सोलुको स्वाद चखाउन कस्सिएका ‘सोलु सिस्टर्स’

काठमाडौं । सोलुखुम्बुकी अस्मिता मगर सानैबाट महिला सशक्तीकरणमा चासो राख्थिन् । छोरी मान्छेले घर परिवार सम्हाल्नुपर्छ भन्ने समाजको सोचलाई परास्त गर्ने आँट उनलाई सगरमाथा मिलीजुली साना किसान महिला सहकारीले दियो । २०७४ सालमा स्थापना भएको उक्त सहकारीले अस्मिताको गाउँमा महिला सशक्तीकरणलाई प्राथमिकतामा राख्दै अर्ग्यानिक खेती गर्न सिकायो । सहकारीमा आबद्ध भएपश्चात् उनले पनि गाउँमा अर्ग्यानिक […]

Nov 12, 2024 - 07:29
 0
सोलुको स्वाद चखाउन कस्सिएका ‘सोलु सिस्टर्स’

काठमाडौं । सोलुखुम्बुकी अस्मिता मगर सानैबाट महिला सशक्तीकरणमा चासो राख्थिन् । छोरी मान्छेले घर परिवार सम्हाल्नुपर्छ भन्ने समाजको सोचलाई परास्त गर्ने आँट उनलाई सगरमाथा मिलीजुली साना किसान महिला सहकारीले दियो ।

२०७४ सालमा स्थापना भएको उक्त सहकारीले अस्मिताको गाउँमा महिला सशक्तीकरणलाई प्राथमिकतामा राख्दै अर्ग्यानिक खेती गर्न सिकायो । सहकारीमा आबद्ध भएपश्चात् उनले पनि गाउँमा अर्ग्यानिक फलफूल तथा सागसब्जी लगाउन थालिन् ।

यससँगै, गाउँका अर्ग्यानिक उत्पादनहरूलाई बजारीकरण गर्ने बाटोको खोजी सुरु भयो । त्यही समयबाट आफू गाउँ, समाज मात्र नभएर सिंगो सोलुखुम्बु जिल्लालाई नै चिनाउने बाटोमा अघि बढेको उनको भनाइ छ ।

यसरी जन्मियो ‘सोलु सिस्टर्स’

स्वास्थ्य विषय लिएर कक्षा १२ उत्तीर्ण गरेकी अस्मितालाई स्वास्थ्य क्षेत्रमै जागिर खुवाउने रहर परिवारमा नजागेको पनि हाेइन । यद्यपि, संस्थामा आबद्ध भइसकेपछि अस्मिताको ध्यान हेल्थ सेक्टरभन्दा पनि ग्रामीण कृषि प्रवर्द्धनतर्फ खिचियो ।

अस्मिता मगर

अस्मिता भन्छिन्, ‘हेल्थबाट १२ पास गरे पनि मलाई त्यो क्षेत्रमा रुचि नै जागेन । हामीले घर-घरमा बनाएर खाने गरेका खानेकुरा अरुलाई पनि चखाउन मन लाग्यो । यसलाई बजारसम्म कसरी पुर्‍याउन सकिन्छ र अर्ग्यानिक खेती कसरी गर्ने ? जस्ता कुराले मलाई तानिरह्यो ।’

सुरुवात गाह्रो रहे पनि बिस्तारै अस्मितालाई परिवारको साथ मिल्यो । सँगसँगै, गाउँका अरू दिदिबहीनी पनि यस अभियानमा जोडिए । बिस्तारै अस्मिताले परिवारको दह्रो साथ पाइन् ।

सगरमाथा मिलीजुली सहकारीले अस्मिताको गाउँमा एउटा संस्था खडा गरिदियो । संस्था सुरु भएसँगै अस्मिताले एउटा बलियो टिम पाइन् । त्यसपछि जन्मियो ‘सोलु सिस्टर्स’ ।

‘सोलु सिस्टर्स’

सोलुको स्वाद : गाउँदेखि राजधानीसम्म

‘पहिला यो खाना घरघरमा खाइरहेका थिए । हामी टिम बनिसकेपछि यसलाई हटिया, बजार हुँदै सहरसम्मकै मानिसहरूलाई कसरी खुवाउने भनेर हामी झन् सशक्त भएर लाग्यौँ,’ अस्मिता सुनाउँछिन् ।

सोलु सिस्टर्सले सबैभन्दा पहिला सोलुको केरुङमा आफ्नो हातले बनाएको अर्ग्यानिक डिसको व्यापार गरेकाे थियाे । सो समयमा पालिकाबाट पनि आफूहरूलाई राम्रो सल्लाह-सुझाव र साथ पाएको उनको भनाइ छ ।

 

अर्ग्यानिक उत्पादन ।

सोलु सिस्टर्सको लोकल खानाले बिस्तारै चर्चा बटुलेसँगै विभिन्न एनजीओहरूले पनि बलियो साथ दिएको उनी बताउँछिन् । अहिले उनीहरूको सो खाना हटिया, बजारदेखि सहर हुँदै देशको राजधानी काठमाडौंसम्म भित्रिसकेको छ ।

‘सोलु स्वाद’ चाख्न विद्यार्थीदेखि विदेशीसम्मको भीड

सोलु सिस्टर्सको लोकल खानाको स्वाद काठमाडौं निवासीहरूले पनि चाखिसकेका छन् । सोलु सिस्टर्सकाे टिम लोकल फुड चखाउनकै लागि गत ८ गते काठमाडौं आएकाे थियाे । गत शनिबार र आइतबार ललितपुरको कुपन्डोलस्थित रैथाने क्याफेमा उनीहरूले आफ्नो फुड फेस्टिभल मनाएका थिए ।

सोलु सिस्टर्सको रैथाने फुडको स्वाद लिनकै लागि त्यहाँ विद्यार्थीदेखि विदेशीसम्मको भीड लागेको थियो । सोलुको विभिन्न अर्ग्यानिक परिकार पकाउने सरसामानदेखि खाद्यान्न उनीहरूले उतैबाट ल्याएका थिए ।

परिकार सर्भ गरिरहेका सोलु सिस्टर्स ।

सांस्कृतिक पहिरनमा सजिएर लोकल खानेकुरा बनाइरहेका सोलु सिस्टर्सको टोली गज्जबकै देखिन्थ्यो । उनीहरूले खानाका विभिन्न आइटम लाइभ बनाएर सर्भ गरिरहेका थिए ।

उनीहरूको मेन्युमा फाल्गी, सुच्या, रिकीकुर खाजा सेट, पम्पकिन पुडिङ, मकै, सेल रोटी, रिलडोक, स्याक्पा, फापर रोटी खाजा सेट र दूध रोटी रहेको थियो ।
सोलुको लोकल उत्पादनहरूलाई प्याकिङ गरेर बिक्रीमासमेत राखिएको थियो ।

सोलु स्वाद चाख्न आएका ग्राहकहरू ।

‘हामीले सबै सोलुबाट नै ल्याएका छौँ । पानी र तेल मात्र यताको हो, बाँकी सबै सोलुबाट नै ल्याएर तपाईँहरूलाई लोकल सोलु स्वाद चखाउन आएका छौँ ।’ मुस्कानसहित अस्मिताले भनिन् ।

चुल्हो चौकाले राजधानी ल्याइ पुर्‍यायो 

एक छोराकी आमा प्रमीला खड्का सोलु सिस्टर्सकी अर्की सदस्य हुन् । जिल्लामा सोलु सिस्टर्सको टिम २०० भन्दा बढी रहेता पनि आफूहरू ७ जना मात्र राजधानी आएको उनी बताउँछिन् ।

प्रमीला खड्का ।

उनी बेलाबेला छोरालाई फकाउँदै, सम्झाउँदै फर्सीको खिर बनाउनमा व्यस्त देखिन्थिन् । व्यस्तताको बाबजुद पनि थोरै समय निकालेर हाम्रो जिज्ञासा र प्रश्नको जवाफ दिएकी प्रमीला सोलु सिस्टर्समा जोडिएको ५ वर्ष भएको रहेछ ।

उनी भन्छिन्, ‘म यो संस्थामा जोडिएको ५ वर्ष जति भयो । गाउँकै दिदिबहिनीले अर्ग्यानिक खानेकुराको प्रचार गरिरहेको देख्दा मलाई पनि यसमा जोडिन खुब मन लाग्थ्यो ।’

काममा जुटिरहेका सोलु सिस्टर्स ।

सो समयमा आफ्नो छोरा सानो रहेकाले आफूले सोलु सिस्टर्सलाई जोइन गर्न नपाएको तर पछि छोरा हुर्किएपछि आफू सोलु सिस्टर्समा जोडिएको उनी बताउँछिन् ।

‘छोरा हुर्किएपछि म पनि फुर्सदिली भएँ, त्यसैले यसमा लागेर काम गर्न थालेको छु । यस्तो काम गरिरहँदा निकै सन्तुष्टि पनि मिल्दो रहेछ,’ प्रमीला सुनाउँछिन् । उनको परिवारले पनि राम्रो साथ दिएका छन् । छोराको आमा भए पनि उनलाई परिवारबाट कुनै रोकावट छैन ।

प्रमीला सुनाउँछिन्, ‘श्रीमानले नै जाऊ भन्नुहुन्छ, नयाँ ठाउँ घुम्न पाइन्छ । अनुभवहरू बटुलिन्छ । तिमीहरूको काम राम्रो छ, यसले प्रचार पाउनुपर्छ भन्नुहुन्छ,’ उनी थप्छिन्, ‘सबैले राम्रो काम र मिठो खानेकुरा भनेर तारिफ गरिरहँदा खुसी लाग्छ । तर कतिले भने अलि महँगो भयो पनि भन्नुहुन्छ रे ! अब त्यति टाढाबाट ल्याएका छौँ । कति मेहनतले फलाएका छौँ । अलिअलि महँगो त भइहाल्छ नि !’

मल बोकीरहेका सोलु सिस्टर्स ।

छोरी मान्छेले पनि केही न केही गर्नुपर्ने, सही र गलत छुट्याउन सक्ने भइसकेपछि श्रीमान् र परिवारको भरमा मात्र बस्न नहुने उनको धारणा छ । यदि इच्छाशक्ति र मेहनत छ भने छोरीहरू चुलोचौकाबाट माथि उठ्न सक्ने ठाउँ रहेको उनी बताउँछिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register