विश्वेश्वरप्रसाद कोइरालाको एउटा महत्त्वपूर्ण कृति प्रकाशित

विश्वेश्वरप्रसाद कोइरालाको एउटा महत्त्वपूर्ण कृति प्रकाशित

एउटा महत्त्वपूर्ण कृति प्रकाशित भयो 

नेपाली आख्यानक्षेत्रका विराट व्यक्तित्व विश्वेश्वरप्रसाद कोइराला कवि पनि हुन् भन्ने कुरा कमैलाई थाहा छ । कथा, उपन्यास, कविता, जीवनी, दैनिकी लगायतका विधामा कलम चलाएका कोइरालाले आख्यानलाई आफ्नो लेखनको मूल विधा बनाए पनि कविता पनि उनको प्रिय विधा हो भन्ने बुझिन्छ ।साहित्यिक यात्राका हिसाबले पनि उनले सर्वप्रथम कविता नै लेखेको र पछि मात्र कथा लेखेको पाइन्छ । वि.सं १९९१ मा उनको 'चन्द्रवदन'   कथा देखापर्नु पहिला नै १९८७ सालमै 'बम्बई के प्रति' कविता प्रकाशित भएको थियो । उनको प्रथम साहित्यिक रचना पनि यही नै हो । यसपछि उनले २०/२२ ओटा कविता लेखेको जानकारी प्राप्त भए पनि हाल १२ ओटा कविता मात्र उपलब्ध छन् ।    

डा.उर्मिला शर्माले नेपाल प्रज्ञा-प्रतिष्ठानको साहित्य (पद्य/काव्य) विभागको परियोजनामा आधारित भएर यो कृति तयार गर्नुभएको हो । यसमा अध्ययनलाई विभिन्न परिच्छेदमा विभाजन गरी कविताको सैद्धान्तिक चर्चाका साथ कोइरालाको कविता यात्रा, उनका कवित्वको विश्लेषण एवं प्रवृत्ति निरूपण र मूल्याङ्कन समेत गर्नुभएको छ । अन्त्यमा कोइरालाका १२ ओटा कविता समेत यसमा समाविष्ट छन् । त्यसैले यो कृति निकै महत्त्वपूर्ण र पठनीय बनेको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानले ओझेलमा रहेका कतिपय व्यक्तित्व र विषयलाई अनुसन्धान गराई कृति प्रकाशन गर्ने कार्य गर्दै आएको छ । यही उद्देश्यबमोजिम कवि कोइरालाको ओझेलमा रहेको कवित्व पक्षलाई अनुसन्धान गराई प्रकाशनमा ल्याइएको हो । यसका लागि अनुसन्धानकर्ता डा.उर्मिला शर्मालाई म प्रतिष्ठानका तर्फबाट हार्दिक धन्यवाद दिन्छु । उहाँले यो कृति निकै मिहिनेत गरेर तयार पार्नुभएको छ । यसबाट पाठकहरु अवश्य पनि लाभान्वित हुनुहुने छ भन्ने हाम्रो अपेक्षा छ ।