यी हुन् नवरात्रीमा पूजा गरिने ९ देवी, कसको गुण के हो ?

दशैं दुईवटा हुन्छन् । चैत्र महिनामा पर्ने दशैंको नवरात्रीलाई चैते नवरात्री भनिन्छ । असोज वा कात्तिक महिनमा पर्ने नवरात्रीलाई शारदीय नवरात्री भनिन्छ । दशैंको दशौं दिन अर्थात् विजयादशी टीकाको अघिका ९ दिनलाई नवरात्री भनिन्छ ।

Oct 11, 2024 - 05:33
 0
यी हुन् नवरात्रीमा पूजा गरिने ९ देवी, कसको गुण के हो ?

काठमाडौं । दशैं दुईवटा हुन्छन् । चैत्र महिनामा पर्ने दशैंको नवरात्रीलाई चैते नवरात्री भनिन्छ । असोज वा कात्तिक महिनमा पर्ने नवरात्रीलाई शारदीय नवरात्री भनिन्छ । दशैंको दशौं दिन अर्थात् विजयादशी टीकाको अघिका ९ दिनलाई नवरात्री भनिन्छ ।

नवरात्री घटस्थापनाबाट सुरु हुन्छ । यसपटकको घटस्थापना असोज १७ गते बिहीबार ९ बजेर १६ मिनेटमा थियो । पूजा कोठाको इशान कोणमा घडा स्थापना गरेर नवरात्री देवीहरूको पूजा गर्न कशल, जल अन्य पूजा सामग्री जुटाउनु नै पटस्थापना हो ।

यसै दिन जमरा राखिन्छ । जौ र मकै जमरा राख्ने मुख्य अन्न हुन् । देवीको पूजा मूलतः रात्रिकालीन अवधिमा उचित मानिएको हुँदा यी ९ दिनलाई नवरात्री भनिएको हो । ९ दिनको दुर्गा पूजा पूरा भएपछि १०औं दिन बिहान टीकाको साइत हुन्छ ।

यसपटक २५ गते अष्टमी र नवमी दुबै तिथि एकै दिन छन् । २६ गते विजयादशमी छ । १७ गतेदेखि २५ गतेसम्मको रात नै नवरात्री हो ।

नवरात्रीमा प्रत्येक दिन भिन्न रूपकी देवी पूजा गर्ने हो । यिनलाई नवदुर्गा भवानी भनिन्छ । नवदुर्गाका ९ नाम, रूप र प्रतीक यस प्रकार हुन्छन् ।

१. शैलपुत्री

शैलपुत्री नवरात्रीको प्रथम रात पूजा गरिने दुर्गा रूप हो । शैलपुत्रीको अर्थ हो— हिमालयकी छोरी । यो पार्वतीको अर्को नाम हो । शैलपुत्रीलाई पार्वतीको दुर्गा अवतार मानिन्छ । शैलीपुत्रीको अर्को नाम महाकाली हो । महाकालीको छवि दुई हात भएकी, दाहिने हातमा त्रिशुल र देब्रे हातमा कलमको फूल लिएर नन्दीमा सवार भएकी देवीको रूपमा कल्पना गरिन्छ । शैलपुत्री शक्तिको प्रतीक हुन् ।

२. ब्रह्मचारिणी

ब्रह्मचारिणी पार्वतीको अविवाहित रूप हो । दुर्गाको यो रूपलाई योगिनी पनि भनिन्छ । ब्रह्मचारिणी रूपमा देवीलाई दाहिने हातमा रुद्राक्षको जपमाला र देब्रे हातमा कमण्डलु लिएर खाली खुट्टा हिँड्दै गरेको कल्पना गरिन्छ । ब्रह्मचारिणी शान्ति, समृद्धि र मोक्षकी प्रतीक हुन् ।

३. चन्द्रघण्टा

नवरात्रीको तेस्रो दिन माता चन्द्रघण्टाको पूजा हुन्छ । विवाहित पार्वतीले शीरमा अर्धचन्द्रको गहना लगाएको अर्थमा चन्द्रघण्टा भनिएको हो । चन्द्रघण्टा सुन्दरता र साहसकी प्रतीक हुन् । चन्द्ररूपजस्तो हँसिली तथा उज्याली महिला रूपमा चन्द्रघण्टाको कल्पना गरिन्छ ।

४. कुष्माण्डा

चौथो दिन दुर्गाको कुष्माण्डा रूपको पूजा हुन्छ । यो रूपमा देवीको छवि आठ हात र बाघमा सवार कल्पना गरिन्छ । उनको प्रत्येक हातमा गदा, त्रिशुल, धनुषवाणलगायत हतियार हुन्छन् । कुष्माण्डा देवी बिराट रूपा हुन् । ब्रह्माण्डीय ऊर्जाको प्रतीक हुन् । उनले स्वास्थ्य र सबलता प्रदान गर्ने विश्वास गरिन्छ ।

५. स्कन्दमाता

पाँचौँ दिन स्कन्दमाताको पूजा हुन्छ । स्कन्दको अर्थ मातृत्व रूप हो । यस रूपमा दुर्गा सिंहमा चडेकी, चार हात, तीन आँखा भएकी, दुई हातले काखमा बच्चा बोकेकी र दुई हातमा कमलको फूल लिएकी रूपमा कल्पना गरिन्छ । स्कन्द रूपलाई पद्माशैनी पनि भनिन्छ । स्कन्दरूपा माताले सन्तानका लागि अवश्य धन र ज्ञानलगायत भय र सङ्कटबाट प्रतिरक्षा गर्दछिन् भन्ने विश्वास गरिन्छ ।

६. कात्यायनी

छैटौँ दिन कात्यायनीको पूजा हुन्छ । दुर्गाले कात्यायनी रूपमा दैत्यराज महिषासुर बध गरेकी थिइन् । कात्यायनीलाई चार, आठ वा दश हात भएकी देवीको रूपमा कल्पना गरिन्छ । यो दुर्गाको योद्धा र रौद्र रूप हो । यो रूपमा दुर्गाले युद्ध गर्दिछन् र शत्रुहरूको विनाश गर्छिन् । कात्यायनी सिंहमा चढेकी र रिसाएको मुद्रामा हुन्छिन् ।

७. कालरात्री

नवरात्रीको सातौँ दिन कालरात्री देवीको पूजा गरिन्छ । यो पनि दुर्गाको रौद्र तथा योद्धा रूप हो । यो रूपमा दुर्गाले शुम्भनिशुम्भ दानवको बध गरेकी थिइन् । कालरात्री दुर्गाको सबैभन्दा डरलाग्दो रूप हो । कालरात्रीलाई रातो जिब्रो निकालेको, कालो रङ्ग भएको, रिसाएको मुद्रामा कल्पना गरिन्छ । कालरात्री देवीलाई काली पनि भनिन्छ । दुष्टहरूको नाश र सज्जनहरूको रक्षा गर्नु कालरात्री देवीको मुख्य कर्तव्य हो । उनी गधामा सवार हुन्छिन् ।

८. महागौरी

आठौं दिन महागौरीको पूजा गरिन्छ । दानव शुभ-निशुम्भको बधपछि जब दुर्गा भवानीले गङ्गा स्नान गरिन्, तब उनी महागौरी रूपमा प्रस्फुटित भइन् । महागौरी स्वच्छता, शुद्धता र कञ्चनरूपकी प्रतीक हुन् । उनले भक्तजनहरूको इच्छा पूरा गर्ने विश्वास गरिन्छ ।

महागौरी रूपमा दुर्गा ४ हात भएकी हुन्छिन् । एक हातमा त्रिशुल र अर्को हातमा डम्मरु हुन्छ । बाँकी एक हात आशीर्वाद मुद्रामा अगाडि फैलिएको हुन्छ भने अर्को एक हातले भय तथा पाप मोचनको सङ्केत गर्दछ । उनी सेतो रङ्गको साँढेमा विराजमान हुन्छिन् ।

९. सिद्धीदात्री

अन्तिम तथा नवरात्रको दिन माता सिद्धीदात्रीको पूजा हुन्छ । सिद्धीदात्री पूर्णताकी प्रतीक हुन् । उनी कमलको फूलमा विराजमान हुन्छिन् । उनका चार हात हुन्छन् । दाहिनेतिरका दुई हातमा चक्र र गधा, देब्रेतिरका दुई हातमा शङ्ख र कमलको फूल हुन्छ ।

सिद्धीदात्री रूपा देवीले सिद्धी प्रदान गर्ने विश्वास गरिन्छ । उनले अनिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्यलगायत ९ प्रकारका सिद्धी प्रदान गर्न सक्दछिन् भनिन्छ । उनको अर्को नाम महालक्ष्मी हो । सिद्धीदात्री स्वयम् शिवरूपमा समाविष्ट भएको हुँदा अर्धनारीश्वर पनि भनिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register