मन्त्री नै ‘मानव तस्करी’मा संलग्न, अनुसन्धानमा उन्मुक्ति

कानून व्यवसायीसमेत रहेका अधिकारीले ३८ क्वीन्टल सुन तस्करी, सनम शाक्य हत्या प्रकरणलगायतका मुद्दामा अभियुक्तहरूको पक्षमा बहस गरेका थिए ।

Nov 8, 2024 - 06:21
 0
मन्त्री नै ‘मानव तस्करी’मा संलग्न, अनुसन्धानमा उन्मुक्ति

विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी ‘मानव तस्करी’मा संलग्न भएको खुलेको छ ।

मन्त्री अधिकारीले तीनजना नक्कली कागजात वाहकलाई जापान सँगै लिएर गएका थिए । तर, उनीहरूलाई जापानको टोकियो विमानस्थलले फर्काइदिएको थियो । अहिले मन्त्री अधिकारीले पदबाट राजीनामा दिइसकेका छन् ।

मन्त्री अधिकारीसँगै जापान जानेहरूमा खोटाङ घर भएका दावा शेर्पा र जनक राई र रसुवा घर भएका कञ्चन देवकोटा थिए । उनीहरू अधिकारीसँगै गत कात्तिक १४ गते जापान उडेका थिए ।

अहिले आएर अनुसन्धानबाट के खुलेको छ भने उनीहरूले जापान उड्नका लागि प्रतिव्यक्ति १० देखि १३ लाख बुझाएका थिए । उनीहरूले उक्त रकम धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६ का महेश पाण्डेलाई बुझाएको बयान दिएका छन् ।

यसमा मन्त्री अधिकारीको संलग्नता रहेको खुलेको छ । दावा, जनक र कञ्चनले रकम बुझाएका महेशको भेट मन्त्री अधिकारीसँग पनि भएको थियो ।  १४ गते जापान उड्नुअघि मन्त्री अधिकारी र महेशबीच भेट भएको थियो ।

अझ रोचकचाहिँ के भने उक्त भेटमा दावा, जनक र कञ्चनलाई मन्त्री अधिकारीसँग सँगै जापान पठाउन चाँजोपाँजो मिलाउने योगराज भनिने गोपाल गौतम पनि सँगै थिए । गौतम काठमाडौं बस्छन् । ठेक्कापट्टा र सिंहदरबारभित्र दलालीको काम गर्दै आएका उनको एमाले नेताहरूसँग बाक्लै उठबस हुन्छ ।

दावा, जनक र कञ्चनलाई मन्त्री अधिकारी सँगसँगै जापा पठाउने योजना उनकै थियो । जबकि मन्त्री अधिकारीलाई मुख्यमन्त्री हिक्मत कार्कीले प्रक्रिया नपुर्‍याइ नजान सुझाएका थिए ।

तर, ‘काठमाडौंसम्म जान्छु, जापान नजान पनि सक्छु’ भनेर हिँडेका उनी हङकङको ट्रान्जिट हुँदै अन्तत: जापान पुगेरै छाडे । तर, विमानस्थलबाटै डिपोट हुनुपर्‍यो । तर, उनको जिकिर छ कि ती तीनजनासँग उनको भेट हङकङमा मात्रै भएको हो ।

“हङकङ पुगेर बसिरहेको थिएँ, त्यसबेला तीनजना आएर मन्त्रीज्यू नमस्कार भने । मैले चिनिनँ भनेर मैले भनेँ, त्यसबेला तपाईंकै मान्छे हौँ, तपाईंसँगै जापानको कार्यक्रममा हिँडेका हौँ भने । त्यसपछि मात्रै हाम्रो चिनजान भएको हो,” मन्त्री अधिकारीले भने ।

तर, मन्त्री अधिकारीको यो दाबी गलत साबित भइसकेको छ । किनभने जापानको टोकियोस्थित एक होटलमा चारै जनाको कोठा ‘बूक’ गरिएको थियो । यसबाट मन्त्री अधिकारी तयारीका साथ नै जापान गएको खुलेको छ ।

अनुसन्धानमा सम्बद्ध एक प्रहरी अधिकारी भन्छन्, “मन्त्रीलाई निमित्त कार्यालय प्रमुखका रूपमा हस्ताक्षर गराइनु, मन्त्रीको यात्राको तयारी परराष्ट्र मन्त्रालयबाट नभएर गिरोहको योजनामा हुनु, मुख्यमन्त्रीले नजान सुझाव दिँदादिँदै अटेर गर्नु र पैसा बुझाएर जापान जानेहरूसँगै मन्त्रीको होटल बूक गरिनुले योजनाबद्ध रूपमा गिरोहले उनलाई प्रयोग गरेको देखिन्छ ।”

अर्को त आफूसँगै जापान जानेहरूमध्ये जनकलाई मन्त्री अधिकारी आफैँले आफ्नो मन्त्रालयको सहायक कर्मचारी भनेर सिफारिस गरेका छन् । जनकलाई दिइएको आन्तरिक मामिला तथ कानुन मन्त्रालयको कर्मचारी परिचयपत्रमा निमित्त कार्यालय प्रमुखका रूपमा स्वयम् मन्त्री अधिकारीले नै हस्ताक्षर गरेका छन् । यसले मन्त्री अधिकारीले ‘हङकङमा मात्रै चिनजान भएको…’ भनेर दिएको प्रष्टोक्ति सतप्रतिशत गलत साबित हुन्छ ।

आफूसँगै जापान जाने जनक राईलाई मन्त्री अधिकारीले दिएको सिफारिसपत्र ।

तर, दावा, जनक र कञ्चनबाट महेशले लिएको पैसा मन्त्री अधिकारीसम्म पुग्यो कि पुगेन भन्नेबारे भने अहिलेसम्म खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

“अनुसन्धानकै क्रममा छौँ । अहिलेसम्म नक्कली कागजात बनाउने,  भिसा लगाइदिनेलगायतका प्रयोजनका लागि पैसा लिएको देखिन्छ । त्यो पैसा उहाँ (निवर्तमान मन्त्री लीलाबल्लभ अधिकारी) सम्म पुग्यो कि पुगेन भन्नेबारे खुलेको छैन,” उनले भने ।

अनुसन्धानमा उन्मुक्ति

‘मानव तस्करी’मा जोडिएका मन्त्री अधिकारीमाथि अनुसन्धान भएको छैन । त्यही प्रकरणमा जोडिएका अरुमाथि अनुसन्धान हुँदा उनलाई भने उन्मुक्ति दिइएको छ ।

सत्तारूढ दल नेकपा (एमाले) का नेता रहेका उनी पछिल्लो प्रदेशसभा निर्वाचनमा मोरङ २ (२) बाट निर्वाचित सांसद हुन् । सत्तारूढ भएकै कारण उनलाई उन्मुक्ति दिइएको भन्दै अरु दलहरूले उनीमाथि अनुसन्धान गर्न माग गरेका छन् ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरूले अधिकारी अनुसन्धानमा तानिनुपर्ने माग गरेका छन् ।

माओवादी केन्द्र कोशी प्रदेशकी प्रमुख सचेतक गीता तिम्सिनाले त अधिकारीको कदमले सिङ्गो प्रदेशकै शिर निहुराएको उल्लेख गर्दै उनीमाथि शीघ्र कारबाही हुनुपर्ने माग गरेकी छन् ।

माओवादी केन्द्रकै कोशी प्रदेश सभाका सांसद गोम्बु शेर्पा ‘कर्ज्याङ’ ले पनि विलम्ब नगरी मन्त्री अधिकारीमाथि अनुसन्धान हुनुपर्ने बताए । “पहिलो त यो कुरा मुलुकको इज्जत र प्रतिष्ठासँग जोडिएको छ । अर्को त मानव तस्करीजस्तो अपराध हो । त्यसैले अनुसन्धान भइहाल्नुपर्छ,” उनले भने ।

जसै अधिकारीको विगत पनि त्यति शुद्ध छैन । कानुन व्यवसायीसमेत रहेका उनले विगतमा विवादित मुद्दाहरूमा बहस गरेका थिए ।

उनले ३८ क्वीन्टल सुन तस्करी, सनम शाक्य हत्या प्रकरणलगायतका मुद्दामा अभियुक्तहरूको पक्षमा बहस गरेका थिए । सो विषयमा अधिकारीमाथि प्रदेश सभामै सांसदहरूले प्रश्न उठाएपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्पष्टीकरण सोधेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register