कर्णालीमा उपनिर्वाचनले देखाउनेछ दलहरूको वास्तविक हैसियत

सुर्खेत । आगामी मंसिर १६ गते स्थानीय उपनिर्वाचन हुँदैछ । देशभर ४४ पदका लागि उपनिर्वाचन हुन लागेको हो । यसमध्ये कर्णाली प्रदेशमा आठ स्थानमा निर्वाचन हुँदैछ । यहाँ खासगरी नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) ठूला पार्टीका रूपमा छन् भने त्यसपछि नेकपा (एकीकृत समाजवादी) आउँछ । अहिलेसम्म दलहरूले एक्लाएक्लै निर्वाचन लड्ने बताइरहेका छन् भने […]

Nov 16, 2024 - 04:59
 0
कर्णालीमा उपनिर्वाचनले देखाउनेछ दलहरूको वास्तविक हैसियत

सुर्खेत । आगामी मंसिर १६ गते स्थानीय उपनिर्वाचन हुँदैछ । देशभर ४४ पदका लागि उपनिर्वाचन हुन लागेको हो । यसमध्ये कर्णाली प्रदेशमा आठ स्थानमा निर्वाचन हुँदैछ ।

यहाँ खासगरी नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) ठूला पार्टीका रूपमा छन् भने त्यसपछि नेकपा (एकीकृत समाजवादी) आउँछ ।

अहिलेसम्म दलहरूले एक्लाएक्लै निर्वाचन लड्ने बताइरहेका छन् भने तयारीसमेत तीव्र बनाएका छन् । त्यसैले यसपटकको उपनिर्वाचनलाई दलहरूको जनमत जाँचका रूपमा हेरिएको छ ।

अहिले आमसभा गर्ने, उम्मेदवार चयन गर्नेलगायतका काममा दलहरू व्यस्त छन् । कांग्रेस र एमालेले धेरैजसो उम्मेदवार चयन गरिसकेका छन् भने माओवादी केन्द्र चयनको प्रक्रियामा छ ।

कहाँ कसको उम्मेदवारी ?

कांग्रेसले दैलेखको महाबु गाउँपालिका अध्यक्षको उम्मेदवारका रूपमा झलक भण्डारीलाई चयन गरेको छ । कांग्रेस कर्णाली प्रदेश कार्यसमितिका प्रवक्ता दमनबहादुर शाहीका अनुसार दुल्लु नगरपालिका १३ को वडाध्यक्षको उम्मेदवारमा शेरबहादुर शाहीको नाम टुङ्गो लागेको छ ।

यस्तै जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुखमा इन्द्राचन्द सिंह र कुशे गाउँपालिका ७ को वडाध्यक्षमा खम्बबहादुर सिंहको नाम टुङ्गो लागेको प्रवक्ता शाहीले जानकारी दिए ।

कांग्रेसले कालिकोट, डोल्पा, हुम्ला, रुकुमपश्चिममा उम्मेदवार छान्ने काम जारी रहेको छ । कर्णाली प्रदेशअन्तर्गत नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष एक र पाँच वडाध्यक्ष गरी आठ पदमा उपनिर्वाचन हुनेछ ।

जसमा जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष तथा दैलेखको दुल्लु नगरपालिका १३, कालिकोटको तिलागुफा नगरपालिका ४, जाजरकोटको कुसे गाउँपालिका ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ र रुकुमश्चिमको सानीभेरी गाउँपालिका ५ छन् ।

यता एमालेले जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा सुनिता रोकायाको नाम टुङ्ग्याएको छ । एमाले कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटीका अनुसार हुम्लाको सर्केगाड गाउँपालिको उपाध्यक्षमा जाना शाहीलाई उम्मेदवार चयन गरिएको छ ।

दैलेखको महाबु गाउँपालिकामा उम्मेदवारका आकाङ्क्षी बढी भएकाले केही लाग्ने इन्चार्ज बोगटीले बताए ।

गत चुनावमा एकीकृत समाजवादीबाट उम्मेदवार भएका जंगबहादुर शाही एकाएक एमाले प्रवेश गरेका छन् ।

एकपटक पालिका अध्यक्ष समेत भइसकेका शाहीलाई नै एमालेले उम्मेदवार बनाउने सम्भावना छ ।

माओवादी केन्द्रले उम्मेदवार टुङ्ग्याएको छैन । माओवादी कर्णाली प्रदेश उपाध्यक्ष कृष्ण जिसीका अनुसार उपनिर्वाचन हुने तीन पालिकामा उम्मेदवार आकाङ्क्षी धेरै भएकाले चयनमा ढिलाइ भएको हो ।

“बढी आकाङ्क्षी हुनुभयो,” उपाध्यक्ष जिसीले भने, “त्यसकारण केही समस्या भएको हो तर, चाँडै टुङ्ग्याउँछौँ ।” माओवादी केन्द्रले उपनिर्वाचन हुने पालिकाहरूमा केन्द्रीय सदस्य खटाएको छ ।

महाबुको अघिल्लो अवस्था र सम्भावित परिणाम  

महाबु गाउँपालिकामा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । २०७९ साल माघमै अध्यक्ष लछुमन गुरुङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । सो गाउँपालिकामा अहिले उपाध्यक्ष मञ्जुकुमारी शर्माले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेकी छन् ।

२०७८ को जनगणनाअनुसार १८ हजार ५९ जनसङ्ख्या भएको यो गाउँपालिकामा १२ हजार २१७ मतदाता छन् । गाउँपालिकामा ६ वटा वडा छन् ।

महाबु गाउँपालिकाका ६ वडामध्ये २०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस अध्यक्ष, उपाध्यक्ष र ३ वडामा विजयी भएको थियो । यस्तै एक वडामा अध्यक्षबाहेक सबै सदस्यमा निर्वाचित भएको थियो ।

माओवादी केन्द्रबाट दुईवटा वडा अध्यक्ष निर्वाचित हुँदा एमालेले एउटा वडा जितेको थियो । एकीकृत समाजवादीले दुईवटा वडा सदस्य जितेको थियो ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार लछुमन गुरुङ चार सय ६० मतान्तरले निर्वाचित भएका थिए । गुरुङले दुई हजार नौ ७९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद उपाध्यायले दुई हजार पाँच १९ मत ल्याएका थिए ।

उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार मञ्जुकुमारी शर्मा आठ सय ५४ मतान्तरले निर्वाचित भएकी थिइन् । उनले तीन हजार एक सय ५५ पाएकी थिइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी दुर्गाकुमारी सिंहले दुई हजार तीन सय एक मत ल्याएकी थिइन् ।

यहाँ कांग्रेस र एमाले एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका थिए भने एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चुनावी एकता भएको थियो । एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवार जंगबहादुर शाहीले दुई हजार दुई सय ६८ मत ल्याएका थिए भने उपाध्यक्षमा सोही पार्टीका पुण्यप्रभा दशौदीले दुई हजार एक सय ३३ ल्याएकी थिइन् ।

त्यहाँबाट सङ्घीय सांसद निर्वाचित अमरबहादुर थापा एकीकृत समाजवादीसँग असन्तुष्ट रहेको र एमाले प्रवेश गर्ने हल्ला चलेकाले त्यो मत एमालेले पाउने आशा राखेको छ ।

एकीकृत समाजवादीका पहिलेका उम्मेदवारलाई नै भित्र्याएर उम्मेदवार बनाउँदा एमाले केही बलियो हुनेछ । यद्यपी एमालेमा रहेका आकाङ्क्षी भने असन्तुष्ट छन् ।

तर, यसपटक त्रिपक्षीय प्रतिस्पर्धा भन्दा पनि मुख्य रुपमा एमाले र कांग्रेसबीच नै भिडन्त हुने अनुमान गरिएको छ । एकीकृत समाजवादी यहाँ पहिलेभन्दा कमजोर भएको छ ।

नलगाडमा तीनै दल बलिया

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत नलगाड नगरपालिका प्रमुखमा माओवादी केन्द्र उम्मेदवार डम्मरबहादुर रावत पाँच हजार पाँच सय ९९ मत ल्याई विजयी भएका थिए ।

उनले निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार धर्मबहादुर शाहीलाई एक हजार नौ सय ७३ मतान्तरले पराजित गरेका थिए । पराजित धर्मबहादुर शाहीले तीन हजार छ सय २६ मत ल्याएका पाएका थिए ।

पालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र र कांग्रेसको गठबन्धन भएको थियो भने वडाहरू सबै पार्टी एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका थिए ।

यस्तै उपप्रमुखमा कांग्रेसकी उम्मेदवार सरिता सिंह पाँच हजार चार सय छ मतसहित विजयी भएकी थिइन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सुनिता बोहराले तीन हजार तीन सय ९३ मत ल्याएकी थिइन् । उपप्रमुख सिंहको भूकम्पमा परी मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।

नगरपालिकामा कूल जनसङ्ख्या २८ हजार ८५८ रहेको छ भने कुल मतदाता सङ्ख्या १६ हजार ५०४ रहेको छ । जसमा आठ हजार सात २४ पुरुष र सात हजार सात सय ८० महिला रहेका छन् । यस नगरपालिकामा १३ वडा छन् ।

१३ वडा रहेको नगरपालिकामा पाँच वडामा माओवादी केन्द्र विजय भएको छ । जहाँ उसको प्रतिस्पर्धा वडा नं. १२ मा मात्र एमालेसँग भएको छ । अन्य चार वडामा कांग्रेससँग प्रतिस्पर्धा भएको छ । चार वडा कांग्रेस जितेको छ । वडा नं. ८ मा कांग्रेसले जितेको वडामा एमालेसँग प्रतिस्पर्धा भएको छ भने अन्य वडामा माओवादी केन्द्रसँग प्रतिस्पर्धा भएको छ । तीन वडा एमालेले जितेको छ ।

ती वडामध्ये वडा नं. ६ एमाले जितेको त्यो वडा माओवादी केन्द्र प्रतिस्पर्धी रहेको छ भने अन्य वडामा कांग्रेस प्रतिस्पर्धी रहेको छ । एउटा वडा नं. ११ मा स्वतन्त्रले जितेकोमा त्यहाँ प्रतिस्पर्धी एमाले रहेको छ ।

सर्केगाडमा माओवादीले उपाध्यक्ष जोगाउन सक्ला ?  

गत स्थानीय निर्वाचनमा हुम्लाको सर्केगाड गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्र गठबन्धन बनाएर चुनाव लडेका थिए । गठबन्धनबाट अध्यक्षमा कांग्रेसका ठानबहादुर रोकाया तीन हजार पाँच सय ४३ मतका साथ निर्वाचित भएका थिए । उनले एमालेका ज्ञामी बुमिलाई पराजय गरेका थिए । बुमिले नौ सय ९७ पाएका थिए । रोकाया र बुमीको मतान्तर दुई हजार पाँच सय ४६ थियो ।

त्यस्तै, गाउँपालिका उपाध्यक्षमा निर्वाचित माओवादी केन्द्रका चन्द्रसिंह कार्कीको निधनपछि यहाँ उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा तीन हजार दुई सय ६९ मत पाएर माओवादी केन्द्रका कार्की उपाध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी एमालेका जुनकुमारी फडेराले एक हजार ६४ मत पाएकी थिइन् ।

आठ वटा वडामध्ये एमालेले दुई वटा, माओवादी केन्द्रले तीनवटा, कांग्रेसले दुईवटा र स्वतन्त्रले एउटा वडामा जितेका थिए । गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि माओवादी र कांग्रेसले गठबन्धन गरेको भएपनि वडामा एक्लाएक्लै लडेका थिए ।

वडाको स्थितिले गाउँपालिकाको आगामी उपचुनावमा पनि तीनै पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । विगतमा जस्तो गठबन्धन यसपटक नरहेकाले माओवादीलाई केही समस्या पर्न सक्छ । किनकि उपाध्यक्ष जोगाउनु पर्ने चुनौती उसैलाई छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register