अशक्त श्रीमतीको भिडिओबाट चन्दा उठाएर दोस्रो बिहे गरेको आरोप (भिडिओ)

समाजमा आदर्श मानेको प्रेम, जसले सबैलाई छुन सफल भएको थियो, अहिले सामाजिक सञ्जालमा कठोर आलोचनाको विषय बनेको छ । प्रश्न उठेको छ, के यो विश्वासघात हो वा परिस्थितिको बाध्यता ?

Oct 16, 2024 - 12:47
 0
अशक्त श्रीमतीको भिडिओबाट चन्दा उठाएर दोस्रो बिहे गरेको आरोप (भिडिओ)

काठमाडौं । अनिता जीसी खड्का र विनोद खड्का कुनै सेलिव्रेटी होइनन् । तर, सामाजिक सञ्जालमा उनीहरूको चर्चा भइरहन्छ । फेसबुक, टिकटक, युट्युब प्रयोगकर्ता अधिकांशले देखेका छन् उनीहरूलाई ।

नेपालकै एउटा नमुना जोडीको भन्दै धेरैले चिन्ने गरेका थिए । अत्यधिक जटिल मानिएको मस्तिष्क (ब्रेनको) शल्यक्रियापछि दीर्घरोगी श्रीमतीलाई स्याहारिरहेका विनोदको धेरैले तारिफ गर्थे ।

एक समय थियो, जब अनिता र विनोदको प्रेम कथाले सामाजिक सञ्जाल प्रयोगकर्ताको मुटु छोएको थियो । सामाजिक सञ्जालमा उनीहरूको जीवनको हरेक पल झल्किन्थ्यो – एक पत्नीको कठिन संघर्षमा एक पतिको असीम समर्पण ।

मस्तिष्कको जटिल शल्यक्रियापछि कमजोर बनेकी अनितालाई विनोदले दिएको साथले धेरैको आँखा रसाएको थियो ।

सामाजिक सञ्जाल फेसबुक र टिकटकमा विनोदले पत्नी अनितालाई केयर गरेका भिडिओ पोस्ट गर्थे । विनोदले आफ्नो दीर्घरोगी पत्नी अनितालाई स्याहार गर्दै गरेको स्याहार र देखाएको मायाले फेसबुक र टिकटक प्रयोगकर्ताहरूको मन जितेको थियो ।

मस्तिष्कको गम्भीर शल्यक्रियापछि अनिता कमजोर बनेकी थिइन्, र विनोदको खाँचो अझै बढी भएको थियो । त्यो बेलामा आफूले पत्नीलाई खुवाएको, सुताएको, खेलाएको हँसाएको लगाएका क्रियाकलाप गरेको भिडिओ विनोदले सार्वजनिक गर्थे ।

विनोदले दीर्घरोगी पत्नी अनिताका लागि देखाएको यो मायाले सामाजिक सञ्जाल प्रयोगकर्ताको मन छुन्थ्यो । समाजले प्रेमको आदर्श मानेको यस जोडीले धेरैलाई प्रेरित गरेको थियो ।

विनोदले पत्नी अनिताको उपचारको लागि चन्दा संकलन समेत गरेका थिए । ‘सहयोग अनिताकै लागि त हो’ भन्दै धेरै पैसा सहयोग पनि गरे । उनीहरूलाई त कतिपय म्यूजिक भिडिओमा पनि अभिनय गराइयो । वास्तविक जीवनमा आधारित भन्दै त्यही भिडिओ हेरेर पनि धेरैले सहयोग गरे ।

तर, अचानक यही अनिता र विनोदको सम्बन्धको अर्को मोडले सबैलाई चकित तुल्यायो, जब विनोदको अर्को विवाहको फोटो भाइरल भयो । उनले बिरामी पत्नीको उपचारको नाममा चन्दा उठाएर व्यक्तिगत स्वार्थको लागि अर्को बिहे गरे भन्ने आरोप लागेको छ ।

समाजमा आदर्श मानेको प्रेम, जसले सबैलाई छुन सफल भएको थियो, अहिले सामाजिक सञ्जालमा कठोर आलोचनाको विषय बनेको छ ।

विनोदको नयाँ विवाहको समाचारले धेरैलाई स्तब्ध पारेको छ । प्रश्न उठेको छ, के यो विश्वासघात हो वा परिस्थितिको बाध्यता ? कारण जे भए पनि बिनोदले अर्को बिहे गरेपछि अहिले सामाजिक सञ्जालमा ऊनीमाथि गाली बर्सिरहेको छ ।

‘तिनै अशक्त श्रीमतीको भिडियो प्रयोग गर्दै चन्दा उठाएर करोडपति भइसकेपछि उनै अशक्त श्रीमतीको स्वीकृति लिएर अर्को बिहे गरेको’ भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । विनोदले भने पत्नी अनिताकै हेरचाहमा सजिलो होस् भनेर बिहे गरेको बताउँदै आएका छन् ।

भिडिओ-

के थियो घटना, जसले अनिता सकिनन् उठ्न

अनिता र विनोदको कथा सुरुमा एउटा साधारण परिवारको खुसी जीवनको झल्को थियो । गुल्मीका यी दुईले ०७२ सालमा बिहे गरेपछि भैरहवामा बस्न थाले ।

भविष्यका सपना बुन्दै थिए । २०७४ मा छोरी आहना जन्मेपछि तिनको जिन्दगीमा नयाँ रङ थपिएको थियो । दुवैको जीवन राम्रै चलिरहेको थियो । बुटवलमा घर बनाउने, छोरीलाई राम्रो स्कुलमा पढाउने योजना थियो ।

यसैबीच २०७७ सालको जेठमा अनितालाई खप्नै नसक्ने टाउको दुखाई भयो । काममा गएका पति विनोदलाई फोन गरिन् । विनोद हतार–हतार काम छोडेर घर फर्कँदा अनिता छटपटाइरहेकी थिइन् ।

उनलाई तुरुन्तै अस्पताल पुर्‍याइयो, जहाँ चिकित्सकहरूले ब्रेन ह्यामरेज भएको जानकारी दिए । अनिताको तत्कालै अप्रेसन गरियो ।

तर, चार महिनासम्म अस्पतालमै राख्नुपर्‍यो । अनिताको अवस्था भने सुधार भएन । उपचारमा खर्च गरेका सबै रकम, गरेका प्रयास सबै व्यर्थ भयझैँ लाग्यो ।

समाजले पनि निराशा देखायो । धेरैले ‘निको हुँदैन’ भन्दै हात उठाइसकेका थिए, तर विनोदले हार मानेनन् । उनी अनिताको सेवामा लागिरहे । अनिता अचेतझैँ थिइन्, अवस्था बिग्रँदै गयो । अन्ततः विनोदले पनि हार खाएर पत्नीलाई गुल्मी लगेर वैतरणी कर्म गराए, किनभने बाँच्ने सम्भावना देखिन्थेन ।

तर, त्यो अन्तिम क्षण थिएन । अनितालाई फेरि काठमाडौँ ल्याइएयो । भाग्यवश केही सुधारका संकेत देखियो । अनिताले हातखुट्टा चलाउन सुरु गरिन्, भेट्न आउनेहरूलाई हाँस्न सक्ने भइन् ।

यही बीचमा विनोदले पत्नीलाई स्याहार गरेको भिडिओ फेसबुक र टिकटकमा पोस्ट गर्न थाले । विनोदले देखाएको मायाले समाजलाई छोयो, उनीहरू सोसल मिडियामा भाइरल भए । अनिता र विनोदको जोडीलाई आदर्श मानी सहयोग गर्नेको ताँती लाग्यो ।

तर, अहिले समाजमा आदर्श मानेको प्रेम, जसले सबैलाई छुन सफल भएको थियो उसैप्रति गाली बर्सिरहेको छ ।

विनोदको अर्को विवाहको तस्बिर सामाजिक सञ्जालमा देखिएपछि, उनलाई अनिताको नाममा चन्दा उठाएर स्वार्थ साधेको आरोप लागेको छ । समाजले उनलाई नायकबाट खलनायकको रूपमा हेरिरहेको छ । तर, विनोदले भने आफ्नो परिस्थितिको बाध्यता बुझ्न आग्रह गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register