‘ओलीगार्की’, ‘ओलीगोपोली’ र ‘क्रोनी क्यापिटालिज्म’ को अन्तर्सम्बन्ध

क्रोनी क्यापिटालिज्मको उदयका मुख्य ४ वटा आधार हुन्छन् । एक प्रियतावादी, नायकत्ववादी, अन्धराष्ट्रवादी राजनीति दुई सिन्डिकेटतन्त्र तीन बिचौलियातन्त्र र चार स्वप्नशील भाष्य अर्थात् ड्रिम न्यारेटिभ ।

Nov 28, 2024 - 07:17
 0
‘ओलीगार्की’, ‘ओलीगोपोली’ र ‘क्रोनी क्यापिटालिज्म’ को अन्तर्सम्बन्ध

सन् १९७९ को फिलिपिन्स । कुख्यात तानाशाह फर्डिनान्ड मार्कोसको शासन १४ वर्ष लामो भइसकेको थियो । सन् १९६५ मा निर्वाचनमार्फत नै सत्तामा आएका मार्कोसले सन् १९७२ देखि १९८१ सम्म करिब १ दशक लामो मार्सल ल लगाए । मार्कोस पत्नी इमेल्डा शक्ति दुरुपयोग, परिवारवाद, भ्रष्टाचार, नातावाद र पक्षपातका अनेक घटनासँग जोडिँदै र बदनाम हुँदै गएकी थिइन् ।

ठीक त्यही वर्ष एक २७ वर्षिया ठिटो, विश्वविद्यालयको विद्यार्थी, बौद्धिक विद्रोही जोसे रिकार्डो मानापतले ४० पेज लामो एक पर्चा लेखे । त्यसको नाम थियो– सम आर स्मार्टर देन अथर्स : हिस्ट्री अफ मार्कोस क्रोनी क्यापिटालिज्म ।

मार्कोस शासन विरोधी विद्यार्थी तथा लोकतन्त्रवादीहरूले यो पर्चा फोटोकपी गरेर भित्रभित्रै लाखौँ प्रति बाँडे । लोकतन्त्रवादी सिनेटर निनोय अक्विनो (जो पछि निर्वाचित ११ औं राष्ट्रपति कोराजिना अक्विनोका पति थिए, सन् १९७१ मा उनको राज्य प्रयोजित हत्या भयो) ले मानापतको पर्चालाई उच्च प्रशंसा गरे ।

अमेरिकी स्वतन्त्रता संग्रामलाई थोमस पाइनको ‘कमन सेन्स’ र फ्रान्सेली राज्य क्रान्तिलाई रुसोको ‘द सोसल कन्ट्राक्ट’ ले जस्तै मानापतको यो चर्चाले फिलिपिनी क्रान्तिलाई व्यापक प्रेरणा दिएको थियो । सन् १९८६ मा मार्कोस शासनको अन्त्यपछि जोसेले सन् १९९१ मा आफ्नो पर्चालाई सोही नामको एक पुस्तकका रूपमा विस्तार गरे ।

टाइम म्यागेजिनका आर्थिक सम्पादक जर्ज एम. ट्याबलरले सन् १९८० मा ‘क्रोनी क्यापिटालिज्म’ शब्दावली प्रयोग गर्दै फिलिपिन्सको राजनीतिक तथा आर्थिक सङ्कटको विश्लेषण गरेका थिए । सन् १९८१ बाट यसले शब्दकोषमा प्रवेश पायो र विश्वभरि प्रयोग हुन थाल्यो ।

क्रोनी क्यापिटालिज्मलाई नेपालीमा आसेपासे पुँजीवाद, चाकर पुँजीवाद, भैयारी पुँजीवाद, यारना पुँजीवाद, साथीभाइ पुँजीवादजस्ता शब्दमा उल्था र प्रयोग गर्ने गरिएको छ । यीमध्ये कुन उपयुक्त र मानक शब्द हो–भन्न गाह्रो छ । प्रयोग गर्दै जाँदा कुनै एक उपयुक्त मानिएला र स्थापित होला ।

क्रोनी क्यापिटालिज्मको तुलनामा ओलीगार्की (अल्पतन्त्र) र ओलीगोपोली (अल्पाधिकार) भने धेरै पुराना शब्द हुन् । प्राचीन ग्रिक सभ्यतामा ओलीगार्की शब्दको प्रयोग हुन्थ्यो । अरस्तुले कुलीनतन्त्र (एरिष्टोक्रेसी ) लाई अल्पतन्त्रको ठोस रूप मानेका थिए ।

कुनै प्रकारको सुविधा वा अग्राधिकारका आधारमा निर्माण भएको केही सीमित मानिस वा परिवारको घेराभित्र शासन आलोपालो हुनु, घुमिरहनु वा शक्ति अभ्यास सीमित हुनुलाई अल्पतन्त्र भनिन्थ्यो । प्राचीन ग्रिक नगरराज्यमा यसको आधार कुलीनहरू थिए, जसलाई ‘नोवल’ भनिन्थ्यो ।

तर, ओलीगार्कीको आधार कुल, परिवार, वंश, खानदानको समूह मात्र हैन, राजनीतिक दल, शैक्षिक तथा प्राज्ञिक प्रवर्ग, जात वा जातीयता, धार्मिक समुदाय, सैन्य समूह वा युद्ध सरदार र कर्पोरेट संस्थाबीच शासन सत्ता घुमिरहन्छ वा त्यसैको वृत्तभित्र सीमित हुन्छ भने त्यो पनि ओलीगार्की नै हो ।

ओलीगोपोली’ अर्थात् ‘अल्पाधिकार’ भने आर्थिक अवधारणा हो, जो राजनीतिक रूपमा ओलीगार्कीसँग नजिकबाट जोडिएको हुन्छ । अल्पाधिकार एकाधिकार (मनोपोली) को विस्तारित रूप हो, जो राजनीतिक अल्पतन्त्र बिना कायम हुन सक्दैन । आधुनिक राज्यमा राजनीतिक शक्तिले व्यावसायिक प्रतिस्पर्धामाथि ‘सार्वजनिक निगम’ र ‘लाइसेन्स राज’ मार्फत नियन्त्रण गर्दछ ।

आधुनिक लोकतन्त्र र दलीय व्यवस्थामा ओलीगार्की कसरी सक्रिय हुन्छ भन्ने गतिलो विश्लेषण सन् १९११ मा प्रकाशित रोवर्ट माइकल्सको ‘आइरन ल अफ ओलीगार्की’ मा पाइन्छ । आधुनिक लोकतान्त्रिक भनिएका राजनीतिक दलभित्र हुने नेतृत्वको पदसोपान, पार्टी ब्यूरोक्रेसी, स्वार्थ समूह सहकार्य वा दबाबले नयाँ प्रकारको ओलीगार्की सृजना हुने र त्यसले लोकतन्त्रमाथि अतिभार (ओभरलोड) सृजना गरी कार्य गर्न नसक्ने गरी थलिने अवस्थामा पुर्‍याउने चित्रण उनले गरेका छन् । यस्तो अवस्थालाई नै उनले ‘आइरन ल अफ ओलीगार्की’ भनेका छन् ।

यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका अर्थशास्त्रीद्वय डारोन एसिमग्लु र जेम्स ए. रोबिन्सनको ‘ह्वाई नेसन्स फेल’ मा समेत ‘आइरन ल अफ ओलीगार्की’ क्रियाशील भएका विभिन्न देशको स्थितिको व्यापक चित्रण छ ।

‘ओलीगोपोली’ अर्थात् ‘अल्पाधिकार’ भने आर्थिक अवधारणा हो, जो राजनीतिक रूपमा ओलीगार्कीसँग नजिकबाट जोडिएको हुन्छ । अल्पाधिकार एकाधिकार (मनोपोली) को विस्तारित रूप हो, जो राजनीतिक अल्पतन्त्र बिना कायम हुन सक्दैन । आधुनिक राज्यमा राजनीतिक शक्तिले व्यावसायिक प्रतिस्पर्धामाथि ‘सार्वजनिक निगम’ र ‘लाइसेन्स राज’ मार्फत नियन्त्रण गर्दछ ।

दुर्भाग्यको कुरा हो कि कतिपय विचारक तथा राजनीतिज्ञले यस्तो गलत प्रचलनलाई ‘समाजवाद’ को नाममा गौरवीकरण गर्दछन् । मार्क्सवादी-लेनिनवादी परम्पराका कम्युनिष्ट पार्टी र त्यस्तो शासन व्यवस्था भएका मुलुकमा मात्र हैन, बेलायतको लेबर पार्टी र भारतको राष्ट्रिय कांग्रेसले समेत अर्थनीतिमा यस्तो ‘समाजवाद’ लाई प्रोत्साहित गरेका थिए, जो प्रकारान्तले ‘समाजवाद’ नभएर ‘राज्यवाद’ थियो । समाजवाद र राष्ट्रियकरणका नाममा आर्थिक क्षेत्र र उत्पादनका साधनको अनावश्यक राज्यकरण गरिँदा एकाधिकार, उच्च मूल्य निर्धारण, गुणस्तरहीनता र उद्यमशीलता अभाव व्यापक भएको थियो ।

अर्थतन्त्रमा अभ्यास गरिने ‘राज्यवाद’ ले नै एकाधिकार वा अल्पाधिकारलाई संस्थागत गर्ने हो । यस्तो बिन्दुमा पुगेर राजनीति र आर्थिक क्षेत्र, राज्य-दल र कर्पोरेट संस्था, नेता र व्यवसायीबीचको भिन्नता समाप्त हुन्छ । राजनीतिको व्यापारीकरण र व्यवसायको राजनीतिकरण हुन्छ । आर्थिक संस्था र घरानाका स्वार्थहरू राजनीतिमा घुस्दछन्, राजनीतिक स्वार्थले स्वच्छ आर्थिक प्रतिस्पर्धालाई असम्भव बनाइदिन्छ । र, आर्थिक स्वार्थले राजनीतिक प्रतिस्पर्धा पनि स्वच्छ हुन पाउँदैन ।

राजनीतिक संरक्षण प्राप्त गर्ने र नगर्ने आर्थिक संस्थाबीचको प्रतिस्पर्धा ‘समान खेल मैदान’ मा हुन सक्दैन । फलतः वित्तीय अनुशासनहीनता र आर्थिक अपराध बढ्न थाल्दछ । आर्थिक अपराधको आवश्यकताले फौजदारी अपराध बढाउँछ । अन्ततः अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण हुन पुग्दछ ।

यसको सरल अर्थ हो कि ओलीगार्की र ओलीगोपोली बिना क्रोनी क्यापिटालिज्म फस्टाउन सक्दैन, न त राजनीतिक दृष्टिले दलहरूभित्र र राज्य प्रणालीमा ‘आइरन ल अफ ओलीगार्की’ नै क्रियाशील हुन सक्दछ । आज नेपालमा व्यापक प्रयोग हुने नकारात्मक प्रवृत्ति जनाउने शब्दहरू दलतन्त्र, गुटतन्त्र, नेतातन्त्र, परिवारवाद, बिचौलियातन्त्र, सिन्डिकेटतन्त्र आदि राजनीतिक रूपमा ओलीगार्की र अर्थशास्त्रीय दृष्टिकोणले ओलीगोपोलीका परिणाम हुन् । क्रोनी क्यापिटालिज्मको आधार पनि यही हो ।

फिलिपिन्समा मार्कोसको शासनकाल १९६५-१९८६ मा हुर्काइएको एक आर्थिक प्रवृत्ति जसले मोनोपाली र ओर्लीगोपोलीमार्फत व्यापक ‘रेन्ट सिकिङ’ गर्दै निश्चित राजनीतिक परिवार र आर्थिक घरानालाई फाइदा पुर्‍याउँछ तर, जनसङ्ख्याको ठूलो हिस्सा राजनीतिक र आर्थिक दुबै दृष्टिकोणले अगलाव, गरिबी र शोषणतिर धकेलिन्छ भने त्यो क्रोनी क्यापिटालिज्मको अभ्यास हो भनेर सहजै बुझ्न सकिन्छ ।

‘रेन्ट सिकिङ’ यहाँनेर एक अर्को महत्त्वपूर्ण आर्थिक शब्दावली हो । जसको अर्थ जोखिमपूर्ण तथा सृजनशील उद्यमाशीलता, नवप्रर्वतन, व्यवस्थापन कौशल र बजारमैत्री पुँजीगत लगानी बिनै राजनीतिक तथा प्रशासनिक साँठगाँठमा व्यापक मुनाफा र अकुत सम्पत्ति कमाउने आर्थिक प्रवृत्ति ।

अमेरिकी अर्थशास्त्री पौल एच.रुविनका अनुसार ‘आर्थिक क्रियाकलाप कर्पोरेट स्वामी र सरकारी अधिकारीका बीचको सम्बन्धको निकटतामा निर्भर गर्ने अर्थतन्त्रको प्रकार’ लाई क्रोनी क्यापिटालिज्म भनिन्छ ।

यस्तो अन्तर्सम्बन्धमा राज्यमा कब्जा जमाएको राजनीतिक तथा प्रशासनिक नेतृत्वले आफूसँग निकट सम्बन्धमा रहेका कर्पोरेट संस्थाहरूको माग, दबाब वा स्वार्थअनुरूप अनुमति पत्र, कानुनी प्रावधान, सरकारी सुविधा, अनुदान, कर छुटआदिमा पक्षपात गर्दछ । राष्ट्रिय सम्पत्तिहरू मूलतः खानी, जंगल, जल, ग्यास, तेलआदि तिनलाई सुम्पिन्छ ।

यसको बदलामा आर्थिक खानदानले राजनीतिक नेतृत्वलाई राजनीतिक लागत व्यवस्थापन, चुनाव खर्च र पारिवारिक वृत्ति विकासमा सहयोग गर्दछन् । प्रशासनिक नेतृत्वलाई घुस, सुविधा भोग, भ्रमण, तिनका सन्तान वा आफन्तका लागि राम्रो ज्याला तलबका जागिरको अवसर दिने गर्दछन् । कानूनतः पुष्टि गर्न गाह्रो हुने तर, एक परिवेश र वातावरणका रूपमा क्रियाशील हुने हुँदा यस्तो प्रवृत्तिलाई ‘ह्वाइट कलर क्राइम’ पनि भन्ने गरिन्छ ।

क्रोनी क्यापिटालिज्म जति फष्टाउँदै जान्छ, शासक प्रशासकसँग नजिक सम्बन्ध भएका वृत्तबाट नवधनाढ्यहरूको द्रुत उदय हुन्छ । प्रारम्भिक आर्थिक विकास र औद्योगिकीकरणको युगमा निर्माण भएका आर्थिक परिवार कमजोर हुन थाल्दछन् । भारतमा नरेन्द्र मोदीको उदयसँगै अडानी र अम्बानी समूह पुराना टाटा, बिडला समूहभन्दा पनि शक्तिशाली भएर अघि आउनुलाई यसै सन्दर्भमा जोडेर हेर्ने हेरिन्छ ।

कतिपय कम्युनिष्ट तथा समाजवादी विचारक क्रोनी क्यापिटालिज्मलाई पुँजीवादको समस्या वा अपरिहार्य परिणति मान्ने गर्दछन्, जो सरासर झुटो हो । शास्त्रीय उदारवाद, जसलाई सामान्यतः पुँजीवाद भन्ने गरिन्छ, मूलतः त्यो खुला प्रतिस्पर्धामा आधारित हुन्छ, नकि पक्षपातपूर्ण निकटतामा । यो नवउदारवादको समस्या पनि हैन ।

‘क्रोनी क्यापिटालिज्म’ मा उदित हुने नवधनाढ्यहरू मूलतः शक्तिशाली शासकका परिवारका सदस्य, टाढा–नजिकका नातेदार, बाल्यकाल वा स्कूल कलेजका साथी, व्यावसायिक साझेदार र राजनीतिक लागत व्यवस्थापनकर्ता, राजनीतिक जीवनमा खासै सफल हुन नसकेका मध्यमस्तरका नेता, कार्यकर्ता हुने गर्दछन् ।

कतिपय कम्युनिष्ट तथा समाजवादी विचारक क्रोनी क्यापिटालिज्मलाई पुँजीवादको समस्या वा अपरिहार्य परिणति मान्ने गर्दछन्, जो सरासर झुटो हो । शास्त्रीय उदारवाद, जसलाई सामान्यतः पुँजीवाद भन्ने गरिन्छ, मूलतः त्यो खुला प्रतिस्पर्धामा आधारित हुन्छ, नकि पक्षपातपूर्ण निकटतामा । यो नवउदारवादको समस्या पनि हैन ।

नवउदारवादका मूलतः तीन सिद्धान्त हुन्– निजीकरण, उदारीकरण र भूमण्डलीकरण । क्रोनी क्यापिटालिज्म न शास्त्रीय पुँजीवाद र खुला बजार अर्थतन्त्रको सिद्धान्त प्रतिस्पर्धाअनुरूप छ, न आडम स्मिथको ‘अदृश्य हात’ हातको बजार नियम मुताबिक छ । यो पुँजीवादको समस्या हैन, एक फरक प्रकारको विशिष्ट अर्थराजनीतिक समस्या हो, जो शास्त्रीय उदारवाद र नवउदारवादको पनि विरुद्धमा हुन्छ । तसर्थ, स्वयम् पुँजीवादी चिन्तकहरूले भन्ने गरेका छन्– क्यापिटालिज्मलाई क्रोनी क्यापिटालिज्मको महारोगबाट बचाऔँ ।

क्रोनी क्यापिटालिज्मको रोग उदार लोकतान्त्रिक तथा कथित पुँजीवादी बहुदलीय लोकतन्त्र भएका देशमा मात्र देखिएको छैन । म्यानमार र पाकिस्तानको दृष्टान्तबाट हेर्ने हो भने यो सैनिक शासन वा सैन्य शक्तिको दुरुपयोगबाट समेत हुर्किन्छ ।

साउदी अरेबिया, बहराइन, यूएई, कुबेत, कतारलगायतका राजतन्त्रात्मक मुलुकमा समेत क्रोनी क्यापिटालिज्मको समस्या उस्तै छ । चीन, भियतनाम र लाओसजस्ता एकदलीय कम्युनिष्ट शासन प्रणाली भएका देशमा क्रोनी क्यापिटालिज्म झन् बढी फस्टाएको छ । त्यहाँ अधिकांश नवधनाढ्यहरू कम्युनिष्ट नेताका परिवार, नातेदार र कम्युनिष्ट पार्टीका ठूला वा मध्यमस्तरका पदबहालवाला हुने गर्दछन् ।

श्रीलंका एक उदार लोकतान्त्रिक मुलुक नै मानिन्थ्यो तर, तमिल विद्रोह दमनपछि उदाएको राजपाक्षे परिवारको क्रोनी क्यापिटालिज्मले त्यसलाई सन् २०२२ को जुलाई जनविद्रोहसम्म पुर्‍यायो ।

रुसको पुटिन शासन क्रोनी क्यापिटालिज्मको अर्को प्रखर उदाहरण हो । भनिन्छ– रुसमा अर्थतन्त्रका सबै क्षेत्रका मुख्य ठूला कम्पनीहरू राष्ट्रपति भ्लादिमिर पुटिनका पारिवारिक नातेदार, बाल्यकालीन, स्कूल, कजेल र केजिबीको जागिर गर्दाका मित्रहरूले कब्जा गरेका छन् । राजनीतिक, प्रशासनिक र आर्थिक सबै स्रोत र शक्ति कब्जा गरेका कारण यति लामो शासनले सृजना गरेका अनेक असन्तोषका बाबजुद उनी निर्धक्क देखिन्छन् ।

विश्लेषक भन्छन् कि क्रोनी क्यापिटालिज्मको उदयका मुख्य ४ वटा आधार हुन्छन् ।

१. प्रियतावादी, नायकत्ववादी, अन्धराष्ट्रवादी राजनीति : जसको आधारमा एक बलियो शासक र उसका समर्थक समूह देखा पर्दछन् । अमेरिकाका ट्रम्प, रुसका पुटिन, चीनका सी र भारतका मोदी, श्रीलंकाका राजपाक्षे, बंगलादेशकी शेख हसिना परिवार आदिलाई विश्लेषकले यो पहिलो मानकबाट हेर्ने गरेका छन् ।

२. सिन्डिकेटतन्त्र : एक बलियो राजनीतिक नायकको वरिपरि राजनीतिक, आर्थिक, प्रशासनिक, धार्मिक तथा प्राज्ञिक पहुँच भएका केही परिवार र व्यक्तित्वको वृत्त निर्माण हुन्छ । त्यसलाई शक्ति सम्भ्रान्तहरूको घेरा (सर्किल अफ पावर एलिट ) वा सिन्डिकेट भनिन्छ । ‘क्रोनिज’ भनेको मूलतः यिनै हुन् । तसर्थ, क्रोनी क्यापिटालिज्मलाई ‘क्रोनिज्म’ पनि भनिन्छ ।

३. बिचौलियातन्त्र अर्थात् एजेन्टोक्रेसी : यस परिवेशभित्र बाहिर कमै देखिने वा चिनिने, सार्वजनिक वृत्त वा चर्चामा त्यति धेरै आउन चचाहने केही व्यक्तिहरू हुन्छन्, जसले ‘क्रोनिज’ का स्वार्थलाई एक आपसमा भेटघाट र संवाद गराउँछन्, कुनै सम्झौतामा पुग्न मद्दत गर्दछन् । आर्थिक दृष्टिले यस्ता मानिसको समूहलाई दलाल वा बिचौलिया र राजनीतिक रूपले ‘पावर ब्रोकर’ भनिन्छ ।

यिनीहरूले दलहरू फोड्ने, सत्ता समीकरण बनाउने, सरकार टिकाउने वा ढाल्ने, चुनावमा कसैलाई हराउने वा जिताउनेसम्मका कामको योजना र कार्यान्वयन गर्दछन् । ठूला ठूला ठेक्कापट्टा र लाइसेन्समा यिनैको हात हुन्छ । कूटनीतिक निकायका प्रतिनिधिसमेत यस्तो कार्यमा संलग्न हुन्छन् ।

४. स्वप्नशील भाष्य अर्थात् ड्रिम न्यारेटिभ : यसको अर्थ हो कि भित्रभित्रै क्रोनी क्यापिटालिज्मको परिवेश क्रियाशील र वातावरण सक्रिय हुन आम नागरिकलाई कुनै ‘लोकप्रिय भूलभुलैया’ मा राख्न जरुरी हुन्छ । सामान्यतः यसका लागि विकास भाष्य, ऐतिहासिक गाथा, समृद्धिको सपना र राष्ट्रवाद उपयोगी देखिने गरेका छन् ।

नेपालमा शाहवंशीय राजतन्त्र, राणा शासन र निर्दलीय पञ्चायती व्यवस्था आफैँमा ऐतिहासिक कुलीनतन्त्र वा अल्पतन्त्र थिए । त्यो बेलाको मुख्य अर्थशास्त्रीय प्रवृत्ति अल्पाधिकार नै थियो । यद्यपि, केही क्षेत्रमा एकाधिकार पनि बलियो थियो । सन् १९९० को परिवर्तन र त्यसपछिको उदारीकरणले एकाधिकार कमजोर र अल्पाधिकार विस्तारित हुँदै गयो ।

यी भाष्यले आम नागरिकको ‘भावनात्मक शोषण’ गर्न शासक-प्रशासक वृत्त सफल हुन्छ र क्रोनी क्यापिटालिज्मको समस्यालाई नागरिकले राम्ररी बुझ्न र बेलैमा प्रतिरोध गर्न सक्दैनन् । जब संकट निकै गहिरो र नियन्त्रणभन्दा बाहिर हुन्छ, तब मात्र जनविद्रोह, आन्दोलन र क्रान्ति विकसित हुने गर्दछन् ।

नेपालमा शाहवंशीय राजतन्त्र, राणा शासन र निर्दलीय पञ्चायती व्यवस्था आफैँमा ऐतिहासिक कुलीनतन्त्र वा अल्पतन्त्र थिए । त्यो बेलाको मुख्य अर्थशास्त्रीय प्रवृत्ति अल्पाधिकार नै थियो । यद्यपि, केही क्षेत्रमा एकाधिकार पनि बलियो थियो । सन् १९९० को परिवर्तन र त्यसपछिको उदारीकरणले एकाधिकार कमजोर र अल्पाधिकार विस्तारित हुँदै गयो ।

तर, बहुदलीय लोकतन्त्रका करिब ३ दशकमा राजनीतिक अल्पतन्त्र र आर्थिक अल्पाधिकार दुबै नयाँ प्रकारले बलियो हुँदै गएको छ । फलतः क्रोनी क्यापिटालिज्मको उदय र विस्तार नेपालमा पनि सम्भव भएको छ । तर, दुर्भाग्यको कुरा देशलाई क्रोनी क्यापिटालिज्मको क्यान्सरले भित्रभित्रै कसरी खाँदैछ, आम नागरिकले अझै राम्ररी भेउ पाएका छैनन् । दलतन्त्रको सञ्जाल, मातृपार्टी भावना र केही ‘लोकप्रिय भुलभुलैया’ को जालोले आम चेतना र मनोविज्ञानमा पर्दा हालेको छ ।

तीन ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादी, तीन शीर्ष नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ क्रोनी क्यापिटालिज्मका पहिलो घेरा हुन्, जसले प्रियतावादी-नायकत्ववादी राजनीतिको आवश्यकतालाई पूरा गर्दछन् । यही चरित्रका केही नयाँ दल र नेतासमेत अहिले थपिएका छन् । माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई आदि यसै वृत्तमा कमजोर कडी मात्र हुन् । साना भनिने दलका मूल नेताहरूको चरित्र पनि आधारभूत रूपमा भिन्न छैन ।

सिन्डिकेटतन्त्रको दोस्रो घेरा अझै व्यापक छ । हरेक बलियो वा कमजोर शीर्ष नेताका पछडि ५-१५ व्यापारिक घराना छन् । ती सबैको नाम लिन त्यति उपयुक्त नहोला ।

क्याप्टेन रामेश्वर थापाहरू ‘एजेन्टोक्रेसी’ का त्यस्ता पछिल्ला उदाहरण हुन्, जसले ओली र देउवा परिवारलाई मध्यरातमा आफ्नै घरमा डिनर गराएर प्रचण्ड सरकार ढाल्न र कांग्रेस-एमालेबीच अप्राकृतिक र अवैचारिक गठबन्धन सरकार बनाउन सफल भए । नेपालको एजेन्टोक्रेसी वृत्तलाई लाग्दो हो कि तिनलाई जनताले चिनेका छैनन् । आम नागरिकले नचिने पनि ती एक हदसम्म अनावृत नै छन् ।

देशमा हुने रहेक ठूला आर्थिक ठगी, भ्रष्टाचार र बेइमानीमा कुनै न कुनै रूपमा क्रोनी क्यापिटालिज्मका यी तत्वहरू क्रियाशील भएका हुन्छन् । तर, दुर्भाग्यको कुरा– आम नागरिकले अझै यसको राम्ररी भेउ पाएका र बेलैमा प्रतिरोध गर्न सकेका छैनन् । फलतः ‘आइरन ल अफ ओलीगार्की’ नागरिकको राजनीतिक–आर्थिक हितको घाँटीमा फाँसीको फन्दाझैँ कसिलो हुँदैछ ।

तिनै मान्छे दशकौंदेखि आलोपालो शासनसत्तामा छन् । वित्तीय अनुशासनहीनता, आर्थिक संकट, सुस्त वृद्धि र विकास, भ्रष्टाचार र कुशासन, सामाजिक विभेद र विदेश पलायनको लर्को भने झन्‌झन् जब्बर हुँदैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register