राजविराजमा रात्रिकालीन उडान सुरु

राजविराज । सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ । रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एयरले उक्त विमानस्थलमा व्यावसायिक रुपमा रात्रिकालीन उडान सुरु गरेको हो । राजविराज विमानस्थलमा रात्रिकालीन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालीन सेवा सुरुभएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवा […]

Dec 16, 2024 - 15:47
 0
राजविराजमा रात्रिकालीन उडान सुरु

राजविराज । सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ । रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एयरले उक्त विमानस्थलमा व्यावसायिक रुपमा रात्रिकालीन उडान सुरु गरेको हो ।

राजविराज विमानस्थलमा रात्रिकालीन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालीन सेवा सुरुभएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, “अब राजविराज छायामा पर्नेछैन । विमानस्थलाई नियमित सञ्चालनका लागि सबै प्रयत्न गरिनेछ । यहाँको प्राकृतिक सम्पदा र संस्कृतिक सम्पदाको अवलोकन गरेर मात्रै यात्रु फर्किनेछन ।”

पर्यटनमन्त्री पाण्डेले विमानस्थलको रात्रिकालीन सेवाले अर्थतन्त्रलगायत विविध क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताए । उनले विविधितापूर्ण प्रकृति र संस्कृतिले भरिपूर्ण नेपालको पर्यटनलाई प्रवर्द्धनका निम्ति यो विमानस्थल सहयोगी बन्ने धारणा राखे । उनले राजविराजबाट पोखरालगायत गन्तव्यमा सिधा उडान गर्नेगरी आगामी दिनमा यसलाई विकास गरिनुपर्नेमा जोड दिए । यसअघि मन्त्री पाण्डेले एयरफिल्ड लाइटिङ सिस्टमको उद्घाटन गरेका थिए ।

त्यसअवसरमा जनमत पार्टीका अध्यक्ष सीके राउतले राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुनु गौरवको विषय भएको बताए । “सप्तरीबासीका लागि गौरवको दिन हो, अब, उडान सङ्ख्या बढाएर सेवालाई निरन्तरता दिनेतर्फ सबैले ध्यान दिन जरुरी छ । यो अवस्थामा ल्याइपुर्‍याउन सहयोग गर्ने सबैलाई म विशेष धन्यवाद दिन चाहन्छु”, उनले भने। प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिर र कोशी क्षेत्रको पर्यटन विकासमा निम्ति यो सुरुआत महत्वपूर्ण कदम भएको अध्यक्ष राउतले उल्लेख गरे ।

नेपाली कांग्रेसका नेता एवं पूर्वपर्यटनमन्त्री जितेन्द्रनारायण देवले राजविराज विमानस्थलमा रात्रिकालीन उडान सञ्चालन हुनु गौरवको विषय रहेको उल्लेख गर्दै नियमित उडानका लागि मन्त्रालय र प्राधिकरणलाई धन्यवाद ज्ञापन गरे । लामो सङ्घर्षपछि यो विमानस्थलमा उडान सञ्चालन भएको भन्दै यसले आसपास क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको भनाइ थियो ।

नेकपा (एमाले)का नेता सुमन प्याकुरेलले नेपालको पुरानो विमानस्थल सप्तरीको मात्रै नभई सुनसरीको पश्चिम दक्षिण भेगदेखि सिरहासम्मका जनतालाई सेवा दिने यो विमानस्थल उपयोगी हुने विश्वास व्यक्त गरे । विभिन्न कारण पटक पटक उडान र बन्द हुँदै आएको विमानस्थललाई निरन्तर सञ्चालनका साथै यो विमानस्थल पाइलट तालिमका लागि उपयोग गर्न सुझाव दिए ।

सप्तरी क्षेत्र नं ३ का सांसद दिनेशकुमार यादवले पटक पटक बन्द हुँदै आएको राजविराज विमानस्थलमा नियमित उडान सञ्चालनका लागि सबैको सहयोग चाहिने खाँचो औंल्याए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले राजविराजमा रात्रिकालीन उडानले समग्र विकासको सम्भावनाको ढोका खुलेको उल्लेख गरे ।

राजविराज विमानस्थलमा यसअघि बुद्ध एयरले दिउँसोको समयमा दैनिक एउटा उडान गरिरहेको थियो । नागरिक उड्डयन प्राधिकरणको सहयोगमा बुद्ध एयरले गत शुक्रबार (१३ डिसेम्बर) रात्रिकालीन उडानको परीक्षण गरेको थियो । उक्त उडान सफल भएसँगै बुद्ध एयरले आज काठमाडौंदेखि राजविराजको रात्रिकालीन व्यवसायिक उडान सुरु गरेको हो ।

योसँगै रात्रिकालीन उडान हुने विमानस्थलको सङ्ख्या १० पुगेको छ । भद्रपुर, विराटनगर, राजविराज, सिमरा, जनकपुर, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल रात्रिकालीन उडान हुन्छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार विमानस्थलमा आइएफआर नियम अनुसार उडान सुरु भएपछि हिउँदको समयमा कम भिजिबिलिटीका कारण हुने उडान रद्द हुने र डिले हुने समस्याबाट यात्रुहरुले छुटकारा पाउनेछन् ।

राजविराज विमानस्थल चन्द्रगढी, विराटनगर तथा जनकपुरबाट नजिक पर्ने हुँदा यसलाई आवश्यकताको बेला वैकल्पिक विमानस्थलका रुपमा पनि प्रयोग गर्न सकिने बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले बताए । राजविराजमा रात्रिकालीन उडानले यस भेगको उडानलाई थप सुरक्षित सुढृढ गरेको उनको दाबी छ ।

इन्ट्रयुमेन्ट फ्लाइट रुल्स (आईएफआर) मा दुई हजार मिटरमा उडान गर्न सकिनेभएपछि मौसम खराब भएको समयमा पनि उडान गर्न सहज हुने भएको छ । यसअघि भिएफआर उडानका लागि कम्तीमा पनि पाँच हजार भिजिविलिटी हुनुपर्थ्यो । यसले उडान ढिलो तथा रद्द हुने समस्याबाट राहत मिल्ने विमानस्थलले जनाएको छ ।

राजविराज विमानस्थलमा विसं २०७६ माघ १८ देखि बुद्ध एयरले ७२ सिट क्षमताको एटीआर विमानमार्फत काठमाडौं-राजविराज-काठमाडौं दैनिक रुपमा नियमित उडान गर्दै आएको थियो । राजविराज विमानस्थल विसं २०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहले उद्घाटन गरेका थिए । राजविराज विमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडा पक्की धावन मार्ग छ । लामो समय बन्द रहेको राजविराज विमानस्थलबाट विसं २०७५ असार १० देखि श्री एयरलायन्सले उडान सुरु गरेको गियो । श्री एयरलाइन्सले उडान सुरु गरेको एक वर्ष राजविराज उडान बन्द गरेको थियो ।

राजविराज विमानस्थल कार्यालयका अनुसार विसं २०५२ र २०६५ मा केही दिन उडान भयो । विसं २०६६ मा केही समय राजविराज विमानस्थलबाट पहाडी जिल्लाका लागि उडान भएर पुनः बन्द भएको थियो । विसं २०७५ वैशाखमा विमानस्थलको पक्की धावन मार्गसहितको संरचना निर्माण भएको थियो । राजविराजमा रात्रिकालीन उडानले मधेसको पर्यटनका निम्ति ढोका खुलेको स्थानीय रोशन मण्डलले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register