तेह्रथुमको पिप्लेमा आफ्नो गाउँ आफै बनाऔंको उद्घोष भएको थियो 

Jan 30, 2022 - 18:17
Jan 30, 2022 - 18:18
 0

 तेह्रथुमको पिप्लेमा आफ्नो गाउँ आफै बनाऔंको उद्घोष भएको थियो 

                                             

पन्चायति व्यवस्थाको अन्त्य पछि वहुदलीय संसदीय व्यवस्थाको पहिलो निर्वाचित सरकारको नेतृत्व नेपाली कांग्रेसका नेता प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए । उनको सरकारमा स्थानीय विकास मन्त्री थिए रामचन्द्र पौडेल । स्थानीय विकास मन्त्रालयले पूर्वान्चल स्तरीय जिल्ला विकास सभापति, उपसभापतिको भेलाको आयोजन गरेको थियो ।  झापाको चन्द्रगढीको कलवलगरीको स्थानीय निकाय विकास प्रतिष्ठानमा । यो भेला २०४९ सालमा भएको थियो । यो भेला वहुदलीय व्यवस्थाको पुनस्र्थापना पछिको निर्वाचित पहिलो स्थानीय निकायको थियो । शायद २०१५ सालको आम निर्वाचन पछि स्थानीय निकायको निर्वाचन भएको थिएन । त्यसैले यो स्थानीय निकाय नेपालमा वहुदलीय व्यवस्था अन्तर्गत गठित प्रथम निर्वाचित स्थानीय निकाय हुनुपर्छ । त्यसैले पनि यसको आफैमा ऐतिहासिक महत्व पनि छ । 

    स्वभाविकरुपमा स्थानीय निकायलाई कसरी प्रभावकारी किसिमले परिचालन गर्ने, अधिकार सम्पन्न बनाएर स्थानीय तहमा विकास निर्माणलाई कसरी गति दिने आदि लगायत धेरै कुरामा छलफल हुने नै भयो । पूर्वान्चलका १६ जिल्ला मध्ेय भोजपुर,तेह्रथुम र धनकुटामा मात्र एमालेले जितेको थियो भने अन्य सबै जिल्लामा नेपाली कांग्रेसले जितेको थियो स्थानीय निकायको निर्वाचनमा । वहुसंख्यक सभापति उपसभापति नेपाली कांग्रेसको हुनु स्वभाविकै थियो ।  पंतिकार जिविस सभापति तेह्रथुमको हैसियतले सहभागि थियो । 

   अन्य विषय पछि छलफल विकास आयोजना छनोट जन सहभागिता आदि विषयमा तानिने नै भयो । भरखरै पन्चायति व्यवस्थाको स्थानीय निकाय जिल्ला पन्चायतलाई विस्थापन गरेर आएको थियो जिल्ला विकास समिति । पन्चायतसंग जोडिएका विकासका नीति र त्यसले पारेका असर वारे छलफल हुने नै भए । त्यसबेला पन्चायतले स्थानीय तहमा सानातिना विकासका योजना तथा निर्माणमा २५ प्रतिशत जनसहभागिता र ७५ प्रतिशत अनुदानको संझौता गराउने गरेको थियो उपभोक्ता समितिलाई । त्यसैको सन्दर्भलाई लिएर अधिकांस नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जिविस सभापति उपसभापतिहरूले यो पच्चिस प्रतिशत जनसहभागिताको प्रावधान हटाएर पुरै अनुदान दिएर विकासका योजना संझौता गराउने नीति ल्याउनु पर्ने कुरामा जोड दिए । उनीहरुको तर्क थियो भ्रष्ट पन्चहरुले विकासका पैसा खाएकोले नेता पैसा खाने हामी किन श्रम दिने भनेर विकासमा जनसहभागिता जुट्दैन भन्ने । उपभोक्ताको २५ प्रतिशत जनसहभागिता भएको देखाउन किर्ते सहि गरेको बिल भर्पाइ कागज पेस गर्नु पर्नै अवस्था छ आदि आदि । 

 जनताको सहभागिता वेगर न राजनीति परिवर्तन सम्भव छ न विकास नै भन्दै मैले चाहि थोरै अनुदानले पनि धेरै काम गर्न सकिने मेरो अनुभवको उदाहरण पेश गरें मेरो बोल्ने पालोमा । कुरा हो तेह्रथुमको पिप्ले गाविसको । एमालेको तर्फबाट निर्वाचित पिप्ले गविसका अध्यक्ष ज्ञानबहादुर खत्रीले ५ गाविसलाई लाभ दिने पिगुवा खोलाको कुलोको लागि अनुदान प्राप्त गर्नको लागि ५ गाविसका जनप्रतिनिधिहरु,उपभोक्ताहरु,हामी जिविसका सभापति, उपसभापति र सम्बन्धित इलाका सदस्यहरु, सिचाइ प्रमुख आदि समेतको भेला आयोजना गरेका थिए । त्यही भेलाको निष्कर्ष र त्यसले दिएको परिणामलाई मैले त्याहाँ प्रस्तुत गरेको थिए यसरी ।  

     सबैले बोलेपछि जिविस सभापतिको हैसियतले मेरो बोल्ने पालो आएको थियो पिप्ले गविसिको प्राङ्गणमा । विकासका लागि जागेका जनतालाई निरास बनाउनु पनि हुदैनथ्यो र जनतालाई केहि दिने हैसियत पनि थिएन जिविससंग । मैले मेरो आफ्नो गाउँ चुहाण्डाँडामा जनसहभागिता द्वारा वि.सं.२००० देखि नै विद्यालयहरु स्थापना भए ठूलठूला भवनहरु बनेका,नेपालमै गाउँमा पहिलो कलेज र भवन समेत बनेको उदाहरण दिएर भने हामीले सरकारको भर परेनौं, आफ्नो स्कूल आफै बनायौं । याहाँ पनि हामी जनसहभागिताबाटै कुलो खन्न थालौं । आफ्नो कुलो आफै खनौं आफ्ना विकास आफै गरौं सारमा आफ्नो गाउँ आफै बनाऔं । यो अभियानमा सरिक हुन म आफै पनि तपाइहरुको साथमा कुलो खन्न जान्छु भने । जनता कूलो खन्न तयार भए शर्त जिविसले चावल दिनुपर्ने भयो । मैले हुन्छ भने । पाँच गाउका अगुवाहरुको व्यवस्थापन र नेतृत्वमा कुलो खन्ने काम भयो । २ रात जंगलमा बस्यौं । दुइ दिन जंगलमा कूलो खन्ने काम भयो ५०० जनाबाट । 

   माथिबाट लादेको नभएर जनताले चाहेको विकासलाई सानो अनुदानले पनि धेरै काम गर्न सकिने उदाहरण थियो यो । जिविसले दुइ लाख जतिको चावल दिएको थियो । मूल्यांकन गराउदा १२ लाख भन्दा बढिको काम भएछ । मेरो यो दृष्टान्तले सबैको ध्यान तान्यो । गाउमा यो मोडलले विकासलाई तीब्र गतिमा अगाडि बढाउन सकिन्छ भन्नेमा सबै सहमत भयौं । 

   कार्यक्रम सकिएपछि अनौपचारिक गफको क्रममा मन्त्री रामचन्द्र पौडेलले निकट भविश्यमा जिविस सभापतिको राष्ट्रिय भेलामा प्रस्तुत गर्न यही मोडलमा विकासलाई अघि बढाउने सोचको कार्यपत्र लेख्न मलाई भने । मैले यस्तो कार्यपत्र मन्त्रीज्यूको तर्फबाट प्रस्तुत हुँदा राम्रो हुने भने । स्थानीय विकास मन्त्रालयका सचिव भोलानाथ चालिसे एव नेकाका सांसद डिल्ली सिटौला लगायत अरुले पनि मेरो विचारलाई नै समर्थन दिए । र भेलामा विकासको यस्तो जनसहभागिता जुटाउने मोडल समेत उल्लेख गरेको कार्यपत्र मन्त्रीद्वारा ने पेश हुने तय भएर हामी कार्यक्रम स्थल कलबलगुरीबाट छुट्यौं । पछि सभापतिहरुको राष्ट्रिय भेलामा मन्त्री रामचन्द्र पौडेलले पेश गरेको कार्यपत्रमा मेरो विकासे सोचले पनि ठाउँ पाएको थियो । र पछि यो व्यवहारमा पनि आयो गाविसको लागि २५०००० को विकासको लागि निकास भएर । 

  नेपाली कांग्रेसको सरकारले पहिलोपल्ट गाउलाई विकासको अनुदान दिने कामको थालनी गरेको कुरो बताउनु राजनीति इमान्दारी हुन्छ । त्यसबेला गाउ विकास समितिलाई दिएको अनुदान १०००० मात्र थियो । त्यो कार्यक्रमको नाम ग्रामिण स्वावलम्वन कार्यक्रम थियो । यो नै केन्द्रको सरकारले सोझै गाविसलाई छुट्याएको पहिलो कार्यक्रम थियो । पछिल्लो आर्थिक वर्षमा गाविसहरुलाई विकास अनुदान दुइलाख पचासहजार निकासा गरियो । यो दुइलाख पचासहजार जिविसको खातामा निकास हुन्थ्यो र जिविसले गाविसबाट प्राप्त योजनाको आधारमा गाविसलाई निकासा गर्ने व्यवस्था थियो । यो रकम जिविसले खर्च गर्न पाउदैनथ्यो । 

    पछि मध्यावधी चुनाव पछि मनमोहन अधिकारीको नेतृत्वमा एमालेको अल्पमतको सरकार गठन भयो । बजेट प्रस्तुत हुनुभन्दा अगाडि सुझाव संकलन गर्ने उद्देश्यले एमालेले विराटनगरमा पूर्वान्चलका सबै जिल्ला कमिटीहरु, र जिविस सभापति, उपसभापति, मेयर उपमेयर आदि र केन्द्रीय नेताहरु समेतको भेला आयोजना गरेको थियो । उक्त भेलामा तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारी,केन्द्रीय नेता सुरेन्द्र पाण्डे लगायत कोशी, मेची सगरमाथा अन्चलका नेताहरु पनि थिए । बजेट कस्तो हुनुपर्छ र बजेटमा के समावेश गर्दा प्रभावकारी हुन्छ भन्ने विषयमा सुझाव दिने क्रममा मैले पिप्लेमा उद्धोष गरेको आफ्नो गाउँ आफै बनाऔं जस्ता थोरै अनुदानले धेरै जनश्रम र जनसहभागिता जुटाउने कार्यक्रम ल्याएमा गाउँ गाउमा विकास र श्रमको लहर आउछ जसले मुलुकलाई विकासमा र एमालेलाई ठूलो राजनीति फाइदा पुग्ने बताएको थिएँ ।  

 दोस्रो जनताको ज कार्यक्रभ भनेको थिए । जो भरतमोहनलाई चाख लागेर मलाई दोह¥याएर ढिलो भन्न लगाए जो सबै टिप्न उनलाई सजिलो होस् । मैले त्याहाँ टिपाएका ज शुत्र यस्ता थिए जमिन, जल ,जंगल, जडिबुटी ,जोत्ने , जनवार, ज्यालादार, जनना,जवान, जेष्ठ, जागरण, जुक्ति, जाँजबुझ आदि । भरतमोहनले र सबैले मनपराएर टिपे । लाग्छ एमालेको नौ स कार्यक्रम आउन र आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम आउन त्यो भेलाले राम्रै वोद्घिक खुराक दिएको हुनुपर्दछ । तर भरतमोहन अधिकारीले उनको कितावमा यो कुरो नियतवस लेखेको छैनन् । यो मात्र उनको परिकल्पना वा वौध्दिक सम्पति हो भनेझै गरेर लेखेका छन् ।  स्थानीय विकास मन्त्री सीपी मैनालीलाई पनि यस्तो कार्यक्रम राख्न फोनबाट कुरा गरेको थिएँ । महासचिव माधवकुमार नेपाल जिल्लाको अधिवेशन उद्घाटन गर्न आउँदा यो कार्यक्रम वारे पहिला नै राम्रो जानकर थिए र भाषणमा भविश्यमा एमालेको सरकार आएमा यस्ता कार्यक्रम देशै भरि चलाएर विकास र श्रमको लहर ल्याउने छ भनेर ताली खाएका थिए । 

   हुनत नेपाली काँग्रेस सरकारले गाविसलाई दिन थालेको २५०००० मा ५०००० थपेर ३००००० लाखको आफ्नो गाउँ आफै बनाऔ कार्यक्रमको घोषण गरेको थियो एमालेले । फरक चाहि काँग्रेस सरकारको निर्देशन थियो गाविसले बनाएका योजनाको आधारमा जिविसले रकम निकासा गर्दै जाने । एमालेकोमा चाहि जिविसले सबै रकम गाविसको खातामा निकासा गरिदिने । हामी कम्युनिष्टहरु प्रचारमा पनि सिपालु भएकोले पनि तीनलाखको आफ्नो गाउँ आफै बनाउ पहिलो र नयाँ हो भन्ने भ्रम अहिले सम्म सबैलाई छदैछ । कुरा यति हो अकार्षक शब्द, नारा र प्रचारले काँगेसको सुरुवातलाई यसले ओझेलमा पारिदियो ।  

   २०४९ सालमा तेह्रथुमको पिप्ले गाविसमा उद्घोष गरेको र पछि एमालेको लोकप्रिय कार्यक्रम भएको आफ्नो गाउँ आफै बनाऔं यसपालीको बजेटमा रकम बढेर दोहरिन पाएछ । दामासाहीले सबै गाविसमा अवैज्ञानिक किसिमले बराबर पैसा बाँड्नु भन्दा पनि थोरै अनुदान जनताले चाहेको विकासमा जनश्रमले धेरै योगदान पुग्ने विश्वासमा यस्तो कार्यक्रमको परिकल्पना गरेको हो मैलेत । अहिले यो कार्यक्रम र संसदको कार्यक्रमले विकास गर्ने भन्दा पनि पैसा छर्ने र गोजी भर्नेले यसको बढि दुरुपयोग हुने चिन्ता बढ्दो छ ।                         

जे भए नि आफ्नो गाउँ आफै बनाऔंमा गाउाको विकास गर्ने वीपीको सपना छ । गाउँ कै विकास गर्ने भनेर आएको राजा महेन्द्रको गाउँ फर्क अभियान छ । नेपालमा परिवर्तन र विकासको आधार गाउनै हो भन्ने माओवादीहरु, मधेसीहरु र अरु सबैहरुको भावना छ । नेपाली कांग्रेसको सुरुवात र एमालेले लोकप्रियताको सिखरमा पु¥याएको साझा उदेश्य छ । सबै मिलेर सबैतिर स्थाइत्व, विकास र समृद्घि दिनुको अर्कौ कुनै विकल्प छैन हामीसत । 

सबै मिलेर भ्रष्टाचारमात्र र विकासका कोरा भाषण मात्र गरिरह्यौं भने र आफ्ना सुविधा मात्र थपिरह्यौं भनेत सबै क्षेत्र र मुलुक सधै बर्वादमा मात्र पार्ने छौं सबैलाई चेतना भया । 

      खगेन्द्रराज सिटौला 
कृपया मेरो अन्य लेखहरू यहाँ पढ्नुहोस्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Khagendra Raj Sitoula I am a Nepali citizen involved in Prithivi Bichar Campaign since 2057 B.S. I am also a writer and Ex- president of District Development Committee, Terhathum. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register