धनगढी विमानस्थल विस्तार योजना अलपत्र

धनगढी । कैलालीको धनगढीस्थित गेटा विमानस्थल विस्तारको योजना अलपत्र परेको छ । नेपाल सरकार मन्त्रिपरिषदले २०७८ पुस ११ गते धनगढी विमानस्थल विस्तार गर्ने निर्णय अनुसार नेपाल नागरिक उड्यन प्राधिकरणले क्षेत्रीय विमानस्थलकालागि आवश्यक पर्ने करिब २५८ विगाह जमिन अधिग्रहणकालागि प्रक्रिया अघि बढाएको थियो । प्राधिकरणले गेटा विमानस्थलका प्रमुखलाई फोकल पर्सन तोकेर काम अघि बढाउने निर्णय गरेपनि […]

Nov 14, 2024 - 12:04
 0
धनगढी विमानस्थल विस्तार योजना अलपत्र

धनगढी ।

कैलालीको धनगढीस्थित गेटा विमानस्थल विस्तारको योजना अलपत्र परेको छ । नेपाल सरकार मन्त्रिपरिषदले २०७८ पुस ११ गते धनगढी विमानस्थल विस्तार गर्ने निर्णय अनुसार नेपाल नागरिक उड्यन प्राधिकरणले क्षेत्रीय विमानस्थलकालागि आवश्यक पर्ने करिब २५८ विगाह जमिन अधिग्रहणकालागि प्रक्रिया अघि बढाएको थियो ।

प्राधिकरणले गेटा विमानस्थलका प्रमुखलाई फोकल पर्सन तोकेर काम अघि बढाउने निर्णय गरेपनि कामले गति लिन नसक्दा विमानस्थलकालागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अलपत्र परेको छ । काठमाण्डौस्थित रियल पाथ इन्जिनियरिंग कन्सलटेन्सीले तयार गरेको डिपिआरमा विमानस्थल विस्तारकालागि २२७: ४९ विगाह जमिनको आवश्यकता रहेको उल्लेख गरेको छ । २०७९ सालमा विमानस्थल विस्तारकालागि डिपिआर तयार पारेको डिपिआरमा उत्तर र दक्षिणमा ५०० मिटर र पश्चिममा ८०० मिटर क्षेत्रको जमिन अधिग्रहण गर्नुपर्ने उल्लेख गरेको छ ।

क्षेत्रीय विमानस्थलकालागि करिब २५५० मिटर धावन मार्ग आवश्यक पर्ने भएकोले प्राधिकरणले तत्काल डिपिआरमा उल्लेख गरेको जग्गा अधिग्रहण गर्नुपर्ने माग स्थानीय बासिन्दाहरुले गर्दै आएकाछन् । हाल १८०० मिटर धावन मार्ग रहेको गेटा विमानस्थल तत्काल विस्तार गरि ठूला जाहाजहरुबाट सेवा दिनुपर्ने माग स्थानीयहरुको रहेको छ ।

विमानस्थल अधिग्रहणकालागि डिपिआर तयार गरेर प्रतिवेदन बुझिसक्दा समेत प्राधिकरणले काम अघि नबढाउँदा विमानस्थल विस्तारको योजना अलपत्र परेको छ । प्राधिकरणले गेटा विमानस्थल प्रमुखलाई फोकल पर्सन तोक्नु बाहेक बजेटको ब्यवस्था नगरेका कारण अन्य कुनै पनि कामको प्रक्रिया अघि बढ्न नसकेको गेटा विमानस्थल कार्यालय प्रमुख गणेशबहादुर सिंहले जानकारी दिनुभयो ।

तत्कालिन पर्यटन मन्त्री प्रेम आलेको समयमा गेटा विमानस्थलले चर्चा पाउने गरेको थियो तर आले मन्त्रीबाट हटेपछि गेटा विमानस्थल विकास र विस्तारको आवाज सुसुप्त बन्न पुगेको यस क्षेत्रका बासिन्दाको भनाई छ । हाल सुदूरपश्चिम क्षेत्रका नेता बद्री पाण्डे पर्यटन मन्त्री नियुक्त भएपछि यस क्षेत्रका बासिन्दा केही आशावादी भएका थिए तर मन्त्री पाण्डे मन्त्री भएको तीन महिना कटिसक्दा समेत विमानस्थलको निरिक्षण गर्नुभएको छैन ।

विमानस्थलको विस्तारको योजनाका बारेमा के भइरहेको छ भन्ने सार्वजनकि अभिब्यक्ति नसुन्दा सुदूरपश्चिमका बासिन्दाहरु क्षेत्रीय विमानस्थल बन्नेमा आशंका ब्यक्त गर्ने गरेकाछन् । समयमा विमानस्थलकालागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न सकिएन भने भोलीका दिनमा विमानस्थल विस्तामा निकै समस्या पर्ने धनगढी उप महानगरपालिकाका नगर प्रमुख गोपाल हमाल बताउनुहुन्छ ।

समयमा जग्गा अधिग्रहणको काम हुनसकेन भने विमानस्थल विस्ताको काम हुन नसक्ने उहाँको भनाई छ । जग्गा अधिग्रहण गर्ने क्षेत्रमा आजभोली तिब्रगतिमा वस्ती विस्तारको काम भइरहेको छ । खाली जमिन अधिग्रहण गर्न सहज हुने अवस्थामा भोली पक्की संरचना बनेपछि अधिग्रहणमा कठिनाई हुने थाहा भएरपनि जग्गा अधिग्रहणको काम ढिलाई गर्नु भनेको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थल हुनबाट रोक्नु भएको स्थानीय बासिन्दा माया प्रकाश भट्टले बताउनुभयो ।

अहिले अधिग्रहणकालागि जति सहज छ भोलीका दिनमा कठिन हुने भएकाले नेपाल सरकाले यसतर्फ ध्यान दिनुपर्ने उहाँको तर्क छ । दैनिक जसो पक्की संरचना बन्ने गरेकाले विमानस्थर विस्तारको काम प्रभावित हुने आशंका यस क्षेत्रका बासिन्दाहरुले गर्दै आएकाछन् ।

२०६२ सालतिर हालका धनगढीका नगरप्रमुख गोपाल हमाल लगायतका ब्यक्तिहरुको पहलमा धनगढी विमानस्थल कालोपत्रेका लागि जनतासंग एक पैसे अभियान सञ्चालन गरेर रकम उठाएका थिए । तत्कालिन मन्त्री प्रदीप ज्ञवालीले यस क्षेत्रका बासिन्दाको आवाजप्रति गम्भीर हुँदै विमानस्थल कालोपत्रेकालागि मन्त्रालयले समेत उल्लेख्य भूमिका खेलेको थियो ।

धनगढीमा पनि काहाँ जाहाज चल्नसक्छ भन्दै यो विमानस्थल स्तरउन्नतीको काम समेत भएको थिएन तर यस क्षेत्रका बासिन्दाले विमानस्थलका लागि हरेका नागरिकले सहयोगको अभियान सञ्चालन गरेपछि सरोकारवाला निकाय विमानस्थलको स्तरउन्नतीकालागि तयार भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register