विकासको नयाँ मोडल दिएर देश विकास गर्न सम्भव छ भन्ने भाष्य स्थापित गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै तहका सरकारले विकासको नयाँ मोडल दिएर देश विकास गर्न सम्भव छ भन्ने भाष्य स्थापित गर्नुपर्ने बेला आएको बताएका छन् । भरतपुर महानगरपालिकाले मेघौलीमा मंगलबार आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका […]

Dec 31, 2024 - 13:41
 0
विकासको नयाँ मोडल दिएर देश विकास गर्न सम्भव छ भन्ने भाष्य स्थापित गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै तहका सरकारले विकासको नयाँ मोडल दिएर देश विकास गर्न सम्भव छ भन्ने भाष्य स्थापित गर्नुपर्ने बेला आएको बताएका छन् ।

भरतपुर महानगरपालिकाले मेघौलीमा मंगलबार आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

केही समयदेखि मुलुकमा नकारात्मक भाष्य स्थापित गर्न खोजिएको उल्लेख गर्दै उनले यसलाई खण्डन गर्न भरतपुर महानगरपालिकाले महत्त्वपूर्ण प्रयास गरिरहेको बताए ।

अध्यक्ष प्रचण्डले नेतृत्वले इमान्दार भएर काम गर्ने हो भने देशलाई गति दिन सकिन्छ भन्ने यो नमूना भएको बताए । अहिले चितवनबाट विदेश जाने क्रम उल्लेख्य रुपमा कम भएको स्पष्ट गर्दै उनले यसबाट आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने सकारात्मक भाष्य स्थापित हुँदै गएको समेत बताए ।

‘आगामी दिनमा देशभरिकै स्थानीय तह, प्रदेश र केन्द्रले पनि विकासमा नयाँ र मौलिक मोडल दिएर देशमा विकास निर्माण र रोजगारी सिर्जना गर्न संभव छ भन्ने भाष्य स्थापित गर्न आवश्यक छ,’ उनले भने, ‘स्थानीय समुदायको सहयोग र समर्थन लिएर राजनीतिक नेतृत्वले विकास लगायत हरेक क्षेत्रमा नमूना देखाउन आवश्यक छ । अबको प्रतिस्पर्धा यसमै हुनुपर्छ ।’

चितवनमा भौतिक पूर्वाधार र मानवीय विकास नमूनायोग्य रूपमा भइरहेको उल्लेख गर्दै उनले आफू पनि चितवनको नागरिक हुनुको नाताले गौरव महसुस भइरहेको बताए ।

अध्यक्ष प्रचण्डले अब चितवन विस्तारै देशभित्र मात्र होइन, विश्व समुदायकै लागि पुग्नैपर्ने ठाउँको रुपमा स्थापित हुने बताए । चितवनमा खेल पूर्वाधारका लागि पनि महत्त्वपूर्ण काम भइरहेको उल्लेख गर्दै उनले खेलप्रति देशव्यापी रूपमा देखिएको युवाहरूको क्रेजलाई सम्बोधन गर्न खेल पूर्वाधारमा ध्यान दिनुपर्ने बेला आएको बताए ।

आफूले तीनपटक सरकारको नेतृत्व गर्दा जनताले प्रष्टसँग अनुभूति गर्नसक्ने गरी काम गरेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अब राष्ट्रिय राजनीतिलाई सही ट्रयाकमा ल्याउन र सुशासन स्थापित गर्न सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले सम्बोधन गरेका थिए ।

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register