कपीराइट छल्दा नेप्सेको साँढे ट्रोलको सिकार !

काठमाडौं । पछिल्लो केही दिनयता नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालय प्राङ्गणनमा निर्माणाधीन साँढेको मूर्ति सामाजिक सञ्जालमा ट्रोल बनिरहेको छ । निर्माणाधीन अवस्थामा रहेको उक्त मूर्तिको दायाँपट्टिको फोटो यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेको हो । जसमा आम सर्वसाधारणदेखि लगानीकर्ताहरू समेतले विभिन्न टिप्पणी गरिरहेका  छन् । साधरणतया सेयर बजारमा बुल अर्थात् साँढेले बढेको बजार र […]

Oct 26, 2024 - 04:01
 0
कपीराइट छल्दा नेप्सेको साँढे ट्रोलको सिकार !

काठमाडौं । पछिल्लो केही दिनयता नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालय प्राङ्गणनमा निर्माणाधीन साँढेको मूर्ति सामाजिक सञ्जालमा ट्रोल बनिरहेको छ । निर्माणाधीन अवस्थामा रहेको उक्त मूर्तिको दायाँपट्टिको फोटो यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेको हो ।

जसमा आम सर्वसाधारणदेखि लगानीकर्ताहरू समेतले विभिन्न टिप्पणी गरिरहेका  छन् । साधरणतया सेयर बजारमा बुल अर्थात् साँढेले बढेको बजार र बिअर अर्थात् भालुले घटेको बजारलाई जनाउँदछ ।

संसारमा विभिन्न स्टक एक्सचेन्जमा बढेको बजार सङ्केत गर्दै साँढेको मूर्ति बनाउने चलन छ । सोही चलनअनुरूप हाल नेपालको स्टक एक्सचेन्जको प्राङ्गणनमा पनि बूल अर्थात् साँढेको मूर्ति बनाइएको हो ।

कस्तो छ साँढेको मूर्ति ? 

नेप्से कार्यालयको प्राङ्गणमा बनिरहेको साँढेको मूर्तिलाई दायाँतर्फबाट हेर्दा बाच्छोजस्तो देखिन्छ भने बायाँतर्फबाट हेर्दा साँढेजस्तो देखिन्छ । सो मूर्तिको ९५ प्रतिशत काम पूरा भइसकेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।

नेप्से प्राङ्गणमा बनेको ट्रोल बनिरहेको साँढेको मूर्ति ।

प्रवक्ता पराजुलीका अनुसार उक्त मूर्ति १० फिट उचाइ र १२ फिट लम्बाइको छ । तामा-पित्तल मिश्रित धातुबाट बनाइएको उक्त साँढेको मूर्ति बनाउन १ करोड ४८ लाख रुपैयाँ खर्च गरिएको छ । २०७८ को अन्तिम महिना चैतमा नेप्से सञ्चालक समितिको बैठकले उक्त मूर्ति बनाउने निर्णय गरेको थियो ।

यद्यपि, यसको निर्माण कार्य भने यसै वर्ष अघि बढेर हालै मात्र सम्पन्न हुन लागेको हो । साँढेको मूर्ति बनिसकेको छ तर, त्यसलाई व्यवस्थित बनाएर राख्न टायल बिछ्याउने काम भइरहेको छ ।

निर्माणाधीन साँढेको मूर्ति ।

ट्रोल-टिप्पणीको घेरामा नेप्से 

साँढेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यति बेला नेप्सेले चौतर्फी आलोचना र टिप्पणीको सामना गर्नु परिरहेको छ । करिब डेढ करोडमा बाच्छोजस्तो देखिने मूर्ति स्थापना गरेको भन्दै नेप्सेमा भ्रष्ट्राचारको गन्ध आइरहेको समेत टिप्पणी हुन थालेको छ ।

फेसबूकमा राजेश शंकर अधिकारी लेख्छन्, “डेढ करोडको रे भनेको सुन्दासुन्दै खै कसरी गुणगान गाउनु त, कर तिरेको पैसा पो हो त ! मचाहिँ प्रशंसा नगरौँ होला ।”

शरद चन्द्र निरौलाले लेखेका छन्, “कुकुरलाई सिङ लगाइदिँदा यस्तै मूर्ति बन्दछ । मूर्तिकलामा विश्वकै अग्रणी नेपाल र विशेषतः नेवार समुदायका शिल्पीकारहरूको अपमान र यस मूर्तिमा भ्रष्ट्राचारको गन्ध आएको छ । यस्तो नि चार्जिङ बुल हुन्छ ?”

सामाजिक सञ्जालमा यति बेला कसैले लोकल जातको बूल भनेर उडाइरहेका छन् भने कसैले वर्तमान नेप्से इन्डेक्सको प्रतिमा पनि भनिरहेका छन् । खैर, यो बेला सामाजिक सञ्जालमा नेप्सेको व्यापक आलोचना भइरहेको छ ।

कपीराइट नलाग्ने फरक स्वरूपको साँढे 

सार्वजनिक खरिद ऐनअनुसार अरूको मूर्तिसँग मिल्ने मूर्ति बनाउन पाइँदैन । यसैले आफूहरूले टाउको उठेको साँढे बनाएको प्रवक्ता पराजुली बताउँछन् ।

उनी भन्छन्, “देशभर साँढेको धेरै मूर्तिहरू बनेका छन् । विशेषगरी नेप्सेको साँढे भन्नेबित्तिकै मानिसहरूमा आक्रामक खालको, भुइँमा उधिनिरहेको सम्झिछन् । अरूको जस्तै बूल बनायो भने हामीलाई कपीराइट क्लेम हुन्छ । त्यसैले हामीले टाउको उठाएको बूल बनाएका हौँ ।”

साँढेको मूर्ति निर्माणमा मात्र डेढ करोड खर्च भएको भन्ने विषय गलत रहेको प्रवक्ता पराजुलीको भनाइ छ ।

“यो एउटा प्याकेज थियो । जसमा हामीले (दायाँतर्फ देखाउँदै) यताको पुरानो भवन भत्कायौँ । गेट तथा वाल बनाउने रङ्ग लगाउने साथै यस भवनको बाहिरी भौतिक संरचना निर्माणका लागि भनेर समग्रको खर्चस्वरूप १ करोड ४८ लाखको प्याकेज ल्याएका थियौँ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register