काँटा-चम्चासमेत नछाड्ने ज्ञानेन्द्रको लालच

निःसन्देह दलहरू सत्ता र शक्तिका लोभी देखिएका छन् । राजनीतिक नेतृत्वमा देखिएको लालचीपन झल्काउन पछिल्ला केही उदाहरणहरू नै काफी छन् । तर, लोभ, लालच र द्रव्यकै तुलोमा जोख्दा ज्ञानेन्द्र एक्लै विद्यमान सबै  राजनीतिक दलहरूका भन्दा कैयौँ गुणा गह्रुङ्गो देखिन्छन् ।

May 28, 2025 - 15:50
 0
काँटा-चम्चासमेत नछाड्ने ज्ञानेन्द्रको लालच

काठमाडौं । राजा फर्काउने उद्देश्य बोकेर आन्दोलन गरिरहेका राजावादीहरू भनिरहेका छन्, ‘ज्ञानेन्द्र राजगद्दीमा नभएकै कारण देश बरबाद भयो, देश बस्नै नसकिने भयो, दलहरूको लोभ, लालच र सत्ता मोहका कारण कु–व्यवस्था भयो ।’

नयाँ वर्ष, दसैँ, पृथ्वी जयन्ती, प्रजातन्त्र दिवसको छेकोमा फुट्ने ज्ञानेन्द्रको बोली पनि यस्तै सुनिन्छ । शुभकामनाको आडमा निकालिएका विज्ञप्तिमा ‘मुलुकको चिन्ता गरेजस्तो’ गर्दै उनी आफूलाई फेरी राजगद्दीमा फर्काउन आह्वान गरिरहेका हुन्छन् । दलहरूको सत्ता र शक्तिको लोभका कारण ‘देश संटकटमा परेको’ र त्यसको संकटमोचक आफू मात्रै भएको ज्ञानेन्द्रको दाबी हुन्छ ।

निःसन्देह दलहरू सत्ता र शक्तिका लोभी देखिएका छन् । राजनीतिक नेतृत्वमा देखिएको लालचीपन झल्काउन पछिल्ला केही उदाहरणहरू नै काफी छन् । तर, लोभ, लालच र द्रव्यकै तुलोमा जोख्दा ज्ञानेन्द्र एक्लै विद्यमान सबै  राजनीतिक दलहरूका भन्दा कैयौँ गुणा गह्रुङ्गो देखिन्छन् ।

२००७ सालमा तत्कालीन राजा त्रिभुवन शाह भारत हिँडेपछि र २०५८ मा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास भएपछि चिट्ठामा राजगद्दी पाएका ज्ञानेन्द्र मूलतः व्यापारिक चरित्रका व्यक्ति हुन् । दरबारको आडमा असुली धन्दाको र्‍याकेट चलाउँथे ज्ञानेन्द्र । ज्ञानेन्द्रका असुली धन्दाको चर्चा त राजा फर्काउने अभियानको नेतृत्व गरिरहेका वयोवृद्ध पञ्च नवराज सुवेदीले नै आफ्नो आत्मकथामा गरिसकेका छन् । पूर्व प्रधानमन्त्री सूर्य थापाले ज्ञानेन्द्रलाई ‘दरबारको भूमिगत गिरोह’का नाइके नै भनेका छन् ।

२००७ र २०५८ मा राजगद्दीमा बस्नुलाई ज्ञानेन्द्र स्वयंले नै ‘बाध्यता’ भनिसकेका छन् । तर, यतिखेर उनी स्वेच्छाले राजगद्दी खोजिरहेका छन् । एक थरीले ज्ञानेन्द्र आफू नभई आफ्नो नाति हृदयन्द्रलाई राजगद्दीमा राख्छन् भन्दै लख काट्छन् । तर, नातिलाई राजा बनाउने प्रस्ताव ज्ञानेन्द्रले उहिल्यै अस्वीकार गरिसकेका हुन् । २०६३ सालमा लोकतन्त्र स्थापना भएदेखि २०६५ को १५ जेठसम्म विभिन्न माध्यमबाट हृदयन्द्रलाई राजा बनाउने प्रस्ताव ज्ञानेन्द्रसम्म पुगेको भनेर त्यति बेलाको राजनीतिमाथि लेखिएका विभिन्न पुस्तकहरूमा उल्लेख छ । आफू छँदाछँदै नाति केटोलाई राजा बनाउन नचाहेका ज्ञानेन्द्र आज आएर हृदयन्द्रलाई राजा स्वीकार्न तयार होलान् त ?

सत्ता, शक्ति र धनको मोह हेर्दा ज्ञानेन्द्र हृदयन्द्रलाई राजा स्वीकार्न तयार होलान् भन्ने आधार भेटिँदैन । नाति, छोरालाई गद्दीमा राखेर ‘नायवी शासन’ चलाउन खोज्ने आफ्ना पूर्वजको इतिहास उनले थाह पाएकै होलान् ।

यति भएपछि ज्ञानेन्द्रलाई देशको चिन्ता कति हो र बाँकी चिन्ता कति हो भन्ने बुझ्न केही मद्दत पुग्छ । साथै, अनिश्चयतामा तीर हानिरहेका ज्ञानेन्द्रमा सत्ता र सम्पत्तिको लालसा कति छ भन्ने बुझ्यो भने वर्तमान समयका राजनीतिक दलका नेताहरू र ज्ञानेन्द्रलाई तुलना गर्न सजिलो हुनेछ ।

ज्ञानेन्द्रको लिस्ट, गरिबीको पराकाष्टा

२०६५ जेठ १५ मा बसेको संविधानसभा बैठकले औपचारिक रूपमा नेपालबाट राजतन्त्रको अन्त्य गर्‍यो । सरकारले नारायणहिटीमा बसिरहेका ज्ञानेन्द्रलाई १५ दिनभित्र नारायणहिटी खाली गर्न निर्देशन दियो ।

नारायणहिटी दरबारलाई संग्राहलय बनाउन र नारायणहिटीको सम्पत्ति सरकारी ढुकुटीमा ल्याउने निर्णय भयो । यो निर्णय लागू गर्ने जिम्मा तत्कालीन सामान्य प्रशासन मन्त्रालयका सचिव गोविन्दप्रसाद कुसुमले पाए ।

जेठ १७ मा सचिव कुसुम आफ्नो टोलीसहित नारायणहिटी दरबार पुगे । नारायणहिटी पुगेदेखि नै ज्ञानेन्द्रका नोकरचाकरले कुसुमलाई सजिलोसँग काम गर्न दिएनन् । सिंहदरबारमा बसेर नारायणहिटी दरबारभित्र भएको सम्पत्तिको लागत राख्न सम्भव थिएन । त्यसैले कुसुमले नारायणहिटी दरबारभित्रै कार्यालय खोलेर दरबारका सबै कोठा, चोटा हेर्दै सरसामानको लागत राख्नुपर्छ भन्ने ठाने । अनि उनले दरबारका कर्मचारीलाई कार्यालयका लागि दरबारको एउटा कोठा मागे ।

कर्मचारीले ज्ञानेन्द्रका एडीसीलाई खबर गरे । एडीसीले ज्ञानेन्द्रलाई सुनाए । आफ्नो दरबारमा सरकारी अफिस राख्ने सुनेपछि ज्ञानेन्द्र बम्किए । कुसुम आफ्नो किताब ‘प्रशासनभित्रको प्रशासन’मा लेख्छन्- ‘मेरो कुरा जर्साब(एडीसी)ले पूर्वराजा ज्ञानेन्द्रसमक्ष पुर्‍याएपछि उहाँ ज्यादै रिसाउनु भएछ । रिसले उहाँको अनुहार रातो भएछ । कानसमेत राता भएछन् । पूर्वराजाले रिसाउँदै भन्नुभएछ – अझैसम्म म यहाँ बसिरहेको छु । यो दरबार छाड्नका लागि मलाई १५ दिनको समय सीमा सरकारले दिएको छ । मेरो कोठा र भवन अरूलाई मैले हेर्न किन दिने ? अरूको कार्यालय राख्न किन दिने ? म प्रधानमन्त्रीसँग कुरा गर्छु ।’

ज्ञानेन्द्र जति बम्किए पनि त्यसको कुनै अर्थ थिएन । अन्तरिम संविधान र संविधानसभाले ‘राजा’को अस्तित्व नकारी सकेको थियो ।

ज्ञानेन्द्रले जुनसुकै हालतमा दरबार छाड्नुपर्ने थियो । दरबार छाड्नुअगाडि ज्ञानेन्द्रले कुसुमको हातमा एउटा कागजको चिर्कटो थमाए । ज्ञानेन्द्रले पठाएको चिर्कटो थमाउँदै दरबारका सचिवले मन्त्रालयका सचिव कुसुमलाई भने, ‘कागजमा उल्लेख भएअनुसारको काम नेपाल सरकारले पूरा गरिदिएपछि दुई दिनभित्रै नारायणहिटी दरबार छाडेर जान्छु भनिबक्सिन्छ ।’

कुसुमले ज्ञानेन्द्रले दिएको चिर्कटो खोली हेरे । त्यो त रहेछ, सुविधाको सूची । जहाँ करिब एक दर्जन जति (११ वटा) बुँदामा माग गरिएका चिजहरू उल्लेख थिए । जो यस प्रकार छन्:

  • बस्नलाई घर चाहिने ।
  • रत्न र सरलालाई नारायणहिटीभित्रै बस्न दिनुपर्ने ।
  • आफ्नो परिवारको सुरक्षा व्यवस्था मिलाउनुपर्ने ।

यी माग सामान्य र केही हदसम्म स्वाभाविक थिए । तर, व्यापारिक पृष्ठभूमिका ज्ञानेन्द्रले राखेका अन्य माग यस्ता थिए, जसले उनको द्रव्य चरित्र झल्किन्थ्यो । चिर्कटोमा ज्ञानेन्द्रले राखेका बाँकी माग थिए–

  •  नारायणहिटी राजदरबार र राजपरिवारका सदस्यहरूका नाममा रहेको धारा, बत्ती, टेलिफोन एवं मोबाइलको हालसम्मको महसुल भुक्तानी (सरकारले) हुनुपर्ने ।
  • गाडीहरूको कर तिर्दिनुपर्ने र नयाँ गाडीको व्यवस्था गर्दिनुपर्ने, ड्राइभर दिनुपर्ने ।
  • डलर साट्न पाउनुपर्ने र कर छुट दिनुपर्ने ।
  • आफू र आफ्नो परिवारलाई वार्षिक रूपमा भत्ता दिनुपर्ने । निजी सचिवालयलाई (सरकारले) तलब दिनुपर्ने ।
  • आफ्नो परिवारका सबैलाई रातो पासपोर्ट दिनुपर्ने ।
  • जग्गा जमिन आफ्नै नाममा हुनुपर्ने ।
  • आफू र आफ्नो परिवारलाई विगतमा गरेका कामकारबाहीका आधारमा कुनै कानुनी कारबाही गर्न नपाइने ।

ज्ञानेन्द्रका यी माग देखेपछि सचिव गोविन्द कुसुम चकित परे । यी माग पूरा गर्नसक्ने अधिकार उनलाई थिएन । ज्ञानेन्द्रले पठाएको कागज कुसुमले तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई दिए । सिटौला यी माग बोकेर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकहाँ पुगे ।
प्रधानमन्त्रीले सिटौलालाई नै नारायणहिटी दरबार पठाएर ज्ञानेन्द्रलाई भेट्न निर्देशन दिए ।

जेठ २० मा तत्कालीन गृहमन्त्री सिटौलासहित कुसुम नेतृत्वको टोली ज्ञानेन्द्रलाई भेट्न गयो । ज्ञानेन्द्रले कुसुम नेतृत्वको टोलीलाई आफूले सहयोग गरिरहेको दाबी गरे । तर, यथार्थमा ज्ञानेन्द्रले दरबारका कर्मचारीलाई भनेर कोठा सिल गर्नू र कार्यालय राख्न नदिनू भनेका थिए ।

त्यसपछि ज्ञानेन्द्र र सिटौलाबीच एक्लाएक्लै भेट भयो । त्यही भेटमा सिटौलाले ज्ञानेन्द्रलाई दुई वर्षसम्म बस्नका लागि नागार्जुन दरबार दिने, रत्न र सरलालाई नारायणहिटीभित्रै बस्न दिने र ज्ञानेन्द्रलाई सुरक्षाकर्मी दिने वाचा गरे । तर, कतिपयले यो भेटमा ज्ञानेन्द्र र सिटौलाबीच राजतन्त्रका बारेमा सहमति भएको चर्चा गर्छन् । तर, ज्ञानेन्द्र र दलहरूबीच कुनै सहमति नभएको कुरा गिरिजा प्रसाद कोइरालाले यसअगाडि नै प्रस्ट्याइसकेका थिए ।

२०६५ साल वैशाख ८ को नेपाल म्यागेजिनलाई दिएको अन्तरवार्तामा कोइरालालाई सोधिएको छ, ‘जनआन्दोलनपछि संसद् पुनः स्थापना गरिँदा २०६३ वैशाख ११ गते तपाईंहरूले राजासँग गोप्य सहमति गर्नुभएको चर्चा सुनिन्छ । त्यसबेला त्यस्तो कुनै सहमति भएको थियो ?’

जवाफमा कोइराला भन्छन्, ‘मलाई त थाहा छैन । मसँग त्यस्तो समझदारीको कुरै भएको छैन । त्यो हल्ला फैलाइएको मात्र हो ।’

दरबार छोडे, तर छोडेनन् काँटा-चम्चा र प्लेट

ज्ञानेन्द्रको द्रव्य मोह कतिसम्म देखियो भने उनलाई गरिब देशका धनी राजा भनेर व्यंग्य गरिन्थ्यो । २०६५ को वैशाख २२ मा नेपाल म्यागेजिनमा राजकुमार बानियाँले लेखेको रिपोर्टअनुसार ज्ञानेन्द्रले दाइ वीरेन्द्रले छोरी श्रुतिलाई दिएको दाइजोसमेत खोसेर लिएका थिए ।

‘तारे होटेल, चिया बगान, चुरोट उद्योगमा उनको व्यापारिक लगानी छ,’ बानियाँले लेखेका छन्, ‘यति हुँदाहुँदै उनमा द्रव्य मोह कति भने दाजु वीरेन्द्रले छोरी श्रुतिलाई दिएको दाइजोसमेत टुहुरा नातिनीहरूबाट खोसेको चर्चा चल्यो ।’

२०६५ कै जेठ १९ मा नेपाल म्यागेजिनमा मुकुल हुमागाईँले लेखेअनुसार सोल्टी होटेल, हिमालय बुटिक, नेविको प्राली, अन्नपूर्ण होटेल, सूर्य नेपाललगायत व्यापारमा  ज्ञानेन्द्रको १ अर्ब ४ करोड १८ लाख ८२ हजार ६ सय ७९ रुपैयाँ लगानी थियो ।

कुसुमले आफ्नो किताबमा लेखेका छन्, ‘पूर्वराजालाई नागार्जुनमा दुई वर्षका लागि बस्न दिने र त्यतिन्जेलसम्म पूर्वराजा ज्ञानेन्द्रको आफ्नो व्यक्तिगत निवास जुन निर्मलनिवासका नामबाट चिनिन्छ, त्यसको मर्मत सम्भार गरी त्यहाँ सर्ने भन्ने भद्र सहमति भएको थियो ।’

यही भेटपछि सुरक्षाको कारण देखाउँदै सिटौलाले ज्ञानेन्द्र र उनको परिवारको सुरक्षाका लागि ७५ जना सुरक्षाकर्मी दिएका थिए ।

दरबार छाडेर जानुअगाडि ज्ञानेन्द्रले श्रीपेच र राजदण्ड दिनै चाहेका थिएनन् । लामो रस्साकस्सीपछि दरबार छाड्ने दिन जेठ २९ गते मात्रै उनले श्रीपेच र राजदण्ड सरकारलाई बुझाएका थिए । दरबार छाडेर जाँदा ज्ञानेन्द्रले के–के सामान लिएर जान्छन् र ज्ञानेन्द्रको कोठामा के–के सामान छ भनेर कुसुमले सोधे ।

तर, ज्ञानेन्द्रले आफू बस्ने कोठा र त्रिभुवन सदनका कोठाहरूमा के के सामान छ भनेर सरकारलाई विवरण दिएनन् । न त ती कोठा सरकारी टोलीलाई हेर्न नै दिए ।

उल्टै ज्ञानेन्द्रले कुसुम नेतृत्वको समितिलाई चिठी पठाएर, काँटा चम्चासमेत नागार्जुन लिएर जाने इच्छा देखाए । ज्ञानेन्द्रले नागार्जुन जाँदा लिएर जाने सामान भन्दै पठाएको अर्को चिर्कटोमा उल्लेख सामग्रीको सूचीले उनको वास्तविकता देखाउँछ । त्यो सूचीमा लेखिएको थियो:

  • सुत्ने, अफिस र बैठक कोठाका सबै फर्निचर ।
  • व्यक्तिगत प्रयोगका गरगहना र लत्ताकपडाहरू ।
  • इलेक्ट्रिकल सामान ।
  • भान्छाका सामान ।
  • प्लेट, काँटा र चम्चाहरू ।
  • डेकोरेसनका सामानहरू ।
  • किताबहरू ।
  • सवारी साधनहरू ।

यी सरसामानभित्र के-के सामान थिए त ? ज्ञानेन्द्रले बताएनन् । कुसुम लेख्छन्, ‘यी समानभित्र अन्य के–के सामान पर्थे वा थिए, जानकारी भएन ।’

अर्बौं सम्पत्तिका मालिक ज्ञानेन्द्रले फोन र पानीको बिलमा समेत लालच देखाए । काँटा-चम्चा, प्लेट र फर्निचरमा समेत ज्ञानेन्द्रले र्‍याल चुहाए । सरकारी सम्पत्तिमा आँखा लगाए । २०६५ जेठ ३० मा कान्तिपुर दैनिकमा पत्रकार विजय घिमिरेले लेखेअनुसार ज्ञानेन्द्रको वार्षिक आम्दानी २ करोड ५० लाख रुपैयाँभन्दा बढी थियो ।

दरबारमा रहेका ऐतिहासिक महत्त्वका सम्झौता र दस्ताबेज पनि ज्ञानेन्द्रले सरकारलाई दिएनन् । कुसुम नेतृत्वको समितिले बारम्बार सोध्दा पनि दरबारमा त्यस्ता कुनै दस्ताबेज र सम्झौता छैनन् भनेर ज्ञानेन्द्रले टारे ।

१९९७ मा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई फाँसी दिइएको थियो । यी चार जनाको बयान र अभियोगपत्र नारायणहिटी दरबारमै थियो । राणा प्रधानमन्त्रीको नियुक्ति र राजा–राणा सम्बन्धका दस्ताबेज पनि नारायणहिटी दरबारमै थिए । शाहवंशको इतिहास र २००७ सालमा त्रिभुवनलाई गद्दीबाट हटाउने र ज्ञानेन्द्रलाई गद्दीमा राख्ने कागज दरबारमै थिए ।

पञ्चायतकालमा भएका विभिन्न सन्धि, सम्झौता त्यही दरबारमा थिए । २०५८ साल जेठ १९ मा भएको दरबार हत्याकाण्डसँग सम्बन्धित तथ्य पनि दरबारमै थिए । तर, यी कुनै पनि कागजात ज्ञानेन्द्रले सरकारलाई दिएनन् । जानकारहरूका अनुसार यी कागजात दरबारभित्र ‘लाल बाकस’मा थिए । तर, ज्ञानेन्द्रले सरकारलाई त्यो ‘लाल बाकस’ नै दिएनन् ।

ज्ञानेन्द्रले राजा भएपछि सरकारी सम्पत्ति खर्चेर रोल्स रोयस गाडी किनेका थिए । त्यो फिर्ता गरेनन् । कुसुम नेतृत्वको समितिका एक जना सदस्यका अनुसार ज्ञानेन्द्रले दरबार छाड्नुअगाडि रातारात ट्रकमा महत्त्वपूर्ण सामान लोड गरेर लिएका थिए ।

दरबार छाड्दा काँटा-चम्चा, प्लेट, पानी, फोनको बिल र सरकारी दस्ताबेजमा लोभिएका ज्ञानेन्द्र आजभोलि राजनीतिक दलहरूलाई उल्टै सिकाइरहेका हुन्छन् । तत्कालीन गृहमन्त्रीले २०६५ जेठ २९ मा प्रकाशित नेपाल म्यागेजिनमा ज्ञानेन्द्रको सीमा तोक्दै भनेका थिए, ‘तत्कालका लागि पूर्वराजाले के–के गर्न पाउँदैनन् भन्दा राजतन्त्र ब्युँताउने कुरा गर्न पाउँदैनन्, कानुनले निषेध गरेका कार्य गर्न पाउँदैनन् । त्यसबाहेक अरू सब थोक गर्न पाउँछन् उनलाई कुनै रोकटोक छैन ।

तर, नागार्जुन गएदेखि नै ज्ञानेन्द्र शाहले राजतन्त्र फर्काउने कुरा मात्र होइन अभियान नै सुरु गरे । अहिले पूर्वपञ्च नवराज सुवेदी, अराजकताका पर्याय दुर्गा प्रसाईंको टेको टेक्दै फेरि गद्दीमा फर्किन कम्मर कसेर लागेका छन् ।

अरूले मानुन् या नमानुन्, उनी आफैँले आफैँलाई ‘श्री ५ महाराजाधिराज’ सम्बोधन गर्छन् । २०७८ सालयता उनले आफ्ना विज्ञप्तिबाट ‘पूर्व महाराजाधिराज’ हटाएर ‘श्री ५ महाराजाधिराज’ लेख्न सुरु गरेका छन् ।

सत्ता र शक्तिको ज्ञानेन्द्र लालच र उनी राजनीतिमा फर्किने अनुमान गर्दै २०६४ जेठ १९ को नेपाल म्यागेजिनमा लेखिएको छ, ‘राजा ज्ञानेन्द्रले पनि व्यापार व्यवसाय गरेर बाँकी जीवन बिताउने पक्कै ठानेका छैनन् होला । किनभने पाँचवर्षे राजकाजका दौरान उनले जे जस्तो शक्ति अभ्यास गरे त्यो रोमाञ्च र रौनक नेपाल त के सिंगापुर वा बेलायत गएर व्यापार गरे पनि उनले पाउने छैनन् । र, यो कुरा कसैले राम्रोसँग बुझेको छ भने ती राजा ज्ञानेन्द्र नै हुन, जो राजगद्दीबाट हट्नुपरे पनि भविष्यमा कुनै पनि बिन्दुमा राजसी पासा फ्याँकेर फेरि राजनीतिमै फर्किन पाइने आसमा देशभित्रै कतै पर्खी बस्नेछन् ।’

नभन्दै यतिखेर ज्ञानेन्द्रले राजसी पासा फालेका छन् । राजसी पासा फालेर उनी गोर्खा, पोखरा, नगरकोट र झापाका रिर्सोटमा बसेर २०६५ जेठ २९ मा नारायणहिटी छाड्दा कोमल रोएको सम्झिँदा हुन् ।

त्यो दिन उनले बा.अ.१ च ५६२४ नम्बरको बुलेट प्रुफ मर्सिडिज बेन्च गाडीमा श्रीमती कोमललाई बायाँतिरको सिटमा राखेर आफैँ गाडी चलाएर नागार्जुन गएका थिए । गाडी चढ्न जानुअगाडि कोमल रोइरहेकी थिइन् । कुसुमले पुस्तकमा लेखेका छन्, ‘पूर्वरानी कोमल गाडी चढ्दासम्म पनि आँखाबाट आँसु झारिरहेकी थिइन, ज्ञानेन्द्रले ‘बाहिर पत्रकारले देख्छन्, केही समय आफूलाई नियन्त्रण गर’ भनेर सम्झाएपछि मात्र उनले आँसु पुछेकी थिइन् ।’

२०८२ भित्रै आफू गद्दीमा फर्किने विश्वास सायद ज्ञानेन्द्रमा छ । त्यसैले नयाँ वर्ष २०८२ को शुभकामनामा उनले भनेका थिए, ‘नयाँ वर्षमा २०८२ मा नेपाली जनताको चाहनाअनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ ।’

उनले भने जस्तो परिणाम हासिल होला नहोला, तर ज्ञानेन्द्रका पछिल्ला गतिविधिले उनमा जति द्रव्य मोह छ त्यति नै सत्ता मोह पनि छ भन्ने प्रस्ट भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register