लन्डन ओटुमा पहिलोपटक गुन्जंदैछन् कन्दरा र स्वप्न सुमन (भिडियो)

लन्डन । हिउँ त हैन फाफरेको डंगुर माया भयो अमिलो अंगुर हङकङ पोखरा निर्मोही आफ्नो को छ र ९० को दशकमा स्थापित पोखरेली ब्याण्ड ‘कन्दरा’ को यो गीत नसुन्ने विरलै होलान् । यस्ता कयौं हिट गीत पस्केर दर्शक श्रोताको मन जित्न सफल छ कन्दरा । हङकङ पोखराबाहेक तिमी पारी, चञ्चले कान्छी, लेककी हे माया, तगारोमा […]

Dec 16, 2024 - 16:21
 0
लन्डन ओटुमा पहिलोपटक गुन्जंदैछन् कन्दरा र स्वप्न सुमन (भिडियो)

लन्डन ।

हिउँ त हैन फाफरेको डंगुर
माया भयो अमिलो अंगुर
हङकङ पोखरा
निर्मोही आफ्नो को छ र

९० को दशकमा स्थापित पोखरेली ब्याण्ड ‘कन्दरा’ को यो गीत नसुन्ने विरलै होलान् । यस्ता कयौं हिट गीत पस्केर दर्शक श्रोताको मन जित्न सफल छ कन्दरा ।

हङकङ पोखराबाहेक तिमी पारी, चञ्चले कान्छी, लेककी हे माया, तगारोमा रुमाल जस्ता चर्चित लोक पपगीतहरु ल्याइसकेको ‘कन्दरा’ कन्सर्टमार्फत फेरि जुर्मुराएको छ ।

‘पहिला घरदेश अनि परदेश’ को नारासहित नेपालपछि अब विश्व टुरमा निस्कने तयारीमा छ उक्त सांगीतिक समूह ।

३२ वर्षपछि पहिलोपटक गत ९ नोभेम्बर सांझ काठमाडौंमा ऐतिहासिक कन्सर्ट गरेर ठूलो प्रशंसा बटुलेको उक्त ब्याण्ड आउंदो ४ जनवरीमा लन्डनस्थित विश्व प्रतिष्ठित भेन्यू ‘इण्डिगो एट द ओटु’ मा गुन्जने तयारी गर्दैछ । उसले ३२ औं वार्षिकोत्सव यहीं धुमधामसंग मनाउने घोषणा गरेको छ ।

कन्दराको विश्व टुर अन्तर्गत लन्डन शो परदेशमा पहिलो प्रस्तुति हुनेछ ।

‘पहिला आफ्नै घरदेश चिनौं, अनि परदेशमा आफ्नो पहिचान बोकौं । आफ्नो देशको सुगन्ध फैलाऔं’- कन्दराका गायक विवेक श्रेष्ठ भन्छन्।

बेलायतका १० जना नेपाली युवाहरुको कम्पनी मामाघर इन्टरटेनमेन्ट लि. ले इण्डिगो एट द ओटुमा गायक विवेक श्रेष्ठसहित कन्दरा ब्याण्ड र गायक स्वप्न सुमन एवं उनको ब्याण्ड द आस्टर्स उतार्ने भएको हो ।

कन्दरा र स्वप्नका ७/७ जना ब्याण्ड सदस्यहरु कन्सर्टकै लागि लन्डन आउन भिजा लिइसकेका बताइएको छ ।

नढाक न मुहार श्रृंगारले, वाचा भयो, जे छौ तिमी जस्ता कयौं हिट गीत गाइसकेका स्वप्न युवामाझ निकै लोकप्रिय छन् ।

‘म आफैं पनि कन्दरा ब्याण्डको फ्यान थिएं, उनीहरुले विश्व टुर गर्दैछन् भन्ने सुनेपछि कुराकानी अगाडि बढेर फाइनल भयो । त्यसपछि कन्दराको कन्सर्ट कसरी ग्राण्ड बनाउने भनेर ओटुमै गर्ने निर्णय गरेका हौं’, मामाघरका निर्देशक विमल तिमिल्सेना भन्छन्, ‘गत अगष्टतिर दशैं आसपासमा एउटा वृहत कार्यक्रम गर्ने भन्ने योजना थियो । तर, त्यो बेला मिलेन ।’

मामाघर इन्टरटेनमेन्टका निर्देशक विमल तिमिल्सेना

सबै कलाकारहरु २ जनवरीमा आएर ७ जनवरीमा फर्कने छन् । नेपालबाटै आउने ब्याण्ड सदस्यहरुको लाइभ म्यूजिकका साथ हुने पहिलो ठूलो इभेन्ट, नेपालबाट आउने कलाकारहरुको जम्बो टिम र इभेन्ट खर्चिलो भएकाले चुनौति भने धेरै रहेको मामाघरका विमलले बताए । मामाघर इन्टरटेनमेन्टले उक्त कन्सर्टमा झण्डै ८० हजार पाउण्ड खर्च हुने अनुमान गरेको छ ।

उक्त कन्सर्टका लागि भेन्यू अपरान्ह ५ बजे खुल्छ । ७ बजे ग्राण्ड ओपनिङ भएपछि ८ बजेसम्म एक घण्टा स्वप्न टिमले प्रस्तुति दिने तालिका छ ।

त्यसपछि कन्दराले दुई घण्टा नन स्टप परफर्मेन्स दिनेछ । त्यहां खादामाला, भाषण वा सम्मान जस्ता कुनै औपचारिक कार्यक्रम नहुने तर कन्दराको ३२ वर्षको सेलेब्रेसन भने विशेष गरिने आयोजकको भनाइ छ । आङदोर्जे शेर्पा र सृजना गुरुङले कार्यक्रम होस्ट गर्नेछन् ।

कन्सर्ट हेर्न युरोप, स्कटल्याण्ड देखि इंग्ल्याण्डको मिडल्याण्ड, वेल्स् लगायत शहरबाट समेत दर्शक आउने भएका छन् । बेलायतमै रहेका पुराना नेपाली कलाकारहरुलाई पनि निमन्त्रणा गरिएको छ ।

जस्टिन बिबर, इड सिरन रक ब्याण्ड कोल्ड प्ले लगायत हलिउड र बलिउडका विश्व चर्चित कलाकारहरुले परफर्म गरिसकेको इण्डिगो एट द ओटु २७५० दर्शक क्षमताको छ ।
जसमा भिआइपी किंग्स् रोमा २१८ जना, बाल्कोनीमा ५५९ सिट र स्टयाण्डिङ १८ सय जना अट्छन् । धेरै टिकट ‘सोल्ड’ भइसकेकाले छिट्टै टिकट खरिद गरेर सिट सुरक्षित राख्न मामाघर इन्टरटेनमेन्टले अनुरोध गरेको छ । टिकट मूल्य ५७.५ पाउण्ड छ । रेयर बाल्कोनी अनलाइन लिंदा डिस्काउन्ट मूल्य ४२ पाउण्डमात्र पर्नेछ ।

बल्क लिन चाहनेलाई अनलाइन भन्दा प्रत्यक्ष भेटेर लिंदा सस्तो पर्ने जनाइएको छ ।

बेलायतका प्लमस्टिड, हन्स्लो, क्याम्बर्ली, फेल्थाम, बेजिङस्टोक, स्वीन्डन, आसफोर्ड लगायतका नेपाली पसलहरुमा पनि टिकट उपलब्ध रहेको विमलले जनाए । टिकट लिन इच्छुकले आफ्नो टिम सदस्यहरुलाई फोन गरे पोष्टमार्फत वा भेटेर उपलव्ध गराइने पनि उनको भनाइ छ ।

कन्सर्ट सकिएपछि युथहरुका लागि भान्जाभान्जी पार्टी (आफ्टर पार्टी) पनि गर्ने आयोजकको तयारी छ । कन्सर्टबाट आउनेलाई डिस्काउन्ट दिइने आयोजकले जनाएका छन् । त्यसको भेन्यू तय हुन बांकी छ ।

छोटो समयमै उदाएको मामाघर इन्टरटेनमेन्ट


मामाघर इन्टरटेनमेन्ट लि. गत वर्षमात्र स्थापना भएको हो । टिम विस्तार गरि हाल विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका १० युवा सो कम्पनीमा आवद्ध छन् ।

कम्पनीको निर्देशक विमल तिमिल्सेना हुन् भने शेयरहोल्डरहरुमा इन्द्रबहादुर ढकाल, राजाराम बुढाथोकी, अनिल बस्नेत, नितेश ढुंगाना, प्रशान्त भट्टराई, दयाराम बुढाथोकी, सुमन खतिवडा, सुमन पाण्डे र दिपेश रन्जित आवद्ध छन् ।

सबैले सम्झने मौलिक नाम राखेर कम्पनी खोलिएको बताउंदै निर्देशक तिमिल्सेना भन्छन्, ‘विदेशमा सबै काममा व्यस्त भएरमात्र बस्नु हुंदैन्, मनोरन्जन पनि गर्नुपर्छ भन्ने उद्देश्य हामीहरुको छ । हामी नेपाली कला संस्कृति जगेर्ना र पर्यटन प्रवर्धन गर्न पनि सचेत छौं ।’

सबै उमेरसमूह र पुस्तालाई समेट्ने खालका कार्यक्रम निरन्तर गर्ने टिमको योजना छ ।’त्यसैले ‘इभेन्ट फर अल जेनेरेसन’ स्लोगन राखिएको हो’, विमल प्रष्टयाउंछन् ।

मामाघरले स्थापना भएलगत्तै गत वर्ष पहिलो कार्यक्रम ‘दिमाग खराब’ मुभी प्रदर्शन र लाइभ ब्याण्ड प्रस्तुति गरेको थियो । दोश्रो कार्यक्रम नेपाली नयां वर्षको अवसरमा ‘हाम्रो न्यू इयर’ नामक कार्यक्रम भएको थियो मिलहिल स्कुलमा । त्यतिखेर शुभ ब्याण्ड र सुजेश वैद्यको प्रस्तुतिमा झण्डै ५०० जनाको क्राउड झुमेका थिए । बन्र्टओक नेपाली समाजसंग सहकार्य गरि भएको उक्त कार्यक्रममा कलाकारहरु भूमिका गिरी र निर्जला गुरुङ पनि सामेल थिए । अब हुन लागेको ओटु इभेन्ट मामाघरको तेश्रो हुनेछ ।

हेरौं मामाघरका निर्देशक विमलसंग नेपाली लिंकको भिडियो संवादः

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register