भूतपूर्व गोर्खा परिवारको अध्यागमन सम्बन्धि नयां नियमबारे अन्तरक्रिया

लन्डन । लन्डनका वरिष्ठ ब्यारिष्टरहरुसंग भूतपूर्व गोर्खा परिवारको अध्यागमन सम्बन्धि नयां नियमबारे गहन अन्तरक्रिया भएको छ । अध्यागमन क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको लन्डनस्थित ‘एभरेष्ट ल सोलिसिटर्स’ को आयोजनामा १ डिसेम्बर आइतबार भर्चुअल अन्तरक्रिया भएको हो । अन्तरक्रियामा लन्डनका तीन वरिष्ठ ब्यारिष्टरहरु जस्टिन फिसर, किलिन म्याककार्थी र डेबोरा रिभिलले गोर्खा सन्तान तथा परिवारको नयां […]

Dec 1, 2024 - 21:40
 0
भूतपूर्व गोर्खा परिवारको अध्यागमन सम्बन्धि नयां नियमबारे अन्तरक्रिया

लन्डन । लन्डनका वरिष्ठ ब्यारिष्टरहरुसंग भूतपूर्व गोर्खा परिवारको अध्यागमन सम्बन्धि नयां नियमबारे गहन अन्तरक्रिया भएको छ ।

अध्यागमन क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको लन्डनस्थित ‘एभरेष्ट ल सोलिसिटर्स’ को आयोजनामा १ डिसेम्बर आइतबार भर्चुअल अन्तरक्रिया भएको हो ।

अन्तरक्रियामा लन्डनका तीन वरिष्ठ ब्यारिष्टरहरु जस्टिन फिसर, किलिन म्याककार्थी र डेबोरा रिभिलले गोर्खा सन्तान तथा परिवारको नयां परिवर्तित नियम सम्बन्धमा स्पष्ट पारे ।

लन्डनस्थित प्रतिष्ठित ल फर्म वान पम्प कोर्टसंग आवद्ध ति ब्यारिष्टरहरुले भूतपूर्व गोर्खाहरुका लागि परिवर्तन भएको नयां नियम के हो, यसले कस्तो प्रभाव पार्छ, आवेदन कसरी सफल हुने गरि पेश गर्ने भन्ने जस्ता महत्वपूर्ण विषयमा आफ्नो धारणा खुलस्त राखे ।

अन्तरक्रियामा एभरेष्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले स्वागत गर्दै ब्यारिष्टरहरुको परिचय दिएका थिए ।

गत १३ वर्षदेखि सञ्चालनमा रहेको उक्त फर्म मार्फत अहिलेसम्म गोर्खा सन्तानका मुद्दाहरु झन्डै ९० प्रतिशत सफल गरि करिब ७ हजार गोर्खालीका सन्तान यूके आइसकेको उनले जनाए ।

ब्यारिष्टर किलिन म्याककार्थीले भूतपूर्व गोर्खाहरुले कसरी बेलायतमा आवासीय अधिकार प्राप्त गरे र अभियान कसरी सफल भयो भन्ने चर्चा गर्दै वर्तमान परिवर्तित नीतिबारे अवगत गराएकी थिइन् ।

सन् २०२३ अक्टोबर ५ मा होम अफिसले गोर्खा र हङकङ सैनिकहरुका लागि नयां नियम परिवर्तन गरेपनि पछि उक्त नियमविरुद्ध मुद्दा परेपछि अदालतले गोर्खाहरुकै पक्षमा फैसला गरेको उनले जनाइन्।

फर्स्ट टिएर ट्राइबुनलले नेशनालिटी, इमिग्रेसन एन्ड असाइलम एक्ट र युरोपियन महासन्धिको धारा ८ बमोजिम आवेदकलाई पारिवारिक जीवनबाट विमुख गर्न नमिल्ने भन्दै अपिल राइट्स दिन आदेश गरेको उनको भनाइ थियो ।

‘अति विपन्न’ अवस्थाका भूतपूर्व गोर्खाका बिधवा र तिनका सन्तान सबैलाई बेलायतले भिसा शुल्क नलिने भएपनि त्यसका लागि यथेष्ठ प्रमाण जुटाउनु पर्ने, समय धेरै लाग्ने र यसमा धेरै कानूनी झन्झट हुने उनले बताइन् ।

अर्की ब्यारिष्टर जस्टिन फिसरले आवेदन गर्ने तरिका र दस्तुरबारे स्पष्ट पारिन् ।

नेपालमा रहेका आफ्ना सन्तानलाई स्पोन्सर गर्ने बुबा आमाले बेलायतबाट कसरी आर्थिक सहयोग गरिरहेका छन् त्यो होम अफिसले हेर्ने उनले जनाइन् । उनले अनलाइन फर्म भरेर सबै कागजात पेश गरि आवेदन दिइने र यसको शुल्कबारे प्रष्ट पारिन् ।

बेलायतमा भएका बुबा आमा पारिवारिक भेटघाटका लागि नेपाल गएको वा फर्किएको कुरा आवेदनमा खुलाउनु पर्ने उनको भनाइ थियो ।

ब्यारिष्टर डेबोराले नेपालबाट आवेदन हाल्ने तरिका, आवेदनमा साक्षी बयान लेख्दा ध्यान दिनुपर्ने सन्दर्भ आदि बारे प्रस्ट्याएकी थिइन् । ‘कभरिङ लेटर’ मा गल्ती हुन नहुने र आफ्नो बयान झुटो हुन नहुनेमा उनको जोड थियो ।

ठेगाना पनि सही आफू बसिरहेकै ठाउंको हुनुपर्ने, स्पोन्सर गर्नेले आफ्ना सन्तानलाई पैसा नियमित पठाइरहेको अर्थात आर्थिक निर्भरताबारे बुझाउन जरुरी हुने उनको धारणा छ । बैंक स्टेटमेन्ट वा अन्य कागजात नक्कली नबनाउन पनि उनले सुझाइन् । उनले बैंक स्टेटमेन्टमा ६ महिनाको कारोबार देखाउन सुझाव दिइन् ।

उनले लामो समय अगाडि बाबु आमा बितिसकेको भए उनीहरुको हकमा भिसा हुने सम्भावना निकै कम रहेको पनि प्रष्ट्याइन् ।

कार्यक्रममा एभरेष्ट ल सोलिसिटर्ससंग आबद्ध सोलिसिटर सैयद इमरान अलीले पनि विभिन्न जिज्ञासा मेटाएका थिए ।

झन्डै दुई घण्टा चलेको कार्यक्रममा ब्यारिष्टरहरुको प्रस्तुतिको पूजा श्रेष्ठले अनुवाद गरेकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register