महाभोजमा सहकारीका कथा

चलचित्रले बोकेको एउटा जबरजस्त सन्देश हो — सहकारी पीडितलाई सरकारले न्याय दिलाउन नसके हुने विद्रोहलाई सरोकारवाला पक्षले थेग्न सक्ने छैनन् । राज्यले पीडितलाई न्याय दिँदैन र उल्टै पीडकको पक्षमा लाग्छ भने विद्रोह नै समाधान हो भन्ने निष्कर्ष ।

Jun 23, 2025 - 16:02
 0
महाभोजमा सहकारीका कथा

पुर्खा सम्भ्रान्त वर्गका नै भए पनि विविध कारणले केही वर्ष वैदेशिक रोजगारीमा गई नेपाल फर्किएका छन्, सूर्यप्रसाद कोइराला । घर फर्केपछि अब गाउँमै केही गर्ने सोचमा पुग्छन् उनी । निष्कर्ष निस्किन्छ सहकारी खोल्ने विकल्प ।

सूर्यप्रसादले त्यसपछि एउटा सहकारी संस्था खोल्छन् । सो सहकारीमार्फत सबै गाउँलेबाट एक–एक रुपैयाँ सङ्कलन गरी बचत गर्ने र सस्तो व्याजमा ऋण दिने गरेका कारण उनले राम्रो छवि बनाउँछन् । छोटो समयमा नै सबैको मन जित्न सफल सूर्यप्रसादको मनमा राजनीतिको भूत चढ्छ । सहकारीको सबै जिम्मा कर्मचारी चन्द्रकाजी गुरुङलाई लगाउँछन् । अनि आफू राजनीतितिर लाग्छन् । स्थानीय तहको निर्वाचनमा होमिन्छन् र विजय हासिल गर्छन् । सत्ता सञ्चालनको बागडोर सम्हालेयता सूर्यप्रसादले व्यक्तिगत स्वार्थमा केन्द्रित भएर सहकारी डुबाउँछन् र त्यसको सिंगो असर कर्मचारीदेखि सर्वसाधारणसम्ममा पर्छ अनि त्यसले निम्त्याउँछ भाँडभैलो ।

जेठ ३० गतेदेखि देशभर प्रदर्शन भइरहेको चलचित्र ‘महाभोज’को कथाको सार हो यो। चलचित्रमा सहकारी पीडितको कथालाई विशेष प्राथमिकता दिएर प्रस्तुत गरिएको छ ।

दिनेश राउतद्वारा निर्देशित ‘महाभोज’ यस्तो समयमा प्रदर्शनमा आएको छ जुनबेला सहकारी ठगीमा परेर कैयौँ मानिस घरबारविहीन र मानसिक रूपमा विचलित हुनु परेको छ । पछिल्लो समय मुलुकमा देखिएको सहकारीसम्बन्धी समस्या र त्यसबाट भोग्नु परेको पीडालाई निर्देशकले कथावस्तु बनाएर समसामयिक सामाजिक मुद्दालाई चलचित्रको माध्यमबाट उजागर गर्न खोजेका छन् ।

कतिपय सहकारी पीडित परिवार, समाज र सबैको नजर तथा व्यवहारबाट सामाजिक रूपमै बहिष्करणमा परेको घटना पर्दामा हेरिरहँदा वास्तविकजस्तै लाग्छ । सहकारी पीडितले बाध्य भएर ज्यान गुमाउनु परेको दृश्यले भावुक बनाउँछ । समाजमा विद्यमान हुनेखाने र हुँदा खाने वर्गबीचको विभेदको ठूलो खाडललाई  पनि चलचित्रमा देख्न सकिन्छ ।

समग्रमा समाजको वास्तविकतालाई प्रस्तुत गर्न चलचित्र सफल भएको छ । घटना विशेषलाई समातेर आम मानिसका कथालाई पर्दामा देखाउन सक्नु चलचित्रको सकारात्मक पक्ष हो ।

चलचित्र ‘महाभोज’ले मनोरञ्जनात्मक र भावनात्मक दुवै तरिकाले गाउँको सामान्य दिनचर्या, गरिबी र परिवारको मर्मस्पर्शी कथालाई सशक्त ढङ्गले पर्दामा उतारेको छ । त्यस्तै चलचित्र निर्माण पक्षले कथा छायाङ्कनका लागि भूगोल, र वातावरणीय परिवेशलाई ध्यान दिएको छ ।

कथाका पात्रअनुसार कलाकारहरूले आफ्नो भूमिकालाई न्याय गरेका छन् । चलचित्रको विषयवस्तु अनुसार अभिनयबाट मन जित्न सफल छन् । कथाले पूरै अवधिसम्म दर्शकलाई बाँधेर राख्न सफल छ । एकपछि अर्को जिज्ञासाले समय बितेको पत्तै पाइँदैन ।

पछिल्लो समय नेपाली चलचित्रहरूमा गीतहरू नराखेरै बनाउने प्रचलन बढिरहेको छ । चलचित्र महाभोजको बिचमा कुनै गीत नराखे पनि अन्त्यमा भने नृत्यसहितको एउटा गीत राखिएको छ । जहाँ ममता (मल्लिका महत)को बिहेदेखि निश्चल बस्नेतसम्मलाई देखाइएको छ । कथाले सहकारीको विषयसँगै सहरिया बुहारी र गाउँले सासूबीचको सम्बन्धलाई रमाइलो तवरमा देखाएको छ ।

यस्तै बाबु-छोरा, श्रीमान्-श्रीमतीबीचकोे नोकझोँक, व्यङ्ग्य, पारिवारिक बेमेल तथा सांस्कृतिक रीतिरिवाजलाई पनि सरल ढङ्गबाट प्रस्तुत गरिएको छ ।

चलचित्रले सहकारीका खराब पाटोलाई बढी प्राथमिकता दिएका कारण होला यसका सकारात्मक पक्षलाई भने छुटाएको छ । सहकारीका समस्या देखाए पनि कथा एकतर्फी जस्तो भने देखिँदैन ।

चलचित्रले बोकेको एउटा जबरजस्त सन्देश हो — सहकारी पीडितलाई सरकारले न्याय दिलाउन नसके हुने विद्रोहलाई सरोकारवाला पक्षले थेग्न सक्ने छैनन् । राज्यले पीडितलाई न्याय दिँदैन र उल्टै पीडकको पक्षमा लाग्छ भने विद्रोह नै समाधान हो भन्ने निष्कर्ष ।

सार्वजनिक र निजी क्षेत्रपछिको अर्थतन्त्रको तेस्रो स्तम्भ भनिने सहकारीको विकासक्रम र त्यसले समाजमा, विशेष गरी ग्रामीण क्षेत्रमा, दिएको योगदानको चर्चा नेपालमा धेरै नै गरिन्थ्यो। तर पछिल्ला वर्षहरूमा आएर सहकारी केही पहुँचवाला मानिसहरूका लागि ठगी खाने भाँडोको रूपमा स्थापित हुन पुगेको छ । यसले पूरै सहकारी क्षेत्रलाई नै बदनाम गरेको छ ।

चलचित्रले सहकारीको पैसा अपचलन एउटा प्रवृत्तिका रूपमा देखा परेकाले यसप्रति सजग बन्नुपर्ने सन्देश दिएको छ ।

समग्रमा केही कमजोरीबीच चलचित्रले दर्शकको मन जित्न सफल भएको छ । समाजमा जल्दोबल्दो समस्याका रूपमा देखा परेको सहकारी ठगी प्रकरणलाई सामान्य, तर ओझिलो तरिकाले प्रस्तुत गरेका कारण आम सर्वसाधारणको मन छोएको छ । सहकारीमा रकम बचत गरेका, तर फिर्ता नपाएकाहरूले ‘बिर्सिएको घाउ फेरि बल्झिएको’ प्रतिक्रिया दिएका छन् ।

चलचित्रमा देखाइएजस्तै अवस्था सहकारी पीडितहरूको कथा रहेको सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपाल बताउँछन् । ‘नेपालमा सहकारी पीडित लाखौँ छन्, अब यस्तै स्थिति रह्यो भने २०८४ को निर्वाचनमा जनताले देखाउने छन् । जुन कुरा चलचित्रले पनि सङ्केत गरेको छ’ उनले भने । संयोजक नेपाल बुटवलमा सहकारी पीडितले गरेको आन्दोलनका दृश्य पनि राखेको भए चलचित्र अझै उत्तम हुने सुझाव दिन्छन् ।

चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् । हिमाल कडरियाको निर्माण मा बनेको यस चलचित्रमा सहकारी सञ्चालक सूर्यप्रसादको भूमिका आर्यन सिग्देलले निभाएका छन् भने नयाँ सञ्चालक चन्द्रकाजीको भूमिकामा दयाहाङ राई छन् । यस्तै खगेन्द्र लामिछाने र अञ्जना बराइलीले सहकारी पीडित श्रीमान्-श्रीमतीको रूपमा अभिनय गरेका छन् । सहकारीमा कर्मचारीको रूपमा मल्लिका महतले अभिनय गरेकी छन् भने चलचित्रमा गौमाया गुरुङसँगै मोहन निरौला, बसुन्धरा भुसाल, कमलमणि नेपाल र बुद्धि तामाङको समेत अभिनय रहेको छ ।

नाम ‘महाभोज’ किन राखियो भन्ने चाहिँ दर्शकले १ घण्टा ५० मिनेट लामो चलचित्र हेरिसके पछि पनि बुझ्न भने सक्दैनन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register