ट्रम्पको दोस्रो कार्यकालमा अन्त्य होला रुस-युक्रेन युद्ध ?

युक्रेनलाई दिइरहेको सहयोग रोक्नु ट्रम्पका लागि सबैभन्दा सजिलो उपाय हो । तर, त्यसको शर्त भने रुसको विजय हो । के ट्रम्प रुसलाई विजयी हुन दिने, हिजोको सोभियत सङ्घजस्तै एक अर्को युरेसियन प्रतिस्पर्धीको सामना गर्न राजी होलान् ?

Nov 19, 2024 - 06:31
 0
ट्रम्पको दोस्रो कार्यकालमा अन्त्य होला रुस-युक्रेन युद्ध ?

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्प र रुस-युक्रेन युद्धबीच विचित्रको संयोगिक लुकामारी छ । सन् २०१४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्रिमिया गाभेका थिए । त्यो बेला अमेरिकामा डेमोक्रेटिक राष्ट्रपति बाराक ओबामा सत्तामा थिए । अमेरिकाले क्रिमिया रुसमा गाभ्ने पुटिन निर्णयको विरोध त गर्‍यो तर, कुनै कदम भने चाल्न सकेन ।

सन् २०१६ मा ट्रम्प विजयी हुँदा उनलाई रुसी राष्ट्रपति  पुटिनको भित्री सहयोग र रुसको ‘डिजिटल म्यानुपुलेसन’ थियो भन्ने आरोप लागेको थियो । ट्रम्प पुटिनलाई संवादद्वारा ‘ठीक ठाउँमा राख्न सकिने आफ्ना लागि सहज’ पात्रका रूपमा चित्रण गर्थे । ट्रम्पले आफूबारे गर्ने प्रतिक्रियाको पुटिनले विरलै सार्वजनिक उत्तर दिन्थे ।

जे होस्, ट्रम्पको शासनकालभरि रुसले युक्रेनमा युद्ध सुरु गरेको थिएन । ट्रम्पले सन् २०२१को जनवरीमा आफ्नो कार्यकाल पूरा गरे । पुटिनले सन् २०२२ को फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरे । युद्धको स्थिति अर्का डेमोक्रेट राष्ट्रपति जो बाइडनले सामना गर्नुपर्‍यो ।

ट्रम्प अहिलेसम्म यसो भनेर उम्किँदै आएका छन् कि यदि सन् २०२० को चुनाव पनि उनले जित्थे त रुस- युक्रेन युद्ध नै हुने थिएन । पुटिनसँगको संवाद र समझदारीमै उनले युद्ध रोकिदिन सक्थे । ट्रम्पको यस्तो दाबी अब भने व्यवहारतः परीक्षण हुनेछ ।

के ट्रम्पसँग रुस-युक्रेन युद्ध रोक्ने त्यस्तो कुनै जादुगरी उपाय छ ? विश्व यद्यपि आश्वस्त भने छैन ।

क्रिमिया गाभेयताको ११ वर्षमा युक्रेनमा रुसका उपलब्धि भने सन्तोषजनक छैनन् । युद्धले पुर्‍याएको क्षतिको तुलनामा रुसको विस्तार सीमित हो । यसबीच रुसले युक्रेनको २० प्रतिशत भूभागमा मात्र कब्जा जमाउन सकेको छ ।

ट्रम्पका उपराष्ट्रपति जेडी भान्सले चुनावी अभियानका क्रममा युद्ध रोक्ने उपाय ‘युक्रेनको रुस अधीनस्थ भूभाग र नेटोमा प्रवेश गर्ने आकाङ्क्षा जेलेन्स्कीले परित्याग गर्नुपर्ने’ बताएका थिए ।

ट्रम्पको सत्तारोहणपछि यदि पश्चिमा शक्तिले सहयोग गरेनन् भने सायद युक्रेन जेडी भान्सले भनेजस्तो सम्झौता गर्न बाध्य हुनेछ । युक्रेन आफ्नो मात्रै क्षमताले रुससँग थप युद्ध लड्ने सामर्थ्य राख्दैन ।

ट्रम्पको विजयसँगै युक्रेनी राष्ट्रपति ब्लोदोमिर जेलेन्स्कीले आफ्नो स्वरलाई मधुरो बनाएका छन् । उनले भनेका छन्, “किभ संवादद्वारा युद्धको समाधान खोज्न तयार छ ।” तर, उपराष्ट्रपति जेडी भान्सको चुनावी भाषण नै ट्रम्प प्रशासनको युक्रेन नीति हुने प्रष्ट भइसकेको भने छैन ।

ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने घोषणा गरेका फ्लोरिडा सांसद मिचेल वाल्ज पनि युक्रेन युद्धमा अमेरिकी सहयोगका आलोचक हुन् । उनले बारम्बार अमेरिकाले किभलाई सैन्य सामग्री तथा युद्ध अनुदान दिन रोक्नुपर्ने र मस्कोसँग वार्ता गरेर समस्याको समाधान गर्नु पर्ने बताउँदै आएका छन् ।

तर, ट्रम्पले विदेशमन्त्री रोजेका फ्लोरिडा सिनेटर मार्को रुवियो भने फरक दृष्टिकोणका नेता हुन् । ५३ वर्षीय रुवियो अमेरिकाका शत्रु राष्ट्रको कट्टर आलोचक मानिन्छन् । उनी युक्रेन मात्र हैन, गाजा युद्धमा इजरायलका पनि समर्थक हुन् । उनले चीन, इरान, रुस, उत्तर कोरियाजस्ता देश र हमास हिज्जबुल्लाहजस्ता सङ्गठनको चर्को आलोचना गर्ने गरेका छन् ।

रुवियोले रुसले युक्रेनमाथि आक्रमण प्रारम्भ गरेको दिन राष्ट्रपति पुटिनलाई ‘हत्यारा’ को संज्ञा दिएका थिए ।

ट्रम्पको दोस्रो शासनकालमा मुख्य सल्लाहकार र सहयोगी रहने यी पात्रहरुको दृष्टिकोण हेर्दा उनको युक्रेन युद्धसम्बन्धी नीतिबारे अझै प्रष्ट हुन सकिँदैन । ट्रम्पका नियुक्ति घोषणाका सन्देश चीन लक्षित छन्, रुस हैन । ट्रम्पले एकसे एक चीन विरोधी दृष्टिकोण भएका व्यक्तिलाई आफ्नो टिममा लिन खोजेको देखिन्छ तर, रुस, इरान र उत्तर कोरियाबारे ट्रम्पको नीति यी नियुक्तिले प्रष्ट सङ्केत गर्दैनन् ।

ट्रम्प जेडी भान्सले सङ्केत गरेको नीतिमा चल्ने हो भने युक्रेनको करिब २० प्रतिशत भूभाग रुसमा गाभ्न विश्व समुदाय सहमत हुनुपर्ने छ । बेलायत, फ्रान्सलगायतका नेटो राष्ट्रहरूको धारणा यसबारे के रहन्छ, त्यो महत्त्वपूर्ण हुनेछ ।

त्यसो त ट्रम्प नेटोकै पनि आलोचक हुन् । उनी अमेरिकी करदाताको खर्चले सुरक्षा गठबन्धनका नाममा आफैँ सक्षम र धनी भइसकेका यति धेरै नेटो सदस्य देशको सुरक्षाको जिम्मा लिन नहुने धारणा राख्दछन् ।

तर, ट्रम्पको दोस्रो शासनकालमा नेटो विघटन होला वा अमेरिका नेटोबाट निस्किएला भन्ने अनुमान कसैले गरेको छैन । ट्रम्प सायद यति ठूलो निर्णयमा पुग्ने छैनन्, जसले दोस्रो विश्वयुद्धपछि स्थापित भएको अमेरिका विश्व वर्चस्वलाई नै समाप्त गरिदिन सक्दछ ।

त्यसोभए ट्रम्पको रुस-युुक्रेन युद्धसम्बन्धी नीति के हुन सक्दछ ? ट्रम्पसँग संवाद गरेकै भरमा पुटिन यति ठूलो क्षतिपश्चात् युक्रेनबाट रित्तो हात फर्किन राजी होलान् भनेर अपेक्षा गर्नु बेकार हुन्छ । पुटिनले ट्रम्पका भनाइलाई त्यतिधेरै महत्त्व दिने गरेका छैनन्, जति ट्रम्प पुटिनलाई प्रभावित गर्न सक्ने दाबी गर्दछन् ।

बाइडन प्रशासनकालमा रुसी कारबाहीले अपेक्षित परिणाम दिन नसकेको सही हो । सन् २०२३ मा युक्रेनले क्रुस्क क्षेत्र पुनर्प्राप्ति गरेको थियो । तर, त्यसका बाबजुद रुस त्यति कमजोर भएको भने देखिन्न ।

पछिल्ला केही हप्तायता युक्रेनमा रुसले आफूलाई अझ मजबुत बनाउँदै लगेको छ । १० हजार उत्तर कोरियाली सेनासहित ५० हजारको सैन्य टुकडीले क्रुस्क क्षेत्रमाथि पुनर्कब्जाको योजना कार्यान्वयन गर्ने तयारी छ । पूर्व र दक्षिण क्षेत्रमा पनि रुस बलियो हुँदै गएको छ ।

युक्रेनले २ वर्ष ९ महिना लामो युद्ध व्यहोरी सकेको छ । युक्रेनको अर्थतन्त्र, भौतिक पूर्वाधार र नागरिक जीवन एक प्रकारले अस्तव्यस्त छ । पश्चिमा देशले दिएको हतियारले यसका सेना लडिरहेका छन् । नियमित सेनाको सङ्ख्या घटिरहेको कारण आम युवालाई सैन्य सेवा लिनुपर्ने स्थिति छ । युक्रेनका लागि युद्ध प्रतिदिन भारी हुँदै गएको छ ।

सायद अब युक्रेनी राष्ट्रपति जेलेन्स्की दुईमध्ये एक प्रष्ट विकल्प छनोट गर्न चाहन्छन् । कि त नेटोले युक्रेनको सदस्यता स्वीकार गरोस् र युद्धको भार र खर्च बेहोरोस्, या त रुससँग कुनै न कुनै प्रकारको सम्झौता होस् । जारी युद्ध अझ लम्ब्याउने चाहना जेलेन्स्कीमा पनि समाप्त हुँदै गएको छ । युद्ध लम्ब्याएर मात्रै युक्रेनले जित्न सक्ने अवस्था छैन । त्यसो गर्नु झन् रुसको हितमा हुन सक्दछ ।

अमेरिकाले अहिलेसम्ममा युक्रेनलाई १७४ बिलियन डलर बराबरको सैन्य सहयोग गरेको छ । अमेरिकाको सार्वजनिक बजेट वा सैन्य खर्चमाथि यो निकै ठूलो चाप हो ।

सन् २०२२ फेब्रुअरीको आक्रमणयता मात्र दुबैतर्फ गरी १० लाखभन्दा बढी सेना र नागरिकको मृत्यु भइसकेको अनुमान छ । घाइते र विस्थापितहरूको हिसाब झनै ठूलो छ । मानिसका पीडा, दु:ख र त्रासदीका कथा सजिलै सुन्न सकिने प्रकारका छैनन् ।

यस्ता अनेकन् असहजताका बीच दोस्रोपटकका लागि निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कस्तो नीति अवलम्बन गर्लान्, त्यो विश्व समुदायका लागि व्यग्र प्रतिक्षाको विषय हो ।

युक्रेनलाई दिइरहेको सहयोग रोक्नु ट्रम्पका लागि सबैभन्दा सजिलो उपाय हो । तर, त्यसको शर्त भने रुसको विजय हो । के ट्रम्प रुसलाई विजयी हुन दिने, हिजोको सोभियत सङ्घजस्तै एक अर्को युरेसियन प्रतिस्पर्धीको सामना गर्न राजी होलान् ?

चीन र रुस दुई उत्तिकै ठूला र शक्तिशाली प्रतिस्पर्धी एक साथ अमेरिकाले सामना गर्न सक्ला ? यो पाटोबाट हेर्दा ट्रम्पले युद्धमा रुसको विजयलाई सहज स्वीकार गर्लान् भनेर पत्याउन गाह्रो छ ।

त्यसोभए ट्रम्प कुनै न कुनै मध्यमार्गमा पुटिनलाई सहमत गराउन राजी होलान् ? सम्भवत: यो सबैभन्दा बढी उत्सुकताको बिन्दु हो ।

यी दुईमध्ये कुनै पनि उपाय लागू हुन सकेनन् भने तेस्रो विकल्प आफैँ खडा छ– युद्ध अझै लम्बिनु । तर, युद्ध जति लम्ब्याए पनि कुनै न कुनै दिन त यसको समाधान निकाल्नैपर्ने हुन्छ । त्यसोभए थप धनजनको क्षति किन गराउने ?

युद्धलाई कुनै नयाँ आकार दिन वा अन्त्य गर्न सके सायद विश्व समुदायमा ट्रम्पको नाम चम्कनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register