दुवै देश एक दिन जन्मेका थिए । सन् १९४७ अगष्ट १५ का दिन । भलै कि पाकिस्तानले आफ्नो औपचारिक स्वतन्त्रता दिवस एक दिन अघि अगष्ट १४ मा मनाउँछ ।

त्यो बेला नयाँ दिल्ली र कराँचीमा दुई भिन्नाभिन्नै स्वतन्त्रता उत्सव समारोह आयोजित भएका थिए । ब्रिटिश साम्राज्यका अन्तिम भाइसराय लर्ड माउन्टबेटनले दुवै सभामा भाग लिएका थिए ।

दिल्लीमा प्रधानमन्त्री घोषित भएका थिए– पण्डित जवाहरलाल नेहरू । कराँचीको सभामा मोहम्मद अली जिन्ना पाकिस्तानको प्रथम गभर्नर जर्नेल घोषित भए ।

यदाकदा व्यक्तिका ‘अहं–सङ्घर्ष’ ले इतिहासको बाटोलाई फरक मोड दिन्छ । र, त्यो दूरगामी प्रभाव वा दूर्भाग्यको कारण पनि बन्ने गर्छ । यो कोणबाट पनि धेरैले तर्क गर्छन् – भारत–पाक विभाजन ती दुवै देश र सिङ्गो दक्षिण एसियाको शान्ति, समृद्धि र प्रगतिका लागि त्यस्तै एउटा दूर्भाग्य त थिएन ?

भनिन्छ – स्वतन्त्र भारतको प्रथम प्रधानमन्त्री को हुने भन्ने विषयमा नेहरू र जिन्नाबीच ‘अहं–सङ्घर्ष’ थियो । भलै कि यो सवालमा पण्डित नेहरू आफैँ निर्णायक थिएनन् ।

नेहरू माहत्मा गान्धीको कुरा काट्न सक्दैनथे । महात्मा गान्धीको समर्थन र प्रस्तावबिना नेहरू प्रथम प्रधानमन्त्री हुने थिएनन् सायद । तर, जिन्ना गान्धीलाई विश्वास गर्दैनथे । जतिसुकै ठूलो अहिंसावादी, धर्म निरपेक्ष चिन्तक तथा महान स्वतन्त्रता सेनानी भए पनि गान्धी हिन्दु हुन् र अन्ततः उनले नेहरूकै पक्ष लिन्छन् भन्ने जिन्नालाई मनमा लागिरहन्थ्यो ।

त्यसो त यो दौडमा अर्का व्यक्ति पनि थिए– सरदार बल्लभभाई पटेल । नेहरू पटेलभन्दा १४ वर्ष कान्छा थिए । भारतीय राष्ट्रिय काङ्ग्रेसको आन्तरिक राजनीतिमा पटेलको वरिष्ठता र छवि निक्कै उच्च थियो । तर, गान्धीको सहमति र स्वीकृति भने नेहरूले पाए ।

पटेललाई इतिहासकारहरूले ‘हुन नसकेको प्रधानमन्त्री’को संज्ञा दिने गर्दछन् । तर, देशको प्रथम उपप्रधानमन्त्री तथा शक्तिशाली गृहमन्त्री भने उनै भए ।

दक्षिण एसियाली समाजको धार्मिक द्वन्द्व, सामाजिक विभाजन र साम्प्रदायिक यथार्थको कारण एक भिन्नै देश ‘पाकिस्तान’ त जन्मियो तर यो इतिहासको कुनै पनि कालखण्डमा भिन्नै पहिचान र राष्ट्रियता भने थिएन ।

एकीकृत देश बनिनसकेको भए पनि ‘भारत’ ऐतिहासिक रुपमा हजारौं वर्ष लामो राष्ट्रियता, साझा भावना र मनोविज्ञान थियो । ‘भारत’ शब्दको चर्चा करिब ४–५ हजार वर्ष अघिका ग्रन्थ ऋग्वेद र महाभारत मै थियो तर पाकिस्तान भन्ने शब्दको जन्म नै भएको थिएन । ‘भारत’ शब्द ‘भरत’ बाट उत्पति भएको हो । यसको अर्थ हुन्छ – भरतद्धारा स्थापित र पालित राज्य । हिन्दु समाजले भरतलाई दक्षिण एसियाको प्रथम चक्रवर्ती सम्राट मान्दछ । तसर्थ यस क्षेत्रलाई ‘भारत वर्ष’ भन्ने गरिन्थ्यो । हिन्दु किंवदन्तीअनुसार भरत दुश्यन्त र शाकुन्तलाका छोरा थिए ।

भारत स्वतन्त्र हुनुअघि कान्दाहारदेखि म्यानमारसम्मको भूभागलाई ‘भारत वर्ष’ भन्ने चलन थियो । तर, यस सीमाभित्र अनेक राज्य र रजौटा थिए । बेलायती साम्राज्यले यो क्षेत्रमा १९४ वर्ष शासन गर्‍यो ।

इतिहासकारहरूका अनुसार भारत वर्षमा ७०० बढी राज्यहरू थिए । आज पाकिस्तानतिर परेका भूभागमा पनि यस्तै राज्य थिए ।

पकिस्तान जन्मिने परिस्थिति किन आयो भनेर बुझ्न ‘भारत वर्ष’ को इतिहासलाई अलिक लामै पर्गेल्नुपर्ने हुन्छ । यो कुनै शताब्दिऔं लामो प्रक्रिया थियो ।

सन् १६०० मा बेलायती महारानी एलिजाबेथ प्रथमले विश्वभरि इङ्गल्यान्डको व्यापार विस्तार गर्न पाँच ठूला ‘चार्टर्ड कम्पनी’ बनाइन् । तिनैमध्ये एक थियो – ब्रिटिश इस्ट इन्डिया कम्पनी । यसले दक्षिण र दक्षिण पूर्वी एसियाको व्यापारको जिम्मा पाएको थियो ।

पश्चिमाहरूले भारतलाई ‘इन्डिया’ भन्नुको कारण भने भिन्नै छ । प्राचीन सभ्यताकालदेखि नै ‘सिन्धु’ नदीलाई ‘इन्दश’ भनिन्थ्यो । उनीहरूको बुझाइमा ‘इन्दश’ नदी पारि अर्थात् पूर्वको भाग ‘इन्डिया’ थियो । ‘भारत वर्ष’ को अर्को नाम ‘हिन्दुस्तान’ हो ।

दिल्ली सुल्तानियतका मुगल सम्राट जहाँगिरसँग सन् १६१२ मा इस्ट इन्डिया कम्पनीले भारतमा उद्योग तथा व्यापार गर्ने अनुमति लियो । सुरतमा उनीहरूले पहिलो कारखाना खोले ।

सन् १७५७ को पलासी युद्धमा बङ्गालका सुल्तान ब्रिटिश इन्डियासँग पराजित भए । त्यसपछि भारतमा अङ्ग्रेजको दबदबा बढ्दै गयो । सन् १८५७ मा सिपाही विद्रोहको दमनपछि पूरै ‘भारत वर्ष’ मा ब्रिटिश इन्डियाको शासन चल्न थाल्यो ।

तर, ब्रिटिशभन्दा अगाडि नै ‘भारत वर्ष’ मा तीन ठूला बाह्य हस्ताक्षेप र जनसाङ्ख्यिक परिवर्तन भइसकेका थिए ।

इसापूर्व ३२५ तिर मेसिडोनियाली सम्राट ‘अलेक्जेण्डर द ग्रेट’ पञ्जाबसम्म आएका थिए । तर, उनी १९ महिना मात्रै भारतमा बसे । मेसिडोनियाली हस्तक्षेपले भारतको जनसङ्ख्या संरचनामा परिवर्तन ल्याउन सकेन ।

आठौं शताब्दिबाट मुस्लिम जनसङ्ख्याको भारत आगमान व्यापक हुँदै गयो । मुसलमानहरूको आगमन अघि ‘भारत वर्ष’ हिन्दु, बौद्ध, जैन, शिख, किराँत, बोन र स्थानीय जनजातीय प्राकृतिक धर्म–संस्कृतिको प्रभाव थियो ।

छैठौं शताब्दिमा अरब क्षेत्रबाट इस्लामको उदय भएको थियो । ती पूर्वतिर लाग्न थालेका थिए । सन् ११७५ मा मोहम्मद घोरीले मुल्तान र पञ्जाबमा पहिलो मुस्लिम शासन स्थापित गरेका थिए । सन् १२०६ मा दिल्लीमा मुस्लिम शासक स्थापित भए । सन् १३२८ मा बङ्गाल सुल्तानियत स्थापित भयो । सन् १५२५ मा पानीपतको युद्धमा अब्राहम लोदीलाई पराजित गर्दै दिल्लीमा बाबरले मुगल साम्राज्य स्थापित गरे ।

यी फरकफरक वंशका मुस्लिम शासक थिए तर धर्मले सबै इस्लाम थिए । तसर्थ अब भारत वर्षमा मुस्लिम जनसङ्ख्या व्यापक हुँदै गयो ।

स्वतन्त्रता अघि सन् १९४१ मा भएको जनगणनाअनुसार ब्रिटिश शासित भारत क्षेत्रमा २४.३ प्रतिशत जनसङ्ख्या मुस्लिम पुगिसकेको थियो । मुस्लिम जनसङ्ख्या मुख्य दुईवटा क्षेत्रमा सघन थियो । पूर्वका बङ्गाल भाषी र पश्चिममा उर्दु भाषी मुस्लिम थिए ।

सन् १८८५ मा अखिल भारतीय राष्ट्रिय काङ्ग्रेसको गठनपछि बिस्तारै ब्रिटिश राजबाट स्वतन्त्र हुन चाहना भारतीयहरूमा बढ्न थालेको थियो । तर, काङ्ग्रेस आधुनिक र धर्म निरपेक्ष सोचका चिन्तकले भरिएका थियो ।

कट्टर हिन्दु र मुस्लिम दुवैले काङ्ग्रेसलाई मान पराउन सकेनन् । सन् १९१५ मा विनायक दामोदर सावरकरले ‘अखिल भारतीय हिन्दु महासभा’ बनाए । अर्कोतिर सन् १९०६ मै ढाकामा ‘अखिल भारतीय मुस्लिम लिग’ को गठन भइसकेको थियो ।

सन् १९१३ मा मोहम्मद अली जिन्ना आखिल भारतीय मुस्लिम लिगको नयाँ नेता बने । कराँचीमा जन्मिएका जिन्नाले लन्डनबाट कानुन पढेका थिए । भारत फर्किएर उनले मुम्बईबाट वकालतको अभ्यास गर्न थालेका थिए । प्रारम्भमा उनी हिन्दु–मुस्लिम एकता र एकीकृत स्वतन्त्र भारतको पक्षमा थिए । सन् १९२० सम्म उनी भारतीय राष्ट्रिय काङ्ग्रेसको समेत नेता मानिन्थे । त्यसपछि काङ्ग्रेसबाट राजीनामा गरी मुस्लिम लिगको गतिबिधिमा केन्द्रित हुन थाले ।

अब जिन्नामा दक्षिण एसियामा मुस्लिम समुदायको भविष्यलाई लिएर चिन्ता बढ्न थालेको थियो । हिन्दु र मुस्लिम भिन्नाभिन्नै राष्ट्रियता हुन्, ब्रिटिश राजबाट स्वतन्त्रतापछि यी दुवै समुदायका भिन्नाभिन्नै देश बन्नुपर्छ भन्ने सोच उनका बढ्दै गयो ।

भारत वर्षको ब्रिटिश राजभित्र ‘दुई राज्य सिद्धान्त’ का मुख्य प्रतिपादक थिए– रहमत अली चौधरी । उनलाई ‘पाकिस्तान आन्दोलन’ का सृजक पनि मानिन्छ ।

चौधरी पञ्जाबमा जन्मिएर लाहोरमा पढेका थिए । सन् १९३३ मा क्याब्रिज विश्व विद्यालयको विद्यार्थी हुँदा उनले एक पर्चा लेखे । त्यसका उनले पहिलोपटक ‘पाकिस्तान’ शब्द उल्लेख गरेका थिए ।

पाकिस्तान– पञ्जाब, अफगान, कश्मीर, सिन्ध र वलुचिस्तानको संक्षेपीकरण हो । पञ्जाबको ‘पी’, अफगानको ‘ए’, कश्मीरको ‘केए’ सिन्धको ‘एस’ र बलोचिस्तानको ‘स्तान’ मिलाएर बन्ने शब्द–‘पाकस्तान’ हुन्थ्यो । तर, त्यसलाई उच्चारण सहजताका लागि ‘पाकिस्तान’ भन्न थालियो ।

यसरी पाकिस्तान कुनै मौलिक राष्ट्रियता जनाउने शब्द नभएर रहमत अली चौधरीले निर्माण गरेको कृत्रिम शब्द थियो । यो शब्द जन्मेकै जम्माजम्मी ९२ वर्ष भएको छ ।

रहमत अली चौधरीले उक्त पर्चामा लेखेका थिए–‘हाम्रो धर्म र संस्कृति, हाम्रो इतिहास र परम्परा, हाम्रो सामाजिक संहिता र आर्थिक प्रणाली, हाम्रो पौत्रिक अंशियारी कानुन, हाम्रो विवाह र सम्बन्धविच्छेद भारतमा बसिरहेका अरु मानिसको भन्दा आधारभूत रुपमै भिन्न छ । हामीसँगै बसेर खान, एकअर्कामा विवाह गर्न सक्दैनौं । हाम्रो राष्ट्रिय प्रचलन र पात्रो फरक छ । यहाँसम्म कि हाम्रो खानपान र वेशभूषा पनि फरक छ ।’

करिब एक दशकसम्म यो शब्दले धेरै महत्त्व पाएन । तर, अन्ततः जिन्नाले आफ्नो राजनीतिक उद्देश्यका लागि यही शब्द टिपे । सन् १९४० मा मुस्लिम लिगको महासभाले ‘लाहोर संकल्प’ पारित गर्दै भिन्नै पाकिस्तान राज्य बन्नुपर्ने माग गर्‍यो ।

सन् १९४२ को ‘भारत छोडो आन्दोलन’ पछि स्वतन्त्रताको माहौल बन्दै गयो । सन् १९१९ पछि भारतीय राष्ट्रिय काङ्ग्रेसमा गान्धी युगको उदय भएको थियो । यसपटक गान्धीले ‘गर कि मर’ को नारा दिएका थिए ।

दोस्रो विश्व युद्धपश्चातको चुनाव बेलायतमा लेबर पार्टीले जित्यो । युद्ध नायक मानिएका वेस्टन चर्चिल पराजित भए । क्लेमेन्ट रिचार्ड एटली नयाँ प्रधानमन्त्री बने । उनले १९४७ जुलाई १८ तारिख बेलायतको संसद्‌बाट भारतीय स्वतन्त्रता अधिनियम पारित गराए ।

सन् १९४६ को संविधानसभा निर्वाचनमा भारतीय राष्ट्रिय काङ्ग्रेसले बहुमत हासिल गरेको थियो । तसर्थ, पण्डित जवाहरलाल नेहरूलाई प्रधानमन्त्री बन्न आमन्त्रित गरिए पनि मोहम्मद अली जिन्ना नेतृत्वको मुस्लिम लिगले स्वीकार गर्‍यो ।

मुस्लिम जनताको भविष्य सुनिश्चित नभएसम्म स्वतन्त्रताको प्रक्रिया अगाडि बढ्न नदिने भन्दै मुस्लिम लिगले आन्दोलनको आह्वान गर्‍यो । यही क्रममा बङ्गाल, आसाम, बिहार, पञ्जाबलगायतका क्षेत्रमा व्यापक हिंसा र सम्प्रदायिक दंगा भड्कियो । भनिन्छ– यसक्रममा कम्तीमा १० लाख मानिस मारिए ।

सन् १९४७ को मार्चमा प्रधानमन्त्री एटलीले भारत–पाकिस्तान विभाजनको प्रस्तावसँगै नयाँ भाइसराय लर्ड माउन्टबेटनलाई भारत पठाए । मुस्लिम लिग र जिन्नाले यो प्रस्तावको समर्थन गरे । गान्धी र काङ्ग्रेस प्रस्ताव स्वीकार गर्न बाध्य भए ।

यसरी जन्मियो पाकिस्तान । एक विद्यार्थीले लेखेको पर्चाको नाम नै एक नयाँ राष्ट्र र राष्ट्रियताका रुपमा अनुमोदित भयो । देश विभाजनलाई मान्यता दिएको आरोपमा माहात्मा गान्धीले नाथुराम गोड्सेबाट मारिनुपर्‍यो । अखिल भारतीय महासभाका सदस्य गोड्से गान्धीले अडान लिएको भए देश विभाजन हुँदैनथ्यो भन्ने विश्वास गर्थे ।

तर, नयाँ देश पाकिस्तान बने पनि यसले अर्को समस्या खडा गर्‍यो । पूर्वका बङ्गाली भाषी मुसलमानका लागि ‘पाकिस्तान’ शब्दभित्र स्वामित्व अनुभूति गर्ने ठाउँ थिएन । ‘पाकिस्तान’ शब्द निर्माण गर्दा बङ्गालको नाम नै लिइएन । त्यसलाई ‘पूर्वी पाकिस्तान’ भनियो । तसर्थ, पछि सन् १९७१ मा पूर्वी पाकिस्तान भिन्नै बङ्गलादेश बन्यो ।

पाकिस्तान र पूर्वी पाकिस्तानको सीमा जोडिदैन्थ्यो । पाकिस्तान राजनीति र प्रशासनमा पश्चिमी उर्दू भाषी मुस्लिमको बोलाबाला थियो । तिनले बङ्गाललाई दोस्रो दर्जाको व्यवहार गर्न खोजेका थिए । बङ्गालको स्वतन्त्रता युद्ध भनिएको यस प्रक्रियमा ३० लाख मानिस मारिएको हुन सक्ने ठानिन्छ ।

यसरी भारत र पाकिस्तान जन्मिदै तनावका बीचमा थिए । स्वतन्त्रतापछि अर्को कारण थपियो– कश्मीर । ब्रिटिश शासनकालमा कश्मीरले ‘प्रिन्सली स्टेट’ को मान्यता पाएको थियो । यस्ता राज्यको शासनप्रशासन ब्रिटिश राजको समर्थनमा स्थानीय राजा रजौटाले नै चलाउँथे । कश्मीर त्यस्तै थियो ।

कश्मीर हिन्दु–मुस्लिम जनसङ्ख्यायिक परिवर्तन भइरहने राज्य थियो । त्यो बेला कश्मीरमा मुस्लिम जनसङ्ख्या बहुल थियो तर हिन्दु राजा हरि सिंह थिए ।

मुस्लिम जनताले बेलाबेला हिन्दु राजासँग असन्तुष्टि व्यक्त गर्थे । विद्रोहको प्रयास गर्थे । सन् १९४७ को अक्टोबरमा त्यस्तै एक विद्रोही समूहले ‘स्वतन्त्र कश्मीर’ घोषणा गर्‍यो । यही बाहनामा विद्रोहीलाई साथ दिन भन्दै पस्तुन लडाका पाकिस्तान क्षेत्रबाट कश्मीर प्रवेश गरे । ती राजा हरि सिंहलाई अपदस्थ गर्न चाहन्थे । महाराजा हरि सिंहले भने विद्रोहीको दमन गर्न भारतीय सेनाको साथ मागे । भारतमा गाभिने सम्झौता गरे ।

यसरी कश्मीर तीन टुक्रा भयो । ५५ प्रतिशत भूभाग भारतमा पर्‍यो भने पाकिस्तान समर्थक विद्रोहीले नियन्त्रणमा लिएको भाग, जसलाई ‘पाकिस्तान अधिनस्थ कश्मीर’ भनिन्छ, मा ३० प्रतिशत भूभाग पर्दछ । बाँकी १५ प्रतिशत अक्साई चीन क्षेत्र चीनमा गाभिएको छ ।

सन् १९४९ मा संयुक्त राष्ट्रसङ्घले कश्मीर भारततिर जाने, पाकिस्तान हुने कि भिन्नै स्वतन्त्र राज्य हुने भन्ने तीन विकल्पमा जनमत संग्रह गराउन सुझाएको थियो । तर, भारत–पाकिस्तान दुवैले स्वीकार गरेनन् ।

सन् १९६२ मा चीनले भारतमाथि आक्रमण गरेपछि पाकिस्तानले यसलाई कश्मीर कब्जा गर्ने अवसरका रुपमा लियो । सन् १९६५ मा कश्मीरमा ‘अप्रेसन जिब्राल्टर’ सुरु गर्‍यो । यसलाई दोस्रो कश्मीर युद्ध भनिन्छ । तर, पुरै कश्मीर कब्जा गर्न सफल भएन ।

विभाजनको बेलाको तिक्तता र कश्मीर मुद्दाले भारत–पाकिस्तान सम्बन्ध सधैँ तनावमा हुन्छ । त्यसमा अर्को कारण पनि थपिएको छ– सीमापार आतंकवाद ।

सन् १९७२ को सिमला सम्झौतापछि भारत र पाकिस्तान तनाव सधैँलाई शिथिल हुने अपेक्षा गरिएको थियो । यसमा बङ्गलादेशलाई मान्यता दिने, भारत–पाक सम्बन्ध सामान्यीकरण, कश्मीर मामिलामा सन् १९४९ को ‘युद्ध–विराम रेखा’ लाई स्वीकार गर्दै दुवै देश त्यसैलाई ‘नियन्त्रण–रेखा’ मान्न सहमत भएका थिए । हिमाञ्चल प्रदेशको सिमलामा भेट भएर भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र पाकिस्तानी प्रधानमन्त्री जुल्फिकार अली भुट्टोले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

जम्मू–कश्मीर क्षेत्रमा थुप्रै लडाकु सङ्गठन उदय भए । तिनले भारतविरुद्ध आतंकी हमला गर्न थाले । सन् १९९९ को डिसेम्बरमा हरकत–उल–मुजाहिदीन नामको इस्लामिक अतिवादी समूहले काठमाडौं–दिल्ली उडानमा रहेको उडान नम्बर ८१४ इन्डिया एयरको जहाज अपहरण गरी अमृतसार हुँदै अफगानिस्तानको कान्दार पुर्‍यायो । सन् २००१ को डिसेम्बर १३ का जैस–ए– मोहम्मदले भारतीय संसद भवन मै आक्रमण गर्‍यो ।

सन् २००८ को नोबम्बर २६ मा पाकिस्तान आधारित लस्कर–ए– तोइबाले मुम्बईको ताज प्यालेस होटलमा आक्रमण गरेको थियो । यो घटनामा १७५ जना मारिएका र ३०० बढी घाइते भएका थिए ।

यस्ता अनेक तनाव र आक्रमणको शृङ्खलाबीच गत अप्रिल २२ को पहलगाम आक्रमणले यसपटकको तनाव सुरु भएको हो । भन्न सकिन्न– भारत–पाकिस्तान तनावले कस्तो रुप लिन्छ । किनकी यो तनावको मनोवैज्ञानिक कारण शताब्दिऔं लामो छ ।

अर्कोतिर पाकिस्तानलाई एक साझा र सर्वसम्मत राष्ट्रियता बनाउने प्रक्रिया आन्तरिक रुपमै समस्याग्रस्त छ । पाकिस्तानमा दर्जनौं पूर्व राज्यहरू छन् । पाकिस्तान राजनीति, सेना, प्रशासन र अर्थतन्त्रमा अहिले पञ्जाबी र सिन्धीहरूको बोलाबाल छ । बलोचिस्तान स्वतन्त्रताको आन्दोलन धेरै लामो हो । गिल्गिट–बाल्टिनस्तान क्षेत्रमा पनि पृथकतावादी आन्दोलन हुने गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register