सादगीबाट दागी बनेका रमेश लेखक

मानवतस्करीमा उनको संलग्नता रहे नरहेको यथार्थ अख्तियारको अनुसन्धानले खोल्नेछ । तर, सादगी चरित्रका लेखकमाथि सार्वजनिक रूपमा प्रश्न उठिसकेको छ । तसर्थ, यसबखत उनकै शब्द सापटी लिएर भन्नुपर्ने हुन्छ- माननीय गृहमन्त्री ज्यूबारे मानवतस्कर सेटिङमा संलग्नताको प्रश्न उठेको छ । राज्यको सक्षम निकायले अनुसन्धान गर्नुपर्ने स्थिति भएकाले मन्त्रीजी, मन्त्रीको पदमा रहन पाउनुहुन्न । रहनुहुन्न ।

May 23, 2025 - 17:37
 0
सादगीबाट दागी बनेका रमेश लेखक

काठमाडौं । काङ्ग्रेसमा भएकामध्ये सादगी नेताका गणना पर्थे रमेश लेखक । शान्ति प्रक्रिया, संविधान निर्माण हुँदै संविधान कार्यान्वयनको पछिल्लो राजनीतिक परिवेशमा लेखक जहिल्यै इमानदार र निष्ठावान् राजनीतिज्ञका रूपमा चिनिए । लेखकले राजनीतिक यात्राका क्रममा यसअघि पनि केहीपटक मन्त्री हुने अवसर प्राप्त गरेका थिए । यसअघि ती मन्त्रालय सम्हाल्दा उनी प्राय: विवादमा तानिएनन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्‌मा गृहमन्त्री सम्हालेसँगै लेखको सादगी छवि धुमिल बन्दै गयो ।

गत माघमा गृहमन्त्री लेखकले पदीय दुरुपयोग गर्दे जातीय विभेदको घटना प्रवर्द्धनमा अग्रसर भएको प्रकरण सार्वजनिक भयो । त्यो प्रकरणमा मानवअधिकार आयोगले उनीमाथि गरिरहेको अनुसन्धान जारी छ । अहिले, उनी भिजिट भिसाको सेटिङ प्रकरणमा मुछिएका छन् । यो प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। गृहमन्त्रीको कार्यकालमा उनी एकपछि अर्को विवादमा तानिएकै हुन्छन् । विपद् प्रतिकार्यमा होस् वा तीनकुने घटनाका बखत गृह प्रशासनमा उनको कार्यकुशलतामा एकपछि अर्को प्रश्न उठेकै हुन्छ ।

लेखक गृहमन्त्री बनेसँगै प्रहरी प्रशासनभित्र राजनीतिक हस्तक्षेपले निरन्तरता पायो । स्थिति कस्तोसम्म देखियो भने आफ्ना दलका नेताले मन नपराउने एसपीलाई उनको गृह जिल्लामा गरिएको सरुवा लेखकले रोकिदिए । कात्तिक २ मा महानिरीक्षक बसन्तबहादुर कुँवरले मोरङका एसपी नवजार कार्कीलाई हटाए । उनको स्थानमा एसपी राजन लिम्बुलाई मोरङमा काज सरुवा गरिएको थियो । एसपी लिम्बु र  नेता शेखर कोइरालाबीच  राम्रो सम्बन्ध थिएन । गृहमन्त्री लेखकले महानिरीक्षक कुँवरको निर्णय कार्यान्वयन नगराउन दबाब दिए । लेखकले कोइरालाकै रोजाइका पात्र एसपी नारायणप्रसाद चिमोरियालाई मोरङ पठाइदिए ।

मन्त्री भएको केही दिनमै लेखकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको प्रमुखबाट श्यामलाल ज्ञवालीलाई हटाइदिए । उनले टीकापुर जग्गा हिनामिना, बालमन्दिर लगायत मुद्दामा अनुसन्धान गरिरहेका थिए । भुटानी शरणार्थी प्रकरणमा प्रहरीले मुख्य बिचौलिया बेचन झालाई भारतबाट नेपाल ल्याएको थियो । झाको सञ्जालबारे अनुसन्धान नै अघि बढ्न सकेन ।  असोज १० गतेको भीषण बाढि पहिरोमा उद्धारको काम पनि प्रभावकारी भएन । ‘भिजिबिलिटी लो’ भएका कारण राहत तथा उद्धार अघि बढ्न नसकेको जवाफ दिँदा उनी निकै आलोचित हुनुपरेको थियो ।  तीनकुने घटनामा पनि कार्यक्रम स्थल स्वीकृतिदेखि हिंसात्मक आन्दोलन नियन्त्रणमा कमजोरी प्रस्तुत रह्यो । यी सबै प्रकरणलाई नजिकबाट नियालेका पूर्व डिआइजी हेमन्त मल्ल गृह प्रशासनको कमान्ड र कन्ट्रोलमा उनी कमजोर देखिएको बताउँछन् । गृहमन्त्री लेखकको छवि र कार्यशैलीप्रति मल्लको सटिक टिप्पणी छ, ‘भलाद्मी गृहमन्त्रीले गृह प्रशासनलाई भद्रगोल बनाउनुभयो ।’

माघ २२ मा नयाँपत्रिका दैनिकमा पत्रकार नवराज मैनालीले गृहमन्त्री लेखकको पदीय दुरुपयोगको विद्रुप चित्र सार्वजनिक गरेका थिए । सर्लाहीको बरहथवा नगरपालिका ४ का सत्यन्द्रकुमार राम चमार र बरहथवा ५ की नेहा रौनियारबीचको अन्तरजातीय प्रेम विवाह तोड्न लेखकले गृह प्रशासनको दुरुपयोग गरेका थिए । गृहमन्त्री लेखकसँग राम्रो सम्बन्ध भएका व्यापारी सुरेन्द्र रौनियारले गृहमन्त्रीसँगको पहुँचको दुरुपयोग गर्दै सत्यन्द्रलाई थुनाएर छोरीसँगको सम्बन्ध तोडाउन खोजेका थिए । भागेर मुम्बई गएका दम्पतीलाई नेपाल ल्याउनका निम्ति गृहमन्त्रीकै निर्देशनमा हाल एसपी रहेका रूगम कुँवर र सहायक हवलदार इन्द्र पोखरेल युवतीका बुवा सत्यन्द्रसँग मुम्बई पुगेका थिए । घटनामा शक्तिको चरम दुरुपयोग भएको निष्कर्ष मानवअधिकार आयोगको प्रारम्भिक छानबिनले निकालेको थियो । उक्त घटनाबारे अनुसन्धान सकेर प्रतिवेदन तयार गर्ने काम आयोगले गरिरहेको मानवअधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए । ‘आयोगले अनुसन्धान सकिसकेको छ । प्रतिवेदन लेखनको काम भइरहेको छ । सकेपछि सत्यतथ्य सार्वजनिक हुनेछ,’ उनले नेपालभ्युजसँग भने ।

अहिले गृहमन्त्रीको सादगी चरित्रमा दाग लाग्ने गरी एउटा गम्भीर घटना सार्वजनिक भएको छ- अध्यागमनको सेटिङमा मानव तस्करी, त्यसबाट दैनिक ५० लाखसम्म असुली र गृहमन्त्रीको सचिवालय नै त्यसको सेटिङमा संलग्न ।

यस प्रकरणमा गृहमन्त्रीको स्वकीय सचिवालयमा रहेका गणेश ओझादेखि जनक भट्टसम्मको नाम मुछिएको छ । ओझा मोहन्याल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचारमा मुछिएका कर्मचारी हुन् । कार्यपालिकाबाट निर्णय गराएर गैरकानुनी रूपमा ५४ लाख १८ हजार रुपैयाँ राजश्व छुट दिएपछि उनलाई अख्तियारले मुद्दा चलाएको थियो । उनको यो मुद्दा हाल पनि सर्वोच्चमा विचाराधीन अवस्थामा छ । त्रिपाल खरिद काण्डमा भ्रष्टाचारमा मुछिएका सहसचिव तीर्थराज भट्टराईलाई अध्यागमन विभाग पठाउने जोडबल पनि गृहमन्त्री लेखककै थियो । अख्तियारले छानबिन गरेको सुइँको पाएपछि मंगलबार भट्टराईलाई सरुवा गरी गृहमन्त्रालय तानिएको थियो । बुधबार अख्तियारको नियन्त्रणमा परेका भट्टराई बुधबार बेलुकै छुटे । त्यसबाहेक अध्यागमनका अन्य १५ कर्मचारीलाई पनि मन्त्री लेखकले विभिन्न ठाउँमा सरुवा गराइसकेका छन् ।

गृह मन्त्रालयको प्रमुख जिम्मेवारी सुशासन र अपराध नियन्त्रण हो । तर, गृहमन्त्रीकै सचिवालयबाट मानव तस्करी जस्तो गम्भीर अपराधको पटाक्षेप भएको छ ।  यो प्रकरणले लेखकमाथि गम्भीर प्रश्न खडा गरेको छ, अपराध नियन्त्रण गर्नुपर्ने मन्त्रालयका कर्मचारीबाट उच्च तहको संरक्षणविना अपराध कसरी सम्भव हुन्छ ?

पूर्व डिआइजी हेमन्त मल्ल अध्यागमनकै सेटिङमा विगतदेखि भइरहेका मानव तस्करीका घटना नियन्त्रण गर्नुको सट्टा उल्टै त्यसलाई प्रश्रय दिने काम आपराधिक र लाजमर्दो रहेको बताउँछन् । गृह प्रशासनमा मन्त्री लेखकका पालामा भएका घटनाक्रमहरू सिलसिलेवार रूपमा हेर्दा उनी ‘डमी मन्त्री’ रहेको भान हुने मल्लको मूल्याङ्कन छ । ‘भुटानी शरणार्थीको अनुसन्धान प्रभावकारी रूपमा अघि नबढाउने, जग्गा अनियमिततामा अनुसन्धान गरिरहेका ज्ञवालीको सरुवा गर्ने र मानव तस्करसँग सेटिङका घटनाक्रम हेर्दा उहाँ डमी गृहमन्त्री हो र मन्त्रालय अरू कतैबाट सञ्चालित भइरहेको छ भन्ने देखिन्छ,’ उनी भन्छन् ।

गृहमन्त्री भएपछि लेखकले सुझाव र सल्लाह लिन मल्ल सहित उच्च तहका पूर्व प्रहरी अधिकारीलाई बोलाएका थिए । उक्त छलफलमा रमेश खरेलले बुढानीलकण्ठको प्रभाव गृह प्रशासनमा पर्न नदिन हाकाहाकी सुझाएका थिए । हालको घटनाक्रम हेर्दा खरेलले औँल्याएको शङ्कामा केही सत्यता देखिएको मल्लको बुझाइ छ ।

आफ्नो भद्र छविलाई धुमिल नबनाउने हो भने बुढानीलकण्ठको चङ्गुलबाहिर निस्किएर गृहमन्त्रीले सार्वजनिक रूपमा केही जवाफ दिनुपर्ने मल्लको मत छ । ‘भ्रष्टाचारी सहसचिव अध्यागमनमा कसरी र कसको निर्देशनमा पुगे ? कुन स्वार्थका लागि उनलाई अध्यागमन पुर्‍याइयो ? यी प्रश्नको जवाफ मन्त्री लेखकले दिनै पर्छ,’ मल्ल भन्छन् । भद्र छवि खराब हुँदा समेत डमी भएर बस्ने हो भने उनी स्वयंलाई थप असर पुग्ने मल्लको भनाइ छ ।

एमाले-माओवादी गठबन्धन सरकार बनेको बेला रवि लामिछाने गृहमन्त्री थिए । उनीमाथि सहकारी ठगी प्रकरणमा प्रश्न उठिरहेको थियो । त्यति बेला प्रतिपक्षी बेन्चमा रहेका लेखकले गृहमन्त्रीको राजीनामा माग गरेका थिए । रविमाथि उनले निकै बलियो नैतिक प्रश्न संसद्‌मा उठाएका थिए । रविको राजीनामा मागका लागि उनले धेरै दृष्टान्त प्रस्तुत गरे ।  पूर्व अर्थमन्त्री रामशरण महतले विदेशी बैङ्कमा खाता छ भनेर प्रश्न उठ्दा राजीनामा दिएको उदाहरण पेस गरे । शेरबहादुर तामाङ शिक्षामन्त्री हुँदा बोलेका शब्दले अन्यथा अर्थ लाग्दा राजीनामा दिएको स्मरण गरे । गोकुल बाँस्कोटा सञ्चारमन्त्री हुँदा ७० करोड टेप प्रकरण सार्वजनिक भएकै भरमा राजीनामा दिँदै अनुसन्धानका लागि सघाएको चर्चा उनले संसद्‌मै गरेका थिए । गृहमन्त्रीबाट रविको राजीनामा माग गर्दै लेखकले भनेका थिए, ‘उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलन गर्ने, ठगी गर्ने, दुरुपयोग गर्ने विषयमा उहाँको संलग्नता छ । यसै सदनले यसभन्दा पहिला स्थापित गरिसकेको विषय कुनै पनि माननीय मन्त्रीजी यदि कुनै अनुसन्धानको घेरामा आउनुभो, प्रश्न उठ्यो, राज्यको सक्षम निकायले अनुसन्धान गर्नुपर्ने स्थिति भयो भने त्यस्तो माननीय मन्त्रीजी मन्त्रीको पदमा रहन पाउनुहुन्न । रहनुहुन्न ।’

रविमाथि उठाएको नैतिक प्रश्न अहिले लेखक सामु नै तेर्सिएको छ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा अरूलाई प्रश्न उठाउने मान्छेले आफूमाथि उठेका प्रश्नमा जवाफ दिने मात्रै नभएर निष्पक्ष अनुसन्धानका लागि वातावरण बनाउनुपर्ने उल्लेख गर्छन् । सार्वजनिक घटनाक्रमले सादगी नेताको चरित्रमाथि दाग लगाएकाले यसको सत्यतथ्य निरूपणमा सहयोग गर्नुपर्ने खतिवडाको भनाइ छ । ‘रमेश लेखक निकै सादगी नेता हुनुहुन्छ, तर जे कुरा सार्वजनिक भए त्यसले उहाँको सादगी चरित्रमा दाग लगायो । हिजो उहाँले निकै गहन ढंगले अरूमाथि नैतिक प्रश्न उठाउनुभएको थियो । आज अब उहाँले उत्तिकै गम्भीरतापूर्वक आफूमाथि उठेका प्रश्नबारे जवाफ दिनुपर्छ । अनुसन्धानका लागि सहयोग गर्नुपर्छ । सम्भवतः उहाँले संसद्‌मा यसको जवाफ दिनुहोला,’ खतिवडाले नेपालभ्युजसँग भने ।

एमाले-माओवादी सरकारको पालामा नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा अध्यागमनबाट भइरहेको मानव तस्करीलाई रोक्न समितिले पहलकदमी लिएकाले यस प्रकरणलाई पनि उत्तिकै गम्भीरतापूर्वक लिने उनले बताए । ‘अध्यागमनको सेटिङमा भइरहेको मानव तस्करी रोक्न समितिले विगतमा पनि पहलकदमी लिएको थियो । यस पटक पनि उत्तिकै गम्भीरतापूर्वक हामी यो घटनाक्रमलाई हेर्छौँ । अहिले हामी निजामती विधेयक अघि बढाउनुपर्ने दबाबमा छौँ । त्यसलाई टुङ्ग्याए लगत्तै समितिले यस विषयलाई पनि हेर्नेछ,’ खतिवडाले भने ।

मानव तस्करीमा उनको संलग्नता रहे नरहेको यथार्थ अख्तियारको अनुसन्धानले खोल्नेछ । तर, सादगी चरित्रका लेखकमाथि सार्वजनिक रूपमा प्रश्न उठिसकेको छ । तसर्थ, यस बखत उनकै शब्द सापटी लिएर भन्नुपर्ने हुन्छ- माननीय गृहमन्त्री ज्यूबारे मानव तस्कर सेटिङमा संलग्नताको प्रश्न उठेको छ । राज्यको सक्षम निकायले अनुसन्धान गर्नुपर्ने स्थिति भएकाले मन्त्रीजी, मन्त्रीको पदमा रहन पाउनुहुन्न । रहनुहुन्न ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register