शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीनदिन शोक मनाउने निर्णय गरेका छन् । कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले उहाँको निधनमा शोक प्रस्ताव पारित गर्दै यही असार ४, ५ र ६ गते तीनदिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा झण्डा आधा […]

Jun 18, 2025 - 08:01
 0
शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने

काठमाडौं ।

नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीनदिन शोक मनाउने निर्णय गरेका छन् ।

कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले उहाँको निधनमा शोक प्रस्ताव पारित गर्दै यही असार ४, ५ र ६ गते तीनदिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेका हुन् ।

बैठकले असार ५ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेता शास्त्रीको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा यही असार २ गते निधन भएको थियो । बैठकमा नेता शास्त्रीको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका स्व शास्त्रीले प्रजातन्त्र पुनःस्थापनाको सङ्घर्ष र आन्दोलनका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बिताएका थिए ।

अर्घाखाँचीको किमडाँडामा विसं १९९३ जेठ २५ गते जन्मेका स्व शास्त्री पटकपटक पार्टीको केन्द्रीय सदस्य हुनुका साथै विसं २०४८ र विसं २०५१ को आमनिर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

नेता शास्त्रीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति कांग्रेसले उच्च सम्मान प्रकट गरेको छ । उहाँको निधनबाट कांग्रेसले एक वौद्धिक, अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको मुख्यसचिव पौडेलले उल्लेख गरे ।

कांग्रेसको सङ्गठन निर्माण र सुदृढीकरणमा पुर्‍याउनुभएको योगदान, प्रजातन्त्रप्रतिको प्रतिबद्धता, समाजवादी विचारको प्रवर्द्धन तथा पार्टीका विभिन्न महत्त्वपूर्ण पदीय जिम्मेवारीमा रहेर उहाँले निर्वाह गरेको नेतत्वदायी भूमिका पार्टीको इतिहासमा सदा स्मरणीय रहने पार्टी कार्यालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register