यस्तो छ अमेरिकामा ‘तेस्रो पार्टी’ को निर्वाचन अनुभव, चुनावै लड्न नपाउने मस्क सफल होलान् ?

विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कले अमेरिकामा नयाँ राजनीतिक दल बनाउने घोषणा गरेसँगै संचारमाध्याममा विशेष स्थान पाएको छ । संसारभरि रोचक प्रसंगको रूपमा यस समाचारको चर्चा हुँदै छ । मस्कले नयाँ दलको नाम राखेका छन्–अमेरिका पार्टी । नयाँ पार्टीले अमेरिकी नागरिकलाई दुईदलीय प्रणालीबाट मुक्ति दिने उनको भनाइ छ । पार्टी घोषणासँगै उनका समर्थकले डिजिटल प्रचार […]

Jul 7, 2025 - 02:37
 0
यस्तो छ अमेरिकामा ‘तेस्रो पार्टी’ को निर्वाचन अनुभव, चुनावै लड्न नपाउने मस्क सफल होलान् ?

विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कले अमेरिकामा नयाँ राजनीतिक दल बनाउने घोषणा गरेसँगै संचारमाध्याममा विशेष स्थान पाएको छ । संसारभरि रोचक प्रसंगको रूपमा यस समाचारको चर्चा हुँदै छ । मस्कले नयाँ दलको नाम राखेका छन्–अमेरिका पार्टी ।

नयाँ पार्टीले अमेरिकी नागरिकलाई दुईदलीय प्रणालीबाट मुक्ति दिने उनको भनाइ छ । पार्टी घोषणासँगै उनका समर्थकले डिजिटल प्रचार तीव्र पारेका छन् । उनीहरू भन्छन्– रातो र नीलो दुवै पार्टी काम नलाग्ने भए, दुवै पार्टीले अमेरिकालाई भ्रष्ट, शिथिल र कमजोर बनाए, अब ‘तेस्रो पार्टी’ विकल्पमा जानुपर्दछ ।

जुलाई ४, शुक्रबार अमेरिकाको स्वतन्त्रता दिवस थियो । मस्कले ‘एक्स’ मा सोधेका थिए– स्वतन्त्रता दिवस यो सोध्ने एकदमै परिपक्व समय हो– के तपाईं दुई पार्टी प्रणालीबाट मुक्ति चाहनु हुन्छ ? के हामीले ‘अमेरिका पार्टी’ बनाउनुपर्छ ?

यो प्रश्नमा १२ लाख ४८ हजार ८५६ धारणा आए । तीमध्ये– ६५.४ प्रतिशतले सकारात्मक र ३४.६ प्रतिशतले नकारात्मक उत्तर दिए । त्यसको एक दिनपछि मस्कले नयाँ पार्टी– अमेरिका पार्टी घोषणा गरे ।

मस्कले गत राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन डोनाल्ड ट्रम्पलाई खुलेआम साथ दिएका थिए । ट्रम्पको निर्वाचन अभियानमा २९० मिलियन डलर खर्च गरेका थिए ।

राष्ट्रपति ट्रम्पले एक नयाँ ‘डिपार्टमेन्ट अफ गोभर्मेन्ट इफिसियन्सी’ ( डोज ) बनाएर मस्कलाई विशेष जिम्मेवारी दिए । मस्कको खर्च कटौती प्रस्तावलाई ट्रम्प प्रशासनले स्वीकार गर्दै आएको थियो ।

तर, ट्रम्प प्रशासनलाई साथ दिएवापत मस्कले ठूलो मूल्य चुकाउन पर्‍यो । टेस्ला कारको बहिष्कार अभियान चल्यो । ठाउँठाउँमा टेस्ला कारका शो–रुममा आगजनी भयो । खर्च कटौतीका नाममा मस्कले रोजगार, शिक्षा अनुदान र सामाजिक सुरक्षा कटौती सिफरिस गरी नयाँ संकट निम्त्याएको आरोप लाग्यो । मस्कका कम्पनीको सेयर मूल्यमा गिरावट आयो । मस्कको खुद सम्पति घट्यो ।

करिब २ महिनापछि मे २९ मा मस्कले ट्रम्प प्रशासन छोड्ने घोषणा गरे । ट्रम्प र मस्कबीच केही दिन कटुतापूर्ण आरोपप्रत्यारोप र टिकाटिप्पणी चल्यो । तर, सम्बन्ध सुधार हुन सकेन ।

अब उनी रातो (रिपब्लिकन) र नीलो (डेमोक्र्याट) दुवै पार्टीविरुद्ध ‘तेस्रो पार्टी’ बनाउने अभियानमा लागेका छन् । तर, अमेरिकामा ‘तेस्रो पार्टी’ बनाउने प्रयास करिब २ शताब्दियता सफल भएको छैन । अझ मस्क त अमेरिकी संविधानअनुसार राष्ट्रपति उम्मेदवार नै हुन पाउँदैनन् । अमेरिकी संविधानअनुसार अमेरिकामै जन्मेको व्यक्ति मात्र उम्मेदवार हुन पाउँछ । तर, मस्क आफैँले दक्षिण अफ्रिकामा जन्मिएको बताइसकेका छन् ।

अमेरिकामा तेस्रो पार्टी बनाउने प्रयास पहिलो होइन । मस्कभन्दा धेरै प्रभावशाली व्यक्तित्व यस काममा आजसम्म असफल हुँदै आएका छन् । डिजिटल धारणामा जस्तो राजनीतिको वास्तविक मैदानमा मस्कले समर्थन हासिल गर्ने विश्वास कमैले गरेका होलान् ।

डेमोक्र्याटिक पार्टी सन् १८२८ मा स्थापना भएको हो । यो १९७ वर्षमा चल्दै छ । रिपब्लिकन पार्टी सन् १८५४ मा बनेको हो, यो १७१ वर्षको भयो । यी दुई पार्टी बन्नुअघि फेडेरालिस्ट, र डेमोक्र्याटिक–रिपब्लिकन बलिया पार्टी थिए ।

प्रथम राष्ट्रपति जर्ज वासिङटन कुनै पार्टीमा लागेनन्, उनले स्वतन्त्र राष्ट्रपतिका रूपमा दुई कार्यकाल पूरा गरे । दोस्रो राष्ट्रपति जोहन आडम्स फेडेरालिस्ट पार्टीका थिए । डेमोक्र्याटिक–रिपब्लिकन पार्टीले थोमस जेफर्सन, जेम्स मेडिसन, जेम्स मुनरे, जोन्स क्वीन्स आडम्स गरी ४ राष्ट्रपति दियो ।

त्यसपछि यी दुवै पुराना पार्टी विस्तारै विलय भए । डेमोक्र्याटिक पार्टीका प्रथम राष्ट्रपति एन्ड्रु ज्याक्सन थिए । सन् १८३० मा एक अर्को पार्टी बन्यो– ह्वीङ । सन् १८४१–१८५३ बीच यसले ४ राष्ट्रपति दियो । तर, रिपब्लिकन पार्टीको उदयसँगै विलय भएर गयो । रिपब्लिकन पार्टीका प्रथम राष्ट्रपति अब्राहम लिंकन थिए । त्यसयता यिनै दुई पार्टीको वर्चस्व कायम छ ।

अमेरिकामा दुई पार्टी प्रणाली दीगो हुनुको मुख्य कारण निर्वाचक मण्डलमा आधारित राष्ट्रपतीय निर्वाचन प्रणालीलाई मानिन्छ । यहाँ राम्रो लोकप्रिय मत पाएका पार्टीले पनि निर्वाचक मण्डल संख्या हसिल गर्न गाह्रो पर्दछ । तसर्थ, मतदाताले मुख्य दुईमध्ये एक पार्टीलाई मतदान गर्दछन् । यो शताब्दिऔं लामो आममतदान प्रवृति भएको छ ।

यसको अर्थ मतदाताले मत परिवर्तन गर्ने हो भने नयाँ पार्टी आउनै नसक्ने होइन । तर, मतदाताले सहजै मत परिवर्तन गरेको देखिन्न । अमेरिकी मतदाताको मानसिकता संवैधानिक प्रावधान र आवश्यकतासँग तादम्य हुँदै गएको छ । यसले दुई दललाई धेरै ठूलो फाइदा हुँदै आएको छ । दुवै दलसँग विचार नमिल्ने वा असन्तुष्ट विकल्पहीन रहनु परेको छ । दलीय प्रणाली भएर पनि अमेरिकामा नागरिकका लागि दलीय विकल्प सीमित छन् ।

कतिपय राजनीतिशास्त्री अमेरिकी लोकतन्त्र, दलीय व्यवस्था र निर्वाचन प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको तर्क गर्दछन । तर, यस्ता दृष्टिकोण बौद्धिक विमर्शमै सीमित हुन्छन् । अमेरिकामा एक चर्चित भनाइ छ– ‘अमेरिकी मतदाताले बरु अर्को ग्रहबाट आएको एलियनलाई भोट हाल्लान् र तेस्रो पार्टीलाई हाल्दैनन् ।’

अमेरिकी मतदाताको यही मनोविज्ञानको कारण तेस्रो पार्टी बनाउने प्रयास असफल हुने गरेको हो । सन् १९२४ देखि सन् २०२४ बीचका २४ मध्ये १७ निर्वाचनमा दुई ठूला दलले ९८ प्रतिशत मत पाएका छन ।
थप ४ वटा चुनावमा दुई ठूला दलको भोट ९४ प्रतिशत थियो । बाँकी सीमित चुनावमा मात्र तेस्रो दलले उल्लेखनीय भोट पाएको छ ।

सन् १८९८ अमेरिकी वामपन्थी र मार्क्सवादीहरूले ‘समाजवादी पार्टी’ बनाएका थिए । केही चुनवमा अधिकतम् प्रयत्नका बाबजुद यो दलले कुनै चुनावी परिणम निकाल्न सकेन । सन् १९१२ को चुनावमा समाजवादी उम्मेदवार इ.भी. डेब्सले सबैभन्दा धेरै ६% लोकप्रिय मत पाए । तर, निर्वाचक संख्या जित्न सकेन । त्यसपछिका दिनमा पार्टी कमजोर हुँदै विलयमा पुग्यो ।

सन् १९१२ मै सन् १९०१ र सन् १९०४ का रिपब्लिकन राष्ट्रपति थियोडोर रुजेबल्टले ‘प्रोग्रेसिभ पार्टी’ बनाए । यो पार्टीले रिपब्लिकन पार्टीलाई ठूलो क्षति गर्‍यो तर, विपक्षी डेमोक्र्टिक पार्टीलाई उत्ति नै धेरै फाइदा भयो ।
रुजबेल्टले २७.४ प्रतिशत मत र ८८ निर्वाचक संख्या पाए । रिपब्लिकन पार्टी २३.२ प्रतिशत मत र ८ निर्वाचक संख्यामा सीमित भयो । तर, डेमोक्र्याटिक पार्टीका विन्ड्रो विल्सनले ४३५ निर्वाचक संख्यासहित भारी जित हासिल गरे । तर, त्यसलगत्तैको सन् १९१६ को चुनावमा प्रोग्रेसिभ पार्टी कमजोर गयो भने रिपब्लिकन पार्टीले पुनर्जीवन पायो ।

यो चुनावले रिपब्लिकन पार्टीको अन्त्य र प्रोग्रेसिभ पार्टीको उदय हुन सक्ने संभावना देखाएको थियो तर, त्यसो भएन ।

सन् १९२४ मा प्रोग्रेसिभ पार्टीले अर्को ठूलो प्रयत्न गर्‍यो । यसका उम्मेदवार रोबर्ट फोलेट १६.६ प्रतिशत मत र १३ निर्वाचक मण्डलसहित तेस्रो स्थानमा सीमित भए । त्यसपछिका लगातार ४ चुनाव डेमोक्र्याटिक पार्टीका फ्राङकलिन डि. रुजबेल्टले जिते । रुजबेल्ट युगमा तेस्रो पार्टीको त कुरै छोडौं, दोस्रो स्थानमा रहेको रिपब्लिकन पार्टीसमेत असाध्यै कमजोर थियो । रुजबेल्ट भारी बहुमतले निर्वाचन जित्ने गरेका थिए ।

रुजबेल्टको मृत्युपछि त्यसअघि प्रचलनमा मात्र रहेको दुई कार्यकाल राष्ट्रपतिलाई संविधान संशोधन गरी समावेश गरियो ।

सन् १९६८ को चुनावमा उल्लेखनीय मतसहित तेस्रो पार्टी देखिएको थियो– अमेरिका इन्डिपेन्डेन्ट पार्टी ।यसका उम्मेदवार जर्ज वालेसले १३.५ प्रतिशत मत र ५ निर्वाचक संख्या पाएका थिए । तर, त्यसपछिका दिनमा यो पार्टीको निरन्तरता रहेन ।

सन् १९८० को निर्वाचनमा जोन एन्डर्सन ६.६ प्रतिशत मतसहित तेस्रो स्थानमा आए तर, शून्य निर्वाचक संख्यामै सीमित भए ।

तेस्रो उम्मेदवारको अर्को अनौठो उदाहरण सन् १९९२ मा देखियो । स्वतन्त्र उम्मेदवार रोस पेरोटले १८.९ प्रतिशत लोकप्रिय मत प्राप्त गर्दा पनि शून्य निर्वाचकमण्डलमा सीमित हुनुपर्‍यो । यो चुनावमा बहालवाला रिपब्लिकन जर्ज डब्लू बुसलाई हराउँदै युवा डेमोक्र्याट्स विल क्लिन्टनले जिते । सन् १९९६ मा फेरि उम्मेदवार बनेका रोस पेरोटको भोट घटेर ८.४ प्रतिशतमा झर्‍यो ।

त्यसयता कुनै पनि तेस्रो पार्टी उम्मेदवारले उल्लेखनीय मत प्राप्त गर्न सकेको छैनन् । यद्यपि ग्रिन पार्टी, लिवरटारियन पार्टीलगायत केही पार्टीले नियमित उम्मेदवार दिने गरेका छन् । ग्रिन पार्टीले सन् १९९६ यताका प्रत्येक राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार दिँदै आएको छ । ग्रिन नेतृ जिल स्टेन ३ पटक राष्ट्रपतिको उम्मेदवार भइसकिन । तर, यो दलले २.७ प्रतिशतभन्दा बढी मत कहिल्यै पाएन ।

सन् १९७१ मा बनेको लिवरटारियन पार्टीले त्यस यताका सबै चुनावमा उम्मेदवार खडा गर्दै आएको छ । तर, सबैभन्दा बढी लोकप्रिय मत पाएको सन् २०१६ को चुनावमा ३.३ प्रतिशत मात्र हो ।

अमेरिकी राजनीतिको यस्तो इतिहास र मतदान प्रवृतिलाई हेर्दा इलन मस्कको नयाँ पार्टी सफल होला भनेर आशा गर्न सकिन्न । यदि उनले साँच्चै सफल पार्टी बनाउन सके भने सायद धन र प्रविधिमा जस्तै राजनीतिमा पनि अमर हुन सक्ने छन । किनकी, धेरै ठूला प्रयासमा बाबजुद विगत २ शताब्दिमा कुनै अमेरिकी यस काममा सफलता पाएका छैनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register